कोरोना संक्रमणको केन्द्र वुहानमा रहेका नेपाली भन्छन्- ‘हाम्रो उद्धार गर्नुपर्यो’

काठमाडौँ — नोवल कोरोना भइरसको महामारीको केन्द्रबिन्दु भनिएको चीनको हुबेइ प्रान्तको वुहान सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशीघ्र आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् ।

वुहान सहरमा रहेका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले आफूहरुलाई पनि भाइरसको संक्रमण हुनसक्ने भन्दै उद्धारका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
वुहानबाट सम्पर्कमा आएका अधिकांश विद्यार्थीहरुले बेइजिङस्थित नेपाली दूतावासले आश्वासन दिनुबाहेक अरु केही काम नगरेको भन्दै नेपाल सरकारले नै उद्धारका लागि पहल गर्न आग्रह गरेका छन् ।
कोरोना भाइरस प्रकोप : मृतकको संख्या १०० नाघ्यो, ४ हजार बढी संक्रमित
कान्तिपुरको सम्पर्कमा आएका एक विद्यार्थीले नाम उल्लेख नगर्ने सर्तमा बाहिर आएभन्दा त्यहाँको अवस्था निकै फरक रहेको बताए । ‘पुरै कर्फ्यू लागेको जस्तो अवस्था छ । कसैले कसैलाई विश्वास गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसमाथि पनि संक्रमण के कसरी फैलन्छ भन्ने यकिन नै नभएको जस्तो देखिएको छ ।’
उनका अनुसार विस्तारै त्यहाँ रहेका नेपालीलाई रासन–पानीको पनि समस्या हुने देखिएको छ । ‘यहाँ रहेका प्रायः सबै विद्यार्थीहरुले चिनियाँ नयाँ वर्षमा केही दिन बजार बन्द हुने भएकाले रासन–पानीको जोहो गरेका थिए । अब सरकारले नै बिदाको समय बढाएकाले गर्दा लकडाउन गरिएको क्षेत्रमा रासन–पानीको समस्या हुने देखिन्छ,’ उनले भने, ‘साना बजारहरु खुल्ने छाँटकाँट देखिन्न । सामान किन्न ठूला सुपरमार्केट पुग्नुपर्छ । जहाँ जानै डर लाग्छ ।’
वुहान विश्वविद्यालयमा इन्टर्नल मेडिसिनमा एमडी गरिरहेका नवलपरासीका डा. नरेनप्रसाद यादवले पनि विद्यार्थीहरुलाई विस्तारै बस्नखानकै समस्या हुन थालेको बताए ।
चिनियाँ राष्ट्रपति सीको चेतावनी- 'कोरोनाभाइरसको संक्रमण बढ्दो छ'
‘हामी ४/५ दिनदेखि बाहिर निस्केका छैनौं । केही दिन अगाडि गएर नकुहिने खाद्य सामाग्री किनेर ल्याएका थियौं । त्यही खाएर बसिरहेका छौं,’ उनले भने, ‘हामी ४० जना जति होस्टलमा बस्छौं, बाहिर १० जना जति साथीहरु हुनुहुन्छ । हामीलाईभन्दा उहाँहरुलाई धेरै समस्या छ । केही खानेकुरा किन्नुपरे धेरै टाढा जानुपर्ने बाध्यता रहेको छ । एउटा त सामान नै पाइँदैन र पाउने भएपनि २ घण्टा नै लाइन बस्नुपर्छ ।’
संक्रमणको केन्द्रविन्दुमा अहिले लगभग ६० जना नेपाली रहेको नेपाली विद्यार्थीहरुले बताएका छन् । उनीहरुका अनुसार यो कुनै आधिकारिक तथ्यांक नभएर ‘वी च्याट’मा गरिएको काउन्टिङको आधारमा हो । बेइजिङस्थित नेपाली दूतावासलाई पनि वुहान सहर वा हुबेई प्रान्तमा कति नेपाली विद्यार्थी छन् भन्ने पत्तो छैन ।
यद्यपि नियोग उपप्रमुख सुशील लम्सालले नेपाली विद्यार्थीसँग दूतावास निरन्तर सम्पर्कमा रहेको र उनीहरुका बारे जानकारी लिइरहेको बताएका थिए । तर, संक्रमणको अत्याधिक त्रास रहेको क्षेत्रबाट कान्तिपुरको सम्पर्कमा आएका अधिकांश विद्यार्थीका अनुसार नेपाली दूतावासले ‘वी च्याट’मा ग्रुपमा संयमित रहन सुझाव दिनेबाहेक केही ठोस काम गरेको छैन ।
कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु
‘दूतावासले बनाएको च्याट ग्रुप भनिएको छ । त्यो पनि आधिकारिक हो या होइन थाह छैन,’ एक विद्यार्थीले भने, ‘ग्रुपमा हामीलाई संक्रमणबाट कसरी जोगिने भन्ने हामीलाई पहिल्यै थाहा भएका उपायहरु बताइने गरेको छ र संयमित हुन आग्रह गरिएको छ । यसलाई के भन्ने ?’
संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुबेइ प्रान्तकै श्रीयान सहरस्थित हुबेइ युनिभर्सिटी अफ मेडिसिनमा एमडी सकाएर नेपाल फर्कने तयारी गरिरहेका डा. जीतसिंह भण्डारीका अनुसार उक्त सहरमा पनि २० जनालाई संक्रमण भएको उनीहरुले सुनेका छन् । साथै त्यहाँ संक्रमणका कारण २ जनाको मृत्यु पनि भएको भन्ने सूचना आएको छ । त्यसपछि होस्टलमा रहेका र बाहिर रहेका नेपालीहरु झनै त्रसित भएका छन् ।
होस्टलमा रहेका नेपाली विद्यार्थीहरु । तस्बिर स्रोत : डा. जीतसिंह भण्डारी
‘२३ गतेदेखि लकडाउन भयो भनेर सूचना आएको छ । त्यसबेलादेखि बजारमा मास्क, पञ्जा लगायतका वस्तुको अभाव छ,’ उनले भन, ‘खानेकुराहरु पनि पर्याप्त छैन । चिनियाँ साथीहरु पनि आतंकित छन् । यस्तोमा हामी कसरी संयमित हुनु ?’
उनका अनुसार सुरुमा फेब्रुअरी १३ सम्मका लागि बन्द भएको कलेज अब अनिश्चितकालका लागि बन्द भएको सूचना आएको छ । ‘हामी यसरी कति दिन कोठामा थुनिएर बस्ने ? यसरी बसिरहे त हामीलाई पनि कुनै न कुनै दिन संक्रमण भइहाल्छ नि,’ उनले भने, ‘संक्रमितको उपचारमा संलग्न १४ जना डाक्टरलाई पनि सरेको छ रे । त्यसमा पनि एकजनाको मृत्यु भएको छ । त्यसले गर्दा पनि थप त्रसित भएका छौं ।’
उनका अनुसार सबैजना कोठाबाट बाहिर निस्कन डराइरहेका छन् ।
बेइजिङमा कोरोनाबारे विशेष ब्रिफिङ
नियोग उपप्रमुख लम्साल भने विद्यार्थीहरु डराउनु स्वाभाविक भए पनि अवस्था त्यस्तो विकराल नभएको दाबी गर्छन् । ‘हामी निरन्तर चिनियाँ सरकारका विभिन्न निकायहरुसँग सम्पर्कमा छौं । उनीहरुले विद्यार्थीले दाबी गरेजस्तो भयाभह स्थिति नरहेको भनेर ब्रीफ गरेका छन्,’ उनले भने, ‘चिनियाँ अधिकारीहरुले कुनै पनि विदेशी विद्यार्थी वा नागरिकलाई कुनै वस्तुको अभाव भयो त्यो तत्काल पूरा गर्ने बताएका छन् । त्यसका लागि दुईवटा हटलाइनको पनि व्यवस्था गरेका छन् । हामीले पनि पाँच सहरमा हटलाइनको व्यवस्था गरेका छौं ।’
उनकाअनुसार वुहान र वुहानआसपास बसिरहेका पुराना नेपाली विद्यार्थीहरु संयमित भएर अवस्थाको आँकलन गरिरहेका छन् भने नयाँ विद्यार्थीहरु बढी त्रसित देखिएका छन् ।
‘चिनियाँ अधिकारीहरुले हामीलाई अहिले नै कसैको रेस्क्यू गर्नुपर्ने अवस्था नरहेको र लकडाउनको स्थितिमा त्यो सम्भव पनि नभएको बताएका छन्,’ उनले भने, ‘चिनियाँ अधिकारीहरुले उद्धार गर्नुपर्ने अवस्था आए पूर्व सूचना दिएर सहयोग गर्ने आश्वासन दिएका छन् ।’
नेपाली विद्यार्थीहरु भने दूतावासले दिएको जवाफबाट सन्तुष्ट छैनन् । अधिकांश विद्यार्थीका अनुसार दूतावासले केही नेपाल फर्कन नचाहने विद्यार्थीहरुको उदाहरण दिएर नेपाल फर्कन चाहने विद्यार्थीको आवाजलाई ओझेलमा पार्न खोजिरहेको छ ।
‘हामीलाई संक्रमण भएको छैन । साथै अहिलेसम्म थाह भएअनुसार अरु कुनै नेपालीलाई पनि संक्रमण भएको सुनिएको छैन । यस्तोमा उद्धार गर्न किन नमिल्ने हो ?’ डा. भण्डारीले भने, ‘बरु हामी नेपाल फर्किएर एउटा निश्चित समयसम्म क्वारेन्टाइनमा बस्न तयार छौं । तर हाम्रो उद्धार भने समय छँदै गर्नुपर्यो ।’
कोरोना भाइरस : सतर्क रहौं, आतंकित नबनौं
डा. भण्डारीको भनाइमा वुहान विश्वविद्यालयमा अध्ययनरत डा. नरेन पनि सहमत छन् । ‘सामान्य मास्कमात्र लगाएर विमान चढ्न नमिल्ला । त्यसो हो भने पनि राम्रो मास्कको व्यवस्था गरेर नेपाल फर्काएर क्वारेन्टाइनमा राखौं न,’ उनले भने, ‘यहाँ धेरै दिन अझै बस्नुपर्यो भने हामीलाई पनि संक्रमण हुन्छ ।’
परिवारसहित वुहानमा बसिरहेकी नेपाली विद्यार्थी प्रमिला देवकोटा पनि नेपाल फर्कन चाहन्छिन् । चिनियाँ सरकारले आफ्ना नागरिकलाई जोगाउन सबैभन्दा ठूलो पर्वको बीचमा पनि पूरै सहरलाई ‘लकडाउन’ गर्ने साहसिक निर्णय गरेजस्तै नेपाल सरकारले पनि आफ्ना नागरिकप्रतिको उत्तरदायीत्व बहन गर्नुपर्ने उनी बताउँछिन् ।
‘हामीलाई अहिले संक्रमण नहुँदै उद्धार गरे सबैलाई सजिलो हुन्छ,’ उनले भनिन्, ‘बरु देशमा लगेर कहाँ राख्ने, कति समय राख्ने राखोस् । यहाँबाट भने निकाल्नुपर्यो ।’
नियोग उपप्रमुख लम्सालले वी च्याटमार्फत कान्तिपुरसँग प्रतिक्रिया दिँदै नेपाल फर्कन चाहनेलाई मद्दत गर्न दूतावास तयार रहेको र त्यसका लागि कोशिस पनि गरिरहेका बताए । ‘विभिन्न विकल्पबारे छलफल भइरहेको छ । चिनियाँ सरकारले अहिले नै उद्धार गर्नुपर्ने अवस्था नरहेको बताएको छ,’ उनले भने, ‘हामीले यहाँको सरकारलाई पनि संक्रमण रोक्नका लागि सहयोग त गर्नै पर्यो ।’
उनकाअनुसार पूर्ण र आंशिक ‘लकडाउन’मा परेका सहरहरु संक्रमण नियन्त्रणमा नआएसम्म खुल्ने अवस्था देखिएको छैन ।
नयाँ चिनियाँ भाइरस फैलनसक्ने भन्दै विश्वभरका अस्पताललाई सजग रहन डब्लूएचओको आग्रह