संस्कृति र समृद्धिको पर्व : तिहार

तिहार दियो, फूल र बत्तीको मात्रै चाड होइन, सम्बन्ध–प्रेम–सौहार्दता–एकता र सद्भावको पनि पर्व हो ।

कार्तिक १, २०८२

कान्तिपुर संवाददाता

Festival of culture and prosperity: Tihar

What you should know

झिलिमिली बत्तीहरूको लस्कर ! फूल–माला–टीका ! देउसी–भैलो ! उपहार र सहभोजन ! नेपाली आँगनमा तिहार अर्थात् ‘उज्यालोको चाड’ भित्रियो । तर, तिहार दियो, फूल र बत्तीको मात्रै चाड होइन, सम्बन्ध–प्रेम–सौहार्दता–एकता र सद्भावको पनि पर्व हो ।

धनतेरस, लक्ष्मीपूजाले बजार र मानिसलाई सागै गतिशील बनाउँछ, जुन हो– धन र श्रममाथिको सम्मान । भाइ–टीका अर्थात् यो भावनाको पर्व दाजुभाइ–दिदीबहिनीको स्नेहको प्रतीक पनि हो । ५ दिनसम्म मनाइने तिहारमा खबर र सूचनाको प्रतीक कागलाई पूजा गर्नु जीव र प्रकृतिमाथिको स्तुति हो ।

कुकुर तिहार हो– मान्छेको सबैभन्दा नजिकको मित्रमाथिको सम्मान । मान्छे र कुकुरको यो मित्रताले धर्तीमा ३० हजार वर्ष पुरानो हाम्रो सम्बन्धको कथा भन्छ । तिहारले भन्छ– मान्छे र जनावरबीचको सुन्दर सम्बन्धमा करुणा, जिम्मेवारी र कृतज्ञता एकै लस्करमा उभिन्छन् । त्यसैले यो पशुमाथिको प्रेम र सम्मान दर्शाउने पर्व पनि हो ।

नेवाःहरूको म्हः पूजामा आफ्नो शरीर र आत्मा पुज्नु आत्म–आराधना हो । त्यसैले यो ‘स्व’ अर्थात् आत्मसम्मानको पर्व पनि हो, जसले आत्म–अनुशासन जगाउँछ । गोवर्द्धन पूजाले कृषकको सम्मान गर्छ, जसले उत्पादन र समाजको सम्बन्धमाथि विमर्श गर्छ । देउसी–भैलोले शताब्दीऔं पुराना हाम्रा समृद्ध सांस्कृतिक कथा र गीतको कथा भन्छ ।

असलमा तिहार हो– मान्छे र प्रकृतिको प्रगाढ सम्बन्धको विशिष्ट प्रतीक, जुन समाज र संस्कृति जोड्ने जीवित सेतु पनि हो । यो बहुआयामिक समृद्ध–सांस्कृतिक पर्व धार्मिक अनुष्ठान मात्र होइन, सहअस्तित्व र आत्मसम्मानको जीवन्त सामाजिक अभ्यास र पुाजी हो । यो उज्यालो चाडले प्रकृति र सन्तुलन, जीव र करुणा, श्रम र सम्मानमाथि गम्भीर बोध र विमर्श गर्न सिकाउँछ ।

कान्तिपुर कोसेलीको आजको अंक तिहार विशेष :

फूलैफूलको चाड 

धनतेरस : आरोग्य र आर्थिकोपार्जनको उत्सव

कागको चातुर्य : मिथकदेखि फिल्मसम्म

तिहारको रौनक लक्ष्मीपूजा

भाइटीकाको समाजशास्त्र

म्हः पूजा अर्थात् नेपाल संवत्‌को नयाँ वर्ष

देउसी-भैलो : बलि राजाले पठाएका संगीतकर्मी

मान्छे र कुकुर : ३० हजार वर्षदेखिका साथी 

कान्तिपुर

Link copied successfully