‘नयाँ भाइरसले चीनमा सयौं प्रभावित’

माघ ५, २०७६

लन्डन — चीनमा ‘सार्स’ जस्तै भाइरसका कारण दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म नयाँ प्रकारको भाइरसबाट ४५ जना संक्रमित भेटिएको चीनले जनाएको छ । 

रहस्मय प्रकृतिको नयाँ भाइरसबाट चीनले जनाएभन्दा बढी प्रभावित भएको हुन सक्ने बेलायत आधारित वैज्ञानिकहरूले बताएका छन् । उनीहरूले सयौं मानिस प्रभावित भएको हुन सक्ने भन्दै यसबाट सचेत रहन आग्रहसमेत गरेका छन् ।


नयाँ भाइरस गत डिसेम्बरमा वुहान सहरको ‘सिफुड’ बजारबाट फैलिएको चिनियाँ पक्षले जनाएको छ । लन्डनस्थित इम्पेरियल कलेजको ‘एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सियस डिजिज’ का वैज्ञानिकहरूले शुक्रबार प्रकाशित गरेको अनुसन्धान विवरणअनुसार वुहान सहरमा नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनेका संख्या हजारभन्दा बढी छ । 


बेलायत सरकार र विश्व स्वास्थ्य संगठन लगायतलाई समेत सल्लाह दिने इम्पेरियल कलेजको सो निकायका वैज्ञानिकहरूले जनवरी १२ को तथ्यांकअनुसार वुहानमा अनुमानित ‘१ हजार ७ सय २३’ संक्रमित हुन सक्ने बताएका छन् । 

वुहानबाट भाइरसको उत्पत्ति भए पनि थाइल्यान्डमा दुई र जापानमा एक जनामा संक्रमण देखिएको छ । वुहान विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ट्राफिकको तथ्यांक लिएर अनुसन्धानकर्ताहरूले चीनबाहिरका संक्रमितको पनि नमुना संकलन गरेका हुन् । 


‘वुहानले अन्य देशमा तीनजना संक्रमित पठाइसक्नुको अर्थ उसले भनेको भन्दा निकै धेरै संक्रमण भएको छ भन्ने हो,’ एमआरसी सेन्टरका प्राध्यापक निल फर्गुसनले बीबीसीसँग भने, ‘म एक साताअघि भन्दा अहिले धेरै चिन्तित छु ।’ यद्यपि नयाँ भाइरसलाई लिएर आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ । 


नयाँ प्रकृतिको भाइरसको संक्रमण आफ्ना देशभित्र नहोस् भनेर सिंगापुर र हङकङले वुहानबाट आउने हवाई यात्रीको स्वास्थ्य जाँच गर्न थालिसकेका छन् । अमेरिकी अधिकारीहरूले पनि सान फ्रान्सिस्को, लस एन्जलस र न्युयोर्कस्थित तीन प्रमुख विमानस्थलमा शुक्रबारदेखि मुख्यभूमि चीनबाट आउने हवाई यात्रुको स्वास्थ्य जाँच थालिसकेको जनाएको छ । 


के हो नयाँ भाइरस ?

विश्व स्वास्थ्य संगठनका अनुसार चीनको वुहान सहरमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस रुघाखोकीदेखि ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ र ‘सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ जस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो । 


नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानवमा नदेखिएको भाइरस हो । कोरोना भाइरस जुनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो । पहिचान भएका थुप्रै अन्य प्रकारका कोरोना भाइरस जनावरमा देखिए पनि तिनले मानिसलाई संक्रमित भने बनाएका छैनन् ।


चिनियाँ पक्षले पनि यो भाइरस मानिसबाट मानिसमा सरेको घटना भने नपाइएको जनाएको छ । यो भाइरस संक्रमित जनावरबाट ‘सीफुड’ पाइने वुहानको बजारसम्म पुगेको उनीहरूको भनाइ छ । 


Link copied successfully