के हो नोवल कोरोना, कसरी बच्‍ने ?

अतुल मिश्र

काठमाडौं — चीनमा देखिएको निमोनिया बनाउन सक्ने नयाँ प्रकारको ‘नोवल कोरोना भाइरस’ संक्रमण नेपालमा समेत देखापरेको छ । चीनको बुहानबाट हालै देश फर्किएका एक नेपाली विद्यार्थीमा उक्त भाइरस देखिएको हो । प्रयोगशाला परीक्षण प्रतिवेदनमा उक्त भाइरस देखिएको हो । अस्पतालबाट स्वास्थ्य लाभ गरेर घर फर्किएका उनको स्वास्थ्य स्थिति हाल सामान्य छ ।

ZenTravel

विशेषज्ञहरूले सुरुमा सामान्य संक्रमण देखिए पनि तीव्र गतिमा विकसित हुँदै जटिल अवस्थामा पुग्ने सम्भावना रहेको यो संक्रमणको तुरुन्त पहिचान गरेर छिट्टै र छुट्टै उपचार गर्नु अत्यावश्यक रहेको जनाएका छन् । यो भाइरसको संक्रमण हालसम्म चीन हुँदै नेपाल, दक्षिण कोरिया, जापान, थाइल्यान्ड, भियतनाम, सिंगापुर, संयुक्तराज्य अमेरिकासम्म देखापरेको छ ।

Meroghar

वैज्ञानिक नाम ‘२०१९–एन सीओभी’ भएको यस भाइरसको बढ्दो प्रकोपलाई दृष्टिगत गर्दै सरकारले चीनबाट आएका शंकास्पद ज्वरोका बिरामीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्थ डेस्कमार्फत विशेष निगरानीसमेत थालेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का विज्ञहरूले यस भाइरसले हाल एक व्यक्तिबाट अर्को व्यक्तिमा समेत रोग सारिरहेको इमर्जेन्सी कमिटीको बैठकमा बिहीबार जनाएको छ । एक साताअघिसम्म चिनियाँ सरकारी अधिकारीहरूले जनावरबाट मानिसमा सरेको यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने स्पष्ट प्रमाण नरहेको बताउँदै आएका थिए ।

उसो त डब्लूएचओले हालसम्म चीन बाहिर एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरसको संक्रमण नसरेको समेत औंल्याएको छ । तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावनालाई भने नकारेको छैन । जेनेभामा बिहीबार भएको उक्त बैठकबारे भर्चुअल प्रेसमिटमा काठमाडौंबाट कान्तिपुर संवाददातासमेत संलग्न थिए ।

‘यो एउटा जटिल स्थिति हो । हामीलाई अगाडि बढ्न अझ बढी जानकारीको आवश्यकता छ,’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले भने, ‘चीनमा हाम्रो (डब्लूएचओ) टोलीले स्थानीय विशेषज्ञ र अधिकारीहरूसँग मिलेर काम गरिरहेको छ ।’

नोवल कोरोना भाइरस हालै पत्ता लागेको नयाँ भाइरस रहेको औंल्याउँदै डा. टेड्रसले यो भाइरस सबैभन्दा पहिले देखिएको चीनको हुवई प्रान्तको वुहान सहरको समुद्री खाद्य बजारमा तुरुन्त एक्सन लिइएको समेत जनाए । उनले यस भाइरसलाई हाल अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य संकटकाल घोषित गर्नेजस्तो अवस्था नरहेको पनि बताए ।

इमर्जेन्सी कमिटीको दुई दिनसम्म जारी विशेष बैठकपछि समेत विशेषज्ञहरूबीच यसलाई सार्वजनिक स्वास्थ्य संकटकाल घोषित गर्ने विषयमा एक मत बन्न नसकेको हो । हाल यसलाई ‘ग्लोबल पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा नगरिए पनि जुनसुकै समयमा बदलिँदो परिस्थितिअनुसार यो संक्रमणबारे पुनर्मूल्यांकन गरिने औंल्याउँदै डा. टेड्रसले भने, ‘हाल यो चीनका लागि एउटा ठूलो जोखिम उत्पन्न संकट हो ।’

इमर्जेन्सी कमिटीका सदस्यहरूले एक मानिसबाट अर्कोमा सर्ने यस भाइरसको संक्रमणलाई रोक्नु नै हालको प्राथमिक मुद्दा रहेको समेत बताए । डा. टेड्रसको अनुसार, विश्वभरबाट नोवल कोरोनो भाइरसको ५ सय ८४ वटा प्रयोगशाला प्रमाणित केस डब्लूएचओले गरेको छ । यसमध्ये ५ सय ७५ केस र १७ वटा मृत्यु चीनकै छन् ।

‘मिडिया’ ले शुक्रबारसम्म डब्लूएचओले भन्दा बढी केस रिपोर्ट गरे पनि अझै ती केसहरू अनुसन्धानमा नै रहेकोले यसलाई प्रभावितको रूपमा उल्लेख नगरिएको बताए । श्वासप्रश्वाससम्बन्धी संक्रमण सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोमा (मर्स) भाइरसजस्तै यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिरहेको औंल्याउँदै विशेषज्ञहरूले ‘ब्रेक द चेन अफ ट्रान्समिसन’ (एकबाट अर्कोमा संक्रमण सर्ने कडीलाई तोडौं) लाई मुख्य आधार बनाउँदै नियन्त्रणको प्रयास जारी राखिएको बताएका छन् ।

हाच्छिउँ गर्दा, खोक्दा मुखबाट निस्किने पानीको स–साना थोपा (ड्रप्लेट) का माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा नोवल कोरोना भाइरसको संक्रमण सरिरहेको समेत इमर्जेन्सी कमिटीका विज्ञहरूले औंल्याए । उनीहरूले भने, ‘निकट सम्पर्कमा रहेका परिवार र स्वास्थ्य संस्थामा भाइरस प्रभावितबाट संक्रमण अर्को व्यक्तिमा सरिरहेको देखिएको छ ।’

यो भाइरसको म्युटेसन (उत्परिवर्तन) सम्बन्धी प्रश्नमा डब्लूएचओका विशेषज्ञहरूले वंशाणुगत विविधता (जेनेटिक डाइभर्सिटी) अन्तर्गत ठूलो परिवर्तन हालसम्म नदेखिएको जनाए । डब्लूएचओको समन्वयमा सरकारले चीनबाट आएका शंकास्पद रुघाको लक्षणसहित घाँटी दुखाइ, ज्वरोका बिरामीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्थ डेस्कमार्फत निगरानीसमेत बढाएको छ ।

मुलुकमा भारतपछि सबैभन्दा बढी पर्यटक चीनबाट नै आउँछन् । अध्यागमन विभागको तथ्यांकअनुसार, सन् २०१९ मा चीनबाट १ लाख ५१ हजार २ सय चिनियाँ पर्यटक नेपाल आएका थिए । अझ अहिले चीनमा नयाँ वर्ष भएकाले जनवरी महिनाको तेस्रो सातादेखि मार्चसम्म उनीहरूले धेरै घुमफिर गर्छन् । चिनियाँहरू यही समयमा बढी मात्रामा नेपालसमेत आउने भएकाले विमानस्थलको हेल्थ डेस्कमार्फत थप निगरानी सुरु गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. विवेककुमार लाल बताउँछन् ।

छिमेकी राष्ट्र भारतको स्वास्थ्य मन्त्रालयले समेत नोवल कोरोना भाइरसको सम्भावित संक्रमणको आँकलन गर्दै आफ्ना विमानस्थलहरूमा चीनबाट आउनेहरूमा ज्वरो रहे/नरहेको बारे जान्न ‘थर्मल स्क्यानर’ बाट जाँच गर्न निर्देशन दिएको छ ।

वुहानबाट फर्केका नेपाली विद्यार्थीमा ज्वरोलगायतका लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अन्य बिरामीभन्दा छुट्टै चिकित्सकीय निगरानीमा समेत राखिएको थियो । ती शंकास्पद बिरामीको घाँटीको र्‍याल र रगतको परीक्षण गर्न गतबुधबार हङकङ पठाइएको थियो । रिपोर्टअनुसार, उनमा नोवल कोरोना भाइरस देखिएको हो । नेपालमा हालसम्म नोवल कोरोना भाइरस पहिचान गर्न प्रयोगशाला परीक्षण हुने गरेको छैन ।

ईडीसीडीका जेनोटिक र अन्य सरुवा रोग शाखा प्रमुख डा. हेमन्तचन्द्र ओझाका अनुसार, हाल विमानस्थलमा शंकास्पद बिरामी देखिए तुरुन्त क्वारेन्टाइन (अन्य व्यक्तिभन्दा अलग गर्नु) गरेर उपचार प्रक्रियामा लग्ने व्यवस्था मिलाइएको छ ।

खतरनाक कति?
विशेषज्ञहरूका अनुसार, चीनमा देखिएर विश्वभर तीव्र गतिमा विस्तार भइरहेको नोवल कोरोना भाइरस धेरै खतरनाक रूपमा प्रस्तुत भइरहेको छ । हालसम्म कुनै विशिष्ट उपचार नभएको कडा निमोनियालगायतका स्वास्थ्यमा जटिलता ल्याउन सक्ने यो भाइरसले सामान्य रोगदेखि गम्भीर रोगसमेत लगाउन सक्छ ।

यो भाइरसको इन्फेक्टिभिटी रेट (संक्रामकताको दर), सिभियरिटी रेट (गम्भीरताको दर) र मर्टिलिटी रेट (मृत्युदर) समेत बढी देखिएको छ । ‘हालसम्म प्रकाशमा आएका विभिन्न तथ्यांक हेर्दा नोवल कोरोना भाइरसको विस्तारले गर्दा स्थिति भयानक हुन सक्ने देखिएको छ,’ त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास भन्छन्, ‘सार्स र मर्सको तुलनामा यसको सिभियरिटी रेट (संक्रमण भएपछि बिरामी गम्भीर अवस्थामा जान सक्ने दर) धेरै बढी छ ।’

हाल नोवल कोरोना भाइरस देखिएका सबै केसमध्ये करिब २५ प्रतिशतभन्दा बढी केस क्रिटिकल (नाजुक) अवस्थाका देखिएको औंल्याउँदै डा.दास भन्छन्, ‘स्वाइनफ्लु फैलिँदा सम्पूर्ण प्रभावितमध्ये एकदेखि डेढ प्रतिशत केस मात्र नाजुक हुने गरेको थियो ।’

डब्लूएचओका महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले समेत नोवल कोरोना भाइरसबाट हालसम्म संक्रमित भएकाहरूमध्ये एक चौथाइले नाजुक बिरामी भएको अनुभूति गरेको बताए । यति मात्र नभई हालसम्म सार्वजनिक भएको तथ्यांकअनुसार, नोवल कोरोना भाइरस संक्रमणबाट हुने संक्रमकताको दर, गम्भीरताको दर र मृत्युदरसमेत बढी देखिएको उनले बताए ।

सार्सजस्तै कोरोना
वैज्ञानिक नाम ‘२०१९–एन सीओभी’ रहेको ‘नोवल कोरोना भाइरस’ यसअघि विश्वको कुनै पनि भागमा देखिएको थिएन । यो नयाँ भाइरसको ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ (सार्स) उत्पन्न गर्ने भाइरसकै एउटा प्रकार हो ।

कोरोना भाइरस विभिन्न भाइरसको एउटा समूह हो, जो मानिसलगायत स्तनधारी प्राणीको श्वासनलीसँग सम्बन्धित स्वास्थ्य समस्याहरू उत्पन्न गर्न सक्छ । इलेक्ट्रोन माइक्रोस्कोपमा यो भाइरस क्राउन (मुकुट) को आकारमा देखिने भएकाले यसको नाम कोरोना भाइरस रहेको हो । ल्याटिन भाषामा मुकुटलाई कोरोना भनिन्छ ।

धेरैजसो कोरोना भाइरस हानिकारक नभए पनि यसको सार्स र मर्स उत्पन्न गर्ने प्रकार मनुष्यको लागि खतरनाक मानिन्छ । चिकित्सा इतिहासअन्तर्गत मानिसमा पहिलो कोरोना भाइरस सन् १९६० मा सामान्य रुघाखोकीले ग्रस्त व्यक्तिको नाकमा पाइएको थियो । यसअघि सन् १९३७ मा जनावरमा पहिलो कोरोना भाइरस पक्षीमा संक्रमित ब्रोकाइटिस भाइरसका रूपमा पाइएको थियो ।

प्रतिरोधक क्षमता कम भए जोखिम
नोवल कोरोना भाइरसले उच्च रक्तचाप, मधुमेह, मुटु र रक्तनली सम्बन्धी रोग (कोरोनरी भास्कुलर डिजिज) लगायत शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूमा बढी कडा रूपमा देखिएको छ । संक्रमणले हुने मृत्युसमेत यस्तै व्यक्तिमा बढी देखिएको हो । डब्लूएचओका महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

अधिकांश संक्रमित ४० वर्ष माथिका
हालसम्म यो भाइरस पाको उमेर भएकाहरूलाई कडा रूपमा देखिएको छ भने दुई तिहाइ संक्रमित पुरुष छन् । डब्लूएचओको तथ्यांकअनुसार, कूल संक्रमितमध्ये ७२ प्रतिशत ४० वर्षमाथिका छन् । यस्तै संक्रमितहरूमा ६४ प्रतिशत पुरुष छन् ।

भाइरस सर्पबाट आएको हो ?
विभिन्न मिडिया रिपोर्टमा नोवल कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरिए पनि हालसम्म यसबारे सही जानकारी आइसकेको छैन । डब्लूएचओले यो भाइरस सम्भवतः पशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट सरेको हो भन्नेबारे अझै स्पष्ट भइनसकेको जनाएको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रसले हालसम्म यो भाइरसको स्रोत थाहा हुन नसकेको बताए । ‘हामीले चीनको वुहानस्थित समुद्री खाद्य बजारलगायत प्रभावित क्षेत्रहरूका पशुबाट थुप्रै नमुना संकलन गरेका छौं,’ डब्लूएचओका विशेषज्ञहरूले बिहीबार जेनेभामा भएको पत्रकार सम्मेलनमा भने । उनीहरूले यो भाइरस सर्पबाट मनुष्यमा सरेको हो कि भन्ने प्रश्नको उत्तरमा भने, ‘हालसम्म यसबारे यथेष्ट प्रमाण छैन ।’

उपचार
यो भाइरसले संक्रमित भई जटिल अवस्थामा पुगेकाहरूलाई लाक्षणिक उपचार गरिन्छ । छाती रोग विशेषज्ञ डा. दासका अनुसार, यदि सास फेर्न असजिलो, एक सय डिग्री फरेनहाइटभन्दा बढीको तीव्र ज्वरो, बान्ता, पखालाजस्ता समस्या ४८ घण्टाभन्दा बढी समय देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

डब्लूएचओका विशेषज्ञहरूका अनुसार, जटिल अवस्थाका संक्रमित व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी स्याहार र उपचारको आवश्यकता हुन्छ । जटिल अवस्थामा शरीरका धेरैजसो अंगले काम गर्न छोड्ने अवस्थासमेत आउन सक्ने भएकाले ‘मल्टिपल अर्गेन सपोर्ट’ चाहिन्छ ।

जोखिम न्यूनीकरण
  • हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
  • खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
  • चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
  • मासु र अण्डालाई पकाएर खाऔं
  • जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
  • खोक्दा वा हाच्छिउँपछि
  • बिरामी व्यक्तिको स्याहार गरेपछि
  • चर्पी प्रयोग गरेपछि
  • हात फोहोर देखिएपछि
  • बाहिरबाट घर आएपछि
  • जनावर वा जनावरको फोहोर छोएपछि

प्रकाशित : माघ ११, २०७६ ०७:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मोटरसाइकलको ठक्करले पैदलयात्रुको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — शुक्रबार राति काठमाडौंबाट चितवनतर्फ गइरहेको मोटरसाइकलले ठक्कर दिँदा गल्छीको  बैरेनीबजारमा वृद्ध पैदलयात्रुको मृत्यु भएको छ ।

प्र ३ ०२ ००९प ५९६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वैरेनीवजारमा बाटो काटिरहेका ६० वर्षीय बद्री कार्कीको मृत्यु भएको थियो। मृतक कार्की जिल्ला उद्योग वाणिज्य संघ, धादिङका क्षेत्रीय उपाध्यक्ष दिपक कार्कीका बुवा हुन्।

ठक्कर दिने मोटरसाइकल चालक अर्जुन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको गजुरीस्थित जिल्ला ट्राफिक प्रमुख नेत्र भट्टले बताए।

प्रकाशित : माघ ११, २०७६ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×