रसुवागढी नाका हुँदै नेपाल भित्रने पर्यटकको स्वास्थ्य परीक्षण सुरु

माघ १२, २०७६

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकामा आइतबारदेखि हेल्थ डेक्स स्थापना गरी नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । 

चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य परीक्षण सुरु गरिएको हो । आइतबार रसुवागढी नाकामा दुवै देशका सुरक्षा अधिकारीहरुबीच अनौपचारिक बैठक बसेर उच्च सतर्कता अपनाउने विषयमा छलफल समेत भएको छ । 


छलफलमा चीनतर्फ क्वारेन्टाइनले हेल्थ डेक्स स्थापना गरेर चेकजाँच सुरु गरिसकेको चिनियाँ पक्षले बताएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । 


दुवै देशका स्वास्थयकर्मीहरुबीच समन्वय गर्ने, उपचार पद्धति तथा अनुभव आदान प्रदान गर्ने विषयमा पनि छलफल भएको भण्डारीले बताए । त्यस्तै, रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा विदेशी पर्यटकमा कोरोना भाइरसको कुनै लक्षण देखिएमा चिनियाँ भू–भागबाटै फिर्ता गरिने पनि छलफल भएको छ । 


नेपालीको हकमा भने नेपालतर्फको रसुवागढी नाकामा रहेको हेल्थ डेक्समा पठाउने चिनियाँ पक्षले बताएको छ । चीनको विभिन्न ठाउँहरुमा थप हेल्थ डेक्स स्थापना गरी शंका लागेका बिरामीको स्वास्थ्य परीक्षण गरिने जानकारी चिनियाँ पक्षले दिएका छन् । 


आइतबार रसुवागढी नाकामा चिनियाँसहित विभिन्न देशका १० जनाको स्वास्थ्य परीक्षण भएको हेल्थ डेक्सका इन्चार्ज विजयकुमार घलेले बताए । पर्यटकको यात्रा अभिलेख राख्ने काम समेत गरिएको घलेले बताए । 


कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्तरबाटै आइतबारदेखि हेल्थ डेक्स मार्फत् सेवा सुरु गरिएको हो । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले नाकामा तीन दिनभित्र आवश्यक उपकरणसहित जनशक्ति व्यवस्थापन गर्नका लागि जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।


जिल्ला अस्पताल रसुवा, स्वास्थ्य कार्यालय र गोसाइकुण्ड गाउँपालिकाको संयुक्त समन्वयमा हेल्थ डेक्स स्थापना गरिएको हो । 

यो पनि पढ्नुहोस्ः

कोरोना भाइरसको संक्रमणबाट बच्न रसुवागढी नाकामा उच्च सतर्कता

बलराम

Link copied successfully