भुल्केका ८ जनामा कोरोना आशंका, यकिन गर्न सबैलाई धरानस्थित बीपी प्रतिष्ठान लगिँदै

वैशाख ९, २०७७

डिल्लीराम खतिवडा, माधव घिमिरे

विराटनगर/उदयपुर — उदयपुरको भुल्केबाट परीक्षणका लागि शनिबार कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । त्यहाँको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि ल्याइएको थियो ।

तीमध्ये ८ जनाको नमुना परीक्षण गर्दा संक्रमण देखिएको अस्पताल स्रोतले बताएको छ । यकिन गर्नका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण गरिने भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार कोसीमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको तर अन्तिम पुष्टिका लागि थप परीक्षण गर्नुपर्ने बताइएपछि धरानस्थित प्रतिष्ठानमा दोहोर्‍याएर परीक्षण गर्न लागिएको हो । 

उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । संक्रमण देखिएका भनिएका व्यक्तिहरु सबै पुरुष हु्न् । उनीहरु सबै वयस्क उमेरका हुन् ।  

उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले दुईवटा एम्बुलेन्समा राखेर उनीहरुलाई धरान पठाइएको बताए । ‘सबै पुरुष हु्न्,’ उनले भने, ‘उमेर ठ्याक्कै थाहा भएन तर जेष्ठ नागरिक हुन् ।'

मस्जिदमा बसेकाहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुन सक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गरिएको हो । नजिकै रहेको सेनाको गुल्मका सैनिकहरुको पनि नमुना संकलन गरी काठमाडौं लगिएको छ ।

यसअघि उक्त मस्दिमा बसिरहेका १३ जनामा कोरोना संक्रमण भएको पुष्टि शुक्रबार भइसकेको छ । उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखेर उपचार गरिदैछ । उनीहरुसँगै ल्याइएका अरु तीनजनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमित बसेकोलगायत उदयपुरका ६ वटै मस्जिद सिल गरिएको छ। भुल्के मस्जिद आसपासका ५२ परिवारका ६९ स्वाव संकलन गरी विराटनगर लगिएको थियो ।

शनिबार विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयबेन्द्र यादवको नेतृत्वमा उदपुर आएको चिकित्सक टोलीले मस्जिद आसपासका बासिन्दा स्वाब संकलन परिक्षणका लागि लगेको थियो ।

नेपाली सेनाको चिकित्सक टोलीले २ सय ५१ स्वाब संकलन गरेको थियो । सेनाको छाउनी अस्पतालको चार सदस्यीय चिकित्सक टोलीले मस्जिदसगै जोडिएको वस्तीका सर्वसाधरणको स्वाब संकलन गरेको हो । छाउनी अस्पतालका मेजर डा.प्राची रायमाझीको नेतृत्वमा चिकित्सक टोली आएको थियो । संकलित स्वाबलाई परीक्षणका लागि काठमाडौं लगिएको छ । 

डिल्लीराम

माधव

Link copied successfully