कर्णाली क्षेत्रको सांस्कृतिक सम्पदा भैलो र नेपालभर प्रचलित देउसीबीच थोरै समानता र धेरै भिन्नता छन् । तर तथ्य र कथ्य दुवैमा बेमेल हुँदा सांस्कृतिक विविधता भनेर स्विकार्नुको विकल्प छैन । तिहारमा लेखिने देउसीमा बलि राजा र भगवान् विष्णुको कथा समावेश छ । तर कर्णालीको पुसे भैलोमा मनोरञ्जन मात्र नभई ऐतिहासिक दस्ताबेज बढी देखिन्छ, जसले सिञ्जा साम्राज्य र त्यसअन्तर्गतका स्थान, उत्पादन, सभ्यता र शक्ति संरचनाको सजीव चित्रण गर्छ।
What you should know
‘देउसी’ र ‘भैलो’ सुन्दा एकैनासे जस्तो लाग्छन् तर बुझ्दा फरक छ । कर्णाली क्षेत्रमा खेलिने भैलो हो भने बाँकी नेपालभर खेलिने देउसी । देउसी होस् या भैलो, यी दुवैले इतिहासको कथा भन्छन् । देउसी खेल्दा घरबेटीलाई सम्बोधन गरेर लामो कारुणिक गाथा गाइन्छ । जसमा सृष्टिको सुरुवात, यमराज र यमुनाका कथा, बलि राजाको कथा भनिन्छ । खासगरी यो तिहारको समयमा खेलिन्छ ।
पहिला–पहिला जुम्लालगायत कर्णाली क्षेत्रमा नखेलिने देउसी अहिले कर्णालीमा पनि पुगेको छ । यसले कर्णाली क्षेत्रको पुसे भैलोलाई समेत ओझेलमा पारिदिएको छ । तर ओझेलमा परेको भए पनि पुसमा खेलिने भैलोले कर्णालीको इतिहास र विरासत बोलेको पाइन्छ । भैलो पुगाड्दा (भट्याउँदा) सिञ्जा साम्राज्यभित्रका धेरैजसो स्थानका नाम आउँछन् । त्यहाँ हुने उत्पादन र त्यहाँका विशेषता सुन्दा कर्णालीको इतिहास खोज्ने भेउ मिल्छ । अर्थात् जुम्लाको भैलोले समाज बोलेको हुन्छ ।
भैलो संस्कृतिका रूपमा विकास हुनुका विभिन्न मत छन् । खस साम्राज्यको विघटनलगत्तै स्थापना भएको जुम्ला राज्यका संस्थापक राजा बलिलाई युद्धको सामग्री जुटाउन धौधौ पर्यो । उनले सेनालाई आदेश दिए– ‘घर–घर पुगेर ऋतु जनाउनु, मोहर पैसा माग्न र अन्न पनि माग्नु ।’
पछि त्यो भैलो संस्कृतिका रूपमा विकास भयो र हरेक वर्ष खेल्न थालियो भन्ने एक थरी मत रहेको खस भाषाको शब्दकोश ‘खसिया आखर’ का लेखक रमानन्द आचार्यको भनाइ छ । उनका अनुसार पुसमा खेलिने भैलोमा बलि राजाको नाम नआए पनि तिहारमा खेलिने भैलोमा ‘हामी त्यसै आएका होइनौं । बलि राजाले पठाएका’ भन्ने गरिन्छ । तर बलि राजाले पठाएर देउसी खेल्न थालियो वा पुसे भैलो ? एकमत देखिँदैन ।
देउसीको अपभ्रंस भएर देउसिरे भए पनि खासमा यो ‘देउशिरै’ भएको धार्मिक कथाअनुसार बुझ्न सकिने सिञ्जा जुम्लाका इतिहासकार तुंगनाथ उपाध्यायको भनाइ छ ।
उनका अनुसार एक धार्मिक कथामा एक जना बलि नाम गरेका राजा थिए । उनी अति नै दानी थिए । प्रत्येक दिन दान गरेर मात्र उनी आफू भोजन गर्थे । उनको यो पुण्यको कामले ठूलो ख्याति पायो । उनको प्रतापले स्वर्गलोक हल्लिन थाल्यो । त्यसपछि देवताहरू भगवान् विष्णुलाई गुहार्न पुगे, बलिलाई दमन गर्नका लागि विष्णुले वामन (बाहुन्ने) को रूप धारण गरे र बलिलाई छल्न तीन पाउ जमिन दानको याचना गरे ।
बलिले सोचे, ‘यो ब्राह्मण सानो छ र यसको पाउ पनि साना छन् । थोरै जमिन माग्यो ।’ उनले दान दिने संकल्प गरे । लगत्तै वामनको रूप विराट भयो । एउटै पाउले समस्त पृथ्वी ढाकिदियो । अर्को पाउले आकाश र तेस्रो पाउ राख्ने ठाउँ नभएपछि राजा बलिले आफ्नो शिर दिए ।
अब उनको केही रहेन । उनले अन्त्यमा विष्णुसँग प्रार्थना गरी वर्षमा एक पटक तिहारका बेला पृथ्वी घुम्न पाइयोस् भने । यसलाई स्विकार्दै विष्णुले बलिलाई वर्षमा एक पटक पृथ्वीमा घुम्ने अनुमति दिए । उनै बलि तिहारका दिन घुम्न आउने धार्मिक विश्वाससहित दीप प्रज्वलन गर्ने, देउसी–भैलो खेल्दा ‘हामी त्यसै आएनौं बलि राजाले पठाएका हुन्’ भन्ने प्रसंग देउसीमा भेटिए पनि जुम्लाको पुसे भैलोमा भेटिँदैन । तर मंसिर–पुसमा बढी फुर्सदिला हुने जुम्लीले यो बेला के गर्ने भनेर बलि राजालाई सोध्दा उनले भैलो खेल्नु भने ।
यो मतअनुसार देउसी–भैलोको सुरुवात गर्ने जुम्लाका राजा बलि हुन् भन्नेहरूको तर्क फिक्का छैन । तथापि यो कुरा खस सभ्यताको खोजी गरेर लेखिएका पुस्तकमा भेटिँदैन । यो जनश्रुतिमा मात्रै हो । त्यसैले देउसी खेल्न पठाउने धार्मिक कथाका बलि हुन् वा जुम्ला राज्यका संस्थापक राजा बलि भन्नेमा एकमत देखिन्न । जुम्लाको पुसे भैलोमा यो प्रसंग नभेटिने हुनाले देउसी खेल्न पठाउने कथाका बलि राजा भएको अर्को थरी मत छ ।
जुम्लामा खेलिने पुसे भैलोमा भने इतिहास र उत्पादन सम्बन्ध भेटिन्छ । पुसे भैलोलाई लेकमा धउँशिला पनि भनिन्छ । जुम्ला कनकासुन्दरी गाउँपालिकाको बोता मालिकामा धउँशिला खेलिन्छ । धउँशिलाको जन्मकथामा सिञ्जाको खस राज्य र तिब्बतको खारी राज्यबीच ताक्लाखार (ताउलाखार) आसपास धेरै दिनसम्म भीषण लडाइँ भयो । त्यो लडाइँ खस सेनाले जिते पनि उनीहरू राजधानी सिञ्जा फर्किने बाटो खर्च, रासन, सामल बाँकी थिएन । त्यसैले उनीहरूलाई बाटोमा पर्ने गाउँबस्तीमा विजय सन्देश फैलाउँदै भैलो माग्ने उर्दी भयो । यसरी भैलो माग्ने चलन सुरु भयो भन्ने प्रसंग भेटिन्छ ।
पुसे भैलो भने मंसिर पूर्णिमामा एक दिन र पुसे औंसीको दिनदेखि पाँच दिनसम्म खेलिन्छ । त्यसको एक/दुई दिनपछि नजिकैको चौर वा सार्वजनिक जग्गामा गएर सामूहिक भोज आयोजना गरिन्छ । जसलाई पाठे भात भनिन्छ । मंसिर पूर्णिमाको दिन खेलिने भैलोलाई नानी भैली भनिन्छ । पूर्णिमा अर्थात् पुनिमा खेलिने नानी भैली यसरी पुगाड्ने (भट्याउने) गरिन्छ ।
आउँसीका बार – भैलो
दरमुद बार – भैलो
दराम्या खोली – भैलो
बाँसैकी झोली – भैलो
बाँसैकी विर्ता – भैलो
आर्या न तार्या – भैलो
पीपलु डाल्या – भैलो
पीपलु पाती – भैलो
रायकी छाती – भैलो
राय जुमाउनु – भैलो
बाखरी खानु – भैलो
भैलोरै चेला – भैलो
भैलोरा आया – भैलो
ऋतु जनाया – भैलो
ऋतुकी मार्या – भैलो
हाम्री खेल्नी चार्या – भैलो
चार्या पैचार्या – भैलो
भैलाका रात्रि – भैलो
चौथमी छेडो – भैलो
पच्यामी घोडो – भैलो
घोडा घोडाउली – भैलो
छेडो छेडाउली – भैलो
आकाश शिला – भैलो
पाताल जडा – भैलो
भैलै सुहाला – भैलो
भैलो गयो दाङ – भैलो
अरू क्यै नमाग – भैलो
मोहर पैसा माग – भैलो
ताई तल जाउला – भैलो
छ्याई छ्याई गनौला – भैलो
कसले दिया भनौला – भैलो
ठूलाघर दिया भनौला – भैलो
नामै चलाउला – भैलो
नामैकी माया – भैलो
दुवाजन जेलिया – भैलो
पाथाजन भरिया – भैलो
पीपल जन गाज्या – भैलो
द्यार जन बड्या – भैलो
लाख वर्ष बाँच्या – भैलो
घार मौरा आइजाउन् – भैलो
ल्हास घोडा भइजाउन् – भैलो
अन्न भैलो दिन्यालाई – भैलो
अनिकाल नपरोस् – भैलो
मोहरपैसा दिन्यालाई – भैलो
दाल्द डेरा नगरोस् – भैलो
ऋतुका बात – भैलो
आकाश शिला – भैलो
पातल जडा – भैलो
भैलो खेल्नेले आफू आउनाको कारण बताउँछन् । हामी दरा खोलाका मानिसहरू कपडाका झोला बोकी बाँस झाँगिएझैं हूल बाँधेर आयौं । ऋतु जनायौं भन्दै मोहर पैसा माग्छन् । तिमी पीपलका पात र हाँगाजस्तै शुद्ध र लक्षिनका छौ । तिम्रो असल होस्, भलो होस् । तिमी बढेर आकाश जतिको हुनु । तिमीले दूबोजस्तै जेलिएको (फैलिएको) सम्बन्ध बनाउनु । अन्न भरिएको पाथीजस्तै भरिपूर्ण हुनु भनी आशीर्वाद दिने गर्छन् ।
हरेक घरमा खेल्नुपर्ने भैलोको माथि प्रस्तुत अंश नानी भैलीमा पुगड्ने (भट्याउने) गरिन्छ । एक दिन मात्रै, त्यो पनि आफ्नै गाउँमा मात्रै खेल्ने हुनाले यो अलि छोटो छ । पछि कतिले ठूली भैलीमा पनि यसलाई नै पुगड्ने र खेल्ने गरेको हुनाले दुवै भैली पुगडाई एकैनासे देखिन गएको हो । तर यसमा कर्णालीको इतिहास समेटिएको हुँदैन ।
प्रायः जाने–बुझेकाले ठूली भैलीका बेला लामो गरी भैलो पुगड्दा कर्णाली चित्रित हुन्छ । त्यसमा सिञ्जा साम्राज्यका विभिन्न स्थानहरूको महत्त्वलाई ‘यो खान्की पायो’ भन्दै दर्शाइएको छ । अन्त्यमा दाङ देउखुरी हुँदै भैलोलाई नेपाल (हालको काठमाडौं उपत्यका) सम्म पनि पुर्याइएको छ ।
नानी भैली अर्थात् मंसिर पूर्णिमाको ठीक १५ दिनपछि औंसीको प्रतिपदादेखि पाँच दिनसम्म सिञ्जा र जुम्ला उपत्यकामा ठूली भैली खेलिन्छ । यसमा भैलोको उत्पत्तिदेखि पुग्ने ठाउँसम्मको वर्णन गरिएको हुन्छ । जसका शब्दहरूले उतिबेलाको शक्तिशाली साम्राज्यको यथार्थता झल्काउँछ ।
बान्की मिलाएर निकै लामो र मीठो लयमा गाउने भैलोको सुरुवात यस्तो हुन्छ ।
काँ र जन्म्यो भैलो ? मानसरोवर कविलास – भैलो
ऐंरदेखि भैलो ताक्लाखार आयो – भैलो
ताक्लाखार भैलाले क्या को खान्की पायो ? – भैलो
ताक्लाखार भैलोले सुन खान्की पायो – भैलो
त्यस्तै क्रमशः भैलो खोचेर आएर मूर्ति, हिल्सा आएर राज्य, हुम्ला आएर फेरुवा (भेडाको ऊनबाट बनेको ओछ्याउने वस्त्र), सोरु गल्ब आएर मास गराउँस, मुगु करान आएर नुन/ऊन, गमदरा (गमगडी) आएर मच्चा (खुर्सानी), घुच्ची आएर बयाल (बतास), बोता आएर चोतो/कोइरो (सलगमजस्तो मीठो फल जुन अचार र तिउन, तरकारी बनाउन मिल्ने), सिञ्जा गडी आएर राजधानी पायो, लामथाडो हल्लायो, सिउबाघ जुधायो, लुड्कु आएर राजगुरु, लाहर्ज आएर जम्बुबाली, ओडार आएर पाँचै पाण्डव, देआरपाटा आएर पूजा पालो, जाँच आएर धान खानी, नराकोट आएर केदारनाथ, जुम्ला चौधान आएर चन्दननाथ पायो, मार्सी धान रोपायो, श्रीढुस्का आएर सत्र खम्बा, पाँच सया दरा आएर बाइस पाटन, रकाल खोला आएर बयाल (बतास), बारबिस आएर ओडार, दुल्लु दैलेख आएर पञ्चकोशी, सुर्खेत आएर काँक्रेविहार खान्की पाएको उल्लेख छ ।
त्यसैगरी दाङ देउखुरी आएर भैलोले संसारै फिँजायो, नेपालै पुर्यायो भन्ने छ । यसरी जुम्लामा खेलिने भैलो मानसरोवरबाट जुम्ला आएको र जुम्लाबाट दैलेख, सुर्खेत, दाङ हुँदै नेपाल (उतिबेलाको काठमाडौं उपत्यका) सम्म पुगेको बुझ्न सकिन्छ । सिञ्जातिर खेलिने भैलोले ऐतिहासिक सिञ्जा साम्राज्यको विरासतसँग संस्कृतिलाई जोडेको देखिन्छ । कुनै पनि क्षेत्रको साहित्य त्यहाँको भूगोल, इतिहास, कला कौशलसँग जोडिएको हुन्छ । यसले संस्कृति निर्माणमा सहयोग मिल्छ । यसरी कर्णाली क्षेत्रमा विकास भएको भैलोले यहाँको संस्कृति र सभ्यताको उच्चतम विकासलाई प्रस्ट्याउँछ ।
त्यस्तै जुम्ला उपत्यकामा खेलिने भैलो पनि मानसरोवरमा जन्मेको कुरा बुझ्न सकिन्छ । उक्त भैलोमा मानसरोवर तीर्थ खान्की पाएको कुरा छ । अहिले पनि मस्टो मान्नेहरू आफ्नो देउता ल्याउन मानसरोवर जान्छन् । जुम्ला उपत्यकामा खेलिने भैलो यसरी सुरु हुन्छ ।
पैल्हा (पहिला) को भैलो काँबाट उब्ज्यो ? – भैलो
पैल्हाको भैलो मानसरोवरबाट उब्ज्यो – भैलो
सरोवरका भैलोले क्या कै खान्की पायो ? – भैलो
सरोवरका भैलाले यै यै खान्की पायो – भैलो
हाँस खेल्न्या, पुली पाड्न्या तीर्थ खान्की पायो – भैलो
जुम्ला उपत्यकालगायत जिल्लाका अरू स्थानमा खेलिने भैलोको सुरुवात लगभग उस्तै भए पनि पछाडिका अनुप्रास फरक–फरक छन् । तर सबै ठाउँमा खेलिने भैलोमा ऐतिहासिक सिञ्जा साम्राज्यको चर्चा छुटेको छैन । यसरी सबै क्षेत्रमा खेलिने भैलो लगभग उस्तै हुनुले पनि सिञ्जा साम्राज्य समकालीन अवस्थामा अथाह शक्तिशाली भएको बुझ्न सकिन्छ ।
सारमा भन्दा कर्णाली क्षेत्रको सांस्कृतिक सम्पदा भैलो र नेपालभर प्रचलित देउसीबीच थोरै समानता र धेरै भिन्नताहरू छन् । कर्णालीबाट सुरु भएको भैलो काठमाडौंबाट फिर्ता हुँदा देउसीको रूप धारण गरेको हो कि भन्ने मत पनि नभएको होइन । तर तथ्य र कथ्य दुवैमा बेमेल हुँदा सांस्कृतिक विविधता भनेर स्विकार्नुको विकल्प छैन ।
तिहारमा लेखिने देउसी धार्मिक कथासँग जोडिएको छ, जसमा राजा बलि र भगवान् विष्णुको कथा समावेश छ । तर कर्णालीको पुसे भैलोमा मनोरञ्जन मात्र नभई ऐतिहासिक दस्ताबेज बढी देखिन्छ, जसले सिञ्जा साम्राज्य र त्यसअन्तर्गतका स्थान, उत्पादन, सभ्यता र शक्ति संरचनाको सजीव चित्रण गर्छ ।
भैलोको उत्पत्ति सम्बन्धमा विभिन्न जनश्रुतिहरू भए पनि बलि राजा र खस सभ्यताको सन्दर्भमार्फत यसको सांस्कृतिक विकास भएको देखिन्छ । जुम्ला र सिञ्जामा खेलिने भैलोले मानसरोवरदेखि नेपालसम्म फैलिएको सांस्कृतिक यात्रा बताउँदै कर्णालीको इतिहास, भूगोल र सभ्यताको निरन्तरता झल्काउँछ । यसरी भैलोमार्फत खस साम्राज्यको ऐतिहासिक, सामाजिक र सांस्कृतिक गहिराइ पनि प्रस्तुत भएको पाइन्छ ।
