कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुग्यो, उत्तर कोरियामा विदेशीलाई प्रतिबन्ध

एजेन्सी

बेइजिङ — चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । बुधबार चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसका हुबेई प्रान्तमा ९ जनाको ज्यान गएको जानकारी दिएका हुन् । मृत्यु हुनेमध्ये धेरै पाका उमेरका व्यक्ति रहेको पनि जनाइएको छ । त्यस्तै ४४० जनामा यसको संक्रमण देखिएको छ । 

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुग्यो, उत्तर कोरियामा विदेशीलाई प्रतिबन्ध

कोरोना भाइरस संक्रमणको ‘इपिसेन्टर’ मानिएको हुबेई प्रान्तको वुहान सहरमा पशुबजार र जंगली जनावरमाथि कडा नियमन गर्न पनि स्थानीय प्रशासनलाई निर्देशन दिएको मन्त्री बिनले बताए । मानिसहरुको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल्वे स्टेसन, बन्दरगाहहरुमा स्वास्थ्य जाँचका लागि थर्मल बडी स्क्यानर राखिएको मन्त्री बिनले जानकारी दिए ।

अहिलेसम्म कहाँ कहाँ फैलियो ?

चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण चीनका १३ प्रान्तमा फैलिएको छ । चीनको वुहानमा भन्डै एक करोड जनसंख्या रहेको छ । बुधबार अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । वुहानबाट केही दिनअघि अमेरिका फर्किएका अमेरिकी नागरिकमा यसको कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

चिनियाँ स्वास्थ्यमन्त्री ली बिन तस्बिर : रोयटर्स

जापानको टोकियोमा पनि एक जना व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । दक्षिण कोरियाको राजधानी सोल, ताइवान र मकाउमा पनि एक–एक जनामा यसको संक्रमण भेटिएको छ । त्यस्तै थाइल्याण्डको बैंककमा २ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपालमा पनि यसको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ । वुहानबाट फर्किएका एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमणको शंका गरिए पनि त्यसको औपचारिक पुष्टि भएको छैन ।

उत्तर कोरियामा विदेशी नागरिकलाई प्रतिबन्ध

चीनको वुहान फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोक्न भन्दै उत्तर कोरियाले बुधबारबाट विदेशी पर्यटकमाथि प्रतिबन्ध लगाएको छ । सीएनएनले उत्तर कोरियाली ट्राभल एजेन्सी ‘योङ पायोनियर टुर्स’ लाई उद्धृत गर्दै बुधबारबाट उत्तर कोरियाले विदेशी पर्यटकमाथि प्रतिबन्ध लगाएको जनाएको छ । मंगलबार उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले पनि कोरोना भाइरसको संक्रमणको जोखिम रोक्नका लागि देशव्यापी अभियान सुरु गरेको जनाएको थियो ।

उत्तर काेरिया र चीनकाे सीमा छुट्याउने यालु नदीमा रहेकाे मितेरी पुल फाइल तस्बिर : रोयटर्स

उत्तर कोरियामा विदेशी नागरिकको आउजाउ एकदमै न्यून हुने गरेको छ । उत्तर कोरियाली पयर्टन उद्योगमा विशेषगरी चिनियाँ पर्यटकको विशेष योगदान रहेको छ । चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार उत्तर कोरियाली अर्थतन्त्रमा पयर्टन उद्योगबाट वार्षिक ४४ मिलियन अमेरिकी डलरको योगदान रहेको छ ।

तर उत्तर कोरियामा कति विदेशी पर्यटकले भ्रमण गर्छन् भन्ने यकिन विवरण भने उपलब्ध छैन । ग्लोबल टाइम्सका अनुसार हरेक वर्ष उत्तर कोरियामा एक लाख पर्यटकले भ्रमण गर्छन् । त्यसमध्ये ८० प्रतिशत पर्यटक चिनियाँ नागरिक रहेको ग्लोबल टाइम्सले लेखेको छ ।

प्रकाशित : माघ ८, २०७६ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?