१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

सँगै ग्यास दुर्घटनामा परेकी आमा सपनामा सोध्छिन् - ‘सन्चै छौ नि !’

दुर्घटनामा आमा गुमाएका चन्द्र पनि मृत्युको मुखमा पुगे । असह्य पीडा, जलन, दुःख, बेचैनी र हैरानीबाट थोरै तंग्रिएका उनी आमाको निधनको ठीक एक वर्षपछि किरिया बसिरहेका छन् ।
मुम्बईमा उपचार गराइरहेका बेला एक दिन चन्द्रले श्रीमती लक्ष्मीसँग सोधे– म यस्तो भयंकर पीडामा छु, भन न कस्तो छ आमालाई ? बर्बरी आँसु झार्दै लक्ष्मीले आमा ग्यास दुर्घटना भएकै दिन संसारबाट बिदा भएको खबर सुनाइन् । ‘त्यसपछि मनमा ठूलो पहिरो गयो,’ चन्द्रले भने । 
दीपक सापकोटा

काठमाडौँ — त्यो दिन चिसो आकाशमा तातो सुर्जेको तेज मधुरो भएको थियो । पशुपतिनाथ आर्यघाटछेवैको ‘किरियापुत्री सेवा केन्द्र राजराजेश्वरी’ को ११३ नम्बर घरमा उदास बसिरहेका चन्द्र भण्डारीको मन पनि चिसै थियो । चन्द्र–मुहार साँच्चै नै उदास देखिन्थ्यो । कसरी खुसी हुन सक्छन् उनी, जबकि आमा जलेर बितेकी छन् ? चन्द्र जिन्दगीको अकाट्य सत्य हेर्न बसेका छन– पशुपतिको किरिया घरमा ।

सँगै ग्यास दुर्घटनामा परेकी आमा सपनामा सोध्छिन् - ‘सन्चै छौ नि !’

उनीजस्तै उदास देखिन्छन्, घाट र किरियापुत्री भवनहरू । सेतो धोतीमा मौन उभिइरहेका वा छेउमै घाटमा भेटिएका लास पोलिरहेका मान्छे पनि उदासै छन् । सदियौँदेखि लामो सन्नाटा जस्तो बोध हुन्छ, घाटमा र चन्द्र भण्डारी बसेको किरियापुत्री भवनमा पनि ।

डढेपछिको खत छ– चन्द्रको अनुहार, निधार, हत्केला, गोडामा...। उनको गोरो मुहारमा खैरा खत छन् । दुवै आँखाका डिलमुन्तिर केही दाग छन्, सायद आँसुका धर्काले बनाएका हुन् ती । उनको पछिल्लो जीवनरेखामा कोरिएको छ, अग्नि–जलनपछिको एक भयावह चित्र । उनको जिन्दगीको पछिल्लो कथा सुन्दा लाग्छ, त्यो एक उदास सङ्गीतकारको भायोलिनबाट निस्केको धुन हो वियोगको । किरियाघर बाहिरको भुइँमा छापिएका ढुंगामा खसेका छन्– रूखका केही हरिया, सुकेका पहेँला पात । त्यहीँनेर बेन्चमा बसेका छन्– केही बूढा, तन्नेरी मानिस । ती चन्द्रका कुरा सुनिरहेका छन् । उनीचाहिँ बसेका छन्, सेतो कुर्सीमा अलि पर, अलग्गै । त्यो विरसिलो दिनमा चन्द्र भनिरहेका थिए– मनमा स्याँठ चलिरहेकै छ बा ।


गुल्मी–१ बाट निर्वाचित सांसद चन्द्रको जीवनमा भयानक वज्रपात भयो– एक वर्षअघि (फागुन ३, २०७९) । त्यस दिनको सम्झना उनको मस्तिष्कमा जीवनैभरि ठूलो दाग भएर बसेको छ । त्यो एक यस्तो कालो दिन थियो, जुन दिनको सम्झनाले मात्रै पनि उनको मुटु ढक्क फुल्छ र आँखामा आउँछ एउटा छाया– शरीरमा आगो लागेर ढल्दै गरेकी आमाको ।

त्यस दिन ग्यास लिक भएको बुद्धनगरको कोठामा चन्द्रले बिजुलीको स्विच अन गर्दा एक्कासि हुर्हुरी आगो लाग्यो । आगोको रापिलो लप्काले उनी जले । सँगै उनकी आमा हरिकला भण्डारी (१९९७–२०७९) पनि जलिन् । र, ७० प्रतिशत शरीर जलेको आमाको कीर्तिपुर बर्न अस्पतालमा देहान्त भयो । जल्दा आमा चिच्याएको त्यो आवाज अझै टाढाबाट चन्द्रको कानमा गुन्जेझैं लाग्छ । त्यो आवाजको तर्कनाले शरीर फतक्कै गलेझैं हुन्छ ।

त्यो दिनको सम्झनाले चन्द्र भण्डारीको मनमा सधैं पहिरो गइरहन्छ । आमा त गइन्, उनको पनि जीवनको सिलसिला त्यही दिन झन्डै सक्किएको । लामो समयको असह्य पीडा, जलन, दुःख, बेचैनी र हैरानीले उनी आफैं असाध्यै गलेका छन् । र, आमा–स्वर्गारोहणको ठीक एक वर्षपछि थोरै तंग्रिएका उनी किरिया बसिरहेका छन्, जीवन–मृत्युको महिमा बोध गर्दै– आर्यघाटमा । जीवनका वक्ररेखाहरूबारे उनी भन्छन्, ‘यस्तो पनि देख्नुपर्‍यो आफ्नै आँखाले । वास्तवमा बाँच्न साह्रै सकस रहेछ । यो वर्ष मैले जिन्दगीका धेरै कुरूप दिनहरू बिताएँ । ती दिनको सम्झना साह्रै नमीठो खत भएर मनमा बसिरहने भए ।’

चन्द्र भण्डारीका हातका औंलाहरू अझै राम्ररी चल्दैनन् । आगोले उनको शरीरको ४४ प्रतिशत भाग पोल्यो र गहिरो घाउ बनाइदियो । कीर्तिपुर बर्न अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई मुम्बईको बर्न सेन्टर हस्पिटल पुर्‍याइयो । ७३ दिनको उपचारपछि उनी नेपाल फिरे । नेपाल आएर फेरि डा. शंकर राईको नेतृत्वको स्वदेशी, विदेशी चिकित्सक र स्वास्थ्यकर्मीहरूबाट उपचार गराए ।


बितेको यो एक वर्षमा लागेका मधुरा, चिसा–ताता घाम, ठूला–साना झरी उनको स्मृति–पत्रबाट बिलाएर गए । तर, मनमा सधैं हिउँ बर्सिइ नै रह्यो र मन चिसो भइ नै रह्यो । पोलेको घाउ बिसेक हुन एक वर्षै लाग्यो (पूर्ण बिसेक भइसकेको छैन) । बाँकी खत पनि मेटिँदै जाला, तर उनको आँखैअघि आमा जलेर छटपटाउँदै जमिनमा ढल्दा मनभित्र लागेको त्यो घाउ निको गराउने औषधि कुन होला ? त्यो घाउ निको हुन कति वर्ष लाग्ला ?

यो एक वर्षमा उनले जिन्दगीलाई पटक–पटक देखे । उनीबाहेक कसैले भन्न सक्दैन, एक वर्षमा उनी मस्तिष्कको–मनको–भावनाको–भयंकर पीडाको कुन–कुन बाटा र गल्छेडाहरू हिँडे ! जलन र सहनै नसकिने दुखाइबीच अस्पतालको शय्यामा कति पटक

झ्यालबाट अति व्यस्त सहर हेर्दै टोलाए, उनीबाहेक कसैले जान्दैन । अनि कसैले भन्न सक्दैन– कति आँसु झारे उनले आमाको सम्झनामा ! त्यो अनाम मस्तिष्क–यात्राको पीडा, एकान्त–भाव र थकानबारे उनले मात्रै भन्न सक्छन् ।

त्यो दुर्घटना, त्यो मातृवियोग, बेहोसीमै अस्पतालहरूको त्यो बाध्यात्मक यात्रा..! चन्द्रका अनुसार, उनको मनमा छ– केवल खल्बली । ‘आमाको अनुहारको सम्झनाले सधैं दुःखतिर पुर्‍याउँछ, उनी भन्छन्, ‘आमा कसरी बित्नुभयो, त्यो भन्ने साहस पनि नभएझैं लाग्छ बेलाबेला ।’ आमा र आफू जलेको मुटु चुँडाल्ने दृश्यले उनलाई निदाउन दिँदैन । ‘यो जीवन आमाको उपहार हो, त्यो दिन सम्झेर म पलपल झसंग भइरहन्छु,’ अनन्त यात्रामा हिँडेकी आमाको सम्झनामा चन्द्र भन्छन्, ‘निदाउन सक्दिनँ, मध्यरातमा ब्युँझिन्छु, फेरि निद्रा लाग्दैन ।’

दुर्घटनाकै रात आमा हरिकलाले अन्तिम सास फेरिन् । कीर्तिपुर अस्पतालको छेउकै कोठामा अचेत र चेतनाशून्य भई ढलेका चन्द्रले आमाको देहान्त–खबर थाहा पाएनन् । उनलाई कसैले सुनाएन पनि, सायद ‘थप जलन र पीडा होला’ सोचेर । मुम्बईको ‘बर्न सेन्टर हस्पिटल’ मा देखिन्थ्यो– केवल मृत्यु र भयको रङ । चन्द्रको अनुहारको रङ पनि फुस्रै थियो । लगातारको अपरेसन, जलन, इन्जेक्सन र पीडाबीच बम्बईको भेन्टिलेटरमा, आईसीयूमा, अपरेसनमा चन्द्र सोचिरहन्थे– मलाई त यत्ति पीडा भएको छ, मृत्युसँग युद्धरत मेरी आमालाई कत्ति गाह्रो भयो होला ? कसैले उहाँसँग कुरा गराइदिए हुन्थ्यो । कसरी सहनुभयो होला ? आमाको उपचारमा कति सुधार भयो होला ?

अनि उनी योजना पनि बुनिरहन्थे– अब घाइते आमालाई यसरी स्याहार्छु, खाटमा आमालाई सहज हुने गरी यस्तो झुल हाल्छु, आफैं खाना खुवाउँछु, अब म निको भएर फर्केपछि पूरै समय आमा–स्याहारमा लाग्छु । उपचार गराइरहेकै बेला करिब दुई महिनापछि उनले श्रीमती लक्ष्मीसँग सोधे– म यस्तो भयंकर पीडामा छु, भन न कस्तो छ आमालाई ? बर्बरी आँसु झार्दै लक्ष्मीले आमा ग्यास–दुर्घटनाको त्यही दिन संसारबाट बिदा भएको खबर सुनाइन् । ‘त्यसपछि मनमा ठूलो पहिरो गयो,’ चन्द्रले भने ।

निकै दिन आँसु झारिरहे, चारैतिर अँध्यारो–केवल अँध्यारो देखे । ‘आमा...’ भन्दै बर्बराइरहे । कवि विप्लव प्रतीकको गीतले भनेझैं चन्द्रलाई ‘हर रात सपनीमा ऐंठन’ भइरह्यो । ‘अहिले पनि सपनामा ऐंठन हुन्छ,’ चन्द्र भन्छन्, ‘अन्तिम पटक आमाको चरण स्पर्श पनि गर्न पाइनँ, त्यही सम्झेर झन् दुःख लाग्छ । खासमा म भित्रैदेखि घाइते भएको छु ।’ नेपाल फिरेपछि उनी आगलागी भएको त्यो कोठामा कहिल्यै गएनन्– ‘सम्झनाले कोमल बनाउला, फेरि मन दुख्ला’ सोचेर । आमा जलेको त्यो कोठा जस्तो थियो, उस्तै छ अझै । त्यो कोठाको नमीठो सम्झना र ओसिलो गन्धको साक्षी बस्ने मन अब चन्द्रलाई छैन ।

दुर्घटनाको एक वर्षसम्म चन्द्रलाई लागिरह्यो– ‘आफ्नै प्रतिकूल स्वास्थ्यका कारण पुत्रवत् दायित्व निभाउन सकिनँ, अभिभावक गुमाउँदा गर्नुपर्ने संस्कार पूरा गरिनँ ।’ त्यो पीडाबोधमा बोझिलो–भारी मन लिएर बसिरहे उनी । अरू दाजुभाइ घटना भएकै बेला आमाको किरिया बसे । चन्द्र आमा–महाप्रस्थानको एक वर्षपछि अहिले किरिया बसेका छन्, आज १२ औं दिन हो । ‘यत्ति गरेपछि आमाको आत्मा मुक्तिसहज होला,’ उनी भन्छन् । ‘डाक्टरहरूको अथक् मिहिनेतले प्राप्त यो पुनर्जीवनलाई सबैको मझधारबाट दृष्टिगोचर गर्छु,’ आकाशमा मडारिएको चिताबाट उठेको धूवाँ हेर्दै चन्द्र भन्छन्, ‘जीवन र मृत्युको यति जीवन्त तस्बिरको भोगी र साक्षी मै हुँ ।’


चन्द्रको मनमा आमाको सम्झना किताबका पाना भएर फरर पल्टिरहेका छन् । ती सम्झना निख्रिएका छैनन्, झन् एकपछि अर्को नयाँ–नयाँ जन्मिरहेका छन् । यस्तो लाग्छ, चन्द्र स्मृतिका चिसा–ताता दिनतिर बरालिइरहेका छन् । आमा हरिकला नेता–छोरालाई बेलाबेला सुनाइबस्थिन्– पहाड गाउँका कथाहरू, पहाडका चलन र संस्कृति । ‘आमा एक गम्भीर, गहिरो र भावुक बिम्ब रहेछ,’ चन्द्र भण्डारी यादका तस्बिर पल्टाउँछन्, ‘आमाले बारीको पाटोमा माटोमा लट्ठीले लेखेर मलाई क–ख सिकाएका दिन झन्–झन् नजिक–नजिक भएझैं लाग्छ– हिजै हो कि, अस्ति हो किजस्तो ।’

चन्द्रका आमा दुई जना हुन्, दुवैको नाम– हरिकला भण्डारी । दुई आमाबाट ६ छोरा, १ छोरी भए ।

चन्द्र माइला छोरा हुन् । कान्छी आमा हरिकला (८०) अहिले चन्द्रसँगै छिन् । लेखपढमा कतै आमाबारे लेख्नुपरे उनी ‘हरिकला स्क्वायर’ लेख्थे । ७ वर्षमै हरिकलाको विवाह भयो, ईश्वरीप्रसाद भण्डारीसँग– गुल्मीको हुँगामा । सासू र सासूकी सासू साह्रै कडा स्वभावकी थिइन् । घरमा जुनैबेला कामको चटारो हुन्थ्यो, अनुहारमा हतारो हुन्थ्यो ।

हरिकलाले अक्षर चिनेकी थिइन् । धार्मिक थिइन्, पूजापाठमा निकै ध्यानस्थ थिइन् । घाँस–दाउरा, चुलो–चौको, बस्तु–भाउमै पूरै समय बित्थ्यो । चन्द्र घरमा भएका ठूला दुई गोरु चराउन जंगल जान्थे, घाँस काट्थे । सुदूर दिनका आमा–सम्झनामा चन्द्रको मस्तिष्कमा घाँस बोकिरहेकी, घाँस काटिरहेकी, चुलोमा दाउरा बालिरहेकी आमा आउँछिन् । घरमा थिए– ‘सिद्धान्त–कौमुदी’, ‘मध्यसिद्धान्त–कौमुदी’, ‘लघुसिद्धान्त–कौमुदी’ र ‘सार–कौमुदी’ । आमा बिस्तारै–बिस्तारै अक्षर खुट्याउँदै ती रचना वाचन गर्थिन्– साँझसाँझ । ‘आमालाई कौमुदी कण्ठै थियो,’ चन्द्र भन्छन् ।

आमाको यही बानीले हो, जसले चन्द्रलाई ‘पढ्नुपर्छ’ भन्ने सिकायो । चन्द्रको बुझाइमा आमा हरिकला निकै सोझी थिइन्– कसैसँग रिसराग थिएन, झगडा–कलह गर्ने बानी थिएन । तर, कान्छी आमा हरिकला बाठी–टाठी र कडा स्वभावकी थिइन् । राजनीतिमा लागेका चन्द्र बेलाबेला पक्राउ पर्थे । कान्छी आमा थानासम्मै पुगेर पुलिससँग व्यापक झगडा गर्थिन्, ‘छोरोलाई छोड्दे’ भन्थिन् ।

आमाले सिकाएका केही ज्ञान छन्, जसलाई चन्द्र ‘जीवनैभरि पछ्याउनेछु’ भन्छन् । जस्तो आमा भन्थिन्– कसैलाई पनि बिझ्ने वचन नलाउनु, सहनशील हुनु, अरूको आशामा नबाँच्नु र घरमा आएका पाहुनाको सत्कारमा कहिल्यै कुनै कमी नगर्नू । चन्द्र भण्डारी राजनीतिमा हिँड्दा आमा हरिकला औधी खुसी भइन्, सधैं प्रेरणा दिइरहिन् । ‘आमाले सधैं भनिरहनुभयो– यो राजनीति भन्ने चिजमा दुःख हुँदोरहेछ, तर यो त समाजका गरिब–दुःखीको जीवन राम्रो बनाउने बाटो पनि रहेछ । तँ राम्रो बाटोमा छस् । तँलाई विश्वास गर्नेहरूलाई कहिल्यै पनि नराम्रो नगर्नू । इमानदार र अनुशासित भएर मान्छेहरूको मन जित्ने काम गर्नु सधैंभरि,’ चन्द्र पुराना दिन सम्झिन्छन्, ‘उहाँ राजनीति त बुझ्नुहुन्नथ्यो, तर छोराले राम्रो बाटो समात्यो भन्नेमा ढुक्क हुनुहुन्थ्यो । आमाका लागि छोराछोरी सधैं बालखै हुँदारहेछन् ।’

८२ वर्षमा पनि हरिकला कति सक्रिय थिइन् भने सधैं आफैं खाना पकाउँथिन् । घरमा आएका सबै पाहुनालाई सोधिरहन्थिन्– ‘बाबु, खाना खायौ ?’ कांग्रेस नेता विश्वप्रकाश शर्मा बरोबर पुगिरहन्थे, चन्द्र भण्डारीको घर । ग्यास–दुर्घटनाको केही दिनअघि मात्रै उनले हरिकला भण्डारीले पकाएको खाना खाएका थिए । गएको फागुन ३ गते शर्माले फेसबुक–भित्तामा लेखेका रहेछन्, ‘ममतामयी माताकै रूपमा श्रद्धा गर्थें म उहाँलाई । घटनाको केही दिन अघिमात्रै उहाँलाई भेट्न भनेर बुद्धनगरमा पुगेको थिएँ । त्यो भेट र त्यो दिन खिचेको त्यो तस्बिर नै अन्तिम हुनेछ, कुनै कल्पना थिएन ।’ चन्द्र र उनकी आमाको दुर्घटनापछिको यात्राको परिवेश, कथा र समय फरकफरक भए । त्यो यात्राको भंगिमा अलग–अलग भए । उनी आफ्नो जीवनलाई दुई पाटोमा हेर्छन्– दुर्घटना अघि र पछि । त्यो कहालीलाग्दो अग्नि–कथापछि उनको सम्बन्धहरू र मूल्यहरूलाई हेर्ने दृष्टिकोण पनि बदलिएको छ । ‘जीवन, सम्बन्ध, अभिव्यक्ति सबैका सीमा हुँदारैछन्’, चन्द्र भन्छन् ।

चन्द्रको बुझाइ–विचारमा आमा जीवन, संस्कार, संस्कृति, शिक्षक र डाक्टर हुन् । छोरा–छोरीहरूलाई उनको सुझाव छ– रिसाएर पनि कहिल्यै आमालाई केही नभन्नु, आमाको अपमान नगर्नु, आमाको

मन दुख्ने गरी वचन कहिल्यै नलाउनु, सधैंभरि सेवा गर्नु त्यसपछि मात्रै जीवन सार्थक हुन्छ र आमालाई कहिल्यै वृद्धाश्रममा नराख्नु । वृद्धाश्रममा राख्न कुनै वस्तु होइनन् आमा, उनी त ईश्वरकी रूप हुन्, जसलाई श्रद्धा गर्नुपर्छ । चन्द्रको सपनामा आउँछिन् आमा हरिकला । भन्छिन् रे– खाना खायौ बाबु ? सन्चै–आनन्दै छौ नि ! ‘म त जेनतेन फर्किएँ, तर आमा कहिल्यै नफर्किने बाटो जानुभयो,’ मान्छे डढेको दुर्गन्धित धूवाँ मडारिएको आर्यघाटको आकाशतिर हेर्दै चन्द्र भन्छन्, ‘मनभरि पीडा छन् आमा ! केही गल्ती भएको हुन सक्छ, माफ गर्नुस् । अर्को जुनीमा हजुरको काखमा बस्न पाऊँ, भगवान्सँग यही प्रार्थना छ ।’

प्रकाशित : फाल्गुन २२, २०८० १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?