कोरोनाको आशंकापछि एक अमेरिकी नागरिकलाई विमानस्थलबाट अस्पताल पठाइयो 

माघ १२, २०७६

बुनु थारु

काठमाडौँ — चीनबाट नेपाल आएका एक अमेरिकी नागरिकलाई कोरोना भाइरसको आशंका गरिएको छ । अन्दाजी ३९ वर्षका उनलाई विमानमा नै ज्वरो आएको थियो ।

त्यसपछि परीक्षण गरेर उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगिएको हो । उनी चीनको वुहान हुँदै काठमाडौं आउँदै थिए ।


विमानस्थल हेल्थ डेस्कका संयोजक गोपाल पाण्डेले पौने ६ बजेतिर उनलाई स्ट्याण्डबाइ राखिएको एम्बुलेन्समा टेकु अस्पताल लगिएको जानकारी गराए । 


उनले भने,'स्वास्थ्य मन्त्रालयको निर्देशनपछि सर्तकता अपनाउन कुनै कसर बाँकी राखिएको छैन । विमानका सबै यात्रु तथा शंकास्पद बिरामीलाई तुरुन्त अस्पताल लग्ने व्यवस्था गरिएको छ । '


टेकु अस्पतालमा कोरोनाको आशंकामा अमेरिकाका ती नागरिकसहित तीन जना उपचारमा रहेका छन् । सरकारले कोरोना भाइरसको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएपछि शुक्रराज अस्प्तालले ६ बेडको आइसोलेसन वार्डको स्थापना गरेको छ ।  


चीनको वुहानबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोराना भाइरसको पुष्टि भएपछि सतर्कता अपनाइएको छ ।

बुनु थारु विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेकी छिन् । उनी स्वास्थ्य तथा सामाजिक विषयमा लेख्न रुची राख्छिन् ।

Link copied successfully