अब कुनै पनि अस्पतालले उचित कारणबिना बिरामी रेफर गर्न पाउने छैनन् ।
काठमाडौँ — कोभिड–१९ नभएका बिरामीले विभिन्न अस्पताल, स्वास्थ्य संस्थामा उचित उपचार नपाएर दु:ख पाउने गरेको गुनासो सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले सोमबार अन्तरिम निर्देशिका जारी गरेको छ । प्राथमिक, विशिष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थामा कोभिड–१९ र अन्य बिरामीको उपचार गर्न निर्देशिका ल्याइएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब कुनै पनि अस्पतालले उचित कारणबिना बिरामी रेफर गर्न पाउने छैनन् । ‘हाल अस्पतालमा कोभिड–१९ र ननकोभिड–१९ बिरामीको उपचारमा तालमेल मिलेको थिएन, कोभिड–१९ आशंका गरिएका बिरामीले दु:ख पाउने गरेको गुनासो आइरहेका थिए,’ उनले भने, ‘बिरामी भौतारिएर एक अस्पतालवाट अर्को अस्पताल रेफर हुँदै गर्दा रोगमा जटिलता थपिएर मृत्यु भएकोसमेत देखियो ।’
प्रवक्ता डा. देवकोटाका अनुसार तोकिएका स्वास्थ्य संस्थाहरूले महामारीको समयमा कोभिड–१९ क्लिनिक सञ्चालन गर्नुपर्नेछ र शंकास्पद बिरामीलाई अन्य सेवाग्राहीबाट छुट्याएर सेवा दिने व्यवस्था मिलाउनुपर्नेछ । अन्य स्वास्थ्य संस्थाले क्षमता र आवश्यकताअनुसार स्क्रिनिङ र परामर्श गरी व्यवस्था मिलाउनुपर्नेछ ।
स्वास्थ्य संस्थाहरूले कोभिड–१९ सम्बन्धी सेवासँगै कोभिडबाहेकको स्वास्थ्य सेवालाई समेत निरन्तरता दिनुपर्नेछ । यसअन्तर्गत सबै प्रकारका आकस्मिक र गम्भीर, अत्यावश्यक स्वास्थ्य सेवा, एम्बुलेन्स सेवासँगै स्वास्थ्य व्यवस्थापनका अन्य पक्षसमेत समेटनुपर्नेछ ।
‘शारीरिक दूरीलगायतका सुरक्षा प्रक्रिया अपनाउँदै संक्रमण रोकथाम र नियन्त्रणका विधि अपनाएर भीड नियन्त्रण गर्दै स्वास्थ्य संस्थामा गैरकोभिड–१९ का बिरामीलाई स्वास्थ्य सेवा दिनुपर्छ,’ निर्देशिकामा भनिएको छ ।
आकस्मिक तथा गम्भीर सेवाहरू कोभिड–१९ का लागि मात्रै भनेर तोकिएको बाहेकका सबै स्वास्थ्य संस्थाले नियमित रूपमा सञ्चालन गर्नुपर्ने निर्देशिकाले भनेको छ । स्वास्थ्य संस्थाहरूले कोभिड–१९ महामारी नियन्त्रणको अवधिभर अत्यावश्यक र आधारभूत स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्नुपर्नेछ ।
अत्यावश्यक र आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्थाहरूलाई आवश्यक पर्ने निदानात्मक सेवासमेत नियमित रूपमा दिनुपर्नेछ । स्वास्थ्य संस्थाले सेवाग्राहीलाई नियमित रूपमा प्रयोग गर्नुपर्ने औषधि र साधन सम्भव भए ३ महिनासम्मका लागि दिनुपर्ने समेत भनिएको छ ।
कोभिड–१९ मात्र नभई अन्य आकस्मिक र जटिल अवस्थाका लागि समेत एम्बुलेन्स सेवा नियमित गर्न सरकारले स्वास्थ्य संस्थालगायतका निकायलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ को पहिचान र उपचार व्यवस्थापनअन्तर्गत मुलुकका सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र प्राथमिक अस्पतालबाट आधारभूत परामर्श र प्रेषण सेवा दिनुपर्नेछ । यसरी आवश्यक परामर्श सेवा दिएर शंकास्पद बिरामीलाई नजिकको कोभिड–१९ क्लिनिक वा तोकिएको अस्पतालमा समन्वय गरेर सम्भव भएसम्म एम्बुलेन्समा बिरामीलाई पठाउने व्यवस्था मिलाउनुपर्नेछ ।
जिल्लास्थित प्रादेशिक वा कोभिड–१९ क्लिनिक सञ्चालन गर्ने सरकारी वा गैरसरकारी अस्पतालले शंकास्पद बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्नुका साथै नमुना संकलन गरेर तोकिएको प्रयोगशालामा पठाउने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । नमुनाको परिणाम पोजेटिभ देखिएका सामान्य केसमा लेभल १ कोभिड अस्पतालमा प्रोटोकलअनुसार एम्बुलेन्सबाट बिरामीलाई पठाउनुपर्छ । जटिल र अति जटिल केसहरूलाई लेभल २ को कोभिड अस्पतालमा सिधै पठाउनुपर्नेछ ।
सरकारले लेभल १ तोकेका कोभिड–१९ अस्पतालले आइसोलेसनमा राखेर सामान्य केस व्यवस्थापन गर्ने व्यवस्था मिलाएका छन् । लेभल २ कोभिड–१९ अस्पताललाई मध्यम, जटिलसँगै अत्यन्त जटिल कोभिड–१९ को केस व्यवस्थापन गर्न भनिएको छ । यसअन्तर्गत हाइडिपेन्डेन्सी र आईसीयू सुविधा भएका अस्पतालहरूमा उपचार गरिनेछ ।
निर्देशिकामा कोभिड–१९ अस्पतालबाहेकका सबै निजी, गैरसरकारी, सामुदायिक, मेडिकल कलेज, प्रतिष्ठान अस्पतालले कोभिड–१९ अस्पतालबाट स्थानान्तरण भएर आएका वा अन्य बिरामीलाई सशुल्क उपचार गर्नुपर्ने भनिएको छ । तर यस्ता स्वास्थ्य संस्थाले सेवाग्राहीसँग स्वास्थ्य मन्त्रालयको निर्देशकाअनुसार ‘स्वास्थ्य बिमाले शोधभर्ना गर्ने दर’ भन्दा बढी शुल्क लिन पाउँदैनन् ।
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ क्लिनिक सञ्चालन गर्ने हब २५ अस्पताल, ६४ प्रादेशिक अस्पताल र २२ मेडिकल कलेजलाई तोकेको छ । यस्तै देशभरिमा लेभल १ का कोभिड–१९ अस्पताल १३ वटा, लेभल २ का १२ वटा र लेभल ३ का अस्पताल ३ वटा छन् ।
स्वास्थ्यकर्मीको सुरक्षामा सचेत छौं : स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ संक्रमणविरुद्ध लडाइँमा अग्रपंक्तिमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा सरकार सचेत रहेको बताएका छन् । उनले सोमबार विशेष सम्बोधन गर्दै अहिले देशलाई महामारीबाट बचाउनु नै ठूलो कुरा भएको बताए ।
मन्त्री ढकालले कोभिड–१९ रोकथाम र नियन्त्राणका लागि नेपालले ६ ‘टी’ को रणनीति अपनाइरहेको जानकारी दिए । उनका अनुसार ‘ट्राभल रेस्ट्रिक्सन’ (आउजाउ बन्द गराउने), ‘टेस्टिङ’ (परीक्षणको दायरा बढाउने), ‘ट्रयाकिङ’ तथा ’ट्रेसिङ’ (संक्रमितको सम्पर्कमा आएकाको परीक्षण गर्ने), ‘ट्रिटमेन्ट’ (उपचार) र ’टुगेदर (एकजुट हुने) रणनीति अपनाइएको हो ।
मन्त्री ढकालले सबै एकजुट भएर काम गरेमात्रै महामारीको सामना गर्न सकिने बताए । उनले पहिला महामारीबाट देशलाई बचाउनुपर्ने र जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्न पनि सबै एकजुट हुनुपर्ने बताए । उनले सबैलाई होम क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन् ।
नेपालमा सोमबारसम्ममा कोभिड–१९ संक्रमितको संख्या १४ पुगेको छ । जसमध्ये १ जना निको भएर घर फर्किसकेका छन् । उपचारमा रहेका अन्य संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री ढकालले जानकारी दिए ।
