मस्तिष्क शल्यक्रियामा महिलाको सिंगो टिम

महिला चिकित्सकको यो टोलीले अहिलेसम्म राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा गरी दुई सातामा ६० वटा शल्यक्रिया सम्पन्न गरिसकेको छ

फाल्गुन २५, २०८०

सन्जु पौडेल, तृप्ति शाही, सुजाता मुखिया

An entire team of women in brain surgery

काठमाडौं, लुम्बिन र वीरेन्द्रनगर — काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरको अपरेसन थिएटरमा मस्तिष्कमा रहेको ट्युमर निकाल्नका लागि शल्यक्रिया गर्ने सुरसार हुँदै थियो । जटिल शल्यक्रियामा परिपक्व शल्य चिकित्सक, एनेस्थेसिस्ट र नर्ससहितको समूह खटिन्छ । अरू बेलाझै त्यस दिन पनि सो समूहको नेतृत्व प्रा.डा. राजीव झाले गर्नुपर्ने थियो । तर, उनले डा. नम्रता खड्कालाई अघि सार्दै भने, ‘यो शल्यक्रिया तपाईंहरूले गर्नूस् ।’

डा. नम्रताको अगुवाइमा त्यहाँ न्युरो सर्जन डा. पूजा चौरासिया, एनेस्थेसिस्ट डा. स्मृति आचार्य,  एनेस्थेसिया नर्स पुनम महर्जन, नर्स ईश्वरी राजभण्डारी खटिए । बिरामीको टाउकाको बायाँ भागमा ट्युमर थियो । टाउको चिरफार गरेर होसियारीपूर्वक ट्युमर निकालियो । यस्तो अवस्थामा थोरै मात्र गडबडी भए दायाँ भाग नचल्ने हुन सक्थ्यो । केही घण्टाको अनवरत प्रयासपछि शल्यक्रिया सकियो । बिरामीको होस खुल्यो । सीटी स्क्यान गरेर हेर्दा सबै ठीक देखियो ।

महिला टोलीले सम्पूर्ण जिम्मा लिएर फागुनको दोस्रो साता गरेको पहिलो शल्यक्रिया सफल भयो । त्यही दिनदेखि न्युरो सर्जरीका लागि महिला टोली सक्रिय हुन थालेको छ । ‘न्युरो सर्जरीका लागि महिला चिकित्सक र नर्सिङ स्टाफको पूर्ण टिम भएको मैले देखेको सम्भवतः यो पहिलो हो,’ वीरका स्नायु रोग विभाग प्रमुखसमेत रहेका प्रा.डा. झा भन्छन्, ‘महिला चिकित्सकको यस्तो टिम नेपाल, भारत मात्र होइन, अमेरिकामा पनि मैले देखेको छैन ।’ महिला चिकित्सकको यो टोलीले दुई सातामा ६० वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ । उनीहरूले राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा शल्यक्रिया गर्दै आएका छन् । ‘न्युरो सर्जरीका लागि शरीर र मन दुवै बलियो हुनुपर्छ,’ डा. नम्रताले भनिन्, ‘हतार गर्ने र हरेस खानेले यस्तो काम गर्नै सक्दैनन् ।’

न्युरो सर्जरीमा सेकेन्ड–सेकेन्डको पनि महत्त्व हुने अनुभव छ डा. पूजा चौरासियाको छ । ‘थोरै समयको फरकले बिरामीको स्थिति जे पनि हुन सक्छ,’ उनी भन्छिन्, ‘हामीले प्राण जानै आँटेका धेरै बिरामीलाई बचाएका छौं ।’ मस्तिष्क शरीरको अत्यन्तै संवेदनशील अंग हो । यसले मानव शरीरको सम्पूर्ण भागलाई नियन्त्रण गर्छ । ‘त्यसैले मस्तिष्कको शल्यक्रिया गरिरहँदा अरु अंगहरूमा क्षति पुग्न नदिन निकै सचेत हुनुपर्छ,’ उनी भन्छिन् ।

महिला शल्य चिकित्सकको यो टिममा डा. स्मृति आचार्यले एनेस्थेसिया अर्थात् बेहोस् बनाउने काम गर्छिन् । ‘बिरामीलाई बेहोस बनाउन सकिन्छ वा सकिँदैन भनेर हामीले विश्लेषण गर्छौं,’ उनी भन्छिन्, ‘शल्यक्रियाको तनाव धान्न सक्छ भने मात्र अरु प्रक्रिया अगाडि बढ्छ ।’ न्युरो सर्जरीको केस एनेस्थेसियाका लागि पनि निकै चुनौतीपूर्ण हुने उनको दाबी छ । ‘सर्जनहरूले मस्तिष्क चलाउनुहुन्छ, त्यहाँ शरीरका महत्त्वपूर्ण स्नायुतन्त्र हुन्छ,’ डा. स्मृतिले भनिन्, ‘यस्तो अवस्थामा बिरामीलाई सामान्य अवस्थामा राख्नुपर्ने हुन्छ । जबकि, मस्तिष्कको शल्यक्रिया गर्दा हृदयगति परिवर्तन हुने, श्वासप्रश्वासमा समस्या आउने, रक्तचाप तलमाथि हुने र रक्तस्राव बढी हुने खतरा रहन्छ ।’

प्रा.डा. झाका अनुसार अन्य शल्यक्रियाभन्दा न्युरो सर्जरी तुलनात्मक रूपमा जटिल हुन्छ । ‘शल्यक्रिया गर्दा पूर्वयोजनाबाट थोरै पनि तलमाथि हुँदा बिरामी प्यारालाइज्ड हुने वा मृत्युसम्म हुने खतरा रहन्छ,’ प्रा.डा. झा भन्छन्, ‘आकस्मिक शल्यक्रिया गर्न तुरुन्तै निर्णय गर्नुपर्छ । घण्टौं उभिएर खटिनुपर्छ । मानसिक र शारीरिक रूपमा नै निकै चुनौतीपूर्ण र कठिन शल्यक्रिया महिला चिकित्सक टोलीले जसरी सहज रूपमा गरिरहेको छ, त्यो उदाहरणीय छ ।’

‘दिनरात बिरामी हेर्न, सग्लो शरीरमा ‘स्क्यापल’ चलाउन, रगत हेर्न दह्रो मुटु चाहिन्छ,’ डा. नम्रताले भनिन् । आफ्नो रहर र दृढताले यति धेरै खटिएर शल्यक्रिया गर्दा पनि असहज महसुस नभएको उनले बताइन् । डा. नम्रताले शल्यक्रिया गर्न थालेको सात वर्ष भयो । न्युरो सर्जरीमा सहभागी हुन थालेको भने तीन वर्ष मात्रै भएको छ । भक्तपुर, दुवाकोटकी उनले छात्रवृत्तिमा चिकित्साशास्त्र अध्ययन गरेकी हुन् । ‘सानोमा खेल्दा पनि गुडियाको अपरेसन गरिदिन्थें,’ उनले हाँस्दै सुनाइन्, ‘सानैदेखि यसमै रहर र लगाव भएकाले गाह्रो लाग्दैन ।’

वीरगन्जमा जन्मिएकी डा. चौरासियालाई पनि सानैदेखि चिकित्सक बन्ने रहर थियो । ‘आमा गृहिणी, बुबा जागिरे । मलाई भने डाक्टर बन्ने रहर थियो । अवसर पाए न्युरोसर्जन नै बन्छु भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘सानैदेखिको रहर भएकाले होला, अहिले जतिसुकै खटिनुपरे पनि दुःख लाग्दैन ।’ डा. स्मृति आचार्यका बुबा अस्पतालमै काम गर्छन् र आमा पनि नर्स हुन् । ‘त्यसैले मलाई यस क्षेत्रमा लगाव बढेको हो,’ उनले भनिन् ।

धुलिखेल अस्पतालको एनेस्थेसिया विभागमा मेडिकल अफिसर भएर काम गर्दा उनलाई एनेस्थेसिस्ट नै हुने चाहना बढ्यो । उनले यसैमा आफ्नो करिअर बनाइन् । ‘शल्यक्रिया गर्दा सर्जनजसरी नै हामीहरू पनि खटिनुपर्छ,’ उनी सुनाउँछिन्, ‘मैले यो कामलाई रहरका रूपमा पनि लिएकी छु । त्यसैले गाह्रो लाग्दैन ।’ ‘भित्रैदेखिको लगाव र रहर’ का कारण न्युरो सर्जरी जस्तो जटिल विधामा आफूहरू अगाडि बढिरहेको उनीहरू बताउँछन् । ‘हामीलाई त आफूले सर्जरी गरेको बिरामी निको भएर घर फर्केको हेर्ने रहर हुन्छ,’ डा. नम्रता भन्छिन्, ‘त्यसबेला सबै दुःख बिर्सन्छौं ।’

तबस्सुमको संस्कृत प्रेम

मुस्लिम समुदायमा जन्मिएर घरबाहिर खुलेर हिँडडुल गर्नसमेत गाह्रो हुने समयमा उच्च शिक्षा हासिल गर्नु चानचुने कुरा थिएन । नेपालगन्ज–११ की तबस्सुम सिद्धिकी यस अर्थमा भाग्यमानी हुन् । परिवारका सदस्यले साथ दिए सबै कुरा सम्भव छ भन्ने तबस्सुमले हालै नेपाल संस्कृत विश्वविद्यालयबाट ‘हिन्दु वास्तुशास्त्र तथा इस्लामिक वास्तुकलाबीच तुलनात्मक अध्ययन र नेपाली वास्तुकलामा त्यसको प्रभाव’ विषयमा विद्यावारिधि पूरा गरेकी छन् । यो लामो यात्रा तय गर्न तबस्सुमले भारत, मलेसिया, पाकिस्तानसम्म पुगेर शोध पूरा गरेको बताइन् ।

बुबा डा. सलाउद्धिन अख्तर सिद्धिकी र आमा सरवर जहाँले जहिल्यै पढाइका लागि प्रेरित गरेको तबस्सुमले सुनाइन् । उनका बुबा पूर्वन्यायाधीश हुन् । अभिभावकको सही दिशानिर्देशले अध्ययनका लागि उत्साहित बनाएको तबस्सुमले बताइन् । समुदायका अन्य महिलाले आफूले जस्तो अवसर नपाएकामा उनलाई दुःख लाग्थ्यो । समुदायअनुसार संस्कृति जोगाउन इस्लामिक विद्यालय जानुपर्ने प्रचलन भए पनि तबस्सुम र उनका भाइबहिनीले बोर्डिङ स्कुलमा पढ्न पाए ।

An entire team of women in brain surgery

तबस्सुम सिद्धिकी

ब्राइटल्यान्ड स्कुलबाट २०५३ सालमा एसएलसी सकेकी उनले स्थानीय महेन्द्र माविबाट प्लस टू गरेकी हुन् । सानैदेखि आफ्नो घर आफैंले गरेको डिजाइनमा बनाउन सके हुन्थ्यो भन्ने सोच राख्ने उनले त्यसपछि वास्तुकला अध्ययन गर्ने सोच बनाइन् । ‘बुबाले हुन्छ भन्नुभयो,’ उनले भनिन्, ‘मेरो र अन्य थुप्रैको घर मैले भनेअनुरूपका बन्ने भए भन्ने कुराले नै मन खुसी हुन्थ्यो ।’ त्यसपछि उनले पाकिस्तानको लाहोरस्थित नेसनल कलेज अफ आर्ट्सबाट स्नातकोत्तर सकिन् ।

विदेशमा अध्ययनका क्रममा अन्य देशका साथी भेट्दा, त्यहाँका संस्कृति र वास्तुबारे बुझ्दा आफूलाई अचम्म लागेको उनले बताइन् । अध्ययन सकेर नेपाल फर्किएपछि उनले काठमाडौंमा अध्यापन थालिन् । उनकी बहिनी मेडिकल डाक्टर हुन् भने भाइ इन्जिनियर । काठमाडौंस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा सन् २०१४ देखि वास्तुशास्त्र विषयमा अध्यापन गराइरहेकी तबस्सुमले मुस्लिम समुदायका महिलालाई अध्ययनका लागि पनि सहयोग गरिरहेकी छन् । यसअघि उनले पाकिस्तान, यूएई र नेपालकै अन्य कलेजमा समेत पढाउने र अनुसन्धाताका रूपमा काम गरेकी थिइन् ।

आफ्नो समुदायबाट संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो महिलाका रूपमा इतिहास रच्दा निकै खुसी लागेको उनी बताउँछिन् । आफ्नो देशका कला, वास्तुकलाबारे मुस्लिम राष्ट्रका जनतालाई सुसूचित गराउने तथा मुस्लिम कलासंस्कृतिलाई नेपालमा परिचित गराउने उद्देश्यले आफूले विद्यावारिधिको विषय छानेको उनको भनाइ छ । ‘बुबाले आफू अघि बढ्न आफू बसेको समाज बुझ्नुपर्छ भनेर सिकाउनु भएको थियो,’ उनले भनिन्, ‘हिन्दु समाज पढें, बुझें र बुझाउने अध्ययन गरें ।’ विद्यावारिधि सम्पन्न गर्ने क्रममा मलेसिया, पाकिस्तान, साउदी अरब, यूएई, भारतलगायतका देशमा पुगेर अध्ययन गरेको तबस्सुम बताउँछिन् ।

मानिसले सोचिरहेको भेदभावयुक्त मानसिकता बदल्न संस्कृत विश्वविद्यालयमै पढेको उनले बताइन् । उनका बुबाले समेत संस्कृत विश्वविद्यालयबाटै अध्ययन पूरा गरेका थिए । तबस्सुमले हिन्दु मात्र होइन, अध्ययन गर्न चाहने जोकोहीलाई विश्वविद्यालयले भेदभावबिना अध्ययनको वातावरण सिर्जना गर्छ भन्ने सन्देश दिन आफूले संस्कृत विश्वविद्यालय रोजेको बताइन् । वास्तुकलासम्बन्धी अध्ययनबारे धेरै विषय वेद सम्बन्धित रहेको र वेद संस्कृत भाषामा भएकाले पनि संस्कृत विश्वविद्यालय नै आफ्नो रोजाइमा परेको उनले सुनाइन् ।

तबस्सुमले विद्यावारिधि सकेसँगै उनको परिवारमा खुसीको माहोल छाएको छ । आफ्ना कारण अभिभावकले पाएको खुसीले थप ऊर्जा मिलेको उनी बताउँछिन् । ‘द मदर फाउन्डेसन नेपाल’ नामक संस्था दर्ता गरी छलफलमार्फत शिक्षाको कुरा बुझ्न, अघि बढ्न चाहनेलाई प्ल्याटफर्म तयार गरेको तबस्मुमले बताइन् ।

सुत्केरी स्याहार नै इलम

वीरेन्द्रनगर नगरपालिका–९ तिलपुरकी ७८ वर्षीया हीरामोती चौधरीलाई अहिलेसम्म कति सुत्केरी र बच्चालाई तेल मालिस गरें भन्ने सम्झना छैन । उनलाई त केवल अनेकौं रूपरंगका बच्चा, प्रसव वेदना झेलेर तंग्रिँदै गरेका आमाहरूको झल्याकझुलुक याद मात्रै छ । सुत्केरी स्याहारको ३७ वर्ष लामो अनुभव सँगालेकी हीरामोतीले यो काम जेठानी दिदीबाट सिकेकी हुन् । ‘लामो समय सुँडेनी भएर काम गरें । सुत्केरी हुन अस्पताल लैजाने चलन नभएकाले बच्चा निकाल्ने, नाल काट्नेदेखि सुत्केरी स्याहार्ने सबै काम गरें,’ उनले भनिन् ।

नवजात शिशु र सुत्केरीलाई तेल लगाउने काम सोचेजस्तो सजिलो भने छैन । तोरीको तेल तताएर मेथी र ज्वानो पड्काएर मालिस गर्ने, नवजात शिशुको संवेदनशीलता बुझेर कपडा फेरिदिनु, नुहाइदिनु र मिचिमिची मालिस गर्न अनुभव चाहिन्छ । यही काममा निपुण भएकैले हीरामोतीलाई वरपरका सबै टोलवासीले ‘सुत्केरी स्याहार्ने दिदी’ भनेर चिन्छन् । सुरुवाती दिनमा उनले जानेको सीपले पेसाको सम्मान पाएको थिएन । उनले एक साता सुत्केरी स्याहारेबापत नगन्य पारिश्रमिक पाउँथिन् । अहिले भने ५ हजारसम्म बुझ्छिन् । ‘अनि, एक जोर कपडा त सबैले दिन्छन् नै,’ पाँच छोरी र दुई छोरालाई सुत्केरी स्याहार्ने काम गरेरै हुर्काएको अनुभव सुनाउने हीरामोती भन्छिन्, ‘अहिले पो छोराबुहारीले मलाई हेरिरहेका छन् । पहिले घर–व्यवहार सबै यसरी कमाएरै धान्ने गरेकी थिएँ ।’

An entire team of women in brain surgery

हीरामोतीले २ वर्षदेखि यो पेसा छोडेकी छन् । तर, अनुभवी भएकाले कसैकसैले हत्ते गरेर बोलाउँछन् । आफ्नै समुदायका एकाध महिला भने काम सिकाइ माग्न पनि आउँछन् ।

६३ वर्षकी लालु चौधरी अझै यही काममै छन् । तिलपुर घर भएकी लालुलाई सुत्केरी स्याहार्ने कामले फुर्सदै हुन्न । २०६३ सालमा नाति जन्मेपछि उनले सुत्केरी स्याहार्ने काम सुरु गरेकी हुन् । १७ वर्षअघि काम थाल्दा एक साता सुत्केरी स्याहारेको दुई हजार रुपैयाँ पारिश्रमिक लिन्थिन् । अहिले त्यति नै समयको ६ हजार लिन्छिन् । अनुभवी लालुलाई टाढाटाढाका मान्छेले पनि बोलाउँछन् । तर, जान र फर्किनका दुःखले सकभर टाढा जाँदिनन् ।

वीरेन्द्रनगर–२ कोलडाँडाकी ४१ वर्षकी नीता चौधरीलाई लगालग चार छोरी जन्मिएपछि श्रीमान्ले छोडे । अनि उनी अर्थोपार्जनको अवसर खोज्दै सुत्केरी स्याहार्ने पेसामा आइपुगिन् । दैनिक ७ सय रुपैयाँ ज्याला र कतिपयले दिने मिठोमसिनो खान्कीले उनलाई घर खर्च धान्न सहयोग पुगिरहेको छ । नीता जस्तै वीरेन्द्रनगर–९ कालीमाटीकी ४० वर्षीया कमला चौधरी पनि सात वर्षयता सुत्केरी स्याहार्ने काम गर्दै आएकी छन् । एक वर्षअघि श्रीमान्को मृत्यु भएपछि आइपरेको आर्थिक संकट टार्न उनलाई यही सीप उपयोगी भइरहेको छ । कमलाले यो काम आमाबाट सिकेकी हुन् । सुरुमा ५ सयमा काम गरेकी उनी अहिले दैनिक १ हजार रुपैयाँ लिन्छिन् ।

सुर्खेत आसपास सुत्केरी स्याहार्ने पेसामा अक्सर थारू समुदायका महिला संलग्न देखिन्छन् । यो कामले उनीहरूलाई अर्थोपार्जनसँगै परिवारको समस्या टार्न पनि भरथेग मिलिरहेको छ । परम्परागत रूपमै चलिरहेकाले यो पेसामा व्यावसायिकताको भने खाँचो देखिन्छ । सेवाग्राही र सेवा प्रदायकको आपसी विश्वासका भरमा चलिरहेकाले यो पेसाका आफ्नै व्यावहारिक कठिनाइहरू पनि छन् । सुत्केरी स्याहार्ने काममा संलग्न थारू महिलाहरू यो कामबाट मिल्ने सम्मान र पारिश्रमिक राम्रो भएको साझा अनुभव सुनाउँछन् ।

थारू समुदायका अगुवा मानबहादुर चौधरीले लामो समयदेखि थारू समुदायका महिलाले सुँडेनीको काम गर्दै आएको सुनाए । थारू समुदायमा सुँडेनीलाई सोरिन्या भन्ने चलन छ । ‘सोरिन्याहरूले गर्भवती भएबाटै महिलाको हेरविचार गर्थे । सुत्केरी हुने बेलामा पनि उनीहरूको उपस्थिति हुन्थ्यो । यो कामबापत धान र कपडाहरू दिइन्थ्यो ।’ मानबहादुरका अनुसार सुत्केरी स्याहार्ने पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै गएको छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ललितजंग शाहीले तेल तताएर मालिस गर्दा कमजोर शरीर तंग्रिन सहयोग पुग्ने बताए । ‘मसाजले थाकेको मसल पनि एक्टिभ हुन्छ । समग्रमा यो राम्रो हो,’ उनले भने, ‘तर धेरै तातो तेलको प्रयोग गर्दा भने सानो बच्चालाई असर पर्ने कुरामा ध्यान दिन उत्तिकै जरुरी छ ।’

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

सुजाता मुखिया कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully