What you should know
राजविराज — आकाशे वर्षाको भरमा धान खेती हुँदै आएको सप्तरीमा अहिलेसम्म ३० प्रतिशत मात्रै रोपाइँ भएको छ। साउनको पहिलो साता बित्न लाग्दा समेत यहाँ पर्याप्त वर्षा भएको छैन।
सिँचाइ अभावले अहिलेसम्म ३० प्रतिशत मात्रै रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्रका प्रमुख किसुनदेव राउतले जानकारी दिए।
उनका अनुसार जिल्लाको पूर्वी र दक्षिणी क्षेत्रका हनुमाननगर नगरपालिका तथा छिन्नमस्ता, तिलाठी कोइलाडी र राजगढ गाउँपालिकामा बढी रोपाइँ भएको छ भने उत्तरी क्षेत्रमा खडेरी लागेर रोपाइँ गर्न सकिएको छैन।
साउनसम्म ४० प्रतिशत रोपाइँ हुन सक्ने अनुमान गरिए पनि सिँचाइ अभावले रोपिएका धान पनि सुक्ने सम्भावना बढ्दै गएको प्रमुख राउतको भनाइ छ।
‘पम्पिङसेट र मोटरले पानी तानेर रोपाइँ गरिए पनि अहिले पम्पिङ सेट र मोटरमा पनि थोरै थोरै मात्रै पानी आइरहेकाले किसानलाई सिँचाइ गर्न समस्या भइरहेको छ,’ उनले भने, ‘यस्तै रह्यो भने रोपो बचाउन पनि गाह्रो भइहाल्छ।’ तर अहिले नै वर्षा सुरु भइहाल्यो भने थप रोपाइँ गर्न सकिने उनले बताए।
कूल ८१ हजार ६ सय ७८ हेक्टर खेतीयोग्य जग्गा रहेको सप्तरीमा ७८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ। गत वर्ष ती जग्गामा यो अवधिसम्ममा ८०/८५ प्रतिशत रोपाइँ भएको थियो।
