चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

अमेरिकामा ४३ जना निगरानीमा
एजेन्सी

बेइजिङ — चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । शुक्रबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसका कारण २६ जनाको मृत्यु भएको र ८ सय ३० जनामा यसको संक्रमण देखिएको जानकारी दिएको हो । हुबेईमा सबैभन्दा बढी २४ जनाको मृत्यु भएकाे छ । त्यस्तै हेबेई र हेइलोङजियाङमा एक-एक जनाको मृत्यु भएको छ ।

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको जोखिम चीनका अन्य प्रान्त र सहरलगायत विश्वका विभिन्न देशमा समेत फैलिएको छ । कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरियामा समेत पुगेको छ ।

शुक्रबार जापान र दक्षिण कोरियाले अहिलेसम्म दुई–दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् । त्यस्तै अमेरिकाको सियाटलमा एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि ४३ जनालाई निगरानीमा राखिएको छ ।

सियाटलका ३० वर्षीय अमेरिकी नागरिक केही दिनअघि मात्रै वुहानबाट फर्किएका थिए । आइसोलेसन वार्डमा राखेर उनको उपचार भइरहेकाे छ । रोबोटसहितको मेडिकल टिम उनको उपचारमा खटिएको सीएनएनले जनाएको छ ।

चीनले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि भन्दै बिहीबार तीन सहरमा आवतजावत बन्द गर्ने घोषणा गरेको थियो । वुहानसहित हुआङगाङ र इझौ सहरमा आवतजावत रोक्ने चीन सरकारले निर्णय गरेको छ । त्यस्तै चीन सरकारले नयाँ वर्षमा पनि ठूला कार्यक्रम नर्गन आदेश दिएको छ ।

रोग नियन्त्रणका लागि १६ अर्ब

चीन सरकारले प्राणघातक कोरोना भाइरससँग लड्नका लागि एक अर्ब आरएमबी(झण्डै १६ अर्ब नेपाली रुपैयाँ) छुट्याएको छ । बिहीबार अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि १६ अर्ब छुट्याइएको जानकारी दिएको हो ।

कोरोना भाइरस के हो र यसबाट कसरी जोगिने ?

प्रकाशित : माघ १०, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?