स्वर्गद्वारीमा गोवर्द्धन पूजाका दिन लक्ष्मीनारायण (गोरु) को विशेष पूजा हुने गरेको छ । त्यस दिन धाममा रहेका गाई, बहर, बाछाबाछीलाई धाम परिक्रमा गराइन्छ ।
What you should know
भैरहवा — खुसी, उमंग र परस्पर सम्मानको तिहार पर्वका पाँच दिनका आ–आफ्नै महत्त्व र विशेषता छन् । उज्यालो पर्वका रूपमा मनाइने तिहार (दीपावली) का हरेक दिन उत्सव र आराधना गरेर बिताइन्छ । हिन्दु परम्पराअनुसार अन्य चाडमा विभिन्न देवीदेवताको पूजाआजा गरिन्छ । तर तिहारमा देवी–देवताको मात्र आराधना गरिँदैन, यस अवधिमा मानव चोला कटाउन सहयोग गर्ने गुणकारी पशु/जनावरको पनि पूजा गरिन्छ ।
अर्थात् मानव–जनावर परस्पर सम्बन्धप्रति सम्मान व्यक्त गरिन्छ । त्यसैले तिहारको पहिलो दिन यमराजको दूत मानिने कागको पूजा गरिन्छ ।
‘कागले परम्परादेखि शुभ/अशुभ सन्देश पुर्याउने काम गर्दै आएको छ,’ कपिलवस्तुका संस्कृतिविद् पशुपतिमणि त्रिपाठी भन्छन्, ‘त्यसैले सन्देशवाहक कागको पूजा गरेर तिहारको सुरुवात गर्ने परम्परा छ ।’ उनका अनुसार दोस्रो दिन सामाजिक सिपाहीका रूपमा रहेको कुकुरको पूजा गरिन्छ भने तेस्रो दिन महालक्ष्मीको प्रतीक मानेर गाईको पूजा गरिन्छ । तिहारको चौथो दिन मानव, प्रकृति र संस्कृतिसित जोडिएको गोवर्द्धन अर्थात् गोरुपूजा गरिन्छ । जसलाई गोरु तिहार पनि भन्ने चलन छ ।
परम्परादेखि खेतीपातीका लागि खनजोत कार्यमा गोरुको प्रयोग हुँदै आएकाले तिनको कर्मको सम्मानस्वरूप तिहारको चौथो दिन पूजा गर्ने गरिएको संस्कृतिविद् त्रिपाठीले बताए । ‘हाम्रो जीवन र जगत्सँग जोडिएका थुप्रै मूर्त र अमूर्त संस्कृति छन्,’ उनले भने, ‘हामी दुवै प्रकारमा संस्कृतिमा धनी छौं ।’ मानिसको जन्मदेखि मृत्यसम्म मात्र संस्कृति र परम्परा कायम हुँदैनन् । व्यक्तिको निधनपछि उसका सन्ततिले पनि परम्परालाई कायम राखेका हुन्छन् । त्यस्तै गोवर्द्धन/गोरुपूजा पनि पूर्वी सभ्यताको सुरुवातदेखि नै प्रचलनमा रहेको उनले बताए ।
तिहार अवधिमा घरघरमा गोरु (गोवर्द्धन) पूजा गरिन्छ । तर, लुम्बिनी प्रदेशको स्वर्गद्वारीधाममा परम्परादेखि विशेष रूपमा गोवर्द्धन र गोरुपूजा गरिँदै आएको छ । उक्त धाममा सेवा गर्दै आएका गुरु तारा न्यौपानेका अनुसार स्वर्गद्वारीमा गोवर्द्धन पूजाका दिन लक्ष्मीनारायण (गोरु) को विशेष पूजा हुने गरेको छ । त्यस दिन धाममा रहेका गाई, बहर, बाछाबाछीलाई धाम परिक्रमा गराइन्छ । ‘धाममा रहेका गाईगोरुलाई नुन खुवाउने गरिन्छ,’ उनले भने, ‘ध्वजापताका र तोरण टाँगेर धूमधामले पूजा हुन्छ ।’
पहिले स्वर्गद्वारी धाममा ठूलो गोबरको पर्वत नै बनाउने गरिन्थ्यो । भक्तजनले यसरी बनाइएको गोबरको पर्वतमा पूजा गरेपछि धुप जलाएर गाड्ने र हावाले उडाएर आगजनी हुन थाल्यो । ‘स्वर्गद्वारीमा पानीको संकट छ,’ उनले भने, ‘गोबरको पहाडमा आगो सल्केपछि पानी बोक्नुपर्ने हुन्थ्यो । फेरि गोबर डढेर धाम नै मैलो हुन थाल्यो ।’ फोहोर देखेर भक्तजन कराउन थालेपछि अहिले भित्र गोबर/माटो राखेर ढुंगाको गोवर्द्धन पर्वत बनाइएको उनले प्रस्ट्याए । अहिले पूजाका दिन थोरै गोबर ल्याएर गजुरमा राखेर त्यसमै पूजा गर्ने गरिएको छ ।
‘औंसीको दिन यहाँ पूजा गरिन्छ,’ उनले भने, ‘संक्षेपमा गोरु/गाई पूजा गरेपछि बहरको शरीरमा तेल लगाउने गरेका छौं ।’ गोरुपूजाका दिन स्वर्गद्वारी उल्लासपूर्ण हुन्छ । धेरै भक्तजन सडकमै बसेर नाचगान गर्छन् । ३०/४० समूह भैलो खेल्न आउँछन् । ‘त्यस दिन बागलुङ, पोखरा, पाल्पा, म्याग्दीबाट भक्तजन आउँछन्,’ गुरु न्यौपानेले भने, ‘स्वर्गद्वारी धामको स्थापनासँगै यस्तो परम्परा सुरु भएको मानिन्छ ।’
रूपन्देहीको भैरहवास्थित संस्कृतिविद् विजयसागर श्रेष्ठका अनुसार गोवर्द्धन/गोरुपूजा भगवान् कृष्णसित जोडिएको छ । हरेक कार्तिक शुक्ल प्रतिपदाका दिन अर्थात् भाइटीकाको अघिल्लो दिन यो पर्व मनाउने गरिन्छ । उनका अनुसार यस दिन नेवारी समुदायले म्हःपूजा गर्छन् । साथै नयाँ नेपाल संवत् लागू हुन्छ । यसपालि गोरुपूजाका दिनबाट नेपाल संवत् ११४६ सुरु हुँदै छ ।
श्रेष्ठका अनुसार भगवान् कृष्णको बसोबास रहेको क्षेत्रलाई ब्रज भनिन्छ । त्यसअन्तर्गत मथुरा, बृन्दावन, गोकुल, वर्षाने, गोवर्द्धन क्षेत्र रहेका छन् । एक पटक कृष्ण र इन्द्र देवताबीच अहम्ले स्थान लियो । दुईबीचको ‘इगो’ उत्कर्षमा पुग्छ । आफूले पानी नपारे कृष्ण र बज्रवासीले आपत् बेहोर्नुपर्ने इन्द्रको भनाइ हुन्छ । त्यसबेला गोवर्द्धन पर्वतमा ब्रजवासीले गाईगोरु चराउँथे । पहिले पानी पार्नका लागि इन्द्रको पूजा गर्ने ब्रजवासीले गोवर्द्धन पर्वतको पूजा गर्न थाले । ‘त्यो देखेर इन्द्रले एक दिन बज्रवासीका गाईगोरु बगाउने गरी ठूलै वर्षा गराए,’ श्रेष्ठ भन्छन्, ‘त्यो देखेपछि कृष्णले गोवर्द्धन पर्वत नै उचालेर ७ दिनसम्म सबै बस्तुभाउ पर्वतमुनि राखेर सुरक्षा प्रदान गरे ।’
पहिले ऐन–नियम नभएका बेला समाज सञ्चालनका लागि यस्ता दन्त्यकथा सिर्जना गरिएको हुन सक्ने श्रेष्ठको भनाइ छ । कथाले मानव, जीवजन्तुका लागि प्रकृतिको महत्त्व दर्शाएको उनले बताए । प्रकृतिको विनाश बढिरहेका बेला गोवर्द्धन पूजा सान्दर्भिक हुने उनले सुनाए । ‘अहिले वन–जंगल खत्तम पारिसके,’ उनले भने, ‘पहिले नदी किनारका ढुंगा पवित्र मानिन्थ्यो, अहिले नदीभित्रै एक्स्काभेटर चलाएर बालुवा र ढुंगा निकालेपछि मानव–प्रकृतिको सम्बन्ध खलबलिएकाले अतिकति पानी पर्नेबित्तिकै बाढीले विनाश गर्न थालेको छ ।’ गोवर्द्धन पूजाले ‘मलाई मान्नुपर्छ’ भन्ने अभिमान धेरै नटिक्ने सन्देश दिन खोजेको पनि उनले बताए । ‘यस पर्वले माया, प्रेम र सहअस्तित्वको जरुरी औंल्याएको छ,’ उनले भने ।
संस्कृति अध्येता सञ्जीव ज्ञवालीका अनुसार यमपञ्चकअन्तर्गत गोवर्द्धन पूजाकै दिन गोरुपूजा पनि गरिन्छ । महाभारतकालअन्तर्गत पुराण प्रसंगमा गोवर्द्धन र गाईगोरु पूजाबारे उल्लेख पाइने उनले जनाए । तत्कालीन समयमा भगवान् कृष्ण हुर्किएको बज्रका बासिन्दाले इन्द्रको छाडेर गोवर्द्धन पर्वत अर्थात् प्रकृतिको पूजा सुरु गरेको दिन पनि हो यो । पुराणमा कृष्णले पानीबाट बस्ती, मानिस र बस्तुभाउ जोगाउन गोवर्द्धन पर्वत ७ दिनसम्म उचालेर पानी छेकेको उल्लेख छ ।
‘त्यही दिनबाट गोवर्द्धन पूजा सुरु भएको मानिन्छ,’ ज्ञवाली भन्छन्, ‘पछिल्लो समय त्यही पर्वतको स्वरूप मानेर गोबरको पर्वत बनाएर पूजा गर्ने प्रचलन रहेको छ ।’ उनका अनुसार तत्कालीन समयमा ब्रजमा कृष्णसँगै गोठालाहरू बस्थे । तिनले प्रकृतिसँगै पशुको पनि पूजा गर्नुपर्छ भनेर गाई/गोरुपूजा सुरुवात गरेको मानिन्छ । ‘हाम्रो समाज कृषिप्रधान रहेको छ,’ उनले भने, ‘त्यसैले खेतीपातीमा सघाउने गोरुप्रति सम्मान जनाउन उसको पूजा गर्न थालिएको हो ।’
पछिल्लो समय गाउँ/सहरमा गाई/गोरुको अभावले मलमूत्र नपाउने अवस्था सिर्जना भएकामा उनले चिन्ता व्यक्त गरे । ‘पूर्वीय सभ्यतामा गाई/गोरुको अत्यन्तै महत्त्व छ,’ उनले भने, ‘पूजाआजामा पनि गाईदान सुरुमै आउँछ ।’ कुनै पनि पूजा सम्पन्न गर्न गोबर र गहुँत अपरिहार्य हुने उनले बताए । पछिल्लो समय गाई/गोरु संरक्षणमा मानिसको ध्यान नपुगेकामा उनले चिन्ता व्यक्त गरे । ‘पशु सम्मान कम हुँदै गएको छ,’ उनले भने, ‘तिहारमा पूजा गरिने गाई/गोरु सडकमा बेवारिसे भइरहेका छन् ।’
संरक्षणकर्मी युवराज कँडेल किसानलाई सामाजिक रूपमा बाँच्ने क्रममा आवश्यक पर्ने सबै अवयवको यमपञ्चक अवधिभर पूजाआजा गरिने बताउँछन् । ‘तिहार पशु र प्रकृतिप्रति सम्मान व्यक्त गरिने पर्व पनि हो,’ उनले भने, ‘वर्षमा पाँच दिन भए पनि मानवले प्रकृति र पशुप्रति सम्मान व्यक्त गर्दै आएका छन् ।’ उनका अनुसार तराई/पहाडमा बर्खाभरि काम गरेर थाकेका गोरुलाई हिउँदे खेतीपाती आरम्भ गर्नुअगाडि आराम प्रदान गरिन्छ । यही बेला तिहार पर्व पर्ने भएकाले गाई, गोरुको पूजा गरेर सम्मान प्रकट गरिन्छ । तर, कृषिमा यान्त्रिकीकरणसँगै पशुपालन जटिल बन्दै गएको छ ।
‘व्यावसायिक रूपमा पालन गरिएका पशुको धार्मिक अपनत्व हुँदैन,’ संरक्षणकर्मी कँडेलले भने, ‘परम्परादेखि पर्यावरण जोगाउन पशु र प्रकृतिको पूजा गर्ने अभ्यास ओझेलमा पर्दै गएको छ । अहिले त औपचारिकता दिनमात्र यस्ता पूजाआजा गरिन्छ ।’ तराई/मधेशमा गोबर खेर फाल्ने चलन छैन । सर्वसाधारण हिउँदमा गोबर संकलन गरेर पर्वत आकारमा थुपार्ने र वर्षायाममा त्यही जम्मा गरेको मलमूत्र बालीमा छर्ने गर्छन् । ‘पशु र प्रकृतिको पूजाले सामाजिक अनुकूलन प्राप्त हुन्छ,’ उनले भने, ‘अर्कोतर्फ पारस्परिक सम्मान बढ्छ ।’
सम्बन्धित :
