भाइटीकाको समाजशास्त्र

हामीले युगौंदेखि सुनिआएको भाइटीकासँग जोडिएको यम र यमुनाको कथा खोज्दै जाँदा ऋग्वेदसम्म पुगिन्छ । ऋग्वेदमा लेखिएको जुम्ल्याहा दाजु–बहिनीको संवादले वैदिककालमा निर्धारण गरिएका सामाजिक मान्यता, व्यवस्था र पारिवारिक मूल्यमाथि विमर्श गर्छ ।

कार्तिक १, २०८२

अलका आत्रेय चूडाल

Sociology of kinship

What you should know

यम र यमुनाको कथा : एकादेशमा एकजना प्रतापी पुरुष थिए– विवस्वान अर्थात् सूर्य । उनको विवाह विश्वकर्माकी शान्त र सुशील छोरी संज्ञासँग भयो । विवस्वान र संज्ञाका तीन सन्तान जन्मिए : छोरा वैवस्वत मनु र जुम्ल्याहा छोराछोरी यम र यमी । यमीलाई यमुना, वैवस्वती र कालिन्दी भनेर पनि चिनिन्छ ।

पतिको ताप सहन नसकी संज्ञाले अर्की महिला छायालाई पति र छोराछोरीको हेरविचारको जिम्मा लगाएर आफू घर छोडेर हिँडिन् । सँगै रहँदा–बस्दा विवस्वान र छायाका तीन सन्तान जन्मिए– दुई छोराहरू : शनैश्चर र सावर्ण मनु, दुई छोरीहरू : तपती र विष्टि । सौतेनी आमा छायाले संज्ञाका छोराछोरीप्रति राम्रो र मायालु व्यवहार गरिनन् । यो कुरा पितालाई थाहा थिएन, तर एक दिन अकस्मात् विवस्वानले विमाता छायाले यमलाई क्रूरतापूर्वक गाली गरेको सुने ।

अनि मात्रै उनलाई यथार्थ थाहा भयो र संज्ञाको अभाव खट्कियो । पछुतो मान्दै उनी पत्नी संज्ञालाई लिन ससुरा विश्वकर्माकहाँ पुगे । विश्वकर्मालाई छोरी फर्केर आउनुको कारण थाहा थियो । विश्वकर्माले विवस्वानलाई सम्झाइ–बुझाइ उनको ताप शान्त गरिदिए । र, विवस्वानले संज्ञालाई खुसी तुल्याई आफूसँगै घर फर्काएर ल्याए (विष्णु पुराण ३.२. २–८) ।

संज्ञा फर्किनुअघि नै सौतेनी आमाको व्यवहारबाट दिक्क भएका यम बैरागिएर पिताको घर छोडी तपस्या गर्न हिँडेका थिए । उनले ब्रह्माको आराधना गरे । 

ब्रह्माले यमको तपस्याबाट खुसी भएर उनलाई लोकपालको पद, पितृलोकको राज्य, धर्म र अधर्मको निर्णयको अधिकार पनि वरदान स्वरूप दिए (पद्म पुराण) । आशीर्वाद पाएपछि यम पिताका घर नगई यमपुरीमा आफ्नो कर्ममा व्यस्त रहे । धर्म–अधर्मको निर्णय गर्ने हुँदा उनलाई धर्मराज अनि मृत्यु, न्याय र धर्मका देवता पनि भनिन्छ ।

धेरै कालपछि एक पटक मातापिता भेट्न भनी यमराज बाबुको घर आए । यमीले परैबाट एउटा सुन्दर युवा आफ्नो घरतिर आउँदै गरेको देखिन् । यमको आकर्षक रूप देखेर यमी उनीप्रति आकर्षित भइन् । बाल्यकालमा बिछोड भएको दाजुसँग लामो समयपछि पुनर्मिलन हुँदा यमीले आफ्नै सहोदर दाजुलाई पनि चिनिनन् । आकर्षक युवक आफ्नो घरमा आएको देखेर उनी नजिक गइन् । उनीहरूका बीचमा यस्तो संवाद भयो (ऋग्वेद, यम यमी सूक्त) :

यमी : हे युवक ! यस विशाल संसारमा म एक्ली छु । म साथी खोजिरहेकी छु । तिमी मेरो मित्रता स्वीकार गर ।

यम : म मित्र त हुँ, तर तिम्रो प्रेमी हुन सक्दिनँ । तिमी मेरी सहोदर बहिनी हौं त्यसैले त्यसका लागि तिमी अयोग्य छौ । 

यमी : मर्त्यलोकका मानिसहरूका लागि यो सम्भव नभए पनि देवताहरूका लागि यो सम्भव छ । हाम्रो सन्तान र वंश वृद्धिका लागि तिमीले मलाई स्वीकार गर्नुपर्छ । 

यम : यस्तो हुन सक्दैन । तिमी र म एउटै नाल जोडिएर जन्मिएका सहोदर हौं । कालान्तरमा यस्तो कुनै समय आउन सक्ला, जब दाजु–बहिनी वा दिदी–भाइ दाम्पत्य जीवनमा बाँधिनेछन् । तर, अहिले त्यो सम्भव छैन । 

यमी : दाजु हुँदाहुँदै बहिनी अनाथ भई र दुःख पाई भने त्यस्तो दाजुको के काम ? तिमीले मलाई स्वीकार गर्नुपर्छ ।

यम : यसो नभन ! बहिनीसँग विवाह गर्नु पाप हो । हे भाग्यशाली मेरी बहिनी, तिम्रो दाजु धर्मविपरीत यस्तो अधर्मको काम गर्न चाहँदैन र सक्दैन ।

यमी : तिमीले मेरो मनको कुरा बुझेनौ । मलाई साह्रै दुःख लाग्यो । म लताले वा डोरीले रूखलाई बाँधेजस्तै तिमीलाई अँगालोमा बाँध्न चाहन्थें । 

यम : बहिनी, तिमीले जीवनसंगीका रूपमा अरू नै कसैलाई स्वीकार गर्नुपर्नेछ । उसैले तिमीलाई लताले जसरी अँगालोमा बेर्नेछ । उसले तिमीलाई र तिमीले उसलाई प्रेम गर्नेछौ र यो एउटा मंगलमय सम्बन्ध हुनेछ । 

...

कार्तिक महिनाका विशेष पाँच दिन : यम पञ्चक

पद्म पुराणमा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई बडो पवित्र मानिएको छ । यस समयमा कहीं पनि घर, आँगन, गोठ, मन्दिर, बाटो, चौतारो, श्मशान आदि कुनै पनि स्थानमा अन्धकार हटाउन उज्यालो गराउने दियो वा बत्ती बाल्नाले शुभ हुन्छ । मुक्त नभई मर्त्यलोकमै निरुद्देश्य घुमिरहेका पूर्वजका प्रेतहरू छन् भने पनि उनीहरू मुक्त भएर पितृलोकमा जान्छन् । 

Sociology of kinship

यम पञ्चकको पहिलो दिनसमेत आउँदा चार गरी जम्मा पाँचवटा अँध्यारा साँझहरूमा यमराजलाई पनि सम्झेर दियो बाल्नुपर्छ । चतुर्दशीका दिन यमराजलाई स्मरण गर्दै नुहाउनुपर्छ र यमराजका नामहरू स्मरण गर्दै तर्पण गर्नुपर्छ । त्यसैले यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । पञ्चाङ्गअनुसार तेस्रो दिन अर्थात् औंसीका दिन पुरुषहरूले पितृलाई तर्पण र श्राद्ध गरी ब्राह्मण भोजन गराउने र महिलाहरूले साँझ वा ब्राह्म मुहूर्तमा लक्ष्मीको पूजा गर्नुपर्छ ।

प्रतिपदाका दिन गाई, गोरु आदि पशुहरूको पूजा गर्नुपर्छ । पाँचौं दिन यमराजको पूजा गर्नुपर्छ । यस दिन यमराजले यमुनाको घर गएर खाना खाएका थिए । त्यस दिन नरकमा रहेका सबै जीव पापबाट मुक्त भएका थिए । त्यसैले पुरुषहरूले यस दिन दिदी–बहिनीको घरमा गएर प्रसन्नतापूर्वक भोजन गरे पाप–मुक्त भइन्छ ।

सहोदर बहिनीको हातबाट भोजन गर्नु उत्तम मानिन्छ, तर सहोदर बहिनी नभए मामा, फुपू, सानिमाका चेली वा अन्य नाता गाँसिएका बहिनीको हातबाट भोजन गरे स्वास्थ्य वृद्धि, प्रसन्नता, शत्रु नाश र भय निवारण हुन्छ । दाजुभाइले पनि बहिनीहरूको सत्कारको सम्मान गर्दै उनीहरूलाई उपहार दिनुपर्छ । 

...

माथिका यी दुई प्रसंग ऋग्वेद र विविध पुराणबाट लिइएका हुन् । हिन्दु धर्मशास्त्रको सर्वप्राचीनताको कुरा गर्दा प्राचीनतम शास्त्र वेद हो । राहुल सांकृत्यायनले वेदको समय ११५० ई.पू. बताएका छन् र त्यस युगलाई ताम्र युग भनेका छन् । वेद त्यसै समयको सप्त सिन्धुमा आई बसेको आर्यहरूको रचना हो (ऋग्वैदिक आर्य) । कालान्तरमा वेदपछि ब्राह्मण ग्रन्थ, आरण्यक ग्रन्थ र त्यसपछि पुराणको रचना भयो ।

यम र यमुनाको सन्दर्भ वेदपछि एकै पटक पुराणहरूमा मात्रै उल्लेख भएको पाइन्छ । यमीलाई पुराणमा यमुना र कालिन्दी भनिएको छ । तेजस्वी सूर्यका सन्तति भए पनि यम र यमुना दुवै राता वर्णका भनेर चित्रण गरिएको छ । भागवतमा यमुनाको प्रसंग धेरै पटक आएको छ । त्यसको ८३ औं अध्यायमा यमुनाले कृष्णलाई पाउन तपस्या गरेको, त्यो थाहा पाएर कृष्णले अर्जुनसँग आएर आफूलाई पत्नी स्वीकार गरेको र आफू कृष्णको घर बढार्ने सेविका भएको बताएकी छन् ।

उनलाई विवेकी र बुद्धिमतीका रूपमा चित्रण गरिएको छ । कतै–कतै यमराजले आफूलाई अस्वीकार गरेपछि लाजले पग्लिएर नदी भएको पनि उल्लेख पाइन्छ । साथै भारतमा भाइटीकाको दिन दाजुभाइले यमुना नदीमा वा दिदीबहिनीको घरमा नुहाएमा आयुवृद्धि हुने विश्वास गरिन्छ ।

...

धर्म के हो ?

कुनै समाजको प्रभावशाली, प्रमुख र व्यापक रूपमा प्रभाव पार्ने अदृश्य संस्था हो– धर्म । धर्मले नै समाजका लगभग हरेक तह र तप्कामा प्रभुत्व जमाएको हुन्छ र त्यसलाई विशेष आकार दिएको हुन्छ । धर्मले सम्बन्धित समाजका नियामक संस्थाहरू (जस्तैः प्रशासन, न्याय, समुदाय र व्यक्ति) । यी चारै निकायलाई धर्मले आफ्नो सिद्धान्तको साँचोमा ढालेको हुन्छ ।

त्यसैले कुनै पनि समाजको धार्मिक आस्था, पर्व र चलनले त्यस सभ्यताको इतिहास र मान्यताहरूको प्रष्ट चित्र कोरेको हुन्छ । धर्म बहुआयामिक हुन्छ अथवा यसका विभिन्न पक्ष हुन्छन् (जस्तैः विश्वास, आचरण, धार्मिक संस्था, अनुयायीहरू र धार्मिक कथाहरू) जसले धर्म विशेषलाई जीवन्त राख्न र सञ्चालन गराइराख्न सहयोगी भूमिका निर्वाह गर्छन् । त्यसैले धर्मको अस्तित्व बुझ्न त्यसका अनुयायीलाई मात्रै हेरेर हुँदैन । धर्म व्यक्तिगत, सामाजिक र संस्थागत गरी त्रिकोणात्मक मान्यतामा बाँचेको हुन्छ । 

धर्म कहिल्यै स्थिर भई बस्दैन । संसारका अन्य सम्पूर्ण तत्त्वहरू जस्तै यो पनि परिवर्तनशील हुन्छ । यसको परिवर्तनमा संस्कृति, कथाहरू र पारिस्थितिक सन्दर्भहरूको विशेष भूमिका रहन्छ । त्यसैले एक प्रकारले समाजका स्थापित बुद्धिजीवी, सम्मानित वा बोली बिक्ने व्यक्तिहरूको यस्ता खाले सांस्कृतिक परिवर्तनमा विशेष भूमिका रहन्छ ।

किनभने संस्कृति, कथा र परिस्थितिहरू तिनै स्थापित व्यक्तिको नियन्त्रणमा हुन्छन् । तर, अर्को महत्त्वपूर्ण विषय के पनि हो भने धार्मिक परिवर्तन रातारात हुने होइन । यो क्रमशः र नजानिँदो गरी अत्यन्त मन्द गतिमा हुने परिवर्तन हो । यसको बिँडो उठाउने व्यक्तिले समेत आफ्नो जीवनकालमा यो परिवर्तन नदेख्न सक्छ र कहिलेकाहीँ त्यस्ता धार्मिक परिवर्तनहरू उसले सोचेभन्दा नितान्त भिन्न खालका पनि हुन सक्छन् । 

त्यसकारण धर्म मन्दिरमा फूलपाती चढाउने र व्रत बस्ने मात्र होइन । ‘धर्म’ एउटा विशेष अर्थ बोकेको र विविध भूमिका जनाउने शब्द हो । शब्दकोशमा धर्मको अर्थ सन्दर्भअनुसार विविध भेटिन्छन् (जस्तैः सदाचार, ईश्वर प्राप्तिका लागि शास्त्र विहित कर्म, उपकार, कर्तव्य, साम्प्रदायिक मत, पुण्यकार्य, स्वाभाविक गुण आदि) ।

अथवा भनौं धर्म सामाजिक व्यवस्था सुचारु गराउने एउटा नियम वा नीति पनि हो । सामाजिक सुव्यवस्था र सौहार्दताका लागि एउटा निश्चित समुदायलाई नियममा बाँध्न निर्धारण गरिएको मानवीय व्यवहारलाई धर्मको नाम दिइयो । त्यसकारण संसारका हरेक धर्मको उद्देश्य पनि सामाजिक सौहार्दता र सुव्यवस्था नै हो, तर ती सुव्यवस्थाका शैली र प्रक्रिया भने स्थान र समुदाय अनुसार भिन्न प्रकारका बने । 

...

हिन्दु सभ्यतामा दाजु–बहिनीको सम्बन्ध र तिनीहरूसँग जोडिएको पारिवारिक मान्यता बुझ्न भाइटीकासँग गाँसिएको मिथक र पौराणिक कथाहरूको अध्ययनले विशेष मार्गदर्शन गर्छ । हामीले बारम्बार सुनिआएको तिहारको भाइटीकासँग जोडिएको यम र यमुनाको प्रसंग कुन प्राचीनतम ग्रन्थमा छ भनेर खोज्दै जाँदा ऋग्वेदसम्म पुगिन्छ ।

ऋग्वेदमा उल्लेख भएको जुम्ल्याहा दाजु–बहिनीको संवादले वैदिककालमा निर्धारण गरिएको सामाजिक मान्यता र व्यवस्था, दाजु–बहिनीको सम्बन्ध र ऋग्वेदले निर्धारित गरेको पारिवारिक मूल्यबारे जान्न सहयोग गर्छ । संसारका विविध संस्कृतिमा मामा–फुपूका छोराछोरीबीच विवाहको संस्कृति छ । केही अपवादबाहेक हिन्दु समाजमा यस्तो विवाह वर्जित छ र सामाजिक कानुनले पनि यस्ता घटनालाई अवैध मानेर सजाय दिन्छ ।

यहाँसम्म कि थर मात्रै होइन, गोत्र पनि बारिने चलन यस सम्प्रदायमा छ । हिन्दु सभ्यता विशाल सेरोफेरो र ठूलो जनसंख्या ओगटेको समुदाय हो । त्यसैले सानो नेपालमै पनि मधेश, पहाड, पूर्व, पश्चिम र उपत्यकाका हिन्दु चलनहरू संस्कृतिअनुसार फरकफरक हुन सक्छन् र भाइटीकाको चलन पनि, स्थानगत दूरी र संस्कृतिगत भिन्नताले फरक हुन सक्छ । तथापि मूल रूपमा पर्वहरूमा समानता पाइन्छ ।

सारांशमा भन्नुपर्दा भाइटीकाबारेका यी कथा, प्रचलन र संस्कृतिले निम्न सामाजिक मूल्य र मान्यतालाई हिन्दु समाजमा स्थापित गरे र त्यसलाई निरन्तरता दिए :

- सहोदर बहिनी नभएमा बहिनी बनाएर पनि भाइटीका गर्नुपर्ने, जसले गर्दा सानो परिवार बढेर ठूलो हुने र सामाजिक सद्भाव वृद्धि हुने ।

- चेलीहरूले दाजुभाइलाई मीठा पकवान्न खुवाउने र दाजुभाइले उपहार दिएर दुवैले आ–आफ्नो सीप–कौशल प्रदर्शन गर्ने (किनभने प्राचीनकालमा महिला घरभित्रै रहन्थे र पुरुषले मात्रै आयमूलक कार्य गर्थे । अहिलेको सन्दर्भमा यो फरक हुन सक्छ) ।

- तिहारको निहुँमा यात्रा र व्यवसायको अभ्यास र धन परिचालनले समाजको आर्थिक व्यवस्था सुदृढ हुने ।

- दिदी–बहिनीले आफू एक्लो भएको अनुभव गर्नु नपर्ने, दाजुभाइको आगमनले उनीहरूको वर्चस्व बढ्ने र शिर ठाडो हुने ।

- तिहार दाजुभाइ, दिदीबहिनीको भेटघाटको निहुँ हुने र यसले पारिवारिक सम्बन्ध सुदृढ हुने ।

- सम्बन्धको पुनर्ताजगीले सम्बन्धित व्यक्तिको मानसिक सन्तुष्टि र स्वास्थ्यमा पनि सकारात्मक असर पार्ने । 

- चाड–पर्वको निहुँमा मीठा पकवान्न खाने अवसर जुट्ने, जसले गर्दा शरीरलाई आवश्यक तत्त्वको परिपूर्ति हुने ।

हिन्दु समाजमा यी वैदिक–पौराणिक प्रसंगले सिर्जना गरेको भाष्यमार्फत अहिलेसम्मको दाजु–बहिनीको सम्बन्धको मान्यता स्थापित भएको छ । तर, हामीले वर्तमानमा समसामयिक परिदृश्य फरक हुँदै गएको देखिरहेका छौं । किन भाइटीका मात्रै ? भनेर विगत केही वर्षदेखि दिदी–बहिनी टीका वा दिदी–बहिनी नभएकाहरूले दाजु–भाइ टीका लगाएर तिहार मनाउने चलनको सुरुआत भएको छ ।

Sociology of kinship

यो नयाँ ‘दिदी–बहिनी टीका’ र ‘दाजु–भाइ टीका’ को चलन पुष्टि गर्ने पौराणिक कथाहरू र तिनलाई पुष्टि गर्ने सिद्धान्तहरू लेखिन बाँकी नै छन् । अब सयौं वर्षपछि अर्को पुस्ताले तिहारको समाजशास्त्रीय अध्ययन गर्दा ती विषयलाई अवश्य पनि समेट्नेछ । 

कुनै पनि धार्मिक पर्वले सामाजिक सौहार्दता, प्रेम र सद्भाव बढाउँछन् । मरेपछिको संसार कसैले देखेको छैन र त्यसबाट पाइने पुण्य हामीले अनुभव गर्न पाउँदैनौं, न त्यसको कुनै प्रमाण नै छ । तर, हामीले देखेको संसारमा कुनै पनि पर्व र धार्मिक कृत्यमा नजिक वा टाढा–टाढाबाट परिवार, नातागोता, समाज, छिमेकी, इष्टमित्र एकत्रित हुन्छन् । त्यसै निहुँमा सुखदुःख साट्छन्, सहभोजन गर्छन् ।

यसले सम्बन्ध नजिकिन्छ वा सम्बन्धको पुनर्ताजगी हुन्छ । सामाजिक सद्भाव भनेकै कुनै पनि देश वा समाजलाई अघि बढाउने मुख्य साधन हो । व्यापार–व्यवसाय पनि चाडबाडको निहुँमा बढ्छ र समाजको अर्थव्यवस्थालाई पनि त्यसले सहयोग गर्छ: धनतेरसमा नयाँ भाँडा, दाजु–भाइ दिदी–बहिनीलाई उपहार र खाद्यान्न, लक्ष्मी पूजामा बहुमूल्य धातुको क्रय–विक्रय परापूर्वकालदेखि हुँदै आएको छ । तिहार पनि अन्य चाडजस्तै पारिवारिक सद्भाव बढाउने, दाजु–भाइ दिदी–बाहिनीबीचको प्रेम, बिहा गरेर अर्को घरमा गएका चेलीहरूको विवाह गरेको परिवार र माइती परिवारबीचको प्रेम र आत्मीयता बढाउने एउटा विशेष पर्व हो । 

जेसुकै भनिए पनि अहिलेसम्मका धर्म ग्रन्थहरू पुरुषद्वारा लेखिएका हुन् । महिलाहरूले लेखेको भए तिनको भाष्य अर्कैतिर मोडिएको हुन सक्थ्यो । सूर्य र संज्ञाको कथामा पनि दम्पतीको सम्बन्धको कथा जोडिएको हुन सक्थ्यो । सूर्यको ताप यहाँ पतिको दमन र थिचोमिचोको प्रतीक पनि हुन सक्छ, जसले गर्दा समाजका धेरै पत्नी पतिगृह छोडेर माइती गई बसे ।

कालान्तरमा पतिलाई यस विषयको आभास भएर सूर्य संज्ञालाई लिन गएको र विश्वकर्माले पतिपत्नीको सम्बन्धबारे ज्वाइँलाई बुझाएर फेरि छोरी पठाएको भाष्य पनि बन्न सक्थ्यो । यो सबै समाजका बोली बिक्ने बुद्धिजीवीको कलमको कमाल हो, जसले अदृश्य रूपमा सामाजिक संरचनाको बिँडो थामेको हुन्छ । कालान्तरमा यी विश्वासहरू समयसँगै परिवर्तन हुँदै जालान् र नयाँ–नयाँ भाष्यहरू जन्मेलान् ।

सम्बन्धित :

फूलैफूलको चाड 

धनतेरस : आरोग्य र आर्थिकोपार्जनको उत्सव

कागको चातुर्य : मिथकदेखि फिल्मसम्म

तिहारको रौनक लक्ष्मीपूजा

म्हः पूजा अर्थात् नेपाल संवत्‌को नयाँ वर्ष

देउसी-भैलो : बलि राजाले पठाएका संगीतकर्मी

मान्छे र कुकुर : ३० हजार वर्षदेखिका साथी 

अलका

Link copied successfully