पौराणिककालका काकभुशुण्डि ऋषि होऊन् या आधुनिककालको चलाख जिम्मी । काग मानव–समाजसँग कतै न कतै जोडिएकै छ । त्यही भएर हुनुपर्छ, कागको पूजा नगरी तिहार नै सुरु हुँदैन ।
What you should know
सन् १९३० को मध्य दशक । कर्ली ट्वीफोर्ड क्यालिफोर्नियाको मोहाभी मरुभूमिमा हिँडिरहेका थिए । त्यहीबेला उनले परित्यक्त गुँडमा सानो बचेरो देखे । भोकले छटपटाइरहेको । सुकिसकेको मुखले आँ... आँ... गरिरहेको । उनलाई लाग्यो– यो टुहुरो बच्चालाई तत्काल आहाराको जरुरत छ । उनले घर लिएर आए । दूध पियाए, अन्डा खुवाए । निकै माया गरेर त्यो चुलबुले कागको नाम राखिदिए– जिम्मी ।
उनले डेढ वर्षसम्म यति मिहिन ढंगले प्रशिक्षित गराए कि जिम्मीले टाइपराइटरमा टाइप गर्न सिक्यो । फूल टिप्न, जिपर खोल्न, पत्रिकाका पाना पल्टाउन मात्रै होइन चुरोट सल्काउन पनि जान्ने भयो ।
जिम्मी सयौं अंग्रेजी शब्द बुझ्न सक्ने बन्यो । उसलाई एउटा नयाँ उपयोगी शब्द सिक्न एक साता लाग्थ्यो भने दुई अक्षर सिक्न दुई साता । कागसँग भोकल कर्ड नभए पनि तिनले मानव बोलीको नक्कल गर्न सक्छन् । ट्वीफोर्डले दाबी गरेका थिए, ‘मेरो जिम्मीले ८ वर्षको बच्चाले गर्न सक्ने सबै काम फत्ते गर्छ ।’ नभन्दै हरेक कुरामा पोख्त बन्दै गएको जिम्मी हलिउडको ‘स्टार’ बन्यो । दुई दशकबीच उसले एक हजारभन्दा बढी फिल्ममा अभिनय गर्ने मौका पायो ।
ट्वीफोर्ड फिल्मी उद्योगमा चिनिएका पशु प्रशिक्षक हुन् । सन् १९४०–५० को दशकमा उनले मिहिनेतपूर्वक यो क्षेत्रमा काम गरेका थिए । जिम्मीको डेब्यु फिल्म थियो ‘यु कान्ट टेक इट विथ यु’ (१९३८) जुन फ्रान्क क्याप्राले निर्देशन गरेका थिए । उसको अभिनयबाट क्याप्रा यति प्रभावित बने कि त्यसपछिका उनका हरेकजसो फिल्म जिम्मी देखापरेको छ ।
जिम्मीको सबैभन्दा महत्त्वपूर्ण भूमिका ‘इट्स अ वन्डरफुल लाइफ’ (१९४६) मा देख्न सकिन्छ । ‘द ब्राइड क्याम सीओडी’ (१९४१), ‘आर्सेनिक एन्ड ओल्ड लेस’ (१९४४), ‘टावर अफ लन्डन’ (१९४६) जस्ता अनेक फिल्ममा जिम्मीले आफ्नो क्षमता देखाइसकेको छ । जिम्मीको अन्तिम फिल्म थियो, ‘थ्री रिङ सर्कस’ (१९५४) । अमेरिकन अभिनेता जेम्स स्ट्विर्टले भनेका छन्, ‘जिम्मी सेटमा सबैभन्दा चलाख अभिनेता हो । हामी बाँकीले जत्तिकै उसका लागि धेरै रिटेक लिनु पर्दैन ।’
जिम्मी कसरी यति चलाख बन्यो त ?
खासमा कर्भिड परिवारअन्तर्गतका चरा निकै चतुर र बाठा हुन्छन् । काग यही परिवारको एक सदस्य हो । विश्वमा कागजस्ता १२० भन्दा बढी प्रजातिका चरा कर्भिडभित्र पर्छन् । विशेषगरी मोटो चुच्चो हुने यस्ता चरा निकै बलिया हुन्छन् । कहिलेकाहीँ असाधारण बुद्धिमता देखाउने यिनीहरूको आवाज परिस्थितअनुसार सुरिलो, कठोर र चर्को सुनिन्छ । यिनीहरू गीत गाउन पनि सक्छन् ।
जिम्मी त वास्तविक चरित्र भइहाल्यो । हामीले कागबारे अनेक कथाकिस्सा सुनेका छौं । धर्मशास्त्र, लोककथा, नीतिकथामा यो पन्छीका अनेक प्रसंग आउँछन् । कागमाथि अनेक उखान छन्, मिथ र मिम बनेका छन् ।
जस्तो : एउटा चर्चित कथा यस्तो छ–
काग एकदमै तिर्खाएको हुन्छ । उसले गाग्रीको पिँधतिर पानी देख्छ तर मुखबाट तल छिर्न सक्दैन । अचानक आइडिया लगाउँछ र ससाना ढुंगा खोजेर एकएक गर्दै गाग्रीभित्र खसाल्छ । पानी बिस्तारै माथि सर्दै आउँछ । अन्ततः गाग्रीको मुखनिर आइपुगेको पानी पिएर उसले आफ्नो प्यास मेट्छ । धेरैले पढिसकेको यो चातुर्य–कथाले पनि भन्छ– काग बुद्धिमान् र चतुर पन्छी हो । प्रशिक्षित गराउने हो भने कागले मान्छेको नक्कल गर्न र अंक गणना गर्न पनि सक्छ भन्छन् चराविद्हरू ।
सफाइको सारथि
काग सर्वभक्षी पन्छी हो । जसले फोहोरदेखि मासुसम्म खान रुचाउँछ । यस अर्थमा काग सफाइको साथी अर्थात् प्रकृतिको कुचीकार हो । जहाँ बढी फोहोर हुन्छ, त्यस वरिपरि कागको संख्या बढी देखिन्छ । कृषिबालीमा हुने किरा–फट्यांग्रा, मुसा खाएर कागले बालीनालीको रक्षा पनि गरिदिन्छ ।
यो पन्छीमा सामूहिकता देखिने भएकाले कुनै कागलाई समस्या परे वा मरे समूहमा भेला हुने गर्छन् । स्मरण शक्ति बलियो हुने भएकाले शत्रुलाई पहिचान गरिराख्ने स्वभाव यिनमा हुन्छ । ‘काग समूहमा बस्न रुचाउने पन्छी हो । तिनले आफ्नो क्षेत्र निर्धारण गरेर गुँड बनाउँछन्,’ चराविद् कृष्णप्रसाद भुसाल भन्छन्, ‘गुँड वरपर कुनै जीवजन्तु वा मानिसको गतिविधि बढ्यो भने ठुङ्न खोज्ने र अरू काग बोलाएर जोडजोडले कराउने गर्छन् ।’ उनका अनुसार आफ्नो क्षेत्रमा कागले अन्य चरा भरसक टिक्न दिँदैन । सताएर, तर्साएर वा उस्तै परे आक्रमण नै गरेर त्यहाँबाट भगाउँछ ।
भूकम्पजस्ता प्राकृतिक विपद् वा समस्या आइलागे कागहरू ठूलठूलो स्वरमा कराएर यताउता उड्न थाल्छन् । वरिपरि हिंस्रक प्राणीको चहलपहल बढ्यो वा कुनै जीवजन्तुको मृत्यु भयो भने पनि कागले अस्वाभाविक गतिविधि देखाउन थाल्छ । यही संकेत पछ्याउँदै गिद्ध सिनो खान पुग्ने गरेको विज्ञहरू बताउँछन् ।
१३ देखि २० वर्षभन्दा बढी बाँच्न सक्ने काग पौराणिक कथा–कहानीदेखि आधुनिक विज्ञानसम्म जोडिएको रहस्यमयी पन्छी हो । विश्वभर ४० भन्दा बढी प्रजातिका काग पाइन्छ । नेपालमा पनि आधा दर्जन यसका प्रजाति छन् । धेरै पाइनेचाहिँ हाउस क्रो (घर काग) हो । यसको घाँटी र छातीमा खरानी रङ र अरूतिर पूरै कालो हुन्छ । कालो काग भने जंगल क्षेत्रमा बस्ने गर्छ । पहाडी काग पनि भनिने यो घर कागभन्दा ठूलो हुन्छ भने शरीरको रङ पूरै कालो । आकारमा सबैभन्दा ठूलो राजकाग हो । ठूलो आवाज हुने यो काग झन्डै चिलजत्रै देखिन्छ । राजकागसहित टेमु र टुंगा प्रजातिका काग हिमाली भूगोलतिर पाइन्छन् ।
जलवायु परिवर्तन, सहरीकरण, खेतबारीमा अधिक विषादी प्रयोगले धेरैजसो जीवजन्तुको अस्तित्व खतरामा रहे पनि कागलाई त्यति असर देखिएको छैन । बरु यिनको संख्या बढ्दो छ । सहरमा बढेको फोहोरमैलाका कारण यिनले आफूलाई जोगाइरहेका छन् ।
धर्मग्रन्थमा काग
कात्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने यमपञ्चकको पहिलो दिन नै काग पुजिन्छ । यमराजसामु खुसी भएर जाओस् र शुभ समाचार सुनाओस् भनेर यस दिन मिठो भोजन गराइन्छ । कागलाई पितृको आत्मा मान्नेहरू यसलाई तृप्त पारे आफ्ना पितृ खुसी हुने ठान्छन् ।
विभिन्न धर्मग्रन्थमा कागको अनेक प्रसंग आएको छ । पौराणिक कथाअनुसार कागले यमराजका सन्देशलाई मानव लोकमा ल्याउने वा पुर्याउने काम गर्छ । यमपञ्चकको पहिलो दिन जोकसैले कागलाई पूजा गर्छ, उसका घरमा दुःख, मृत्यु वा अशुभ समाचार ढिलो पुग्ने विश्वास गरिन्छ । त्यसैले काग पूजा गर्दा रक्षा, दीर्घायु र शान्तिको आशीर्वाद प्राप्त हुने ज्योतिषाचार्य एवं वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल बताउँछन् ।
उनका अनुसार तिहारको पहिलो दिन कागलाई पूजा गरेर मृत आत्मा र यमराजलाई सन्देश पठाइन्छ कि– अशुभ टाढा रहोस्, पितृहरूको मोक्ष र शान्ति होस् । मृत्यु, यमलोक र आत्माको यात्रासम्बन्धी प्रमुख ग्रन्थ गरुड पुराणमा ‘काकंतु यमदूतंच पितृणांच प्रतिनिधिकम्’ अर्थात् काग यमदूत र पितृहरूको प्रतिनिधि हो भनिएको छ ।
‘गरुड पुराणअनुसार जब श्राद्ध वा तर्पण गर्दा अन्न, जल र भोजन कागलाई अर्पण गरिन्छ, त्यो सिधै पितृलोकमा पुग्छ र पितृको आत्म सन्तुष्ट हुन्छ,’ पण्डित दुलाल भन्छन्, ‘मनुस्मृति, याज्ञवल्क्य स्मृतिजस्ता धर्मशास्त्रमा पनि कागलाई श्राद्धकर्ममा अनिवार्य उपस्थित पात्र मानिएको छ ।’
रामायणको ‘काकभुशुण्डि ऋषि’ कथामा कागको रूपमा रहेर पनि ऋषिले भगवान् रामको भक्ति र ज्ञानमार्ग सिकाएका छन् । महाभारतमा पनि युधिष्ठिर र यमराजबीचको संवादमा कागलाई यमको सन्देशवाहक रूपमा उल्लेख गरिएको छ । पण्डित दुलालका अनुसार पुराणमा कागलाई काल (समय) र कर्मको संकेतका रूपमा पनि जोडिएको छ । त्यसैले पुराणहरूले कागलाई ‘मृत्यु र पुनर्जन्मबीचको सन्देशवाहक प्राणी’ भनेर पनि चित्रण गरेका छन् ।
बुद्धि, स्मरण शक्ति, सामाजिक व्यवहार र अनुकूलन क्षमताले काग अद्भुत जीव हो । मानव जीवन, धार्मिक विश्वास र प्रकृतिसँग यसको गहिरो सम्बन्ध छ । पौराणिककालका काकभुशुण्डि ऋषि होऊन् या आधुनिककालको चलाख जिम्मी, काग मानव–समाजसँग कतै न कतै जोडिएकै छ । त्यही भएर हुनुपर्छ, कागको पूजा नगरी तिहार नै सुरु हुँदैन ।
