कोरोना प्रकोप : चीनमा मृतकको संख्या ८० पुग्यो, २ हजार बढी संक्रमित

माघ १३, २०७६

एजेन्सी

बेइजिङ — चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार २७४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ। न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ।

शनिबार चिनियाँ राष्ट्रपति सी चिङफिङले त्यहाँको सरकारी टेलिभिजन सीसीटीभीसँग कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताएका थिए। चिनियाँ नयाँ वर्षको छेकोमा आयोजित कम्युनिस्ट पार्टीको सभामा कोरोना रोकथामका लागि तत्कालै सरकारी पहलबारे प्रकाश पारेका थिए।

कोरोना प्रकोपका कारण चीनमा हुँदै गरेका पछिल्ला सार्वजनिक सभा, सभारोह र उत्सवहरु बन्द गरिएको छ भने सहर, बजार, रेल्वे स्टेसन र विमानस्थलमा उच्च सतर्कता अपनाउँदै सुरक्षा बल खटाइएको छ।

कहाँ कति संक्रमित ?

चीन - ८० मृत्यु, २७४४ संक्रमित

अस्ट्रेलिया - ४ जना संक्रमित

फ्रान्स - ३ जना संक्रमित

हङकङ - ८ जना संक्रमित

जापान - ४ जना संक्रमित

मकाओ - ५ जना संक्रमित

मलेसिया - ४ जना संक्रमित

नेपाल - १ जना संक्रमित

सिंगापुर - ४ जना संक्रमित

दक्षिण कोरिया - ३ जना संक्रमित

ताइवान - ४ जना संक्रमित

थाइल्यान्ड - ८ जना संक्रमित

अमेरिका - ५ जना संक्रमित

भियतनाम - २ जना संक्रमित

कोरोना भाइरस

एजेन्सी

Link copied successfully