अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन्

अनुपका मावली हजुरबा डिल्लीराज अर्याल थिए– डिट्ठा । ‘न्याय लेख्ने’ काम गर्थे स्याङ्जा गह्रौंकोटका रजौटा गुप्तबहादुर खाँणको दरबारमा । पार्वतीको बाल्यकाल पनि दरबारमै बित्यो । 

फाल्गुन ८, २०८०

दीपक सापकोटा

Anup Baral's mother: Brought up in the palace, enjoyed in the home

काठमाडौँ — दलितको बेग्लै ढंगको जिन्दगी–कथा भन्ने टेलिसिरियल ‘दलन’ मा अनुपले अभिनय गरेका छन्, जुठेको भूमिकामा । कवि श्रवण मुकारुङले लेखेको ‘दलन’ को सिग्नेचर गीत ‘माथिमाथि अरूहरू, तल म छु छाया एक्लै’ सुन्दा अझै नराम्ररी झस्किन्छिन्, अनुपकी आमा पार्वती बराल (८०) । 

‘दलन’ मा अनुप च्यात्तिएको ढाका टोपी लगाएर निधारमा डाम बस्ने गरी भारी बोकिरहेका छन् । एक दृश्यमा जुठेको मृत्यु हुन्छ– साहुको भारी बोकेर खच्चडको पछिपछि हिँडिरहेका उनी अक्करे भीरबाट झ्वाम्मै लडेर कालीगण्डकीमा बिलाउँछन् । जुठे–मृत्युको दृश्य हेरेपछि आमा पार्वती खुब रोइन् ।

लामो समय सुँक्क–सुँक्क गरिरहिन् । आमाको मन न हो, रिलमा पनि छोराको सुखै हेर्न चाहन्छिन् । त्यो दृश्यपछि सायद आमालाई लाग्यो, छोरो साँच्चै मर्‍यो कि ? आमा कति सुर्ताइन् भने ‘दलन’ हेरेको केही दिनसम्म सपनामा पनि त्यही दृश्य दोहोरिइरह्यो, रिकरिङ ड्रिमझैं । ‘आमा भन्नुहुन्छ– हेर् बाबु त्यस्तो नराम्रो भूमिकामा नखेले हुने तैंले । म भिलेनको रोलमा खेलेको पनि आमा मन पराउनु हुन्न,’ अनुप सुनाउँछन् । जीवनमा मात्रै होइन, फिल्म र नाटकमा पनि छोरो ‘हिरो’ होस् चाहन्छिन् आमा– पार्वती । 

Anup Baral's mother: Brought up in the palace, enjoyed in the homeकलाकार अनुप बराल । तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

अनुप अभिनीत/निर्देशित थुप्रै सिग्नेचर नाटक/फिल्म छन्– ‘थाङ्ला,’ ‘जात सोध्नु जोगीको,’ ‘कोर्ट मार्सल’, ‘महाभोज’, ‘खुमा’, ‘टलकजंग भर्सेस टुल्के’, ‘काफ्का : एक अध्याय’, ‘थर्टी डेज इन सेप्टेम्बर’, ‘तीन एकान्त’, ‘एउटा सपनाको अवसान’ (नाटक), ‘कागबेनी’, ‘दासढुंगा’, ‘बधशाला’, फिटकिरी’, ‘दोख’, ‘पानीफोटो’ (फिल्म), जसले नेपाली दर्शकलाई ‘सानदार कन्टेन्ट’ को बानी पारिदिएको छ । 

पुलिस भई गुन्डाको पछि दौडिरहेका, जोगी भई खरानी घसेर धुनी तापिरहेका, बेपत्ता छोरो कुरिरहेका पात्र अनुपका विलक्षण अभिनय र विषय–चयनले समाजको समस्याको जरो समात्छन् र संघर्षशील साना मान्छेका यथार्थ–कथा भन्छन्, जहाँ लहरै उनकी आमा र नेपाली आमाहरूको चिन्ताका काला रङहरू लामबद्ध छन् । 

***

अग्लो डाँडामाथिको चिहानघारी ! ध्यानमग्न जोगीझैं थपक्क बसेका कुहिरिला पहाडबीचका रूखहरू ! चित्रकार बुबा दुर्गा बराल ‘वात्सायन’ का यिनै चित्रका ध्यानस्थ साक्षी थिए– अनुप बराल । कहिले उदास, कहिले प्रफुल्लित लाग्थे ती चित्र । क्यानभासमा रङलाई आफ्नै लयमा पोत्थे– वात्सायन । उनका चित्रहरूमा हुन्थे– हतास युवा, जो टोल्हाइरहेको छ– जून हेर्दै ! अपूर्ण सपना– निराश सहर ! र, सुदूरतिर टोल्हाइरहेकी असाध्यै पातली एक ग्रामीण आमा ! अनुपको सम्झना–रेखामा सधैं आइरहन्छन्, उनी सानै छँदाका बुबाका केही पेन्टिङ । जस्तो नदी–बगरमा निरास उभिइरहेकी एक महिला, जसका कपालका रेसाहरू हावाले उडाइरहेको छ । बुबाका पानीरंगका चित्रहरूको स्मृति–तालमा पौडिरहेका अनुप पुतलीसडकको एक धमिलो सिसा झ्यालबाट बाहिर हेर्दै भन्छन्, ‘उबेला सोचिरहन्थें म, ती चित्रमा बुबाले तालछेऊ उभिइरहेकी उहाँकै आमा, मेरी आमा वा सम्पूर्ण ग्रामिण आमाहरूकै छाया लेख्नुभएको हो ।’

Anup Baral's mother: Brought up in the palace, enjoyed in the homeअनुपको ब्ल्याक–एन्ड ह्वाइट पोखरा–सम्झनामा लहरै आउँछन्, आमा पार्वतीका पछिपछि परालको कुन्युँ लगाउन खेततिर हिँडिरहेको नीलो/सेतो कमिज लगाएको एक बालकको चित्र ! ती बालक उनै अनुप थिए, जो कहिले आमा, कहिले बुबाको पछिपछि कुलो लगाउन, दाइँ हाल्न, आली लगाउन, कुन्युँ कुर्न खेतमा पुग्थे । चपरी कसरी लगाउने ? परालको कुन्युँ कसरी हाल्ने ? आमाले नै अनुपलाई सिकाइन् । घरमा थिए, गाईभैंसी– अनुप आमालाई सघाउँथे गोबर सोहोर्न । 

आली र कुन्युँ लगाएको खेत हुँदै राति हिँड्दा डराएका रात–साँझ, अनि डरले आमाको काखमा गुडुल्किएर निदाएका चिसा रात अमिट यादहरू बनेर बसेकै छन्, अनुपको मस्तिष्कमा । 

अनुपलाई लाग्छ– बुबा जादुको संसारको मान्छे, आमा यथार्थवादी ! ती दिनका सम्झनाले आमाभित्रको अजीव आत्मीयतातिर फर्काउँछ उनलाई, जुन स्मृति वर्षौंदेखि उनका जीवनका विशेष अंग बनेका छन् । ‘फ्यान्टासी होइन जीवन भन्ने आमाले बुझाउनुभयो,’ भन्छन्, ‘आमा जीवनोपयोगी सजाय दिनुहुन्थ्यो, संघर्ष गर्न सिकाउनुभयो । आजकल आमाको त्यो न्यानो स्पर्शको पनि खुब न्यास्रो लाग्छ । त्यो न्यानोपन याद आउँछ । आमाले हामीलाई कहिल्यै दुःख देखाउनुभएन । दुःख जत्ति आफ्नै भागमा राख्नुभयो ।’

***

स्मृतिहरूमा डुबुल्की मार्न पार्वतीको आफ्नै संसारको कथा पुग्दो छ । स्याङ्जा पेखु–आँधीखोला पारि हो, पार्वती बरालको माइती । बाल्यकाल बडो अनौठो ढंगले बित्यो । बुबा डिल्लीराज अर्याल थिए– डिट्ठा, ‘न्याय लेख्ने’ काम गर्थे गह्रौंकोटका रजौटा गुप्तबहादुर खाँणको दरबारमा । दरबारभन्दा २/३ गह्रामुनि थियो डिल्लीराजको घर । 

‘प्रजा’ हरू गुप्तबहादुरलाई ‘राजा’ सम्बोधन गर्थे । दरबारमा बम्बई, कलकत्तादेखि नाच्न आउँथे नर्तकीहरू । साउन लागेपछि लाखे नाच देखाइन्थ्यो । अनेकथरी भावभंगिमा र मुकुन्डो पहिरेका लाखेहरू नाचेका ती दिन पार्वतीको स्मृतिका पत्रपत्रमा टाँस्सिएर बसेकै छन् । संगीतको धुन, नाचगान, मान्छेहरूको भीड, ‘न्याय माग्न’ आउने प्रजाहरूको डबलीले दरबार ‘अर्कै संसार’ अनुभूत हुन्थ्यो । 

Anup Baral's mother: Brought up in the palace, enjoyed in the home

दरबारमा थिए– सुसारेहरू, भात पकाउने भान्से, नोकर–चाकर । पानीको असुविधा थियो, जनताले नै पानी बोकिदिन्थे, जनताहरू तिरो तिर्थे, जनताका झैंझगडा पार्वतीका बुबा डिट्ठा नै मिलाउँथे । दरबारका कलाकृति, बनोट, विन्यास र सौन्दर्यले भनिरहेका हुन्थे– यो साँच्चै वैभवको दुनियाँ हो । दरबारका मानिसले प्रयोग गर्ने सामान र भित्तामा झुन्डिएका पेन्टिङहरूले भन्थे– राजाहरूको सम्भ्रान्त कथा ! 

‘दरबारमा अंग्रेजी पढाइ हुन्थ्यो । शिक्षकहरू काठमान्डुबाट त्यहाँ पुग्थे,’ पार्वती ती दिन सम्झिन्छिन्, ‘म पनि त्यहीँ पढ्थें । महारानीहरू भन्थे– बिहेपछि घाँस काट्न जानुपर्छ, अहिले आरएटी र्‍याट पढेर के गर्छौं ?’

गुप्तबहादुर खाँणका तीन ‘महारानी’ थिए । माइली ‘महारानी’ की छोरी चुम्बन खाँण पार्वतीकी प्रिय साथी थिइन्, जोसँग उनी घन्टौं खेल्थिन्, दरबारका किस्सा–कहानी सुन्थिन्, कहिले विस्मित हुन्थिन्, कहिले खुसी ! त्यो विरासतको सम्झना अहिले सपना हो कि विपनाजस्तो लाग्छ पार्वतीलाई– उहिल्यै आमाले साँझ–साँझतिर सुनाएका लोककथाजस्ता, जुन संसारमा हुन्थे महाराज, महारानी र राजकुमारीका कथा !

दरबारको त्यो सान तासको घरझैं एक्कासि ढल्यो जब राजा महेन्द्रले २०१७ सालमा ‘राज्य रजौटा ऐन–२०१७’ लागू गरे । राज्य रजौटा ऐन र राज्य अदालत उन्मूलन ऐन लागू भएपछि देशका सबै राज्य खारेज भएका थिए । तर, त्यो ऐनले बझाङ, जाजरकोट, मुस्ताङ, सल्यान, भीरकोटलगायत १७ रजौटालाई चाहिँ मान्यता दिएको थियो । 

राज्य खारेजीपछि ‘राजा’ को श्रीसम्पत्ति सकिँदै गयो । जग्गाजमिन र दरबारका सामान बेच्दै सौखिन जीवन बाँचिरहे गुप्तबहादुरका छोरा नरेश खाँण । ‘अहिले त्यो राजपरिवारको अवस्था दयनीय छ,’ पार्वती भन्छिन्, ‘०१७ सालपछि राजाहरू नै कंगाल भए । त्यो कथाजस्तो लाग्छ अहिले । इँटाले बनेको दरबार अहिले पनि छ । दरबारको जीर्ण भवन र छेउछाउका भग्नावशेष अझै छँदै छ ।’

यता, अनुपको सम्झनामा पनि बिस्तारै ढल्दै गरेको त्यस दरबारका केही चित्र छन् । अनुप यादका गल्लीहरूतिर हिँड्छन्- मामाघर जाँदा पहिलो पटक उनले लक्स साबुन देखे, कमिक्सहरूमा पढेको लामो गाउन लगाएकी प्रिन्सेस मामाघरमै देखे । पहिलो पटक देखे– ग्रामोफोन, टेनिस कोर्ट, आँपका बगैंचा, जहाँ भुइँमा खसेका आँप पनि कसैले खाने हिम्मत गर्दैनथे । उनले देखे– एउटा पुस्ता कसरी अस्ताउँदै जान्छ र अर्को पुस्ता कसरी  उदाउँछ ? 

***

कक्षा ६ पढ्दा पार्वतीको मागी विवाह भयो, पोखराका दुर्गा बरालसँग । बिहेपछि केही समय माइती बसिन्– पढ्न । पोखरा आउ–जाउ भइरहन्थ्यो । ‘दरबारमा राजा–रानीसँग बसेको मान्छे, पोखरा आउँदा नरमाइलो लाग्यो,’ पार्वती सम्झिन्छिन्, ‘कता आइपुगियो, के भयो जीवनमा जस्तो भयो । मान्छे पनि कस्ता–कस्ता लागे, भाषा फरक, सबै फरक ! तर बिस्तारै बानी पर्‍यो ।’ स्याङ्जामा कामै नगरी सयलमा बसेकी पार्वतीले पोखरा आएर साह्रो–गाह्रो काम गर्नुपर्‍यो– जाँतो, ढिकी, घाँसको भारी... । 

पार्वती नेपाल औलो उन्मूलन संघको जागिरे भइन्– विसं २०२० मा पोखरामै । काम थियो– बिरामीको ब्लड टेस्ट गर्नु । उनका तीन छोरा, १ छोरी भए– अनुप जेठा हुन् । 

***

आमा पार्वतीको स्मरणमा सानोमा अनुप एक ‘ब्याड ब्वाय’ थिए । असाध्यै चकचके र बदमास ! आँगनमा सुकाएको धान, मकै सबै छर्दिने । हजुरबा भन्थे– कृष्णलीला हो, पछि सुध्रिन्छ । ‘छोरो हिरो होला भन्ने कहिल्यै सोचिनँ,’ पार्वती बराल पोखराका पुराना श्यामश्वेत दिनतिर पस्छिन्, जहाँ फुच्चे अनुप बराल फिल्म–हलको आँगनमा टिकट हातमा लिएर यताउता बरालिइरहेका हुन्थे, ‘सानोमा हिँडेको हिँड्यै गर्थ्यो, स्थिर भएर बस्दैनथ्यो । फिल्मको हिरोको नक्कल गर्थ्यो । फिल्म हेर्न पाएपछि घरै आउँदैनथ्यो ।’

Anup Baral's mother: Brought up in the palace, enjoyed in the homeपोखरा नदीपुर घरनजिकै थियो– कल्पना सिनेमा हल । घरबाट स्कुल हिँडेका अनुप प्रत्येक दिन झोला बाँसघारीमा लुकाउँथे र हल छिर्थे । दिनभर फिल्म हेरी साँझ बाँसघारीबाट झोला झिक्थे र फर्कन्थे । उनका बाल्यावस्थाका धेरै वर्ष यसरी पनि बिते । 

अनुप कस्ता रे भने टिकट किन्ने पैसा नभएपछि घरको चरेसका थाल–भाँडाकुँडा गेटकिपरलाई दिन्थे र फिल्म हेर्थे । दिउँसो ३ बजेको शो हेरेपछि साँझ ६ बजेको पनि हेर्ने, राति हलमै सुत्ने, भोलिपल्ट बिहान फेरि उही फिल्म हेर्ने ।

‘फिल्मको असाध्यै लती भएपछि बेलाबेला पिट्थें, गाली गर्थें, हलभित्रै पुगेर तान्दै घर ल्याउँथें । उसका साथीहरू पनि हुन्थे हलमा । म अनुपलाई जसरी पनि घर ल्याउँथें, उसका साथीका आमा–बा वास्तै गर्दैनथे, त्यसै उसका साथीहरू सधैंलाई बिग्रेरै गए ।’

‘उतिबेलाका हिरो बदमास, ठग, सामन्तजस्ता चरित्रको धन–सम्पत्तिहरू लुटेर निमुखा गरिबलाई बाँडिदिन्थे । त्यो छाप ममा निकै गहिरो गरी बसेको रहेछ । त्यसैले म पनि हिरो बन्न चाहन्थें,’ अघिल्लो साता एक रात पुतलीसडक चोकमा उभिएर ट्राफिक लाइटतिर हेर्दै अनुपले भने, ‘तर, आमालाई म फिल्मको हिरो बन्छु भन्ने लागेन सायद ।’

‘छोराले पढ्ला’ सोचेर पार्वतीले स्याङ्जा मामाघर पठाइन्, अनुप ४ कक्षामा छँदा । उता पनि चकचक गरेर हैरान पारेपछि फेरि दमौलीमा आफूसँगै राखिन् । त्यतिबेला पार्वती जागिरको सिलसिलामा पोखराबाट दमौली सरुवा भएकी थिइन् । ‘त्यसपछि पढ्यो नि । बल्ल सुध्रियो,’ पार्वती भन्छिन् ।

दमौली बस्दा आमा र आमाका साथीहरू आँगनमा जम्मा हुन्थे साँझ–साँझ र कथा भन्थे, आफूले सुने–जानेका । अनेक रहस्यका कथा– भूतप्रेतका । आमाले सुनाएका कथाहरू खुब सुने अनुपले । भन्छन्, ‘फ्यान्टासी के हो, ती कथाले बुझाए र कल्पना गर्न पनि तिनै कथाले सिकाए ।’ 

***

अनुपलाई लाग्छ– नाटकमा लागेपछि सुरुवाती दिनमा उनी ‘भाग्यमानी’ थिए । त्यसैले संघर्षको बोझको महसुस भएन । नाटकको सेट बनाउन आर्थिक तनाव हुन्थ्यो– स्रोत कसरी जुटाउनु ! ड्रइङ रुमको सोफा–सेट होस् या क्यासेट प्लेयर लैजान्थे सेटमा । घरमा पाहुना आउँदा ती बस्ने सोफा नदेखेपछि आमाको खुब गाली खान्थे । तर, अटेरी गरिरहन्थे । 

पोखरामा नाटक गर्दागर्दै अनुप पुगे– राष्ट्रिय नाट्य विद्यालय, दिल्ली । दीक्षान्त समारोहमा आमा लिएर गए । अनुपको कोठा असाध्यै सफा थियो । साथी शान्तनु बोसको चाहिँ भद्रगोल र अस्तव्यस्त । आमाले भनिन्– ‘तैंले कोठा सफा राखिछस्, पढ्नचाहिँ कम पढ्दोरैछस्, त्यसैले कोठा सफा गर्ने समय पाइस् । साथी धेरै पढ्दोरैछ, उसले सफा गर्ने फुर्सदै पाएन ।’ 

Anup Baral's mother: Brought up in the palace, enjoyed in the homeत्यहाँ आमाले अनुपलाई भनिन्– जुन ठाउँमा अनुपम खेर, नसरुद्धिन शाहले टेकेका थिए, त्यही ठाउँ तँ पनि पुगिस् । दीक्षान्तको दिन उनले अनुपको नाटक पनि हेरिन् । भनेकी थिइन्– सबैभन्दा राम्रो तरिकाले तँ देखिइस् मञ्चमा । फिल्ममा नभए पनि तँ आफ्नो जीवनको हिरो बन्छस् बुझिस् ! 

पार्वती भन्छिन्, ‘दीक्षान्तमा गएपछि लाग्यो– छोरो ठूलो भयो ।’ 

पढाइ सकेर नेपाल फर्केपछि अनुपका संकटका दिन सुरु भए, रंगमञ्च सुषुप्त भइसकेको थियो । रंगमञ्चमा काम गरिरहेकाहरू पनि भन्थे– नाटक मरिसक्यो अब । धेरै कलाकार फिल्म–टेलिभिजनतिर लागेका थिए । आमालाई चिन्ता थियो– कलाकार भएर जिन्दगी धान्ला त ? भनेकी पनि थिइन्– भोलि दाल, भातकै समस्या होला नि केटा ! तर, अनुपले रंगमञ्चबाहेकमा जीवन देखेनन् ।

उसबेला बिजुलीबजारको एउटा सानो कोठामा बस्थे, खाना पकाउँथे– फलामको स्टोभमा । बिहानै राष्ट्रिय नाचघर पुग्थे– अभिनय पढाउँथे । आमालाई उनको काममाथि खास भरोसा थिएन । तर, केही साप्ताहिक पत्रिकाका कला–स्तम्भमा उनको कामको समीक्षा हुन थाल्यो, फोटो छापिन थाल्यो । त्यसपछि पार्वतीलाई लाग्यो– केटोले राम्रै काम पो गर्‍यो कि के हो ! 

अन्योलले घेरेपछि अनुप कामको खोजीमा गोरखपुरको रेल चढेर मुम्बई हिँडे– निर्देशककहाँ पुग्न, आश्वासन सुन्न र फर्किन ! ती दिन उनी आमालाई फोन गरिरहन्थे– पीर नगर्नु, केही त गर्छु, गर्छु ! उता उनलाई कसैले पनि काम दिँदैनथे । ‘मुम्बई त्यस्तो महानगरी, जसको सम्मोहनले प्रत्येक दिन हजारौं मान्छे त्यहाँ पुग्थे । तर, भ्रम टुटेपछि प्रत्येक दिन त्यही संख्यामा सहर छोडेर फर्कन्थे,’ मुम्बईका ती चिसा रातको सम्झना गर्दै अनुपले एक अन्तर्वार्तामा भनेका छन्, ‘रातारात शाहरूख खान स्टार हुँदै गएको र उनीजस्तै प्रतिभाशाली कलाकार खुम्चँदै घर फर्केको पनि देखें ।’ र, उनी नेपाल फिरे । मुम्बईको डरलाग्दो भोगाइले उनलाई देशमै काम गर्नुको महत्त्वसँग परिचय गरायो ।

Anup Baral's mother: Brought up in the palace, enjoyed in the homeनाटकमाथि अनुपको मोह देखेर बुबा दुर्गा बरालले नयाँ घर बनाइदिए, जहाँ उनीहरू रिहर्सल गर्थे । घरमा सानो लाइब्रेरी थियो । किताबको गन्धले लोभ्याउँथ्यो उनलाई । नबुझे पनि ती किताब बोकेर हिँड्थे । छोराले मोटो किताब हातमा लिएर हिँड्दा आमा फुरुङ्ग हुन्थिन् । ‘बुबाले चित्रमा ल्याउने सामाजिक भावभूमि, सामयिकता, कम्पोजिसन, रङ र मनोविज्ञान अनि रेखाचित्रको सामर्थ्यले कलाको महत्त्व र शक्तिसँग मलाई परिचित गरायो,’ अनुप भन्छन्, ‘साथीजस्तै आमाले सधैं मिहिनेत गर्न र पढ्न नहौस्याएको भए म कहाँ यहाँ हुन्थें र ?’ 

अनुप बराललाई लाग्छ, आमाहरूको जिन्दगी रंगहीन छ, भोगाइका तहहरूले छोपिएका पत्रपत्र बाँचेका छन् आमाहरू । उनको विचारमा हाम्रा फिल्महरूमा आमालाई ‘व्यवहारिक देखाउनुपर्ने, आर्दशवादी देखाइयो’ ।

पार्वतीलाई बाथको समस्या छ, घुँडा खिइसकेको छ, हाई ब्लड प्रेसर छ, लट्ठी टेकेर भित्र–बाहिर गर्छिन् । घरबाहिर छँदा अनुपलाई न्यास्रो लाग्छ आमाको । घर पुगेपछि सबैभन्दा पहिले आमाको गोडा ढोग्छन्, आशीर्वाद लिन्छन् । ‘आमाको स्पर्शको न्यास्रो लाग्छ । आमाको आशीर्वादजत्ति ठूलो प्रसाद संसारमै छैन, जहाँ सन्तोक र मात्रै सन्तोक छ,’ अनुप भन्छन् । आमा पार्वतीको आँखामा अनुप ‘असल’ छन् । छोरा अनुपको आँखामा आमा केवल प्रेम र मिहिनेतकी प्रतिमूर्ति हुन् ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully