भारतको बिहार प्रदेशमा पछिल्ला १८ वर्षमा सधैंजसो नीतिश कुमार मुख्यमन्त्री छन्, तर उनका साझेदार भने निरन्तर अदलबदल भइरहेका छन्, डेढ वर्षअघि भाजपाको साथ छाडेका नीतिश फेरि उसैको सहयोगमा नवौं पटक मुख्यमन्त्री भएका छन्
नयाँदिल्ली — कुनै पनि पदबाट राजीनामा दिनुको सोझो अर्थ हुन्छ– पदीय जिम्मेवारीबाट विश्राम । तर, भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारको हकमा भने यो लागू हुँदैन । उनले राजीनामा त दिन्छन् । तर, उनको राजीनामा पद त्यागका लागि हुन्न, सत्ता समीकरण फेरेर पदमा टिकिरहनका लागि हुन्छ । त्यसैले उनीबारे स्थापित भनाइ नै बनेको छ– पदको सुनिश्चितता नभएसम्म उनले राजीनामा दिँदैनन् ।
‘एउटा हातमा राजीनामा र अर्को हातमा पद’ दशकौंदेखि बिहारको राजनीतिमा उनले देखाएको यही हो ।
पछिल्लो २४ घण्टामा भारतको राजनीतिको केन्द्रमा बिहार आइपुग्यो । विपक्षी गठबन्धनसँगको नाता तोडेर नीतिश भाजपासँग जोडिँदै छन् भन्ने हल्लाले बजार लियो । नीतिशबारे स्थापित मान्यतालाई उनले पुनः एक पटक पुष्टि नै गरिदिएका छन् । नीतिशले आइतबार बिहान ११ बजे राज्यपाललाई भेटेर एउटा हातबाट राजीनामा र अर्कोबाट भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा सरकार बनाउने दाबी पेस गरे । राजीनामा दिएको केही घण्टामै नवौं पटक बिहारको मुख्यमन्त्रीका रूपमा उनले शपथ पनि लिइसकेका छन् । बिहारमा आइतबार बिहान ११ बजेसम्म राष्ट्रिय जनता दल (आरजेडी) र कंग्रेसको समर्थनमा उनी मुख्यमन्त्री थिए । साँझ ५ बजे भाजपाको समर्थनमा मुख्यमन्त्री भएका छन् । मुख्यमन्त्री उनै छन्, मन्त्रीहरू भने फेरिएका छन् ।
भाजपाका विषयमा नीतिशले यसअघि कडा प्रतिक्रिया दिएका थिए, ‘मृत्यु स्विकार्छु तर भाजपासँग जाँदिन’ । तर, आफ्नै पूर्ववत् अभिव्यक्तिलाई बिर्सेर उनी १७ महिनापछि पुनः भाजपाकै हात समाउन पुगेका छन् । नीतिशका लागि ढोका बन्द भइसकेको बताउँदै आएका भाजपा नेताहरूले पनि बिहारमा पुनः उनको नेतृत्व स्वीकार गरेका छन् । भारतमा तीन महिनापछि लोकसभा निर्वाचन हुँदै छ । बिहारमा लालु यादव र नीतिश कुमार सँगै रहनु भाजपाका लागि कडा चुनौती थियो । नीतिशलाई समर्थन दिएर भाजपाले बिहारमा एउटा बलियो शक्तिलाई आफ्नो हातमा लिएको छ । अर्कोतिर, नीतिशलाई अलग्याएर केन्द्रीय राजनीतिमा आफूविरुद्ध बन्दै गरेको विपक्षी मोर्चालाई कमजोर बनाउन पनि सफल भएको छ ।
नीतिश विपक्षी इन्डिया गठबन्धनको मजबुत खम्बा नै थिए । उनको बहिर्गमनले निश्चित रूपमा गठबन्धनलाई धक्का पुगेको हिन्दुस्तान दैनिकका पटनास्थित आवासीय सम्पादक विनोद बन्धु बताउँछन् । अर्कोतिर, भाजपाले थप बल पाएको उनले बताए । पछिल्लो राजनीतिक घटनाक्रमले नीतिशको छवि ‘पलटीमार’ को बनेको छ । अर्थात् पदमा बसिरहन उनले गठबन्धन बदल्न समय लगाउँदैनन् । बिहारका पूर्वमुख्यमन्त्री लालु यादवले विगतमै उनको त्यस्तो छविलाई ‘बाँदर’ सँग तुलना गरेका थिए । २०१९ मा आएको लालुको राजनीतिक यात्रामाथि आधारित पुस्तक गोपालगन्ज से रायसिनामा लालुले भनेका छन्, ‘नीतिश राजनीतिको प्रारम्भदेखि नै वैचारिक रूपमा ढुलमूल छन् । बाँदरजस्तै रूखको एक हाँगाबाट अर्कोमा उफ्रिरहन्छन् ।’
२०२० को विधानसभा निर्वाचनमा नीतिशले भाजपासँग गठबन्धन गरेर चुनाव लडेका थिए । चुनावपछि भाजपाकै बलमा सरकार बनाए । तर, दुई वर्षपछि भाजपासँग टाढिए । मुख्यमन्त्रीबाट राजीनामा दिए । र, लगत्तै लालु यादवको आरजेडी र कंग्रेससहितको समर्थनमा मुख्यमन्त्री रहिरहे । त्यसयता भाजपाको कट्टर विरोधी बने । भाजपालाई आगामी लोकसभामा सत्ताबाट हटाउने मिसनको अगुवाइमा उत्रिए । आफैं दौडधुप गरेर विपक्षीको ‘इन्डिया’ गठबन्धन बनाए । यो विपक्षी गठबन्धनको मुख्य ‘आर्टिटेक्ट’ उनी नै मानिन्छन् । तर, एकाएक अहिले उनी आफैंले बनाएको गठबन्धनबाट टाढिएर भाजपा नेतृत्वको एनडीएमा सामेल भएका छन् ।
नीतिश विपक्षी एकताको नेतृत्वदायी ‘अनुहार’ बन्न खोजेका थिए । विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीको दाबेदार घोषित हुन चाहेका थिए । त्यसका लागि उनी प्रयासरत थिए । तर, गत महिना दिल्लीमा भएको बैठकमा आकस्मिक ढंगले पश्चिम बंगालकी ममता बनर्जीले विपक्षी गठबन्धनबाट कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने प्रस्ताव गरिदिइन् । त्यसलाई दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समर्थन गरिदिए । त्यसपछि भने उनले आफ्नो मुख भाजपातर्फ फर्काए ।
नीतिशको राजनीतिक यात्रालाई नजिकबाट नियालेका बिहारका राजनीतिक विश्लेषक तथा दिल्ली विश्वविद्यालयका पूर्वप्राध्यापक प्रदीपकान्त चौधरी विपक्षी गठबन्धनमा आफूले खोजेजस्तो महत्त्व नपाएपछि उनी पुनः भाजपातिर लागेको बताउँछन् । नीतिशले नेतृत्व गरेको जनता दल युनाइटेडभित्र कम्तीमा ७/८ जना लोकसभा सदस्यले भाजपासँग गठबन्धन नगरेको स्थितिमा चुनाव हार्ने बुझेका छन् । उनीहरूले भाजपासँगको गठबन्धनका लागि पनि नीतिशमाथि दबाब बढाएका थिए । ‘नीतिशले विपक्षी गठबन्धनले आफूलाई प्रधानमन्त्रीका रूपमा अघि नसारेको, विपक्षी गठबन्धनको सिट बाँडफाँटमा भाग कम पाउने र चुनावको मुखमा पार्टी फुट्न सक्ने सम्भावना देखे,’ चौधरी भन्छन्, ‘त्यसकारण उनी विपक्षी गठबन्धनबाट टाढिएर पुनः भाजपसँग हात मिलाउन पुगेका हुन् ।’ बिहार विधानसभामा २ सय ४३ सिट छन् । सिट संख्याका हिसाबले सबैभन्दा ठूलो पार्टी लालु यादवको आरजेडी छ । सरकार बनाउन १ सय २२ विधायकको समर्थन चाहिन्छ । आरजेडीसँग ७९ विधायक छन् । ७८ विधायकसहित भाजपा दोस्रो छ । लगातार मुख्यमन्त्री रहँदै आएका नीतिशको पार्टी ४५ सिटका साथ तेस्रो शक्ति हो । उनले १ सय २८ विधायकको समर्थनमा नवौं पटक मुख्यमन्त्रीको शपथ लिएका हुन् ।
जेलबाट छुटेको र स्वास्थ्यलाभ गरेपछि पछिल्लो समय लालु यादव लगातार पटनामा छन् । पटना केन्द्रित भएपछि उनको हस्तक्षेप सरकारमा बढ्दै गएको थियो । उनले उपमुख्यमन्त्री रहेका आफ्ना छोरा तेजस्वी यादवलाई मुख्यमन्त्री दिन नीतिश कुमारमाथि दबाब बढाउँदै लगेका थिए । दुई दिन अगाडि आफ्नो भाषणमा नीतिशले केही व्यक्तिले राजनीतिमा परिवारलाई मात्रै बढाउन खोजेको भनेर असन्तुष्टिको संकेत दिइसकेका थिए ।
राजनीतिमा ‘यूटर्न’ नीतिशका लागि सामान्य बनेको छ । भाजपासँग रहेका उनले २०१४ को लोकसभामा भाजपाको साथ छोडेका थिए । भाजपाले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेपछि उनी एनडीए गठबन्धनबाट बाहिरिएका थिए । २०१५ को विधानसभा निर्वाचनमा नीतिश भाजपासँग टाढिएर आरजेडी र कंग्रेससँग महागठबन्धन गरेर चुनावमा गए । गठबन्धनले भारी बहुमत पायो । लालु पुत्र तेजस्वीलाई उपमुख्यमन्त्री बनाएर आफू मुख्यमन्त्रीमा विराजमान भए । तर, दुई वर्षपछि नीतिशले ‘पल्टी’ मारे । २०१७ मा भाजपासँग गठबन्धन बनाए । आफू मुख्यमन्त्री कायम रहे, भाजपा नेता सुशील मोदीलाई उपमुख्यमन्त्री बनाए । अर्थात् २०१५ को चुनावमा गठबन्धन गरे एउटासँग, सरकार बनाए अर्कैसँग । पाँच वर्षपछि २०२० को चुनावपछि पनि उनले त्यस्तै प्रवृत्ति देखाए ।
लालु र नीतिश बिहारमा समाजवादी आन्दोलनबाट राजनीतिमा लागेका पात्र हुन् । राजनीतिको प्रारम्भमा नीतिश लालुकै साथमा थिए । ७३ वर्षीय नीतिश इलेक्ट्रिकल इन्जिनियर हुन् । उनले १९७४ मा जयप्रकाश नारायणले गरेको आन्दोलनमा भाग लिएर राजनीति प्रारम्भ गरेका हुन् । १९८५ मा पहिलो पटक उनी चुनाव जितेर विधानसभामा प्रवेश गरेका थिए । १९९४ मा जनता दल छाडेर नीतिशले जर्ज फर्नान्डिससँग मिलेर समता पार्टी गठन गरे । १९९५ मा वाम गठबन्धनसँग मिलेर चुनाव लडे । लगत्तै १९९६ को लोकसभा चुनावमा भाजपा गठबन्धनमा सामेल भए । त्यसयता उनी भाजपा नेतृत्वको गठबन्धनसँग सहकार्यमा रहँदै आए । एनडीए गठबन्धनबाटै मार्च २००० मा उनी पहिलो पटक बिहारको मुख्यमन्त्री बनेका थिए । तर, विधानसभामा बहुमत सावित गर्न नसकेका कारण ७ दिनमै उनको सरकार ढल्यो । अटल बिहारी वाजपेयी सरकारमा रेलमन्त्रीसमेत थिए । समता पार्टीमा फुट आएपछि नीतिशले जनता दल (युनाइटेड) गठन गरेका थिए ।
लालुको शासनलाई ‘जंगलराज’ भन्दै त्यसविरुद्ध भाजपासँगको गठबन्धनमा चुनाव लडेका नीतिशले २००५ मा चुनावी सफलता पाएका थिए । लालु र त्यसपछि रावडी देवी सरकारविरुद्धको माहोलले एनडीए गठबन्धनलाई फाइदा भएको थियो । भाजपाको सहयोगमा नीतिश मुख्यमन्त्री भए । लालु–रावडीको शासनबाट बिहारले मुक्ति पाएको थियो । कानुन व्यवस्थालाई ट्र्याकमा ल्याउने र विकास कार्यलाई गति दिएर पहिलो कार्यकलमा नीतिशले वाहवाही कमाए । त्यसको परिणाम जनताले २०१० को विधानसभा चुनावमा पनि उनलाई रोजेपछि पुनः मुख्यमन्त्री भए ।
दिल्ली विश्वविद्यालयका पूर्वप्राध्यापक चौधरी २००५ पछिको ५/६ वर्ष गरेको कार्यले बिहारमा नीतिशको राम्रो नेताको छवि बनेको बताउँछन् । कानुन व्यवस्था, बिजुली र सडक यातायातमा उनले गरेको आक्रामक सुधारले नीतिशको उचाइ बढेको उनको भनाइ छ । तर, पदमा टाँसिइरहने, पदका लागि जस्तोसुकै ‘सम्झौता’ गर्ने र ढुलमूले नीतिले पछिल्ला दिनमा उनको छविलाई नोक्सान पुग्दै गएको चौधरीको बुझाइ छ । ‘राजनीतिमा सिद्धान्तको महत्त्व हुनुपर्थ्यो । तर उनको राजनीति सत्तामा बसिरहने उद्देश्यको देखियो,’ उनले भने, ‘अहिले उनको इमेज यता–उता गरिरहने चरित्रको बनेको छ ।’
१९९६ देखि नीतिश र भाजपाको साथ १७ वर्षसम्म चलेको थियो । नीतिश भाजपाभित्र लालकृष्ण आडवाणीनिकट थिए । २०१४ मा भाजपाले मोदीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि भाजपाभित्रको द्वन्द्वको लाभ उठाउन उनी एनडीए गठबन्धनमा आडवाणीको साथ लिएर आफैं प्रधानमन्त्रीको दाबेदार हुने प्रयासमा थिए । तर, त्यो सफल नहुने देखेपछि उनी एनडीए गठबन्धनबाट बाहिरिए । १९९६ पछि पहिलो पटक उनी भाजपाबाट अलग्गिएर एक्लैको बलमा लोकसभा चुनाव लडेका थिए । त्यतिबेला उनको पार्टीले जम्मा दुई सिट जितेको थियो ।
मुख्यमन्त्री रहँदै भएको चुनावको हारलाई आफ्नो जिम्मेवारी ठान्दै पदबाट राजीनामा दिएका थिए । पार्टीका दलित नेता जितनराम माझीलाई मुख्यमन्त्री बनाए । दलित नेतालाई अगाडि ल्याएको भनेर उनको प्रशंसा भयो । चुनावपछि उनलाई मुख्यमन्त्री बनाउने आफ्नो सार्वजनिक प्रतिबद्धता विपरीत २०१५ मा नीतिश आफैं मुख्यमन्त्री बने । त्यसपछि उनले माझीलाई पार्टीबाटै निकाले । २००५ यताको १९ वर्षको अवधिमा जितनराम माझी १० महिना मुख्यमन्त्री भएका छन् । त्यसबाहेक आफ्नो ‘पलटमारी’ विशेषताका कारण नीतिश नै मुख्यमन्त्री छन् । २०१४ देखि २०२४ सम्मको दशकमा उनले आधा दर्जनपटक राजनीतिक ‘यूटर्न’ मारेका छन् ।
विपक्षी गठबन्धनलाई धक्का
बिहारमा लालु र नीतिश राजनीतिको बलियो धुरी छन् । लालु पहिल्यैदेखि भाजपा र आरएसएसविरोधी छन् । उनी जहिले पनि कंग्रेस नेतृत्वको गठबन्धनमा कायम छन् । आगामी चुनावका लागि नीतिश पनि उक्त गठबन्धनमा जोडिएपछि बिहारमा भाजपाले कडा चुनौतीको सामना गर्नुपर्ने अवस्था आएको थियो । प्राध्यापक चौधरी नीतिशको साथले बिहारमा भाजपालाई १० देखि १५ सिट फाइदा हुने देख्छन् । कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भने नीतिशले ‘आया राम, गया राम’ को व्यवहार देखाएको टिप्पणी गरेका छन् ।
आरजेडी नेता तेजस्वी यादवले आफ्नै व्यवहारका कारण २०२४ को चुनावमा जेडीयू समाप्त भएर जाने दाबी गरेका छन् । चुनावी रणनीतिकार प्रशान्त किशोरले नीतिश मात्र नभई प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाह पनि ‘पलटुराम’ रहेको टिप्पणी गरेका छन् । २०१९ को लोकसभा चुनावमा भाजपा, जेडीयूसहितको एनडीए गठबन्धनले ४० मध्ये ३९ सिट जितेको थियो । एक सिट मात्रै कंग्रेसले जित्यो । लालुको जनता दलले कुनै पनि सिट जितेन । भाजपाले १७ सिट जितेको थियो । नीतिश टाढिएकाले भाजपालाई उक्त सिट सुरक्षित रहनेमा आशंका थियो । तर नीतिश जोडिएपछि बिहारमा भाजपा पुनः बलियो पोजिसनमा आएको प्राध्यापक चौधरीको विश्लेषण छ ।
