क्‍वारेन्टाइनमा ‘माननीय’

वैशाख २, २०७७

हरि गौतम

रुकुम पश्चिम — कर्णाली प्रदेशसभा सदस्य बद्‍मीक्वारी बोहरा चैत्र २४ गते गृह जिल्ला डोल्पा उक्लिइन् । उनी स्वास्थ्यकर्मीका लागि केही थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क र ग्लोब्स लिएर प्रदेश राजधानी सुर्खेतबाट डोल्पा गएकी थिइन् ।

तर, उनलाई त्रिपुरासुन्दरी नगरपालिका–१ मा बनाइएको क्वारेन्टाइनमा बस्‍नुपर्ने बाध्यता भयो । डोल्पामा कोरोना भाइरस (कोभिड–१९) फैलन नदिन चेतना फैलाउने र जिल्लाका निकायसँग समन्वय गर्ने उनको योजना थियो । ‘जिल्लाभन्दा बाहिरबाट आउने जो कोही पनि क्वारेन्टाइनमा बस्‍नुपर्ने नियम स्थानीय सरकारले बनाएको रहेछ,’ उनले भनिन्, ‘स्थानीय सरकार र जनताले बनाएको नियम पालना गर्न क्वारेन्टाइनमा बसिरहेकी छु ।’

बोहोरा क्वारेन्टाइनमा बसेको सोमबार ८ दिन पुग्यो । अरु ८ जनासँगै उनी क्वारेन्टाइनमा छिन् । उनको घर त्रिपुरासुन्दरी नगरपालिका– ४ मा पर्छ । घर नगएरै उनी छोरासहित क्वारेन्टाइनमा बसिरहेकी छिन् । उनका छोरा काठमाडौंबाट आएका थिए ।

‘क्वारेन्टाइनमा बसेदेखि फोनमार्फत आवश्यक समन्वय र सम्पर्कको काम भइरहेको छ,’ सांसद बोहराले भनिन्, ‘क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’ निश्चित दूरी कायम गरेर क्वारेन्टाइनमा भेट्‍न आउनेहरूसँग पनि कोरोना फैलन नदिनका लागि गर्न सकिने काम र लिन सकिने पहलका बारेमा छलफल गरिरहेको उनको भनाइ छ । क्वारेन्टाइन स्थलदेखि उनको घरको दूरी करिब एक घण्टाको छ । प्रदेशसभा सदस्य बोहराले किताब पढेर, टिभी हेरेर र क्वारेन्टाइनमा बसेकाहरूसँग गफ गरेर समय बिताउने गरेकी छिन् ।

‘स्थानीय सरकार र प्रशासनले बनाएको नियमको पालना सबैले समान रूपमा गर्नुपर्ने भन्दै म पनि क्वारेन्टाइन बसिरहेकी हुँ,’ उनले भनिन्, ‘१४ दिन पुगेपछि क्वारेन्टाइनबाट निस्किएर प्रत्यक्ष रूपमा कोरोनाविरुद्ध स्थानीय सरकारले बनाएका प्रतिकार्य योजनामा सहभागी हुनेछु ।’ लकडाउनको अवधिमा सुर्खेत, नेपालगन्ज, काठमाडौं र अन्य ठाउँबाट आएका सबैलाई डोल्पाका विभिन्‍न क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार डोल्पामा सांसद बोहरासहित ८५ जना क्वारेन्टाइनमा छन् । ९७ जना १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्किसकेका छन् । जिल्लाका २३ ठाउँमा २ सय ८४ जनालाई राख्‍नसक्‍ने क्वारेन्टाइन बनाइएको सुनारले जानकारी दिए ।

स्थानीय प्रशासनका अनुसार दुनैमा १३ बेडको आइसोलेसन वार्ड पनि बनाएको छ । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार जिल्लाको समग्र अवस्था अहिले सामान्य छ । प्रदेशसभा सदस्य बोहरा क्वारेन्टाइनमा बसेपछि जिल्लाभरि सकारात्मक सन्देश प्रवाह भएको उनले बताए । ‘माननीयज्यूको यो सराहनीय कार्य हो,’ उनले भने, ‘यसबाट जिल्लामा सकारात्मक सन्देश त गएको छ नै, कोरोना फैलिन नदिन सबैतिर सतर्कता अपनाइएको छ ।’

हरि

Link copied successfully