चापाकल सुकेर पानीको हाहाकार, उद्घाटनको पर्खाइमा पानी ट्यांकी

श्रावण ३, २०८२

शंकर आचार्य, शिव पुरी, विनय आजाद, विद्यानन्द राम

Chapakal dried up, water tank waiting for opening

What you should know

राजविराज, सिरहा, पर्सा,रौतहट — डेढ महिनादेखि चपाकल सुकेर सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पश्चिम टोलमा पिउने पानीको हाहाकार मच्चिएको छ ।

डेढ सय घरधुरीको बसोबास रहेको सो टोलका १ हजार सर्वसाधारण महँगो मूल्यमा बोतल र जारको पानी किनेर खाइरहेका छन् भने विपन्न दलित परिवार पोखरीको पानीले दैनिकी चलाउन बाध्य छन् । तर, गाउँपालिकाले दातृ निकायसँगको सहकार्यमा एक करोड रुपैयाँको लागतमा निर्माण गरेको दिनाभद्री खानेपानी तथा सरसफाई आयोजना भने उद्घाटनको पर्खाइमा रहेको छ ।

तीन वर्षअघि नै उक्त आयोजना अन्तर्गत ४५ हजार लिटर क्षमताको ट्यांकी राखिएको छ । थप काम पनि एक वर्षअघि नै सकिएको छ भने ३० जनासँग ३/३ हजार रुपैयाँको दरले उठाएर धारा समेत जडान गरिसकेका छन् । तर, टोलमा पानीका लागि हाहाकार रहँदा पनि धारामा पानी दिँदैनन् ।

‘तीन हजार लिएपछि मात्रै धारा जोड्यो, असार २३ गते नै ट्यांकी उद्घाटन गर्ने र सोही दिनदेखि धारामा पानी दिने भन्नुभएको थियो तर पिउने पानीको हाहाकार हुँदा पनि पानी दिँदैनन्,’ स्थानीय सोनीदेवी साहले भनिन्, ‘डेढ महिनादेखि किनेर पानी खानु परेको छ, नुहाउन र भाँडाकुडा धुन समस्या भइरहेको छ ।’

पोखरीको डिलमा चापाकल गाडेकी ६० वर्षीया दुखनी सदालाई बोतल र जारको पानी किन्न मुस्किल परिरहेको छ । ‘कल पोखरीको डिलमै छ तर डेढ महिनादेखि पानी आउनै छोडेको छ,’ उनले भनिन्, ‘बोतलको पानी किन्दा २५/३० रुपैयाँसम्म लिन्छन् ।’ पर्याप्त वर्षा नभएसम्म पानीको समस्या रहिरहने बताउँदै सदाले ट्यांकी सुचारु भए मात्रै आफूहरुलाई सहज हुने बताइन् । ‘छेउमै पानीले भरेको ट्यांकी छ तर हामी तिर्खाएका छौं,’ उनले थपिन्, ‘कसले सुन्छ र हाम्रो समस्या ।’

सोही ठाउँका ८५ वर्षीय जिराई सदाले ६ धुर जग्गा दान दिएपछि त्यहाँ खानेपानी आयोजनाको काम सम्पन्न भएको हो । तर, खानेपानी सुचारु नहुँदा जग्गादाता पनि निराश बनेका छन् । ‘खै कहिले उद्घाटन गर्छन्, तबसम्म हामी बाँच्छौं कि बाँच्दैनौं ?’ आयोजना व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सदाले भने, ‘मेरो हातमा केही छैन, ठूलो सरहरु आएपछि उद्घाटन गर्नुहुन्छ अनि सुचारु हुन्छ भनेर जानुभएको छ तर महिनौंसम्म फर्किएका छैनन् ।’ उनले खानेपानी सुचारु गरिदिन आग्रह पनि गरे ।

गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले छिट्टै उक्त खानेपानीको ट्यांकी सञ्चालन गर्ने बताए । ‘साझेदारीको काम रहेकाले केही समय ढिलाइ हुन गयो तर अब सुचारु गर्छौं,’ उनले भने, ‘थोरै काम गर्न पनि बाँकी छ ।’ जिल्लाको बोदेबरसाईन, डाक्नेश्वरी र राजविराज नगरपालिकाका केही गाउँ तथा छिन्नमस्ता गाउँपालिकामा पनि ट्युवबेल सुकेर पानीको हाहाकार रहेको स्थानीयले बताएका छन् ।

...

एक सय ५० घर परिवार बसोबास रहेको सिरहाको धनगढीमाई नगरपालिका–१३ भरनैनीमा नगरपालिकाले दुई वटा बोरिङ जडान गरेको छ । त्यहीँ बोरिङबाट दुई सातादेखि धारामा पानी आउनै छाडेको छ । उनीहरुलाई बोरिङ भएकै ठाउँमा आएर पानी भर्न पालो कुर्नुपर्ने बाध्यता आएको छ ।

Chapakal dried up, water tank waiting for opening

स्थानीय राधा रामका अनुसार दुवै बोरिङले दुई सातायता निकै कम पानी दिन थालेको छ । पानी लिन पनि पालो कुर्न परेको स्थानीय देवकी मोची बताउँछिन् । ‘बोरिङ भएकै ठाउँमा पनि पानी लिन सहज छैन, लाइन बस्नुपर्छ, लाइन बसेरै आधा एक घण्टा जान्छ,’ उनले भनिन्, ‘हामीलाई अरु चिजभन्दा अहिले साँझ र बिहान पानीकै चिन्ता हुन्छ ।’ धनगढीमाई–१३ का अध्यक्ष सूर्यमान तामाङले भने यस क्षेत्रमा खानेपानीको समस्या दीर्घकालीन समाधानका लागि ट्यांकी निर्माण भइसकेको र अब पाइपलाइन विस्तारको काम बाँकी रहेको बताए ।

वर्षौंदेखि अनवरत पानी आउने ट्युवबेल सुक्न थालेपछि बारा र पर्सामा सर्वसाधारण बोतल र जारको पानी किनेर पिउन बाध्य छन् । वीरगन्ज–१३ तेजारथ टोल निवासी ५८ वर्षीय सुशील अर्याल पनि आफ्नो जीवनकालमा वीरगन्जमा यसरी खानेपानीको हाहाकार भएको पहिलो पटक भएको बताउँछन् ।

Chapakal dried up, water tank waiting for opening

‘हुन त यो समस्या ३ वर्षअघिदेखि नै देखिएको हो,’ उनले भने, ‘तर यस वर्ष अत्यधिक ठूलो रूपमा यो समस्या देखिएको छ ।’ वीरगन्जबाहेकका ग्रामीण भेगमा पनि यो समस्या देखिँदा छिमेकी बारा जिल्लामा पनि घरघरमा जडान गरिएका अधिकांश ट्युवबेल सुकेर पानी पिउन समस्या खेप्दै आएका छन् । पानीको स्रोत रहेको चुरे क्षेत्रमा पनि अनियन्त्रित बालुवा–गिट्टी दोहन र जंगल मास्नाले ट्युवबेलमा मात्रै सुकेको छैन । पोखरी, खोलाखोल्सी, पैनीमा पनि पानी छैन ।

Chapakal dried up, water tank waiting for opening

स्थानीय तहले आफ्नो आम्दानी बढाउन चुरे क्षेत्रको खोलाबाट बलुवा–गिट्टीका लागि ठेक्का दिँदा त्यहाँ अनियन्त्रित र जथाभावी कटान गर्दा पानीको मुहान सुकेको अवस्था आएको स्थानीय बताउँछन् । वीरगन्ज महानगरपालिका–२४ बहुअरीका ६० वर्षीय श्रीलाल साहको घरको चापाकलमा पानी आउन छोडेको अढाइ साता भयो । ४ सय ५० धरधुरी भएको टोलमा वीरगन्ज महानगरपालिकाको कार्यालयले गाडेका २ वटा डिप बोरिङमा पनि पानी आउँदैन ।

‘१२ जनाको परिवार छ, एउटा गाई र बाच्छो पनि छ,’ श्रीलाल भन्छन्, ‘हामीलाई बिहान बेलुका पिउन पानी छैन,’ उनले भने, ‘चौपायालाई पानी दिन सास्ती भएको छ ।’ श्रीलालका छिमेकी विनय गिरिको चापाकल पनि सुकेपछि ८ जनाको परिवारलाई सास्ती भएको छ ।

Chapakal dried up, water tank waiting for opening

‘बिहान शौचालय जान पनि पानी हुँदैन,’ उनले भने, ‘यो पीडा कसलाई सुनाउने, हाम्रा जनप्रतिनिधिको अत्तोपत्तो छैन, छिमेकी वडाका जनप्रतिनिधिले दैनिक २/३ ट्यांकर भए पनि पानी पुगाएकै छन् ।’ ठूलो गाउँमा रहेका २ वटा डिप बोरिङमा पर्याप्त पानी नआउँदा समस्या भएको स्थानीय ललु गिरिले बताए ।

महानगरका सबै वडामा यस्तै समस्या भोगिरहेका छन् । बहुअरी, हरपतगन्त, नगवा, लक्ष्मणवालगायत ग्रामीण बस्तीमा यो समस्या बढी छ । सहरी क्षेत्रमा खानेपानी संस्थानको धारा रहे पनि ग्रामीण भेगमा विकल्प छैन । पर्यावरणको क्षेत्रमा कार्यरत संस्था स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्र (चेक) नेपालका अध्यक्ष दामोदरप्रसाद यादव समयमा नियमित मनसुनी वर्षा नहुँदा भूमिगत जलस्रोतको चक्रिय प्रणाली खल्बलिएकाले चापाकलमा पानी आउन छोडेको बताउँछन् । सहरी क्षेत्रमा घरघरै तथा व्यावसायिक प्रतिष्ठानहरुमा डिप बोरिङ गर्ने प्रवृत्तिले पनि भूमिगत जलस्रोतको भण्डार रित्तिदै गएको उनले बताए ।

...

तीन वर्षदेखि बोरिङकै भर

रौतहटको मौलापुर नगरपालिका–६ स्थित पथराबुधरामकी सुगन्धी देवीको चापाकल फागुनदेखि सुकेको छ । पानी थाप्न बोरिङ जडान गरिएको स्थानमा दर्जनौं पटक पुग्न सास्ती हुने गरेको उनले सुनाइन् ।

‘हामी तीन वर्षदेखि बोरिङको भरमा छौं । दिनभरि पानी मात्रै थापेर बस्नु पर्दा अन्य काम गर्न कठिन हुन्छ,’ उनले भनिन् । गाउँभरि रहेका ४ सय बढी घरका चापाकल सुकेपछि स्थानीयलाई पानीको हाहाकार भएको छ । गाउँका अधिकांश चापाकल सुकेपछि नगरपालिकाले सञ्चालन गरेको डिप बोरिङको भरमा छन् ।

वडा–५ र ६ का झण्डै ८ सय घरधुरीका धारामा फागुनदेखि पानी आएको छैन । यहाँ घरै पिच्छे चापाकल जडान गरिए पनि सबै सुकेका छन् । खडेरीको मौसममा गाउँका अधिकांश धारामा पानी सुक्न थालेपछि नगरपालिकाले यी वडामा १० वटा डिप बोरिङ जडान गरेको छ । ६ नम्बरका वडासचिव प्रविन यादवले नगरपालिकाले जडान गरेको बोरिङमा साना पाइप राखेर स्थानीयले पानीको थोरै भएपनि पानीको पूर्ति गरिरहेको बताए ।

‘समस्या तीन वर्षदेखि देखिएको छ । यो कसरी र किन धाराको पानी सुक्न थालेको छ भन्ने हामीले अनुसन्धान गर्नु पर्‍यो भनेर नगरपालिकालाई भनेका छौं,’ उनले भने । धारामा पानी आउन छाडेपछि अहिले रोपाइँका लागि चलाइएको बोरिङमा स्थानीय पानी थाप्न जान्छन् । यस क्षेत्रमा खानेपानीको समस्या हटाउन दीर्घकालीन रुपमा ट्यांकी निर्माण गर्न स्थानीयले माग गरेका छन् ।

मौलापुर नगरप्रमुख रिनादेवी साहले वडा ६ को पथराधुराम गाउँमा १० वटा डिप बोरिङ गरेपछि स्थानीयले धेरै राहत पाएको दाबी गरिन् । ‘मेरै घरको धारा सुकेको छ । म के भनौं,’ उनले भनिन्,‘खानेपानी ट्यांकीको लागि पहल गर्दै आएको छु । प्रदेश सरकारका मन्त्रीहरुले सहयोग गरेका छैनन् ।’ वडा ६ को कुमारटोल र ५ को बजार क्षेत्रका धारा सुकेका छन् । हिउँद र पानी परेको बेला केहीको धारामा पानी आउँछ । फागुनयता भदौसम्म अधिकांश धारा सुक्ने गरेको वडा ६ का अध्यक्ष ईश्वरदयाल यादवले बताए । आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेका किसानले रोपाइँका लागि तयार पारेको धानको बीउ आधा डढेर नष्ट भइसकेको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully