'साँझ र बिहान पानीकै चिन्ता हुन्छ'

श्रावण १, २०८२

विनय आजाद

'We worry about water in the evening and in the morning'

सिरहा — धनगढीमाई नगरपालिका-१३ भरनैनीमा १ सय ५० घर परिवारको बसोबास छ । यो बस्ती क्षेत्रमा पानीको सतह तल भएकोले हातेकल हुँदैन । नगरपालिकाले गरेको दुई वटा बोरिङको भरमा यो बस्ती चलिरहेको छ ।

स्थानीय राधा रामका अनुसार, यसअघिसम्म पाइपबाट घरघरमै पानी जान्थ्यो । तर, ती दुवै बोरिङले दुई सातायता निकै कम पानी दिन थालेको छ । जसका कारण धारामा पानी आउन छाडेको छ । त्यसयता स्थानीयहरू बोरिङ भएकै ठाउँमा पानी लिन आउँछन् ।

पानी लिन पनि पालो कुर्न परेको स्थानीय देवकी मोची बताउँछिन् । 'बोरिङ भएकै ठाउँमा पनि पानी लिन सहज छैन, लाइन बस्नुपर्छ, लाइन बसेरै आधा एक घण्टा जान्छ,' उनले भनिन्, 'हामीलाई अरु चिजभन्दा अहिले साँझ र बिहान पानीकै चिन्ता हुन्छ ।'

यस क्षेत्रमा पानीको सतह तल पुगेको र पछिल्ला वर्षमा बर्खा नभएर खडेरी परेको बेला यस्तै समस्या दोहोरिने गरेको स्थानीय सुरज महराको भनाइ छ । 'हाम्रो लागि पछिल्लो समय पानी प्रमुख समस्या बनेको छ,' उनले कान्तिपुरसित भने, 'नेताहरू त बाचा प्रतिबद्धता गरिरहन्छन्, तर हाम्रो समस्या समाधान भएको छैन ।'

'We worry about water in the evening and in the morning'धनगढीमाई-१३ का अध्यक्ष सूर्यमान तामाङले भने यस क्षेत्रमा खानेपानीको समस्या दीर्घकालीन समाधानका लागि ट्यांकी निर्माण भइसकेको र अब पाइपलाइन विस्तारको काम बाँकी रहेको बताएका छन् । 

पानीको यस्तो समस्या यहाँ मात्र नभई जिल्लाका अन्य स्थानमा पनि यस्तै छ । खासगरी राजमार्गभन्दा उत्तरी क्षेत्रमा पानीको बढी समस्या देखिएको गोलबजारका राजकुमार यादव बताउँछन् । उनका अनुसार लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकाका उत्तरी बेल्टका नागरिकले अहिले पानीको समस्या बढी भोगिरहेका छन् । जथाभावी उत्खननले यस्तो समस्या निम्तिएको उनको भनाइ छ ।

'We worry about water in the evening and in the morning'पानी समस्याले सर्वसाधारणको जनजीवन प्रभावित छ नै, किसान पनि मारमा परेका छन् । समयमा वर्षा नहुँदा र सिचाइको पनि उचित व्यवस्था नहुँदा किसानको खेत बाँझै छ । रोपाइँका लागि तयार पारेको धानको बीउ आधा डढेर नष्ट भइसकेको छ । बीउ सुकेपछि किसान चिन्तित छन् ।

'We worry about water in the evening and in the morning'कृषि विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार अहिलेसम्म मधेशमा जम्मा ३३.७८ प्रतिशत मात्र धान रोपाइँ भएको छ । मधेश प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रमा धान खेती गरिन्छ । यो वर्ष हालसम्म जम्मा १ लाख २५ हजार ८८८ हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully