कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘बुबा डरको बिम्ब, आमा मायाको’

आमाका केही विशेष बानी–व्यवहारले नै ‘आफ्नो जीवनको बाटो मोडिएको हो’ भन्छन् सीके, आमाले भनेझैं उनले खुबै पढे, आमाकै कारण उनमा दर्शनशास्त्रप्रति ठूलो झुकाव रह्यो
छोरा राजनीतिमा आउँदा चिन्तित भइन्, बेचनीदेवी । भन्थिन्, ‘तँ किन अम्रिकाबाट फर्किस् बौवा ? ‘अहिले खुसी हुनुहुन्छ,’ सीके भन्छन् । त्यो विनम्रता–भाव नै हो, जुन उनले आमाबाट सधैं सिके । 
दीपक सापकोटा

काठमाडौँ — बाहिर शीत बर्सिरहेको हुन्थ्यो । आँगनमा बाक्लो तुसारो जमेको हुन्थ्यो । जलकण मिसिएको चिसो हावा झ्यालका कापभित्र पस्थे । भित्र अन्धकार रातको ठिहीमा आमाको स्वर चिसो स्याँठझैं सुसाइरहन्थ्यो । त्यो काँपिरहेको आमाको आवाजले चन्द्रकान्त राउत (सीके राउत) लाई कल्पनाको सुदूर–लोकमा विचरण गराउँथ्यो ।

‘बुबा डरको बिम्ब, आमा मायाको’

खैरो कम्बल ओढिरहेका उनी निद्रालु आँखाले टुकीको उज्यालोमा दुवै हात उचाल्दै तन्मयसाथ ‘श्रीमद्भगवद्गीता’ वाचन गरिरहेकी आमालाई हेर्थे । आमा गीता अर्थ्याइरहेकी हुन्थिन्, ‘पृथ्वीमा आउँदा तिमीले केही पनि लिएर आएका थिएनौ । जे–जे पायौ, यहींबाट पायौ । जो–जोलाई जति दियौ, यहीं दियौ । तिमी खालि हात आएका थियौ, खालि हात नै गयौ । आज जे छ तिमीसँग, हिजो त्यो अरू कसैको थियो र भोलि फेरि अरू कसैको हुनेछ ।’

सीके राउतको मस्तिष्क–लोकमा घोडाले तानिरहेको रथमा ‘प्रिय पार्थ’ भन्दै अर्जुनलाई अर्ती दिइरहेका तस्बिरमा देखेको प्रदीप्त कृष्णको आकृति नाचिरहन्थ्यो । आमा–कथामा उनले पूर्ववर्ती दिनहरूमा बिताएका खैरा रङका सम्झनाहरू छन् । ‘लु’ चलाउने टन्टलापुर घाम लागेका थुप्रै दिन छन्, पतझड पहेँलिई रूखबाट पात झर्न थालेका बिहान छन्, मसी घोप्टिएका अँध्यारा रात छन् अनि घामको प्रतीक्षामा खोकिलामा हात बाँधेर ठन्डीले कठ्यांग्रिँदै आँगनमा घुर तापिरहेका उदास दिन पनि छन्, जहाँ सीके राउतकी आमा सानो–ठूलो–मधुरो आवाजमा ‘श्रीमद्भगवद्गीता’ पाठ गरिरहेकी हुन्थिन्, ‘जे भयो राम्रो भयो, जे हुँदै छ राम्रै हुँदै छ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ ।’


महिलालाई पढ्न प्रेरित नगर्ने ऊ जमानाको मधेशको समाजमा पनि साक्षर थिइन्– सीके राउतकी आमा बेचनीदेवी राउत (७२) । ‘आमा देवनागरी लिपि खुट्याउन सक्नुहुन्थ्यो र उहाँमा धर्मप्रति अगाध आस्था थियो,’ घाम अस्ताउँदै गर्दा फागुनको एक साँझ मध्यबानेश्वरको जनमत पार्टीको बार्दलीबाट मधेशका सुदूर दिनतिर यात्रारत छन् सीके राउत, ‘धर्ममाथिको आस्थाकै कारण र धर्मग्रन्थै पढ्न आमाले पढ्न सिक्नुभयो सायद । उहाँ अरू कुनै किताब पढ्नुहुन्नथ्यो, धर्मग्रन्थ मात्रै पढ्नुहुन्थ्यो ।’

सप्तरीको भारदह हो– बेचनीदेवीको माइती । घरको ठ्याक्कै अगाडि आँगनमै थियो– कंकालीको मूर्ति । बेचनीदेवी त्यो मूर्तिको पूजा गर्थिन् सानैदेखि, सरसफाइ पनि । उनका ठुल्दाइ धार्मिक मानिस थिए, पूजापाठ गरेर मात्रै भान्सा पस्थे, पछि रामनामी ओढेर संन्यासी नै भए । घरमा पढाइलाई महत्त्व दिइन्थ्यो । भाइहरू पनि शिक्षित थिए ।

सानैमा बेचनीदेवीको विवाह भयो, जसरी सँगै गट्टा खेल्ने उनका साथीहरूको पनि भयो– पहिल्यै गौना गरेर ।  । श्रीमान् श्वेताम्बर राउत शिक्षक थिए– राष्ट्रिय प्राथमिक विद्यालयका । सीकेका मामा पनि शिक्षक थिए । उनका बुबा र मामा पढ्न गए, काठमाडौं । मामा डाक्टरी पढ्थे । ‘बुबा भन्नुहुन्छ– हेर् बौवा ! त्योबेला वाग्मतीमा सङ्लो पानी बग्थ्यो । तर, त्यो पानी मलाई पचेन, अचानकै पेटको रोग लाग्यो र सहरमा बस्न नसकेर म गाउँ फर्किएँ,’ बुबाका पुराना दिन स्मरण गर्छन् सीके । यसरी सीकेका मामा डाक्टर भए, बुबा शिक्षक ।

सीके राउतका बाल्य दिन बढी हजुरआमासँग बिते । हजुरआमाको सम्झनाले उनलाई घरनेरको ठूलो आँपको बगानमा पुर्‍याउँछ, जहाँ उनी पारिलो मध्यदिनमा हजुरआमाको काखमा मस्त निदाउँथे– ब्युँझँदा हजुरआमाका हातमा हुन्थे, पाकेका आँप ।

कोशी नदीको १० किलोमिटर पश्चिममा छ, जनमत पार्टीका अध्यक्ष सीके राउतको गाउँ– सप्तरी महादेवा । कोशीको नहर उनको गाउँ हुँदै जान्छ । सीकेको जीवनशैली कोशी नदीसँगै जोडिएको छ । सानो छँदा उनी कोशीमै नुहाउँथे, पौडिन्थे, घामको प्रवाहमान तेजले छाला डढाउँथ्यो । सीकेलाई कोशीको प्रवाहमान तेज पनि थाहा छ, कोशी उर्लंदाको भयानक बाढी पनि थाहा छ । नदीसँग उनी कतिसम्म जोडिएका थिए भने सपनामा पनि प्रायः कोशीको बगरमा दौडिरहेको हुन्थे, उर्लेको वा शान्त बगिरहेको धमिलो पानी हेर्दै टक्क उभिन्थे वा पानीले भिजेपछिको बालुकाको गन्ध सुँघिरहेका हुन्थे । बगिरहेको नदी हेर्दै हुर्केका सीकेलाई कोशी र उनकी आमाको जीवन उस्तै–उस्तै लाग्छ, जहाँ छन्– आफ्नै दुःख, आफ्नै खुसी, कहिले उज्यालो, कहिले अँध्यारो, कहिले नीरस, कहिले सरस, तर सधैं अभाव र सुनसान !

आमाले बाँचेका ती दिनतिर पस्दा सीके सुदूर क्षितिजतिर हेर्दै एकोहोरिन्छन् । उनको सम्झना–लोकमा आमाका केही बिम्ब छन्– धान रोपिरहेकी, ढिकीमा धान वा ओखलमा चिउरा कुटिरहेकी ! ‘एकदम गाह्रो थियो ती दिन । आमा कडा परिश्रम गर्नुहुन्थ्यो । एक्लै धान रोप्नु–घर भित्र्याउनु, भात–भान्सा गर्नु आमाकै काँधमा थियो,’ सीके सम्झन्छन् ।

आमाका केही विशेष बानी–व्यवहारले नै ‘आफ्नो जीवनको बाटो मोडिएको हो’ भन्छन् सीके । जीवनका केही मोडहरूमा आमाले सानो छँदा भनेका/सिकाएका पाठहरूले डोहोर्‍याए । जस्तो, आमाकै कारण उनमा दर्शनशास्त्रप्रति ठूलो झुकाव रह्यो– आमाले लय हालेर पढेको ‘हनुमान चालिसा’, ‘गीता’ सुनेर । आमाले आवाज निकालेर पुराणका कथाहरू पढेकैले सीकेलाई धेरै कथा याद छन् । ‘महाभारत’, ‘रामायण’ का द्रौपदी, सीताजस्ता पतिव्रता नारीका कथा सुनाउँथिन्– गाउँका मानिसअघि आँगनबीच बसेर । ‘रामायण’ को उत्तरकाण्डमा बढी रुचि थियो । ‘सधैं भन्नुहुन्थ्यो– उत्तरकाण्ड पढ्नुपर्छ,’ सीके सुनाउँछन्, ‘तर, मैले उत्तरकाण्ड अझै बुझेको छैन । सोच्छु– अक्षर मात्रै जानेकी मेरी आमाले कत्ति धेरै जानेको !’

‘खुब पढ्नुपर्छ,’ आमाले उनलाई सिकाएको पहिलो पाठ । आमाले भनेझैं उनले खुबै पढे । दोस्रो, आमा भन्थिन्, ‘रिसाउनुहुन्न, झगडा गर्नुहुन्न, बिनाकाममा झमेलामा पर्नुहुन्न ! जस्तो समस्या आए पनि तिमी झुक्यौ भने के फरक पर्छ ? तिमी दबिएर बसे के हुन्छ ? तिमीले नै मानिदियौ भने त्यो विवाद शान्त हुन्छ ।’ ‘आमाको त्यही दर्शनले म पछिसम्मै प्रभावित भएँ । त्यसैले सानो छँदा मेरो कसैसँग झगडा परेन । म आफैं दबिएर बस्थें, त्यो बानी अझै छँदै छ । पछि काठमाडौं आएर जुन विभेद भोगें, त्योबेला आमाको त्यही वचन सम्झना आउँथ्यो । जस्तो म गाडीको जुन सिटमा बस्थें, त्यो सिटबाट मलाई कसैले भगाउँथ्यो, त्यसबेला म आमा सम्झन्थें । लाग्थ्यो, म बोलिनँ भने झगडै हुँदैन नि !’

जनमत पार्टीका अध्यक्ष सीके राउत । तस्बिरहरू : दीपक केसी/कान्तिपुर

आमाको त्यो वचनको प्रभाव कस्तो पर्‍यो भने एक पटक उनी कतै जान बानेश्वरमा माइक्रो चढे, आधा घण्टा बित्दा पनि माइक्रो हिँडेन । उनी ओर्लिए, तर सहचालकले पूरै भाडा मागे । उनले चुपचाप दिए, ‘झमेलामा नपरौं’ सोच्दै र ट्याक्सी चढेर त्यहाँबाट हिँडे । ‘आमाले भनेको सम्झेरै म त्यसरी चुपचाप बस्थें– किन बित्थामा झगडा गर्नु भन्ने सोचेर । आमाले दिएको संस्कार थियो त्यो’, सीके भन्छन्, ‘कसैसँग दोहोरो झगडा गरेको, कुटाकुट गरेको सम्झना छैन अहिलेसम्म ।’

आमाले पढाएको तेस्रो पाठ– धर्मकर्ममा लाग्नू, कसैप्रति अहित भाव नराख्नू, माफ गरिदिनू ! ‘कसैले हिर्काइहाल्यो भने पनि म आमा सम्झन्छु र लाग्छ– उसले हिर्काए पनि मैले हिर्काउनु हुँदैन । उसलाई माफ गर्नुपर्छ । जीवनैभर म आमाले सिकाएका ती ज्ञानको पछि लागिरहें,’ सीके भन्छन् ।


सीके मधेशका ती दिनतिर बरालिन्छन्– खेत पुग्दा उनी धानका बालाका विभिन्न आकारको ‘झुटी’ बनाउँथे– बकुल्लाको, गोलो रोटीको । र, घरको पालीमा झुन्ड्याउँथे । कतैबाट उड्दै भँगेराहरू आउँथे र पालीमा झुन्डिएका ‘झुटी’ धान चुच्चाले टिपेर पर–पर उडिजान्थे । सीके पनि ती भँगेराजस्तै गाउँबाट उडेर टाढा–टाढा गए । काठमान्डु पुगे र पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङ गरे, जापान पुगे, बेलायत पुगे र क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरे । आत्मकथा ‘डिनायल टु डिफेन्स’ मा उनले मधेशका मान्छेको संघर्ष, कोशी छेउछाउका कथा र अमेरिकाको आधुनिकता लेखेका छन् ।

अमेरिकाबाट वैज्ञानिकको जागिर छाडेर नेपाल फिरेपछि सीकेले स्वतन्त्र मधेशको अभियान चलाए । दर्जनौं पटक पक्राउ परे । मान्छेहरूले सोधिरहे– ‘सीके किन नेपाल आयो ?’ भन्छन्– ‘यही एउटा प्रश्नले सधैं घेरिइरहन्छु म । निकै लामो रहेछ, यो प्रश्नको आयु ।’

नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमतिपछि उनी मूलधारे राजनीतिमा आए– जनमत पार्टीमार्फत । प्रतिनिधिसभा चुनाव– २०७९ मा सप्तरी–२ बाट ३५,०४२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य विजयी भए, निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई निकै पछि पारे । उनको उदयले बडेबडे मधेशका नेता आत्मालोचनाको बाटोमा गए । चुनाव जितेपछि सीकेले भनेका थिए– अब नयाँ युगको सुरुवात हुन्छ !

इन्जिनियरिङ पढ्न गाउँबाट काठमाडौं पस्नुअघि उनलाई थाहा थिएन– पहाड कस्तो हुन्छ ? तर, अग्ला–अग्ला पहाडहरूबीच यात्रा गर्दै उनी तराईबाट काठमाडौं उक्लिए । ‘काठमाडौं आउने बस कि विराटनगर कि काँकडभित्ताबाट आउँथ्यो । टिकट नदिई मुढामा बसालिन्थ्यो । मान्छेले दसथरी गाली गर्थे, लात्ताले हान्थे । बस चढ्नेबित्तिकै विभेद महसुस हुन्थ्यो,’ पोखरामा भर्खरै सकिएको नेपाल लिटरेचर फेस्टिभलको ‘मधेश मन्थन’ सत्रमा लेखक खगेन्द्र संग्रौलासँग सीके राउतले भनेका थिए, ‘कहिले सामान फाल्दिन्छु भैया भन्ने, कहिले के, सुनेरै विरक्त लाग्यो । नेपाली बोल्न आउँदैनथ्यो । कक्षामा परिचय दिन मुख खोल्नेबित्तिकै मधेशी टोन आयो, व्याकरणका हिसाबले शुद्ध भए पनि बोल्नेबित्तिकै सबै गलल्ल हाँस्थे । अनि कक्षामा बस्नै मन नलाग्ने ।’

त्यसपछि उनी कक्षामा इन्जिनियरिङ होइन, सहरका गल्लीहरूमा मान्छे पढ्न थाले । पहिलो वर्षको रिजल्ट बिग्रियो । अनि सोचे– जत्ति हेपून्, पढ्छु । र, अर्को सेमेस्टर टप गरे । भन्छन्, ‘त्यसपछि मैले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।’

तीन छोरामा कान्छा सीके र एक छोरीको शान्तिले ढाकिएको चेहरा धूवाँ पुत्ताइरहेको माटोको चुलोमा खाना पकाइरहेकी आमातिर सोझिएका हुन्थे । टुकीको मधुरो उज्यालोमा पढिरहेका उनी आमाले पकाइरहेको दालको ‘ठुसा’ उघाएर खान्थे । हरेक बिहान नुहाएर ‘हनुमान चालिसा’ पाठ गरेपछि आमा सीकेलाई पनि त्यो पढ्न अह्राउँथिन् । ‘हनुमान चालिसा र गीतामा मेरो जुन लगाब छ, त्यो आमाकै कारण हो,’ सीके भन्छन् । घरमा किताबको सानोतिनो कुन्युँ थियो । बुबा ‘सेक्सपियरदेखि गीतासम्म’ पढ्थे । आमाले एक दिन एउटा कथा सुनाइन्– गीता सुनेपछि किलामा बाँधिएको घोडा पनि सदाका लागि मुक्त भयो । त्यो चक्करमा सीके पनि ‘गीता’ पढ्न थाले ।

सीकेको परिवार निम्नवर्गीय हो । उनका बाल्यकालका दिन अभावैबीच घिस्रिरहे । खेतबारी र चुलाबाट फुर्सद नपाएर बेलाबेला रिसाएकी आमा एउटै वाक्य दोहोर्‍याउँथिन्– कर्ममा यस्तै लेख्या रैछ त म के गर्नु ? त्यसबेला सीके सोचिबस्थे, ‘साँच्चै कर्ममा लेखेकै मात्रै हुन्छ भने त हामीले केही गर्नैपर्दैन । जति पौरख गरे पनि कर्ममा लेखेको फरिँदैन भने मिहिनेत गर्नुको के अर्थ ?’ तर, पछि यस्तो पनि सोचे– ‘लेखेको कर्मलाई किन च्यालेन्ज नगर्ने ?’ त्यसैले पौरख गरे, पढे–केवल पढिरहे । ‘आमाको जीवन–विश्वासले म आफैंमा विमर्श गरिरहन्थें– हामी के गर्न स्वतन्त्र छौं ? के गर्न छैनौं ?,’ सीके भन्छन् ।

बेचनीदेवीले जीवनमा उस्तो विभेद भोग्नुपरेन किनभने उनी गाउँ छाडेर खासै बाहिर निस्किइनन् । तर, एउटा घटनाको अमिलो सम्झनाले दिक्क बनाउँछ सीकेलाई । २०६८ मा अमेरिकाबाट नेपाल फर्केपछि आमाको उपचारमा उनी धरान पुगे । आमालाई घुँडाको रोग थियो । धरानबाट विराटनगर फर्कंदा माइक्रोका सहचालकले अरू कसैलाई सिटमा राख्न खोजे, आमालाई ‘उभिनुस्’ भने । प्रतिवाद गर्दा आमालाई ‘मधेशी’ भनेर असाध्यै गाली गरे । आमामाथिको त्यो दुर्व्यवहारले निकै रात निद्रा लागेन सीकेलाई ।

बेचनीदेवीको स्वास्थ्यमा थुप्रै समस्या छ– हिँड्न सक्दिनन्, पेटको रोग छ । औषधिका नामहरू उनलाई कण्ठै छ– पेट दुख्दा के खाने ? रुघा लाग्दा के ? डाक्टरलाई नै ‘यो औषधि लेखिदेऊ बाबु’ भन्छिन् रे ! डाक्टरसँग जाँच नगरी गाउँका पसलमा पाइने जथाभावी औषधि सेवनले आमा झन् थलिइन् भन्छन् सीके । पहिल्यैदेखि चिराइतो, बेल–सर्बत, गुर्जो खान्थिन् । भन्थिन् रे– गर्मीले पेट दुखायो, चिराइतो खान्छु ।

गाउँको जग्गा सरकारीकरण भएपछि ‘एक्कासि आफ्नोपरिवार गरिब भयो’ भन्छन् सीके । बस दुर्घटनापछि बिरामी भएका बुबाले ट्युसन पढाउन छाडे, केही आर्थिक योजना असफल भए– इँटाभट्टा डुब्यो, माछापालन डुब्यो । सीकेको स्कुलको सय–पचास फि तिर्न र चामल किन्न पनि सकस भयो । उनी एसएलसीमा त्यो भेककै ‘टप’ भए, तर बाँकी फि नतिरी विद्यालयले सर्टिफिकेट दिएन । कतैबाट उनका बुबाले १ हजार रुपैयाँ ऋण खोजे र त्यो बोकेर सीके २०५० मा काठमाडौं पुगे ।

‘अक्षर चिन्नेले संसारका सबैथोक जान्दछ’ भन्ने जामाना थियो त्यो । गाउँमा पढ्न जान्ने मान्छे थिएनन्, कसैको चिठी आइपुगे गाउँलेहरू सीकेकै आँगनमा झुल्किन्थे– बुबा थिए, गाउँकै एकमात्र शिक्षक । कतिसम्म भने डाक्टरले लेखेको औषधि पनि ‘कति टाइम खाने ?’ बुबासँगै सोध्थे गाउँले । गाउँघरका मुद्दामामिला पनि बुबा नै मिलाउँथे ।

थुप्रै यथार्थ कथा र कथाहरूमा मधेशका आमाहरू भयंकर उत्पीडनमा बाँचेका छन् । एउटा मुद्दाको स्मृतिमा पस्दा सीके देख्छन्– निरीह र मायालाग्दो विवशतामा उभिइरहेकी दलित परिवारकी रौवाहीवालीको अनुहार । उनको बिहेको एक–दुई वर्षमै श्रीमान् बिते र जमिन साहुले कब्जा गरे । रौवाहीको विरुद्धमा थिए– गाउँका भद्रभलादमी । उनी सीकेका बुबासँग न्याय माग्न आउँथिन्– घुम्टो नउठाई, कसैलाई नहेरी केही बोल्थिन् र जान्थिन् । उनलाई कागजपत्रको राजनीति थाहा थिएन । उनको भाषा र अदालतका ‘ठूला’ मान्छेको भाषामा ठूलै खाडल थियो । उनी नेपाली बुझ्दिनथिइन् । काखमा सानो छोरा थियो, मजदुरी गर्न अर्काको खेत जानुपर्थ्यो । ‘दलितको मुद्दा किन लिइस्’ भनेर गाउँका अन्यले सीकेकै बुबाविरुद्ध मुद्दा हाले । त्यो मुद्दा सुरु हुँदा सीके ६ कक्षा पढ्थे । उनी अमेरिका पढेर फिरिसक्दा पनि मुद्दा सकिएको थिएन । ‘३० वर्ष भयो, मुद्दा त्यस्तै छ । म गाउँ फर्केको केही दिनमै हार्टअट्याकले रौवाहीको मृत्यु भयो । छोरो विदेशमा थियो, बुहारी त्यही मुद्दा लिएर मेरो आँगनमा उभिरहेकी थिइन् ।’

मधेशका दलित आमाहरूको निजी जिन्दगीमा प्रवेश गरिहेर्दा देखिन्छ– शताब्दीऔंदेखि उभिइरहेको विभेदको अभेद्य पर्खाल, जसको फेदमा टुसुक्क र अलग बसिरहेका छन्– रौवाहीवालीहरू । ‘त्यहाँका आदिवासी आमाहरूलाई माछा किन मारिस् भनेर पनि मुद्दा पर्छ, गाउँबाटै पीडित छन् ती, रोजगारीबाट वञ्चित छन् र छन्– अनेकौं लाञ्छनाबाट अपहेलित’, सीके भन्छन् ।

मधेशमा आमाहरू ‘बोक्सी’ कहलिन विवश छन् । सीकेले देखेका छन्– बाँसको छडीले पिट्दै गाउँ डुलाइएका महिलाहरू । ‘पढेलेखेको परिवारमा अझ छ त्यो समस्या,’ उनी भन्छन्, ‘मधेशको अर्को ठूलो समस्या छ– दाइजोप्रथा । दाइजो नलिई बिहे गरिगएका महिलाको अवस्था निकै खराब छ ।’

गाईको असाध्यै आराधना गर्थिन् बेचनीदेवी । भन्थिन्, ‘बौवा, वैतरिणी नदी पार गर्न गाई चाहिन्छ नि ।’ वैतरिणी नदीका कथा आमाकै मुखबाट सुने उनले । भन्छन्, ‘म सपनामा आमाले भनेझैं वैतरिणी पार गरिरहेको देख्थें, तर त्यो नदी कहाँ छ, थाहा छैन मलाई ।’ बेचनीदेवी घरका भित्ता लिपपोत गर्थिन्, नयाँ–नयाँ चित्र बनाउँथिन् । ती चित्रमा हुन्थे– अनेक चराचुरुंगी र जनावरका बुट्टा । ‘सधैं खुइलिएको एउटै साडी लगाएर नयाँ धानबाट चिउरा बनाउनुहुन्थ्यो– ढिकीले कुटेर, जसको बास्ना अझै नाकमा झुन्डेकै छ,’ सीके सम्झन्छन् ।

सीकेको मस्तिष्कमा आमाको अर्को पनि तस्बिर छ– उनी गीत गाउँथिन्, ‘जाटजाटिन’ (राति जुन लागेको बेला नाचिने नाच) नाच्थिन् । नाचमा शिवजीको पक्ष ‘जाट’ हुन्थ्यो, पार्वती पक्ष ‘जाटिन’ । त्यो नाच दोहोरी खेलेजस्तै नाचिन्छ । नाचमा प्रश्न गरिन्छ– किन पानी नपारेको इन्द्र देउता ? ‘जाटजाटिन नाचेपछि पानी पर्थ्यो पनि । गाउँमा हरेक अवसरमा फरक गीत गाइन्छ, धान रोप्दा अर्कै, विवाहका बेला अर्कै,’ सीके सम्झन्छन्, ‘आमा सबै गीतमा पोख्त ।’

सीकेको विचारमा– बुबा डरको बिम्ब हो, आमा मायाको । उनी राजनीतिमा आउँदा चिन्तित भइन्, बेचनीदेवी । भन्थिन्, ‘तँ किन अम्रिकाबाट फर्किस् बौवा ? ‘अहिले खुसी हुनुहुन्छ,’ सीके भन्छन्, ‘मप्रति आमाको सपना ठूलो थिएनन्– पैसा कमाओस्, घर धानोस् भन्ने सोच्नुहुन्थ्यो ।’ त्यो विनम्रता–भाव नै हो, जुन उनले आमाबाट सधैं सिके ।

बेलाबेला आमा भन्थिन्– पछि मेरो सेवा गर्लास् त बौवा ? तर, सीके त अहिले आमाबाट भौतिक रूपमा टाढा छन्– आमा गाउँ, उनी काठमाडौं । संयुक्त परिवारमा बस्छिन् आमा । उनलाई सीकेकी भाउजू र दिदीले स्याहार्छिन् । विद्यार्थीकालमा पढ्न काठमाडौं पुगेका बेला सीकेसँग आमाको एउटै गुनासो हुन्थ्यो– बौवाले सम्झिँदैन । ‘त्यही गुनासो अहिले पनि छँदैछ, आमासँग भेट उत्ति हुँदैन, तर भावनात्मक रूपमा जोडिएकै छु,’ सीके भन्छन् । भर्खरै गाउँ पुग्दा आफ्नो गोडा ढोगिरहेका सीकेलाई आमाले भनिन्, ‘पापधर्मको ख्याल गर्नू ! पाप गरिस् भने यमराजले तातो तेलको कराइमा डुबाउँछन् !’

बेचनीदेवीलाई ‘धर्म गरे मृत्युपछि गोलोक गइन्छ’ मा भव्य विश्वास छ । अन्धकार रातका ठिहीमा ‘श्रीमद्भगवद्गीता’ वाचन गरिरहेकी आमाको अनुहार याद गर्छन् सीके । ती दिनमा आँखा चिम्लेर आमाले सुनाएका ‘गीता’ का केही श्लोक सम्झन्छन्, जसले उनलाई सधैं जीवनमा मार्गनिर्देश गरे, जस्तो– ‘के गएको छ र तिमी रुन्छौ ? के लिएर आएका थियौ र तिमीले हरायौ ?,’ ‘भूतकालको पश्चाताप नगर, भविष्यको चिन्ता नगर । वर्तमान त चलिरहेकै छ ।’

प्रकाशित : फाल्गुन १५, २०८० ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?