लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् अर्थात् राष्ट्रिय संवत्को नयाा वर्ष सुरु हुन्छ । त्यही दिन नेवार समुदायमा म्हः पूजा गर्ने विशिष्ट परम्परा छ । नेपाल भाषामा म्हः पूजाको अर्थ हो– आफ्नो शरीरलाई आफैंले पूजा गर्ने ।
What you should know
नेपाल संवत् राष्ट्रिय संवत् । यसपल्ट नयाँ वर्षका रूपमा ११४६ लाग्दै छ । नयाँ वर्षकै कारण यति बेला खुसी र उत्साह अनुभव गर्न सक्छौं । धेरै अगाडि लिच्छविकालमा कुन संवत् चलनचल्तीमा थियो, त्यसबारे दुईमत हुन सक्छ । त्यसपछि भने नेपालमा नयाँ संवत् प्रयोगमा आएको देखिन्छ र यो नेपाल संवत् नै हो । यसमा भने दुईमत छैन । मल्लकाल आइपुग्दा नेपाल संवत्को प्रयोगमा व्यापकता आइसकेको थियो ।
यसको सबैभन्दा ठूलो प्रमाण हो, त्यो समयका जति पनि अभिलेख छन्, त्यसमध्ये अधिकांशमा नेपाल संवत् कै प्रयोग हुनु । त्यसैले यसको यति धेरै महत्त्व र ऐतिहासिकता भएको हो । जति बेला कुनै पनि सांस्कृतिक परम्परा आमजनताले अपनाएर मनाउने चलन हुन्छ, त्यसलाई निस्तेज पार्न सकिन्न, नेपाल संवत् भन्नु पनि यस्तै हो ।
विशेषतः राणाकाल र पछि पञ्चायती व्यवस्थाकै बेला पनि यसलाई सरकारी प्रयासमै बेवास्ता गर्ने क्रम सुरु भयो । तर यो प्रचलनबाट कहिल्यै हराएन, किनभने नेपालका प्रत्येक रीतिथिति नेपाल संवत्मै त आधारित हुन्छ । नेपाल संवत्लाई सरकारी मान्यता दिलाउन भएको संघर्षको लामै कथा छ । यति भन्दाभन्दै पनि नेपाल संवत्ले कहिले पनि आफ्नो सांस्कृतिक मान्यता भने गुमाएन ।
कारण स्पष्ट छ, यो नेपालको संस्कृति तथा परम्परासँग भिजेको छ । यो नेपालको मौलिक संवत् हो । यसको सबैभन्दा ठूलो विशेषता भनेको यसमै टिकेर मनाइन्छ, नेपालका लगभग सबै चाडपर्व, जात्रा र उत्सव । यस्तै शुभसाइत हेर्ने हो भने अथवा केही नयाँ कुरा स्थापित गर्ने हो भने पनि नेपाल संवत्कै आधारमा तय गरिन्छ । अझ भन्ने हो भने जन्मदेखि मृत्युसम्म जति पनि विधि अपनाउनुपर्ने हुन्छ, ती सबै तिथिकै आधारमा त हुन्छ ।
शंखधर साख्वाः लाई नेपाल संवत्का प्रवर्तक मानिन्छ । उनले नै नेपाल संवत् सुरु गरेका हुन् । उनीबारे दुई खाले किंवदन्ती प्रचलनमा छन् । त्यसमध्ये पहिलो हो, एक खास साइतमा उनले घरमा ल्याएको बालुवा जति सुनमा परिवर्तन भयो । त्यसैको मद्दतले उनले जनताको ऋण मोचन गरे । त्यसकै सम्झनामा नेपाल संवत् सुरु भयो ।
अर्को हो, शंखधर व्यापारी थिए, व्यापार गरेर उनले राम्रै कमाए पनि । त्यसमा केहीले डाहा गरे र उनीमाथि अनेक आरोप लगाए । तत्कालीन शासक वर्गले कारबाही गरे । तर सबैले पछि के थाहा पाए भने शंखधरले केही पनि नराम्रो गरेका थिएनन् । खोसिएको सम्पत्ति पनि फिर्ता पाए । त्यसैबाट उनले जनताको ऋण जति मोचन गरे । त्यसपछि नेपाल संवत् सुरु भयो ।
स्वन्ति नखः
काठमाडौं उपत्यकामा तिहार तीन दिन मनाउने परम्परा रहेको छ । तिहारलाई नेपाल भाषामा स्वन्ति भनिन्छ । स्वन्तिको पहिलो दिन हुन्छ, लक्ष्मी पूजा । दोस्रो दिन पर्छ, म्हः पूजा । तेस्रो दिन भयो, किजा पूजा । किजा पूजा भयो, भाइटीका । नेपाल संवत्का आधारमा लक्ष्मी पूजा नै वर्षको अन्तिम दिन हुन्छ । म्हः पूजाको दिन नयाँ वर्ष सुरु हुने भयो ।
लक्ष्मी पूजासँगै एक वर्षको आर्थिक कारोबार पनि सकिन्छ । यसलाई सालतमामी गर्ने पनि भनिन्छ । अझ भन्दा आफ्नो व्यवसायको एक आर्थिक वर्ष अन्त्य गर्ने अवसर । यसरी हेर्दा म्हः पूजासँगै नयाँ आर्थिक वर्ष पनि सुरु हुने भयो । त्यसैले व्यावहारिक रूपमा लक्ष्मी पूजाको दिन आफ्नो एक वर्षको आर्थिक कारोबारको हिसाब बन्द गरिन्छ ।
नयाँ वर्षमा नयाँ हिसाब किताब सुरु हुने भयो । एकै पुस्ता अगाडिसम्म पनि व्यावहारिक रूपमै यो परम्परा कायम थियो, तर अचेल यस्तो हुन्न । त्यस पछाडि धेरै कारण छन् । तर सांकेतिक रूपमा अझै पनि नयाँ वर्षमा नयाँ आर्थिक वर्ष सुरु गर्ने परम्परा जीवितै छ । लोप भने भइसकेको छैन ।
यसरी लक्ष्मी पूजाको भोलिपल्टदेखि नयाँ वर्ष सुरु हुन्छ । त्यही दिन नेवार समुदायबीच म्हः पूजा गर्ने विशिष्ट परम्परा रहेको छ । नेपाल भाषामा म्हः पूजाको अर्थ हो, आफ्नो शरीरलाई आफैंले पूजा गर्ने । यो परम्परा आफैंमा विशिष्ट छ । र, उत्तिकै मौलिक पनि ।
म्हः पूजाको दिन बिहान सबेरै उठिन्छ र नुहाउने काम हुन्छ । नुहाउने स्थिति नभएमा सफा हुने गरी हातमुख धुने गरिन्छ । अनि नयाँ वा सुकिलो लुगा लगाइन्छ । एकपल्ट म्हः पूजा गर्ने स्थान निश्चित भएपछि त्यसलाई सफा गर्नुपर्ने हुन्छ । पूजा सामग्रीलाई पनि सफा गरिन्छ ।
गोबरले भुइँ लिपिन्छ । परिवारमा जति पनि सदस्य छन्, त्यसैअनुसार पूजाको सामना र सामग्री चाहिन्छ । यो अर्को महत्त्वपूर्ण तथ्य भयो । सगुन दिनका लागि विशेषः पूजा थालीको प्रयोग हुन्छ । यसलाई भनिन्छ, कोतः । फूलमा सयपत्री, भीमसेनपाती, मखमली र गोदावरी । पूजामा सिन्दुर, अक्षता, नैवेद्य, इता, जजंका प्रयोग गरिन्छ । यसमध्ये इता भयो सानो बत्ती । अनि जजंका भयो जनै जस्तै । सगुनमा प्रयोग हुने फुल हाँसकै हुनुपर्छ । माछा पनि सिंगै चाहिन्छ ।
सूर्यास्त हुन अगाडि नै पश्चिम दिशा फर्केर म्हः पूजा गर्नुपर्छ । दक्षिण र उत्तर दिशा फर्केर म्हः पूजा गर्नु हुन्न भनिन्छ । सधैं त्यस्तो गर्न सम्भव नहुन सक्छ, त्यस्तो बेला कम्तीमा घरको मूल एक जनाले पश्चिम फर्केर आसनमा बस्ने गर्छन् । म्हः पूजा गर्दा परिवारको प्रत्येक सदस्य अगाडि जलमण्डल बनाउने काम हुन्छ । त्यसकै बीचमा पाँच वटा तेलको चक्का बनाइन्छ ।
यसलाई नेपाल भाषामा भनिन्छ, चिकंमन्द । मण्डलनजिक जो हुन्छ, त्यसैले त्यसमा पूजा गर्ने गर्छन् । यदि परिवारको सदस्यमध्ये कोही बिरामी छ वा विदेश गएको छ भने त्यस्तो अवस्थामा ती सदस्यको प्रतिनिधित्व गरेर मण्डल बनाइन्छ र पूजा गरिन्छ । पूजाका बेला प्रायः पुरुष जतिले टोपी लगाउने गर्छन् । अनि महिलाले भने दायाँ हात बाहिर निकालेर पछ्यौरा ओढ्ने गर्छन् ।
खेलुइताः र शून्यता
यही बेला मंगल कामना गर्ने विशिष्ट र मौलिक परम्परा छ । म्हः पूजाका बेला मंगलका प्रतीक ग्रहण गर्ने चलन रहेको छ । जस्तै, फलफूल, माछा र फुल । खासमा आफ्नो शरीर आफैंले पूजा गर्ने यस परम्परामा दार्शनिक पक्ष पनि उत्तिकै रहेका छन् । अबको पूरा वर्ष चोटपटक नलागोस्, बिरामी पनि नहोस्, सुख शान्ति होस् भनेर कामना गरिन्छ ।
यसका लागि तान्त्रिक विधिबाट पूजा हुन्छ । त्यसैले परिवारका सदस्य जति छन्, ती सबै एकै स्थानमा भेला हुन्छन् । अनि सामूहिक पूजा गर्छन् । म्हः पूजाको दिन बौद्ध नेवारले बुद्ध धर्म र संघसँगसँगै कुलदेवता र इस्ट देवताको पूजा गर्छन् । हिन्दु नेवारले भने बलि राजाको पूजा गर्ने चलन छ । यति फरक भए तापनि दुवै पूजाको मूल आशय भने एउटै छ ।
त्यो हो, त्याग र दानशीलताको भावना । मानिसले आफ्नो जीवन सबै प्राणीको हित र उद्धारका लागि अर्पित गर्न सकुन् भनेर स्मरण गरिन्छ । म्हः पूजा आफैंमा कस्तो हुन्छ त ? यसको दार्शनिक पक्ष कस्तो छ त ? पूजाका क्रममा मण्डल बनाइन्छ । त्यसमा खेलुइताः बाल्ने काम हुन्छ । हाम्रो जीवन भनेकै पञ्चस्कन्ध र पञ्चतत्त्वले हो । फेरि मृत्युपछि सबै विलीन हुने भनेकै पृथ्वीमै हो ।
अर्को शब्दमा भन्दा यो शून्यतामै विलीन हुनु हो । जीवन आफैं पनि शून्यता नै हो भनेर पनि व्याख्या गरिन्छ । मण्डल र खेलुइताःले यही भाव दिने काम गर्छ । खेलुइताः के हो त ? खासमा यो लामो बत्ती हो । अरू बत्तीभन्दा यो साँच्चै लामो हुन्छ, त्यसैले यो फरक हुन्छ । विशिष्ट पनि हुन्छ । भनिन्छ यसको लम्बाइ हाम्रो अनुहार जत्तिको हुनुपर्छ ।
अनुहार नै कोही कसैको परिचय भयो नै । खेलुइताः बलेपछि खरानी हुन्छ नै । यससँग दुई तथ्य जोडिएका छन् । पहिलो, हामीले आफ्नो कर्मद्वारा चारैतर्फ प्रकाश छर्न सक्नुपर्छ र हाम्रो प्रयत्न यसमै केन्द्रित हुनुपर्छ । अर्को, हाम्रो शरीर एक दिन खरानी हुने नै छ । त्यसैले यसको पनि बोध हुनुपर्छ र भइरहनुपर्छ ।
यसरी हेर्दा सबै प्राणीको उद्धार गर्न सकियोस् भनेर म्हः पूजा गरिन्छ । यसका लागि हामीले त्याग्नुपर्ने हुन्छ, आफूभित्रको लोभ, मोह, तृष्णा सबै । म्हः पूजामा मखमलीको फूल र ओखर पनि प्रयोग हुन्छ र यसको पनि विशेष अर्थ छ । यी दुवैले त्यागको भावना लागि प्रेरित गरिरहेका हुन्छन् ।
ओखर कहिले पनि कुहिँदैन, त्यसको अर्थ स्वास्थ्य राम्रो रहोस् भनेर गरिएको कामना भयो । फुल, माछा र फलफूल मिश्रण भयो, शक्तिको प्रतीक । माछालाई प्रज्ञाको प्रतीक मान्दै आइएको छ । यस्तै फुललाई भने करुणाको प्रतीक मानिन्छ । पूजाका क्रममा साना–साना पानीका भाँडा पनि प्रयोगमा आउने गर्छन् । यो भयो, यमुनाको प्रतीक ।
कमलको फूलको आठ भागले आठ दिशा तथा अष्टांगिक मार्गको प्रतिनिधित्व गरिरहेको हुन्छ भनिन्छ । सुकुन्दा पनि विशेष हुन्छ र यसमा गणेश हुन्छ । यस्तै नाग, कलश र दीप पनि । यसका फरक–फरक प्रतीक छन् । जस्तो, गणेश मंगल, नाग काल, कलश लक्ष्मी र दीप प्रकाशको प्रतीक हुन् । म्हः पूजापछि आठ परिकार खानुपर्छ । नेपाल भाषामा यसलाई च्याता घासा भनिन्छ र यो भयो अष्टमातृकाको प्रतीक ।
न्हु दँया भिन्तुना
पछिल्लो समय नेपाल संवत्लाई आफ्नो मौलिक मानेर आमनेपालीले मनाउने क्रम बढ्दो छ । केही समय अगाडिसम्म यसलाई नेवारले मनाउने पर्वका रूपमा मात्र हेरिन्थ्यो । हिजोआज भने धारणा पनि फेरिँदै छ । त्यसैले जति बेला नेपाल संवतनुसार नयाँ वर्ष सुरु हुन्छ, सबैले एकअर्काप्रति शुभकामना दिने गर्छन् । सबैले मनैदेखि भन्छन्– न्हु दँया भिन्तुना अर्थात् नयाँ वर्षको शुभकामना ।
सम्बन्धित :
धनतेरस : आरोग्य र आर्थिकोपार्जनको उत्सव
