सुके मधेशका चापाकल, पानी बाँड्न गुडे दमकल

वर्षौंदेखि पानी आइरहेका चापाकल बन्द, खेत बाँझै, पानी नपर्दा गर्मी अचाक्ली, सर्वसाधारण बोतल र जारको पानी किन्न बाध्य

श्रावण १, २०८२

शंकर आचार्य, लक्ष्मी साह, अजित तिवारी

Chapakal of dry Madhesh, firemen went to distribute water

जनकपुर, पर्सा र बारा — जनकपुरधाम–९, सरस्वती टोलका रामनाथ साह आइतबार बिहान तनावमा थिए । अनुहारभरि पसिना थियो, हातमा खाली बाल्टिन । शनिबार दिउँसोदेखि जनकपुरमा खानेपानी संस्थानको पाइपबाट पानी आएको थिएन । आइतबार बिहानैदेखि बिजुली झ्याप–झ्याप थियो । 

उनी भन्दै थिए, ‘चापाकल त सुके–सुके । भरपर्दो भएर खानेपानीको पाइप जोडेको, त्यसले पनि धोका दियो ।’ बाल्टिन बोकेर उनले छिमेकीको घरबाट असिनपसिन भएर पानी ओसारे । 

जनकपुर थापा चोकका अशोक ठाकुर पनि परेसान देखिन्थे । त्यसको कारण पनि खानेपानी नआउँदा उनको परिवारले भोगिरहेको सास्ती नै थियो । ‘खानेपानी नआउँदा जारको पानीले काम चलाउनुपरेको छ,’ ठाकुर भन्छन्, ‘जारको खपत पनि बढेकाले बजारमा अभाव नै थियो ।’

जनकपुरको हरेक घरमा खानेपानीका लागि दौडधुप थियो । नेपाल खानेपानी संस्थानको पानी तान्ने मोटरमा समस्या देखिएपछि दुई दिन मात्र पानी सप्लाई बन्द हुँदा प्रादेशिक राजधानी जनकपुर नै काकाकुल बन्यो ।

Chapakal of dry Madhesh, firemen went to distribute water

सोमबार बिहानबाट संस्थानको पानी सुचारु भएपछि जनकपुरवासी ढुक्क भएका थिए । जनकपुरमा ६० र १०० फिटमा गाडिएका चापाकल सुकेको एक दशक हाराहारी नै भइसक्यो । पछि २५० हुँदै अहिले जनकपुरमा ४५० फिटमा गाँडिएका चापाकल पनि जेठ–असारमा सुक्छन् । 

खानेपानीको चरम अभाव खेपिरहेको मधेशका जिल्लाहरूमा दमकल र ट्यांकरबाट पानी खुवाउने प्रयासमा प्रदेश सरकार देखिन्छ । मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार संघीय खानेपानीमन्त्री प्रदीप यादवसँग मधेशमा देखिएको भूमिगत खानेपानी संकट मामिलामा छलफल गरेका थिए । 

खडेरीसँगै मधेशमा चर्किएको खानेपानीको अभाव टार्न मधेश प्रदेशका मुख्यमन्त्री सिंहले वारुणयन्त्र परिचालन गरेका छन् । मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ । अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय सास्ती भोग्न बाध्य छन् । 

मुख्यमन्त्री सिंहले बुधबार बिहान खानेपानीको चरम अभाव भएको पर्साको वीरगन्ज आसपासका क्षेत्रमा वितरण गर्न वारुणयन्त्र नै खटाएका छन् । मधेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले असार मसान्तमा खरिद गरेर राखेका ८ वटा वारुणयन्त्र उनले खानेपानी वितरणमा प्रयोग गरेका हुन् । खानेपानीको अभाव टार्न मुख्यमन्त्री सिंहले नेपाली सेनालाई तत्कालका लागि वारुणयन्त्र जिम्मा लगाउँदै इन्धन र अन्य प्रबन्ध भने प्रदेश सरकारले गर्ने जानकारी दिएका छन् । 

‘लामो समयदेखि पानी नपर्दा मधेशका जिल्लामा खानेपानी समस्या छ, त्यही समस्या टार्न वारुणयन्त्र परिचालन गरिएको छ,’ मुख्यमन्त्री सिंह भन्छन्, ‘तत्काल प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र, नेपाली सेनाको छुट्टै थप ७ वटा ट्यांकर र वन कार्यालयका ३ वटासमेत १८ वटा गाडीबाट बस्ती–बस्तीमा खानेपानी वितरण गरिँदै छ ।’

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णय गरी प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र खानेपानी संकटबाट अति प्रभावित क्षेत्रमा पठाइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए । ‘एउटा वारुणयन्त्र ५ हजार लिटर क्षमताको छ,’ झा भन्छन्, ‘खानेपानी समस्या रहेको स्थानमा वारुणयन्त्र २४ सैं घण्टा परिचालित छ ।’

Chapakal of dry Madhesh, firemen went to distribute water

बुधबार वीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरबाहिर भिन्नै माहोल थियो । गहवामाई मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साह, समितिका वरिष्ठ सदस्य एवं संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य, समितिका महासचिव अधिवक्ता विजयकुमार उपाध्यायसहित पर्जन्य (वृष्टि) यज्ञमा हवन गरिरहेका थिए ।

समितिका कार्यालय सचिव शिवजीकुमार साहले बिहान ८ बजे सुरु भएको यज्ञ दिउँसो ३ बजे सकिएको बताए । वरुण पूजा अर्थात् पानी पार्नका लागि वीरगन्जमा सम्भवतः पहिलो पटक यसरी यज्ञ गरिएको हो । असार सकिए पनि मनसुनी वर्षा नहुँदा पर्सा र बारा जिल्ला काकाकुल भएको छ । वर्षौंदेखि अनवरत पानी आउने चापाकल बन्द भएका छन् । खेतहरू बाँझै छन् । पानी नपर्दा गर्मी अचाक्ली बढेको छ । सर्वसाधारण बोतल र जारको पानी किनेर खान बाध्य छन् । 

वीरगन्ज–१३ तेजारथ टोल निवासी ५८ वर्षीय सुशील अर्याल आफ्नो जीवनकालमा वीरगन्जमा यसरी खानेपानीको हाहाकार भएको पहिलो पटक अनुभव गरेको बताउँछन् । ‘हुन त यो समस्या ३ वर्षअघिदेखि नै देखिएको हो,’ उनले भने, ‘तर यस वर्ष अत्यधिक ठूलो रूपमा यो समस्या देखिएको हो ।’

वीरगन्जमा मात्र नभई ग्रामीण भेगमा पनि यो समस्या देखिएको छ । छिमेकी बारा जिल्लामा पनि यो समस्या विकराल छ । घरघरमा जोडिएका अधिकांश चापाकल सुकेका छन् । सहजै पानी आउने गरेको भनेर खानेपानी संस्थानको धारा जडान नगरेका महानगरवासीको भीड अहिले खानेपानी संस्थान वीरगन्ज शाखामा देखिन्छ । 

शाखा प्रमुख प्रवीनकुमार साहले १२ दिनयता मात्र नयाँ धारा जडानका लागि निवेदन परेको बताए । यस अवधिमा जम्मा ४ सय धाराको लाइन जोड्न सकिएको उनले बताए । यस अवधिमा ५ हजार मिटर पाइप जडान गरिएको छ । २० दिनमा आफूलाई सेवाग्राहीको ३ हजार फोनकल र म्यासेज आएको उनले बताए ।

कार्यालयसँग हाल १ करार र ५ ज्यालादारी जनशक्ति मात्र छ । यो जनशक्तिले दैनिक ३० देखि ३५ धारा जडानको काम गर्न सकेको उनले बताए । यसअघि मासिक २० देखि २५ धारा जडान हुने गरेकोमा हाल दैनिक ३० देखि ३५ धारा जडान गरिएको उनको भनाइ छ ।

पानीको माग अत्यधिक भएको वीरगन्जको छपकैया र राधेमाई क्षेत्रमा गरी हजार धारा चोरी गरेर स्थानीयले प्रयोग गरिरहेको उनी बताउँछन् । वीरगन्ज महानगरपालिकाले विभिन्न वडामा स्थानीयको सुविधाका लागि बोरिङ जडान गर्ने काम गरिरहेको छ, तर त्यो पर्याप्त छैन । संघीय खानेपानीमन्त्री प्रदीप यादवकै निर्वाचन क्षेत्र तथा जिल्लामा यो समस्या बढी देखिएको छ । उनी पनि वीरगन्ज आएर वडाहरूमा घरदैलो गरेर समस्या समाधानको प्रयासमा लागेका छन् ।

Chapakal of dry Madhesh, firemen went to distribute water

खानेपानीको अभावले स्थानीयको दैनिकी र जनजीवन प्रभावित छ । तराईमा पानीको छेलोखेलो गरेर हुर्के/बढेकाहरू अब मिनिरल वाटर र जारको भर पर्नुपर्दा चिन्तित छन् । प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जसपाल सिंह पानीको समस्याको दीर्घकालीन समाधान गर्न वृक्षारोपण तथा सिमसार क्षेत्र संरक्षणको विकल्प नरहेको बताउँछन् ।

बाराको सिम्रौनगढ नगरपालिका–८ कचोर्वा गाउँमा धानको बीउ ब्याडमै सुकेको छ । अन्न दाता (अन्न भण्डार) का रूपमा रहेको मधेशमा हिउँदयता पानी परेको छैन । असार बितिसक्दासमेत पानी नपरेपछि रोपाइँ हुन सकेको छैन । जिल्लामा सिँचाइ सुविधा नभएको ठाउँको खेत सुक्खा छ । ब्याड घामले डढेको छ । ट्युबवेलको पानी सुकेको छ । पानीको सतह घटेपछि डिप ट्युबवेल तथा चापाकलमा पानी आउन छाडेको छ । ‘बाँच्ने आधार पानी पिउनेदेखि अन्न उत्पादनका लागि सिँचाइ पनि छैन, ब्याड खेतमै सक्यो,’ सिम्रौनगढ–८ कचोर्वाका नकछेद यादवले भने, ‘कसरी बाँच्ने ?’ 

सर्वसाधारणले पिउने पानीको समस्या टार्न ठाउँ–ठाउँमा सार्वजनिक स्थलमा गाडिएको डिप ट्युबवेलको पानी भर्न लाम लाग्नुपरिरहेको छ । एउटै ट्युबवेलहरूमा आलोपालो पिउने पानी र सिँचाइका लागि खेतमा पानी लगाइरहेको छ । मधेश सरकारले प्रदेशका ८ जिल्लालाई सुक्खा तथा संकटकालीन क्षेत्र घोषणा गरिसकेको छ । 

पानीको स्रोत रहेको चुरे क्षेत्रमा अनियन्त्रित बालुवा–गिट्टी दोहन र जंगल मास्नाले खोलाखोल्सी, पैनीमा पानी छैन । पैनीहरूसमेत अतिक्रमणमा परेका छन् । स्थानीय तहले आफ्नो आम्दानी बढाउन चुरे क्षेत्रको खोलाहरू बलुवा–गिट्टीका लागि ठेक्का दिँदा त्यहाँ अनियन्त्रित र जथाभावी कटान गर्दा पानीको मुहान सुकेको अवस्थामा पुगेको हो ।

Chapakal of dry Madhesh, firemen went to distribute water

जिल्ला प्रशासन कार्यालय बाराले गत सोमबार पानीको स्रोत र वितरण प्रणालीबारे पालिकाका जनप्रतिनिधिसहित सरोकारवाला सबैलाई बैठक डाकेर सर्वपक्षीय छलफल गर्दै पालिकालाई पानीको स्रोत जुटाउन सिँचाइ व्यवस्थापनका लागि दबाब दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार पालिकाहरूले सिँचाइसहित पिउने पानीको व्यवस्थापन गर्नका लागि स्रोत जुटाउन पर्याप्त बजेट छुट्याउन नसकिरहेको अवस्थामा सरोकारवालासित यस्तो छलफल गरिएको हो । 

विद्युत् आपूर्ति नियमित नहुँदा र भोल्टेजको समस्या भएपछि त्यसको विकल्पमा ट्युबवेलबाट पानी तान्न बजारमा पम्पसेटको बिक्री बढेको छ । उता ट्युबवेल गाड्ने पाइपको पनि बिक्री बढेको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully