What you should know
पर्सा — जिल्लामा असार मसान्तसम्ममा ७५ प्रतिशत मात्र रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले जिल्लाको उत्तरी तथा पश्चिमी भेगमा राम्रो रोपाइँ भएको बताए।
उत्तर–पश्चिमी भेगमा कुलो, गण्डक नहरको पानी तथा थोरबहुत परेको मनसुनी वर्षाका कारण अधिकांश किसानले रोपाइँ गर्न भ्याएका छन्। उत्तरी र पश्चिमी भेगको तुलनामा दक्षिणी भेगमा रोपाइँ कम भएको उनले बताए।
गण्डक नहरको पानीको पहुँच भएका स्थान, निजी बोरिङबाट सिँचाइ तथा दुई साता अघि परेको वर्षाका कारण केही किसानले रोपाइँ गर्न भ्याएका थिए। त्यसयता पानी कम परेकाले अधिकांशको धानबाली सुक्दै गएको उनले बताए।
एक साता यता दिन बिराएर थोरै भए पनि वर्षा भएपछि किसानलाई केही राहत पुगेको पनि उनले बताए। गण्डक नहरदेखि दक्षिणमा रहेका पालिकाहरूमा भने रोपाइँ कम भएको उल्लेख गरे।
मधेश प्रदेश सरकारले किसानलाई राहत दिने विषयमा आफू अनभिज्ञ रहेको बताउँदै उनले भने, ‘जनकपुरमा यस सम्बन्धमा केही काम हुँदैछ भनी सुनेको छु, तर यस सम्बन्धमा के कति प्रगति भएको छ मलाई थाहा छैन।’
जिल्ला सदरमुकाम वीरगन्जका ग्रामीण भेगमा पनि रोपाइँ कम भएको छ। जिल्लाको प्रमुख बाली धान हो। अधिकांश किसानको धानको बेर्ना तयार रहेको छ, तर खेतमा रोपाइँका लागि पर्याप्त पानी नभएकाले उनीहरूले रोपाइँ गर्न पाएका छैनन्। जिल्लाको प्रायः सबै पालिकामा धान खेती हुने गर्छ।
