आमाहरू सौतेनी हुँदैनन्

‘एउटा मकल थियो, आगो बलिरहेको । दुब्ली कमजोर महिलाले मकलबाट पोलेको अण्डा निकालेर खान दिएको सम्झना छ । तिनै मेरी आमा रहिछन् । यसअघि नजिक जान नदिइएकाले होला म आमा खोज्दै त्यहाँ पुगेको रहेछु !’ 

माघ १६, २०८०

दीपक परियार

Mothers are not stepmothers

पोखरा — बूढापाका भन्छन्, ‘आमा देखेपछि भोक हराउँछ ।’ भोक लागेको थाहा हुने बेला कवि तीर्थ श्रेष्ठले आमा देखेनन् । तीन वर्षमै आमा गुमाएका उनले मातृप्रेमको भोक आमाका कविता लेखेर मेट्छन् । 

२०१६ कात्तिक १६ मा योगमाया श्रेष्ठको कोखबाट उनी जन्मिए, त्यतिबेला आमा १५ वर्षकी थिइन् । उनलाई क्षयरोगले च्याप्यो । रोगी भएर छुट्टै कोठामा राखिएपछि उनले आमाको त्यति धेरै सान्निध्य पाएनन् । ठूलीआमा भद्रकुमारीले उनलाई आफ्नो दूध पिलाएर हुर्काइन् । आमासँगको उनको एउटा धूमिल सम्झना भने बाँकी छ । त्यो बेला क्षयरोगलाई भयानक रूपमा लिइन्थ्यो । आमालाई छुट्टै कोठामा राखिएको थियो, जहाँ शौच गर्ने, पकाउने र बस्ने व्यवस्था थियो । ‘एक प्रकारले आइसोलेसनमा हुनुहुन्थ्यो सायद । मलाई अलिकता सम्झना छ,’ सोमबार बिहान उनले स्मृतिका पाना पल्टाए, ‘एउटा मकल थियो, आगो बलिरहेको । दुब्ली, पातली र कमजोर महिलाले त्यो मकलबाट पोलेको अण्डा निकालेर छोडाएर खान दिएको सम्झना छ । तिनै मेरी आमा रहिछन् भन्ने थाहा भयो । मलाई नजिक जान नदिइएकाले होला म आमा खोज्दै गएँ कि ∕’ 

तीर्थकी बहिनी जन्मिइन् । सुत्केरी आमाको स्याहारसुसार गर्न माइतीले पर्वतवारि बेनी पुर्‍याए । अफसोस, पुगेको केही समयमै आमाछोरीकै देहावसान भयो । ‘मलाई पनि लिएर गएको भन्छन् तर सम्झना त्यति छैन,’ तीर्थ गम्छन्, ‘त्यो एउटा अध्याय सकियो । बहिनी जन्मिएपछि बितिन्, संसार देखिन् भन्ने मात्रै भयो । मलाई जन्म दिने आमाको सम्बन्धमा अत्यन्त छोटो सम्झना छ ।’ आमा बितेपछि हजुरआमा मैयादेवी, ठूलो बुबा रत्नप्रसाद र ठूलीआमा भद्रकुमारीले स्नेहको कमी हुन दिएनन् । तीर्थ पाँच वर्षको हुँदा बुबा धर्मप्रसादले अर्को बिहे गरे । गोरखा बजारबाट पूर्णलक्ष्मीलाई पालुङटार ल्याएर त्यहाँबाट जहाजमा पोखरा ल्याइपुर्‍याए । विन्ध्यवासिनी मन्दिर नजिकै बुबाले गुरुबाको घरमा कान्छी आमा ल्याएर राखेको सुइँको तीर्थले पाए । पढ्ने, खेल्ने ठाउँ त्यतै भएकाले साथीसंगीसँगै कान्छी आमालाई हेर्न पुगेको उनलाई सम्झना छ ।

Mothers are not stepmothers

उनका लागि हजुरआमा पनि आमाकै रूपमा रहिन् । अरू दाजुभाइले पाँच, दस पैसा पाउँदा तीर्थले हजुरआमाबाट एक मोहोर पाउँथे । उनी १२ वर्षको हुँदा ०२८ सालतिर हजुरआमाको निधन भयो । त्यसपछि सानिमाको भूमिका बढ्दै गयो । पूर्णलक्ष्मीको प्रवेशपछि हजुरआमा र फूपूमा एक प्रकारको भय थियो कि भन्ने उनले पछि महसुस गरे । ‘सौतेनी आमा आएपछि कस्तो लालनपालन गर्ने हो भन्ने भय कतैकतै थियो भन्ने अनुभूति मलाई हुन्छ,’ उनले भने, ‘आमा आएपछि एउटा संशय मसँग पनि थियो । पछि आमासँग मेरो यस्तो सम्बन्ध विकसित भयो, यति माया दिनुभयो कि मैले आफूलाई जन्म दिने आमालाई भुल्न थालें ।’ 

जन्म दिने आमा गुमाउने बेला उनलाई किञ्चित पीडा महसुस भएन । आमा बितेको दुःख महसुस गर्ने उमेर पनि भइसकेको थिएन । उनी १२–१३ वर्षको हुँदा पहिलोपल्ट आमा सम्झेर रोए । दाजुभाइसँगै उनको व्रतबन्ध हुँदा आफू असाध्यै रोएको उनी सुनाउँछन् । ‘व्रतबन्धको त्यो विशेष पर्वमा मेरी आमा भएको भए हुन्थ्यो भन्ने लाग्यो,’ उनले भने, ‘जिन्दगीमा पहिलोपल्ट के महसुस गरें भने मान्छेको सोधभर्ना नहुने रहेछ । जसबाट जतिसुकै माया पाए पनि जन्म दिने आमाको सम्झनाको पीडा बेग्लै हुने रहेछ ।’

०२९ मा उनी १३ वर्षको हुँदा मामा घर गए । बेनी पुगेपछि बाजेबज्यैलाई भेटेर खुब रोए । कालीगण्डकी नदी किनारमा कतै आफ्नी आमाको दाहसंस्कार भएको अड्कल काटे । मामासँग जिज्ञासा राखेपछि मावली घरभन्दा केही माथिको झोलुंगे पुलतिर देखाइदिए । ‘आमाको दाहसंस्कार यहीं भएको होला भन्ने सम्झन्थें,’ उनी भावुक सुनिए, ‘कहिलेकाहीं कालीगण्डकीको किनारमा फलफूल चढाउथें ।’

उनको लवाइखवाइ लथालिङ्ग थियो । पढेर राति दुई–तीन बजाउँथे । भर्खरभर्खर किशोरावस्था प्रवेश गर्ने अल्लारे बेला थियो । खेत, जंगल चहारेर हिँड्थे । खोलामा गएर नुहाउने चलन थियो । सानिमाले तानेर ‘लाठे भइसक्दा पनि जुम्रा बोकेर हिँड्छस्’ भनेर नुहाइदिन्थिन् । सानिमाबाट दुई भाइ र एक बहिनी जन्मिए । भाइबहिनी जन्मिएपछि पनि सानिमाले मायाको कत्ति अभाव हुन दिइनन् । 

तीर्थले अलिअलि राजनीति गरेको, साहित्यमा लागेको थाहा पाइसकेकी थिइन् । पञ्चायतविरोधी आन्दोलनमा लाग्दा पुलिसले पक्रिएर लैजाने, कुटपिट गर्ने डर सानिमालाई थियो । पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापतिको चुनाव लड्दा बुबाले प्रोत्साहन गरे पनि आमालाई भने कुटाइ खाने हो कि भन्ने मात्रै चासो थियो । बेला मौकामा बुबा रिसाएर छोरासँग झगडा गरेको बेलामा पनि पूर्णलक्ष्मी सम्झाउँथिन् । 

सानिमालाई आफू मर्नुअघि बुहारी भित्र्याएको हेर्ने तीव्र इच्छा थियो । बुबाले सानिमाको इच्छा पूरा गर्न तीर्थको बिहे गरिदिए । ०३८ जेठ ४ मा सुशीलालाई घरमा भित्र्याए । बुहारी भित्रिएको भोलिपल्ट सानिमाले पटुकीबाट चाबीको झुप्पो निकाल्दै सुशीलालाई दिइन् । ‘चाबी हातमा राखिदिएर अब यो घर तिमीले सम्हालनु भन्नुभएको रहेछ,’ सुशीलाले आफूलाई भनेका शब्द सापटी लिएर उनले भने, ‘त्यो दृश्य आफ्नै आँखाले नदेखे पनि अझै स्मृतिमा छ ।’ दुर्भाग्य ∕ विवाहको एक महिनापछि सानिमा बितिन्, आमालाई लागेकै रोगले । सानिमा बित्दा तीर्थ २२ वर्षका थिए ।

भाइबहिनीहरू साना थिए । सुशीलाले आमाको भूमिका निर्वाह गर्नुपर्ने अवस्था थियो । ‘एउटा विदुर बुबा, जसले आफ्ना मनको कुरा खोल्ने जीवनसाथीको अभावमा आफैं पीडित भएको अवस्था थियो,’ तीर्थले भने, ‘त्यो बेला बुबाले आमाको पनि कामको जिम्मेवारी बोक्नुपर्थ्यो तर बुबालाई आमाको अभाव हुन नदिन खुब ध्यान दियौं ।’

Mothers are not stepmothers

आमाको विषयमा उनको मनमा कुरा खेलिरहन्थ्यो । ०५४ तिर कवि मञ्जुल र फोटोग्राफर कुमार आलेसहित उनी अमेरिकी विद्यार्थीलाई लिएर पर्वतको आर्थर डाँडाखर्क पुगे । भूपि शेरचन राजमार्गको दोबिल्लामा थकाली होटलमा खाना खान बसे । खाना पाक्दै गर्दा कालीगण्डकीमा मिसिने मोदी खोलाको ठूलो ढुंगामाथि बसेर कविता कोरे : 

‘आमा हुनु

साह्रै असजिलो छ

पहाडजस्तो

उचाइमा पुगेर

मैदान भइदिनुपर्ने

मैदानमा पुगेर 

उकालो भइदिनुपर्ने...’

खाना खाइवरी दोबिल्लाबाट माथि उक्लिएपछि आर्थरको एक विद्यालयमा कक्षा लिए । विद्यार्थीलाई ‘आमा’ कविता सुनाए । शिक्षक इसु मिसले सेतो पाना थमाउँदै तीर्थकै हातले कविता लेखिदिन भनिन् । भोलिपल्ट इसु मिसले तीन जनालाई खाजा खुवाउन आफ्नो घर बोलाइन् । घरमा पुग्दा पिँढीमा अनुहार चाउरी परेकी बूढीआमा लौरो टेकेर बसिरहेकी थिइन् । आफ्नै आमा सम्झिएर पानामा कविता लेख्न लगाएको उनले भेउ पाए । उनलाई अद्भुत खुसी त्यतिबेला भयो जब ‘आमा’ कविता भित्तामा टाँगिएको देखे । त्यहाँबाट फर्किएपछि कुमार आलेका फोटो, मञ्जुल र तीर्थका कविताको संयुक्त संग्रह ‘पाइलाका नीवहरूले’ प्रकाशित भयो । उक्त संग्रहमा ‘आमा’ कविता समावेश भयो । 

यलमाया केन्द्रमा वर्षान्त कवि गोष्ठी थियो । भोलिपल्ट नेपथ्यका अमृत गुरुङको आग्रहमा उनी नमोबुद्ध घुम्न गए । बाटोमा उनले तीर्थलाई भने, ‘तपाईंलाई नसोधीकन एउटा काम गरेको छु, रिसाउनु त हुन्न नि ?’ तीर्थले सोधे, ‘के काम ?’ अमृतले आमा कवितालाई संगीतमा ढालेको बताए । क्यासेटमा कम्पोज सुनाए । तीर्थलाई पनि मन पर्‍यो । पछि नेपथ्यले ‘मेरो देश’ एल्बममा उक्त गीत समावेश गर्‍यो ।

Mothers are not stepmothers

‘खाना पकाइरहेकी थकाल्नी आमालाई देखें । मेरो मावली जाने बाटो पनि त्यही हो, आमा पनि त्यतै कतै बिलिन भएको सम्झिएर कविता लेखेको थिएँ,’ उनले रचनागर्भ सुनाए । त्यसअघि उनले ‘हरेक घरमा ईश्वरभन्दा महान् आमा बाँचेकी छ...’ कविता लेखेको सम्झना छ । उनले एक दशकअघि यी दुवै कविता हङकङमा सुनाउँदाको प्रसंग उप्काए । तीर्थसहित सरुभक्त र प्रकट पगेनी ‘शिव’ टिकटमा कविता सुनाउन हङकङ पुगेका थिए । त्यहाँको इङलुङर काउलुङमा नेपाली आमाहरूको समूहले घर भाडामा लिएर गुम्बा बनाएका रहेछन् । इङलुङमा कविता सुनाउँदा एकजना आमा धरधरी रोइन् । ‘आमा’ कवितामा छ :

‘सन्तानहरू कहाँ पुग्छन्

खोलाहरूजस्तो

सपनाहरू कहाँ पुग्छन्

स्वच्छन्द चराहरूजस्तो’

एक महिनाअघि मात्रै उनीसहित मञ्जुल र शिव गौतमको कविता संग्रह ‘आमा’ सार्वजनिक भएको छ । संग्रहमा आमासम्बन्धी लेखिएका उनका नयाँ पुराना १५ कविता संग्रहीत छन् । उनको कविता संग्रह ‘धर्सैधर्साको चक्रव्यूह’ मा पनि शीर्ष कविता आमासम्बन्धी नै छ । उनी आमासम्बन्धी कविता पाठ गर्ने हरेक मञ्चमा दुई लाइन सुनाउन छुटाउँदैनन् :

‘आमाहरू सौतेनी हुँदैनन्,

सौतेनीहरू आमा हुँदैनन्...’ 

उनले यो कविता पूरा गरिसकेका छैनन् । कवितांशको भावको व्याख्या उनी यसरी गर्छन्, ‘हाम्रो समाजमा कलंकको कालो टीका जस्तैगरी सौतेनी आमालाई हेर्ने चलन छ । सौतेनी भन्नासाथै क्रूरताको प्रतीकका रूपमा देख्ने र सौतेनी आमाले के गतिलो गर्थी र भन्ने भाष्य निर्माण भएको छ । जसको मनमा आमाको मन छ, ती सौतेनी नै हुँदैनन् । मन नै सौतेनी छ भने आमा हुनै सक्दैनन् ।’

‘आमाहरू सौतेनी हुँदैनन्’ लेखेको धेरै अगाडि हो । कहीं प्रकाशित नभएको र कहीं पाठ पनि नगरिएको यो कविता परिस्कृत र परिमार्जन गरेर ल्याउने तयारीमा छन् उनी । 

उनका तीन दाजुभाइ र एक बहिनी दुई आमाका सन्तान हुन् भन्ने साथीलाई पनि थाहा थिएन । ०५५ मा ‘तीर्थ श्रेष्ठका कविता’ प्रकाशित गर्दा दुई आमाको तस्बिर राखेर ‘मेरी आमा योगमाया जसको कोखबाट म जन्मिएँ, मेरी आमा पूर्णलक्ष्मी जसको काखमा म हुर्किएँ’ भनेर समर्पण गरे । त्यसपछि मात्रै उनीहरू भिन्न आमाका सन्तान रहेछन् भन्ने बुझे । 

पोखराको तत्कालीन पोखरा नगरपञ्चायतको वडा १ सिंहनाथ टोलमा उनको घरअघि गुरुङसेनी आमाको भट्टी थियो । गाउँतिरबाट गुरुङहरू आउँदा बास बस्थे, खानपिन गर्थे । उनी टुहुरो भएकाले ती आमाले तीर्थलाई घरबाट लिएर जाने, खाना खुवाउने गर्थिन् । सुकुटीको स्वाद उनले त्यहीं भेट्टाए । ‘त्यो बेला समाजमा मानिस कम थिए । एउटा घरमा परेको दुःख अर्को घरलाई थाहा हुन्थ्यो । बिहावारी गर्दा सिंगो समाज सामेल हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘कसैको घरमा मर्दापर्दा सिंगो समाज सम्मिलित भएर त्यो कामलाई टुंग्याउँथे । अहिले हाम्रो समाज त्यस्तो छैन । हामी क्याटरिङको युगमा आयौं ।’ 

उनी गुरु नानक, बीपी कोइराला र पृथ्वीनारायण शाहका आमाहरूबाट प्रभावित छन् । जीवनमा धेरै आमाहरू आए पनि ती कुनै आमाको सोधभर्ना ‘ईश्वर’ नै आए पनि नहुनेमा प्रस्ट छन् तीर्थ । अत्यन्तै माया गर्ने हजुरआमा, जन्म दिने आमा, उनलाई बचाउने ठूली आमा वा हुर्काउने ‘सौतेनी’ आमा । उनी कसलाई रोज्लान् ? रोज्नै परे सायद कवितामा लेख्दा हुन् :

‘आमाहरूको तुलना हुँदैन,

तुलना गर्ने सन्तान हुँदैनन्...’

आमा-फिचर श्रृंखलाम्यागेजिन

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully