सामान्य मर्मत, ट्रान्सफर्मर जडान, पाइपलाइन विस्तार नभएको जस्ता कारणले सञ्चालन हुन नसकेका डिप बोरिङ २३ वटा छन् ।
महोत्तरी — जलेश्वरको भागेश्वर पोखरी डिलको डिप बोरिङबाट केही वर्ष अगाडिसम्म आसपासमा धान खेती हुन्थ्यो । बोरिङ अहिले पनि छ तर अवशेष मात्रै । बोरिङ फोहोरले पुरिएको छ । पम्पका पुर्जाहरू चोरी भएका छन् । प्राविधिक बस्ने कोठा जुवा खेल्ने र लागूऔषध सेवनकर्ताको अड्डा बनेको छ ।
बोरिङ बन्द भएपछि जलेश्वर सारीका मोहम्द सफिद राइनले १० कट्ठा जग्गामा यो वर्ष धान रोप्न पाएनन् । आसपासका ५० बिघाभन्दा बढी खेत बाँझै छ ।
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोत्तरीका इन्जिनियर अमलेश यादवका अनुसार सामान्य मर्मत, ट्रान्सफर्मर जडान, पाइपलाइन बिस्तार नभएको जस्ता कारणले सञ्चालन हुन नसकेका डिप बोरिङ २३ वटा छन् । ती डिप बोरिङ सिँचाइ विकास डिभिजनले जडान गरेका हुन् । ‘कतिपय स्थानमा विद्युत् महसुल नबुझाएको, उपभोक्ताले विद्युत् मिटर नलिएको जस्ता कारणले पनि डिप बोरिङ चलेका छैनन्,’ यादवले भने, ‘चल्न नसकेका बोरिङ मर्मतसम्भारमा ४ करोड ५० लाख खर्च लाग्ने अनुमान छ । त्यसबाट २० देखि ४० हेक्टर जमिनमा सिँचाइ गर्न सकिन्छ ।’
डिभिजन कार्यालयका अनुसार सञ्चालनमा रहेका ३१ बोरिङबाट ९ सय ८० हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छ । महोत्तरीमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, कृषि यन्त्रीकरण प्रवर्द्धन केन्द्र नक्टाझिझ धनुषा, प्रदेश सरकार, स्थानीय सरकार र गैरसरकारी संस्थाहरूले डिप बोरिङ जडान गर्दै आएका छन् ।
