गौ-पूजा वा लक्ष्मीपूजा, जे भनिए पनि त्यो श्री-सम्पत्तिकै पूजा हो। उहिले-उहिले गाई नै पूज्य-सम्पत्ति थियो । अहिले गाई श्रीबृद्धि, समृद्धि र सुख-शान्तिको प्रतीक बनेको छ।
What you should know
सदियौंदेखि तिहारका ५ दिनसम्म मानव, पन्छी, जनावर र द्रव्य पुज्ने चलन छ । यो चलन किन, कसरी र कहिलेदेखि चल्यो ? तिहारका पाँच दिनमध्ये गाईपूजा र लक्ष्मीपूजा बिहान–बेलुका या ठ्याक्कै अघिपछि दिनमा पर्छ । संस्कृतिविद् वीणा पौड्यालका अनुसार वैदिककालदेखि नै गौ–पूजन संस्कृतिलाई महत्त्वपूर्ण मानिन्थ्यो । ‘समुद्र मन्थन गर्दा निस्किएकी हुन्– कामधेनु, यिनलाई वशिष्ठ ऋषिले आफ्नो आश्रममा लगेर राखे ।
खाना पर्याप्त नहुने त्यो युगमा वशिष्ठका आश्रममा गाईको दूध, दही, मखनबाट चौरासी व्यञ्जन पाक्थे । विश्वामित्र पाहुना लाग्न आएका बेला उनले वशिष्ठसँग कामधेनु मागे, तर वशिष्ठले दिएनन्,’ वीणा भन्छिन्, ‘गाईकै कारण विश्वामित्रले वशिष्ठको आश्रममा सेनाका दलबलसहित आक्रमण गरे र ठूलो युद्ध भयो । त्यो युद्धमा कामधेनु स्वयंले आफ्ना शरीरमा भएका सारा शक्ति निकालेर युद्ध जितिन् । यत्रो शक्तिशाली जनावरको त्यो गुण र कौशल देखेर सारा देवता छक्कै परे । त्यसपछि विश्वामित्र सबै त्यागेर तपस्यामा लागे, आफूलाई खारेर एक तह माथि पुगे र गायत्रीमन्त्रको जन्मदाता बने ।’
वीणालाई लाग्छ, सनातन हिन्दु धर्ममा सबैभन्दा ठूलो दान भनेकै गोदान हो । वैतरणी गर्दा भूमि, सम्पत्ति, लुगाफाटा अनेक दान गरे पनि गोदान नगरेसम्म त्यो पूरा र सिद्ध हुँदैन । वर्षैभरिका देवकार्य तथा पितृकार्यका फूल–प्रसाद तिहारको लक्ष्मीपूजाका दिन गाईको पुच्छरमा चढाएर पूजा गरिन्छ । यसो गर्दा शान्ति, समृद्धि, सुस्वास्थ्य र श्रीबृद्धि हुने विश्वास गरिने पौड्यालको तर्क छ ।
वीणाका अनुसार, गाईकै परिवर्तित स्वरूप लक्ष्मी (द्रव्य) हो । लक्ष्मी पनि समुद्र मन्थनबाटै निस्किएकी धनसम्पत्ति र ऐश्वर्यकी देवी हुन् । ‘हामीले पुज्ने लक्ष्मीमा हातबाट सुनका सिक्का बर्सिएका तेज अनुहारकी लक्ष्मीदेवीको अवतार छ । यिनको पूजा गर्नाले श्रीबृद्धि भई धनधान्य भइने विश्वास गरिन्छ,’ वीणा भन्छिन् ।
धर्मशास्त्रविद् तथा वास्तुविद् बासुदेवकृष्ण शास्त्री भन्छन्, ‘आदिमकाल, तन्त्रकाल, वैदिककाल हुँदै आजको आधुनिक कालसम्म आइपुग्दा गौपालक र यो गुनिलो जनावर गाई पुज्ने संस्कृतिको महत्त्व उच्च छ । १२ प्रकारका आदित्य सूर्य, ८ वटा अष्टवसु, एघार प्रकारका एकादश रुद्र, २ वटा अश्विनीकुमार गरी ३३ कोटी देवता एउटै गाईमा निहित हुन्छन् । त्यसैले गाईलाई ३३ कोटी देवता एकै ठाउँमा भएको जनावर मानिन्छ । सनातन धर्ममा तिहारको एक दिन गाईपूजन गर्नु पशुधन–गोधनको सम्मान गर्नु हो । आदिमकालमा पशुधन नै मूलधन थियो । यसको संरक्षण, संवर्द्धन र पूजा गर्नुलाई मानिसहरू विशेष मान्थे ।’
त्यसपछि वैदिककालमा सुनका रुपियाँ आए, जसलाई ‘पण’ भनिन्थ्यो । त्यसपछि आए— मणि–माणिक्य (सुन, चाँदी, तामा, पित्तल, फलाम र सिसा), जसलाई धनका रूपमा मान्न थालियो । आज पनि प्रेतात्माको पूजा गर्दा सिसा र फलामका पैसा नचढाएसम्म सिद्धि प्राप्त नहुने बासुदेव बताउँछन् । त्यसपछि कृषियुगको सुरुवातीतिरको मध्यकालमा जमिनलाई धन मान्न थालियो । त्यहीबेला राज्यहरू बने, सम्पूर्ण पृथ्वीलाई नै ‘बसुधैव कुटुम्बकम्’ भन्न थालियो ।
‘तन्त्रकालदेखि नै तिहारमा लक्ष्मीपूजा अर्थात् द्रव्य पूजा सुरु गरियो,’ शास्त्री भन्छन्, ‘ऊबेला ज्ञान, बुद्धि, विवेकलाई धन मानेर पूजा गरिन्थ्यो । यो औद्योगिक युग हो, पैसाको युग हो । अहिले लक्ष्मीपूजाका दिन पैसा, गरगहना थुपारेर पूजा गर्ने चलन छ । यो पूजाको मूल पक्ष हो– परोकार र दानपुण्यले धन शुद्धि पार्नु ।’
ज्योतिष पण्डित, वास्तुविद् दिवाकर पन्त भने पौराणिककालमै गाई पूजन व्यापक मौलाएको बताउँछन् । त्रेतायुगमा भगवान् राम र द्वापरयुगमा श्रीकृष्ण गौमाताकै बीचमा विराजमान भएका र गोरसले सिञ्चित भएकाले शक्ति प्राप्त गरेको उनको बुझाइ छ । ‘हाम्रा वेद, पुराणमा उल्लेख भएअनुसार गाई पूजन प्रकृति र हाम्रो सहअस्तित्वसँग जोडिएको छ । हामीकहाँ भएका जुनसुकै जनावर गाई, हात्ती, घोडा, कुकुर इत्यादिको पूजा गर्नु भनेको मानिसमा रहेको उच्चतम चेतनाले उनीहरूलाई विनाश नगरौं भन्नु हो,’ दिवाकर भन्छन् ।
धनपूजा अर्थात् द्रव्यपूजा पनि पौराणिककालमै उदाएको भन्छन् पन्त । र, सुनका सिक्काबाटै यसको उदय भएको उनको अध्ययन छ । ‘लक्ष्मीमाता धनसम्पत्ति, वैभव, सम्पन्नता, विलासिताकी अधिष्ठात्री देवी हुन् । तिहारको लक्ष्मीपूजाका दिन यस्ती देवी लक्ष्मीमाताको पूजा गर्नाले धनधान्य, समृद्धि तथा वैभवले भरिपूर्ण हुन्छ भन्ने जनविश्वास ऊ बेलादेखि नै रहिआएको हो,’ पन्त भन्छन्, ‘तर अहिलेको जमानामा पूजा गरेर मात्रै हुँदैन । कर्मशील र मिहिनेती हुनु जरुरी छ । तिहारका बखत यसरी पूजा गर्नु भनेको पनि उद्यमशीलता र कर्म गर भन्ने संकेत नै हो ।’
गाईपूजा वा लक्ष्मीपूजा, जे भने पनि त्यो श्री–सम्पत्तिकै पूजा भएको विज्ञहरू बताउँछन् । आदि–अनादिकालमा गौ–धनलाई सम्पत्तिकै रूपमा पूजा गरिने गरिएको र आज पनि श्रीबृद्धि, समृद्धि, सुख–शान्तिका लागि यो प्रथा कायमै छ ।
सम्बन्धित :
धनतेरस : आरोग्य र आर्थिकोपार्जनको उत्सव
कागको चातुर्य : मिथकदेखि फिल्मसम्म
म्हः पूजा अर्थात् नेपाल संवत्को नयाँ वर्ष
