२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नयाँ कोरोना भाइरसको जोखिम

सम्पादकीय

चीनबाट फैलिएको नयाँ कोरोना भाइरसको संक्रमण नेपालमा पनि पाइएकाले यसबारे थप सतर्कता अपनाउनुपर्ने देखिन्छ । चीनका आधा दर्जनभन्दा बढी सहर र काठमाडौंबीच सिधा हवाई सम्पर्क भएकाले नेपालमा यो संक्रमणको जोखिम बढी छ । चीनको वुहानबाट बिदामा नेपाल आएका विद्यार्थीको रगत र र्‍यालको नमुना परीक्षण गर्दा यो भाइरस भेटिएको पुष्टि भइसकेको छ ।

नयाँ कोरोना भाइरसको जोखिम

हङकङबाट आएका अर्का व्यक्तिसमेत संक्रमित भएको आशंका छ । त्यसैले संक्रमण फैलिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको २४ घण्टे ‘हेल्थ डेस्क सेन्टर’लाई प्रभावकारी बनाइनुपर्छ ।


मुलुकमा भारतपछि सबैभन्दा धेरै पर्यटक चिनियाँ नै आउँछन् भने पछिल्लो समय अध्ययनका लागि चीन जाने नेपालीको संख्या पनि बढिरहेको छ । साताको दर्जनौं उडानमार्फत दुई देशबीच बाक्लै आउजाउ हुने गर्छ । सम्पर्क उडानमार्फत चीन भएर आउने पनि उत्तिकै हुन्छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार अहिलेसम्म यस्तो संक्रमणबाट त्यहाँ कम्तीमा ४० जनाको मृत्यु भइसकेको छ भने ८ सयभन्दा बढी संक्रमित छन् । उपचारमा संलग्न एक चिकित्सककै ज्यान गएको छ । हालसम्म दक्षिण कोरिया, जापान, थाइल्यान्ड, भियतनाम, सिंगापुर र अमेरिकामा पनि यसको संक्रमण देखिइसकेको छ । यस्तो अवस्थामा चीनलगायत ती मुलुकबाट आउने जोकोहीलाई संक्रमण भएको हुन सक्ने भएकाले नेपालले विमानस्थलमै विशेष निगरानी बढाउन आवश्यक छ ।


यो भाइरसको संक्रमण मानिसबाट मानिसमा सर्ने पुष्टि भइसकेको छ । संक्रमित बिरामीको परिवार र संसर्गमा रहेका व्यक्तिमा मात्र होइन, जहाजमा सँगै रहेका अरू यात्रुमा पनि यस्तो संक्रमण सर्ने सम्भावना हुन्छ । यो भाइरसको संक्रमण एकबाट अर्कोमा सर्न रोक्नु नै अहिलेको ठूलो प्राथमिकता हुनुपर्छ । त्यसका लागि विमानस्थलस्थित हेल्थ डेस्कलाई स्रोतसाधन, प्रविधि र जनशक्तिले बलियो बनाउनुपर्छ । उक्त डेस्कले विमानस्थलमा शंकास्पद बिरामी देखिएमा तुरुन्त अलग्गै राखेर उपचार गर्नुपर्छ । र, उक्त व्यक्तिसँगै यात्रा गरेकाहरूलाई निश्चित लक्षण देखिएमा चिकित्सकसँग परामर्श गर्न सचेत गराउनुपर्छ ।


यो भाइरसको संक्रमण हुनेलाई रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा अत्यधिक समस्या देखिने र १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने गर्छ । यसबाहेक जीउ र टाउको दुख्ने पनि हुन्छ । संक्रमण सुरुमा सामान्य देखिए पनि पछि निमोनियासम्म भई ज्यानै जान सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरल प्रभावित देशहरूबाट आउने मानिसलाई दुई साताभित्र रुघाखोकी लागेमा, ज्वरो आएमा, घाँटी–टाउको दुखेमा, श्वासप्रश्वासमा समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न सार्वजनिक सूचना जारी गरेको छ । सरकारले यस्तो सूचना लक्षित सबैमा पुर्‍याउन आवश्यक छ ।


यो भाइरसविरुद्ध न कुनै खोप छ, न यसका कारण लाग्ने रोगबारे खास उपचार । यो भाइरसले संक्रमित भई जटिल अवस्थामा पुगेकालाई लक्षण अनुसार उपचार गरिन्छ । उचित उपचार पाएमा बिरामीलाई निको हुन्छ । नेपालमा संक्रमित पुष्टि भएका व्यक्ति पनि अस्पतालबाट स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन्, हाल उनको स्वास्थ्यस्थिति सामान्य छ । यसको संक्रमण उच्च रक्तचाप, मधुमेह, मुटु र रक्तनलीसम्बन्धी रोगलगायत शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूमा कडा रूपमा देखिएको छ । ज्यान गुमाउनेमा पनि यस्तै समस्या भएकाहरू छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमितमध्ये ७२ प्रतिशत ४० वर्षमाथिका छन् । त्यसैले रोगविरुद्धको प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिहरू बढी सतर्क रहनुपर्छ ।


जोखिम न्यूनीकरणका लागि साबुन–पानीले हात धुनुपर्छ । खोक्दा, हाछ्युँ गर्दा नाक र मुख छोप्नुपर्छ । फ्लुजस्ता लक्षण देखिएका जोकोहीबाट टाढै रहनुपर्छ र यस्तो लक्षण देखिएमा चिकित्सकको परामर्श लिनुपर्छ । यो जनावरबाट मानिसमा सरेको संक्रमण भएकाले मासु र अण्डा राम्ररी पकाएर मात्र खानुपर्छ, जंगली र घरेलु पशुपन्छीसित असुरक्षित सम्पर्कबाट टाढै रहनुपर्छ । चीनजस्तो स्रोतसाधन सम्पन्न मुलुकलाई त यसलाई नियन्त्रणमा लिन सकस परिरहेको छ, हामीकहाँ फैलिइहाल्यो भने जोखिमको स्तर ठूलो हुन सक्छ । अहिलेसम्म यहाँ यो भाइरसको परीक्षण सेवासमेत छैन ।


तसर्थ, सुरुमा यसलाई फैलनबाटै रोक्नुपर्छ, कसैलाई संक्रमण देखिइहालेमा अस्पतालमा उचित उपचार गराउनुपर्छ । त्यसका लागि सरकारले नागरिकमा आवश्यक सूचना सञ्चार गर्नेदेखि अस्पतालहरूलाई स्रोतसाधनले बलियो बनाउनुपर्छ । विज्ञहरूका अनुसार यो संक्रमण यसअघि सन् २००३ मा चीनमै अर्को किसिमको कोरोन भाइरसकै कारण फैलिएको सार्सजत्तिको डरलाग्दो होइन । तैपनि तीव रूपमा फैलिएको नयाँ रोग भएकाले विश्वभरका मुलुक यसप्रति सतर्क छन्, चीनबाट नजिकैको देश नेपालले झनै सावधानी अपनाउनुपर्छ ।

प्रकाशित : माघ १२, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?