‘नोवल कोरोना’ संक्रमणको आशंकामा दुईजना टेकु अस्पताल भर्ना, एकको अवस्था गम्भीर

दुवैजना चीनबाट फर्किएका बिरामी हुन्

माघ १२, २०७६

फातिमा बानु

काठमाडौँ — नोवल कोरोना भाइरस संक्रमणको शंकामा चीनबाट नेपाल फर्किएका दुईजनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । उनीहरु दुवैको अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

बिरामीमध्ये एक ४८ वर्षीया महिला र २८ वर्षीय पुरुष छन् । महिला माघ १० गते अस्पताल भर्ना भएका हुन् भने पुरुषलाई ११ गते अस्पताल भर्ना गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनीहरुलाई टेकु अस्पताल लगिएको थियो । 

अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार महिला चिनको संघाईमा तालिम लिएर फर्किएकी हुन् । अस्पतालले ती बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार र निगरानी गरिरहेको छ । 


बिरामी कोरोना भाइरस संक्रमित हुन् या होइनन् भन्ने चाहीँ पुष्टि भएको छैन । स्वास्थ्यकर्मीले भने, ‘महिला बिरामीको अवस्था गम्भीर छ । अवस्था हेर्दा सबै कोरोना भाइरसकै लक्षण देखिएको छ ।’ सुरक्षाको उचित व्यवस्था नहुँदा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी नै बिरामीको नजिक जान डराइरहेको अस्पताल स्रोतले बताएको छ ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/8EiIW-sxE6M" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार ती बिरामी चीनबाट घुमेर आएका हुन् । रुघाखोकी र ज्वरो देखिएपछि उनीहरूलाई निगरानीमा राखिएको उनले बताए । ‘ती बिरामीको र्‍याल र रगतको नमुना परीक्षणका लागि पठाइसकिएको छ,’ उनले भने, ‘उनीहरूको परीक्षण नेपालमै हुन्छ । हङकङ पठाउँदा रिर्पोट आउन धेरै दिन लागेपछि नेपालमै व्यवस्था गरेका हौं ।’

अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले भने बिरामी भर्नाबारे केही थाहा नभएको बताए । कोरोना भाइरसका बिरामीको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले राजधानीका विभिन्न अस्पतालसँग समन्वय गर्न चाहेपनि ती अस्पतालहरुले चासो देखाएका छैनन् ।


यो पनि पढ्नुहोस्ः

के हो नोवल कोरोना, कसरी बच्‍ने ? 

फातिमा

Link copied successfully