१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कोरोना फैलिन नदिन चीनस्थित नेपाली नियोगहरूको हटलाइन  

लक्ष्मी लम्साल

बेइजिङ — चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणप्रति सचेत रहन चेतावनी जारी गर्दै चीनस्थित नेपाली निकायहरूले चीनका विभिन्न स्थानहरूमा आकस्मिक सेवाका लागि हटलाइन सेवाको व्यवस्था गरेका छन् ।

बेइजिङस्थित नेपाली दूतावासले बिहीबार एउटा सूचना जारी गर्दै बेइजिङ, क्वाङ्चौ, ल्हासा, हङकङ र शाङ्हाईमा आपतकालीन् सहयोगका लागि हटलाइनको व्यवस्था गरिएको सूचित गरेको हो।


दूतावासद्वारा जारी वक्तव्यमा कोरोना भाइरस संक्रमित बिरामीहरूको सम्पर्कमा नआउन, सकेसम्म भाइरस प्रभावित क्षेत्रको यात्रा नगर्न तथा जीवित वा मृत जनावर र खासगरी नपकाएको मासुको सम्पर्कबाट टाढै रहन सचेत गराइएको छ ।


यस्तै साबुनपानीले बारम्बार हात धुन वा साबुनपानी उपलब्ध नभएको अवस्थामा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्न तथा चीन सरकारको स्वास्थ्य मन्त्रालयद्वारा कोरोना भाइरस संक्रमणका सम्बन्धमा जारी हुने अद्यावधिक जानकारी लिइरहन र सो बमोजिम सेचतना अपनाउन पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


आपतकालीन् सहयोगका लागि चीनका विभिन्न निकायहरूमा सम्पर्क राख्न पनि दूतावासले अपील गरेको छ। हटलाइन खोलिएका निकायहरूमा बेइजिङस्थित नेपाली राजदूतावास, क्वाङ्चौस्थित नेपाली महावाणिज्य दूतावास, ल्हासास्थित नेपाली महावाणिज्य दूतावास, हङकङस्थित नेपाली महावाणिज्य दूतावास र शाङ्हाईस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासका हटलाइन नम्बर छन् र सम्बन्धित हटलाइनमा सहयोगी कर्मचारीको पनि व्यवस्था गरिएको छ।


कोरोनाका कारण नेपाली युवाको शव अलपत्र

चीनमा फैलिएको कोरोना भाइरसका कारण एक मृत नेपालीको शव नेपाल फर्काउन समस्या भएको छ। विगत एक दशकदेखि चीनमा कार्यरत दोलखाका करिब ४० वर्षीय पुस्कर खड्काको गत आइतबार आफू बसेकै होटलमा निधन भएको थियो । कोरोना भाइरसको केन्द्र मानिएको हुपै प्रान्तको वुहानस्थित एउटा इण्डियन मार्का नामक भारतीय रेस्टुरेन्टमा उनी कार्यरत थिए। अस्पतालको प्रारम्भिक प्रतिवेदन अनुसार खड्काको कोरोना भाइरसका कारण नभएर अन्य कारणले नै मृत्यु भएको हो।


हाल सुचौमा कार्यरत मृतकका आफन्त धनबहादुर कार्कीका अनुसार खड्का विगत एक दशकदेखि चीनका विभिन्न भान्छाघरमा ‘सेफ’सम्बन्धी काम गर्दै आएका थिए । दोलखा काटाकुटी पुर्ख्यौली घर भएका खड्काकी आमा, श्रीमती र छोरा सहितको परिवार हाल भक्तपुरको ठिमीमा रहँदै आएको छ ।


भारतीय कम्पनीले ड्युटी बाहिरको घटना भएकाले क्षतिपूर्ति नबेहोर्ने बताएको छ । मृतकको शव नेपाल लैजान आवश्यक ठूलो परिमाणको रकम जुटाउनका लागि नेपालस्थित जिम्मेवार निकाय र बेइजिङस्थित नेपाली दूतावासमार्फत् पहल भइरहेको पनि कार्कीले जानकारी दिए । चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाड सकिएपछि शव नेपाल फर्काउने प्रक्रिया अघि बढ्नसक्नेछ । शुक्रबारदेखि सुरू हुने चिनियाँ नयाँ वर्षको विदा एक सातापछि सकिनेछ ।


चिनियाँ वसन्त चाडको लामो बिदामा चिनियाँहरूको बाक्लो ओहरदोहोर हुने भएकाले कोरोना भाइरस फैलिने आशंकामा वुहानको सरकारले बिहीबारदेखि लागू हुने गरी त्यहाँका सार्वजनिक यातायातहरू अस्थायी रूपमा बन्दको घोषणा गरेको छ । स्थानीय बस, लामो दूरीका बस तथा सबवे लगायत बिहीबार बिहान १० बजेदेखि बन्द गरिएका छन् ।


वुहानबाट चल्ने सबै उडानहरू तथा रेल तालिका रद्ध गरिएको छ। वुहानका स्थानीय वासिन्दालाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन चेतावनी जारी गरिएको छ।

प्रकाशित : माघ ९, २०७६ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?