काठमाडौँ — चीनको बुहान ;हरबाट सुरु भई झन्डै १२ वटा मुलुकलाई प्रभावित गरिसकेको कोरोना भाइरसको संक्रमण फैलन नदिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चिनियाँ पर्यटकलाई विशेष निगरानी गर्ने भएको छ ।
पर्यटन क्षेत्रसँग सरोकार राख्ने निजी क्षेत्रका नेपाल होटल संघ (हान), नेपाल पर्वतारोहण संघ, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड लगायतका सम्बन्धित संस्था तथा व्यवसायीहरुसँग सोमबार मन्त्रालयमा यस महामारीबारे पहिलो समिक्षा बैठक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले यस्तो निर्णय गरेका हुन् ।
मन्त्रालयका प्रवक्ता रुद्र तामाङका अनुसार चिनियाँ पर्यटकको अत्याधिक आवतजावत हुने स्थानलाई विशेष निगरानी गरिने भएको छ । ‘चिनियाँ पर्यटकको बढी उपस्थिती हुने काठमाडौं, पोखरा, चितवन, लुम्बिनी जस्ता स्थानमा विशेष पूर्व सावधानी अवलम्बन गर्ने गराउने,’ बैठक लगत्तै मन्त्रालयले विज्ञप्ती प्रकाशन गर्दै भनेको छ,‘चीनसँग जोडिएका उत्तरी सिमामा पर्ने विषेश गरी रसुवागढी, यारी लगायतका स्थलमार्ग नाकामा पनि सर्तकता र सावधानी अपनाउने,’ भनेको छ ।
मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ चेक डेस्कका लागि पर्याप्त स्थान उपलब्ध गराउने भएको छ । यसैबीच मन्त्रालयलले पर्यटकलाई सेवा दिने होटल, ट्राभल/ट्रेकिङ्ग एजेन्सीलाई चीनबाट आएका पर्यटकमा कोरोना भाइरसको संक्रमण अनुमान गर्न सकिने कुनै पनि लक्षण देखिएमा तुरुन्त तोकिएको संस्थामा लैजान निर्देशन दिएको छ ।
त्यस्तै नेपालमा आउने जहाजहरु अवतरण हुनुअघि यात्रुहरुलाई विमानस्थलको हेल्थ डेस्कमा आधारभूत चेकजाँच गर्न मन्त्रालयले बैठकमा सहभागी विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीलाई निर्देशन दिएको छ । हाल चीन काठमाडौं उडानमा नेपालको हिमालयसहित ६ वटा एयरलायन्स छन् । यीनले काठमाडौंलाई चीनका ९ वटा शहरसँग जोडेका छन् । बैठकमा मन्त्री भट्टराईले पर्यटक आउने विमानस्थलदेखि सडक नाकासम्म उच्च सर्तकता अपनाइएको व्यवसायी समक्ष बताएका थिए ।
यसवर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै भ्रमण वर्ष आयोजना गरिरहेको मन्त्रालयले चीनमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको प्रभाव फैलन नदिन सरकारले उच्च सतर्कता अपनाइरहेको जनाउँदै नेपाल पर्यटकका लागि सुरक्षित रहेको पनि बताएको छ ।
‘हामीले होसियारी अपनाएका छौं । नेपाल पर्यटकका लागि सुरक्षित छ,’ उनले बैठकमा भने । यसबीच मन्त्री भट्टराइले पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सबै संस्थालाई यस भाइरसबारे अवलम्बन गर्नुपर्ने सजगता एवं पूर्व सावधानी अपनाउन र कार्यरत कर्मचारीहरुलाई सुसूचित गर्न गराउन निर्देशन दिए ।
मन्त्रालयले पर्यटकहरुको अत्याधिक आवतजावत हुने धार्मिक, सांस्कृतिक स्थानमा सचेतनामूलक प्रचारप्रसार गर्ने निर्णय गरेको छ । छलफलमा हानकी अध्यक्ष सृजना राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निगरानी कडाईमा गरिनुपर्ने बताएकी थिइन् । टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटकले कोरोना भाइरसबारे अपनाइएको सर्तकता बारे सरकारले धारणा बेला बेला आधिकारिक धरणाहरु सञ्चारमाध्यममार्फत् विश्व समुदायलाई दिइरहनुपर्ने बताएका थिए ।
मन्त्रालयले छिमेकी राष्ट्रमा फैलिएको कोरोना भाइरसका कारण नेपालले समेत उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत अन्य मन्त्रालय र सम्बन्धित निकायबीच समन्वय गर्ने जनाएको छ ।
