स्पेनमा लकडाउन खुकुलो पारियो

वैशाख २, २०७७

एजेन्सी

म्याड्रिड — स्पेनले एक महिनाभन्दा लामो समयदेखि जारी रहेको लकडाउनलाई केही खुकुलो पारेको छ । कोभिड–१९ का कारण मृत्यु हुनेको संख्यामा कमी आउन थालेपछि देशको अर्थतन्त्रलाई गति दिन लकडाउन खुकुलो पारिएको स्पेनले जनाएको छ ।

सोमबारबाटै केही निर्माण तथा उत्पादनका क्षेत्र सुरु गर्ने अनुमति दिइएको स्पेनी अधिकारीहरुले बताएका छन् । 

सरकारले त्यस्ता क्षेत्रका कामदारका लागि केही निश्चित नियम र निर्देशिका पनि जारी गरेको छ । जसअनुसार कम्पनीका मालिकले कामदारका लागि व्यक्तिगत रक्षात्मक कवच (पीपीई) उपलब्ध गराउनुपर्ने छ भने सबै कामदारले काम गर्दा कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गनुपर्नेछ । कामदारलाई सार्वजनिक यातायात प्रयोगमा बन्देज लगाइएको छ । निश्चित क्षेत्रमा काम गर्न खुकुलो बनाइए पनि स्पेनले कम्तीमा अप्रिल २६ सम्मका लागि पसल, बार तथा सार्वजनिक क्षेत्र भने बन्द नै हुने बताएको छ । 

लकडाउनले अप्रिलको सुरुमा उच्च बिन्दुमा पुगेको मृत्युदर कम गर्न सहयोग पुगिरहेकै बेला सरकारले अर्थतन्त्रलाई गति दिन भन्दै गरेको पछिल्लो निर्णयले निम्त्याउन सक्ने सम्भावित खतराप्रति केहीले चिन्तासमेत व्यक्त गरेका छन् । केही क्षेत्रीय नेतासमेत सरकारको आलोचना गरेका छन् । 

कोभिड–१९ संक्रमणका कारण अमेरिका र इटालीपछि स्पेनमा धेरैले ज्यान गुमाएका छन् । मंगलबार बिहानसम्म स्पेनमा १ लाख ७० हजार ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने मृतक संख्या १७ हजार ७ सय ५६ पुगेको छ । ६४ हजार ७ सय २७ जना निको भएर घर फर्किएका छन् । कोभिड–१९ का कारण स्पेनमा पछिल्लो २४ घण्टामा मात्र ५ सय १७ जनाले ज्यान गुमाएका छन् । एकै दिन ९ सय ५० जनासम्मको मृत्यु भएको स्पेनमा पछिल्ला केही दिनयता भने मृतक संख्या घट्दै गएको छ ।   

एजेन्सी

Link copied successfully