कोरोना प्रकोप : तीन चिनियाँ सहर बन्द, नयाँ वर्षका कार्यक्रम पनि रोकिए
बेइजिङ — कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि चीनले बिहीबार तीन सहरहरुलाई बन्द गर्ने घोषणा गरेको छ । सयौं मानिस प्रभावित भएको र देशका अन्य सहरहरुमा समेत यो फैलँदै गएका कारण भाइरल भनेको भाइरसको रोकथामका लागि चिनियाँ नयाँ वर्षका लागि तयार ठूल्ठूला कार्यक्रमहरु समेत स्थगित गरिएको छ ।
प्रहरी, स्वाट टिम र अर्ध सैनिक बल समेतलाई वुहान रेल स्टेसनको सुरक्षार्थ खटाइएको छ । यहाँका फलामे बारहरु भएको मुख्य द्वारहरु बिहान ठीक १० बजे बन्द गरिएको छ । अन्तिम रेलका यात्रुहरुलाई मात्र प्रवेश गराउँदै ढिलागरी बुकिङमा जान खोज्नेहरुहरुलाई रोकिएको छ ।
कोरोनाको रोकथामकै लागि यहाँ सधैं व्यस्त हुने सहर, सपिङ मल, रेस्टुरा र सार्वजनिक स्थलहरु समेत सामसुम पारिएका छन् । रेल स्टेसन, एयरपोर्ट, फेरि, सबवे र बस सेवा समेत रोकिएको छ ।
शुक्रबार नजिकैका सहरहरु हुआङगाङ र इझौंमा समेत यो लागु गरिने बताइएको छ । हुआङगाङका थिएटर, इन्टरनेट क्याफे र मनोरञ्जनात्मक केन्द्रहरुलाई बन्द गर्ने आदेश दिइएको छ ।
तस्बिर : एपी
राजधानी बेइजिङका अधिकारीहरुले सहरमा आयोजना हुन लागेका प्रमुख समारोहहरुलाई समेत बन्द गर्न आदेश दिइएको छ । यहाँको संस्कृति तथा पर्यटन ब्युरोले ‘प्रकोप रोकथाम र नियन्त्रण कार्यान्वयन गर्न’ भन्दै परम्परागत नयाँ वर्षका लागि अत्यावश्यक रहेका मन्दिर मेलाहरुलाई समेत रोक्न भनेको छ ।
‘मेरो ख्यालमा ११ मिलियन बासिन्दा रहेको सहरलाई रोकथाम गर्न खोज्नु विज्ञानका लागि पनि नयाँ चुनौती हो,’ विश्व स्वास्थ्य संगठनका चिनिया प्रतिनिधि गौडेन गलियाले एपिको अन्तर्वार्तामा भनेका छन्, ‘सार्वजनिक स्वास्थ्य नियन्त्रणका लागि यसअघि यस्तो रोकथामको काम पहिले गरिएको थिएन । यो चरणमा यसले काम गर्छ कि गर्दैन हेर्न बाँकी छ ।’
कोरोना भाइरसका कारण सिर्जित नयाँ रोग गत महिना औद्योगिक र यातायातको केन्द्रका रुपमा रहेको चीनको हुबेई प्रान्तको सहर वुहानमा फेला पारिएको थियो । यहाँमात्रै कोरोना भाइरसका ५७१ केसहरु फेला परेका थिए ।
कोरोना भाइरसका केसहरु अमेरिका, जापान, दक्षिण कोरिया र थाइल्यान्डमा समेत फेला परेका छन् । बिहीबार मात्रै हङकङले एक संक्रमित फेला परेको बताएको छ भने यसभन्दा अघि मकाओमा फेला परेको बताइएको थियो । चीन बाहिरका संक्रमितहरुमा वुहान अथवा हालै मात्र वुहान भ्रमणमा गएकाहरु छन् ।
हालसम्म कोरोना भाइरसबाट वुहानका १७ मानिसको मृत्यु भइसकेको छ । मृतकहरुमध्ये प्रायको उमेर कम्तीमा ७३ वर्ष छ भने ८९ वर्ष र जवानहरुमा ४८ वर्षका छन् ।
प्रकाशित : माघ ९, २०७६ २०:१८