जसले छोराको हरेक रनको हिसाब राख्छिन्

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी र हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी आफ्नै छोरा हुन् भन्ने पाल्जेनलाई थाहा छ

माघ २, २०८०

घनश्याम खड्का, विनोद पाण्डे

Who keeps track of every run of her son

काठमाडौँ — बाल्यकाल सम्झ्यो कि कप्तान रोहित पौडेलको स्मृतिमा तीन कुरा घट्टझैं फनफनी घुम्छन्– आमा, क्रिकेट र पिटाइ । आमाको काख छाडेर हिँड्न सक्ने भएदेखि रोहित मैदानमा पुग्थे र क्रिकेट खेल्थे । परिणाममा हात लाग्थ्यो आमाको पिटाइ । नवलपरासीको बर्दघाट नजिकको बुद्ध टोलमा उनको घर थियो । घरभन्दा डेढ–दुई किलोमिटर पर मैदान थियो ।

‘त्यहाँ म क्रिकेट खेल्न जान्थें, आमा पछिपछि आउनु हुन्थ्यो र फर्काउन खोज्नु हुन्थ्यो’ रोहितले सम्झनाको तरेलीमा सपक्कसँग बसेको बाल्यकाललाई सुमसुम्याए, ‘म क्रिकेट खेलेरै छाड्ने जिद्दी गर्थें र आमा कसै गरे जान नदिने सुरसारमा आउनु हुन्थ्यो ।’

आपसमा कुरा नमिलेपछि के हुन्छ ? स्पष्ट छ, झगडा हुन्छ । र, झगडामा जो सानो छ, उसैले पिटाइ भेट्छ । यो नियम बालक रोहितको जीवनमा पनि नबिराई लागू भइरह्यो, धेरै वर्षसम्म । 

गाउँमा एक निजी पाठशाला थियो– लिटिल बुद्ध । दिनभरि यहाँ पढेपछि छुट्टी हुनेबित्तिकै रोहित हतारहतार घर आउँथे, झोला फुत्त फालेर र लुगा स्वाट्ट फेरेर पाँच–छ वर्षका  उनी हातमा बल र ब्याट बोकेर सुटुक्क निस्कन्थे । अनि, साथीहरूको घरघर पुगेर खेलाडी जम्मा गर्थे र मैदानमा पुग्थे । यो उनको नित्य काम थियो । आफूले चलाएको साइकल वरिपरि टोलीका अन्य सदस्य हुन्थे । मानौं, भविष्यको कप्तानी जिम्मेवारी उनी अहिलेदेखि बोक्न चाहन्थे ∕ उनलाई यसो गर्नबाट रोकेर आमा रोहितलाई पुस्तकहरूसँग रमेको हेर्न खोज्थिन् र भनेको नमान्दा पिट्नु अनिवार्य रूपले निर्वाह गर्नुपर्ने आफ्नो इच्छा नगरिएको भूमिका ठानेकी थिइन् उनले । र पनि, रोहितले आमाका हातबाट फुत्किएर भाग्दै मैदान जान छाडेनन्, खेल्न रोकेनन् । उनको यो दगुराइ सायद तालिम थियो आमाको, मैदानमा बिजुलीसरी कुद्नलाई । खेलको सफलता अवरोधहरूको डटेर सामना गर्नु हो भने, रोहितलाई यसको पहिलो प्रशिक्षण आमाबाटै मिलेको थियो ।

Who keeps track of every run of her son

 पोले पनि घामै जाती, कुटे पनि आमै जाती भन्ने उखान रोहितलाई त्यतिबेला थाहा थिएन । र, आमाले उनकै भलाइ सोचेर पिटेकी हुन् भन्ने पनि उनी जान्दैनथे । उनकी आमा पाल्जेनलाई छोराले क्रिकेट खेलेकाले होइन, उति पर असुरक्षित होला भन्ने डरले सताउँदो रहेछ । 

‘यो त मैले धेरैपछि बुझें,’ रोहितले धत्तेरिका भनेजसरी पुर्पुरोमा हात पुर्‍याए, ‘त्यतिखेरचाहिँ मलाई यसरी छेक्न खोजेकामा रिस उठ्थ्यो र घरै छाडेर हिँडिदिन्छु अनि थाहा पाउलिऊ भनेर आमासँग झगडा गर्थें ।’ धेरै पछि, नभनिएका अनेकन कुराहरू पनि बुझ्ने भएपछि, कप्तान रोहितलाई स्मृतिपटलमा कुँदिएका ती दिनहरूमा आमाको मायाको भिन्न स्वरूपको बोध हुन थालेको हो । 

 ‘आमाको पहिलो र एक मात्र चासो बच्चाको सुरक्षा हुँदो रहेछ,’ रोहित भन्छन्, ‘त्यसका लागि आमाहरू बच्चालाई पिट्न पनि सक्दा रहेछन्, त्यो त मलाई थाहासम्म पनि थिएन !’

भिन्न शैली र आवरणमा आमाको उही ममतामयी वात्सल्य प्रकट भइरहँदो रहेछ भनेर रोहितलाई तब धेरै महसुस हुन्छ जब उनी टाढा कतै क्रिकेट खेलेर थाकिरहेका बखत आमा भिडियो कल गर्छिन् र भन्छिन्, ‘हेर् दुब्लाएर नाक मात्रै बाँकी छ, भोकै बस्छस् कि के हो कान्छा ?’

चिनजानका सारा कप्तान रोहितको आगामी खेलको जानकारी लिन वा जारी खेलमा भइरहेको प्रगति जान्न वा बितेका खेलमा उनले बटुलेका रनहरूको प्रशंसा गर्न आतुर हुन्छन् । एउटी आमा छिन् जसलाई यी सबमा कुनै चासो छैन । उनलाई त रोहितले के खायो जान्नु छ, सञ्चो छ कि छैन थाहा पाउनु छ । अनि किन यतिका दिन बितिसक्दा पनि छोरोले फोन गरेन भनेर हप्काउनु छ । 

‘मानिसहरू अनकन्डिसनल लभको कुरा गर्छन्, मलाई आमाको याद आउँछ’ क्रिकेटको पछि लाग्दा दस वर्षदेखि लगातार घरबाहिर बस्न पुगेका रोहित गएको साता एक घुर्मौलो साँझ ब्याट र बललाई थन्काएर आमाको सम्झना गर्दै आफ्नै अनुभूतिको पिचमा दौडिए, ‘किनभने, यो संसारमा एउटी आमा नै हुन् कुनै सर्त नराखी माया गर्न सक्ने ।’

Who keeps track of every run of her son

रोहितका बुबा कुमार पौडेल भारतीय सैनिक हुनाले देख्न पाएका थिए, छिमेकी देशमा क्रिकेटको के भाँडिम महिमा छ । त्यो अनुभवको मधुर उज्यालोमा उनी छोराको क्रिकेट प्रेमलाई बुझ्थे र त्यसलाई मलजल गर्न ब्याट अनि बलहरू किनिदिन्थे । आफूभन्दा ९ वर्षले जेठो दाजु राजु स्वयं क्रिकेटका पारखी हुनाले भाइलाई खेलेरै साथ दिन्थे । पाँच वर्षले जेठी दिदी चित्राचाहिँ आमाको पक्षमा उभिँदै ‘जान्ने भएर क्रिकेट खेलिटोपलेको’ भनेजसरी पेस हुन्थिन् मौका बेमौकामा र उनको पिटाइ खुवाउने मामिलामा भ्याएसम्म उत्प्रेरकको चरित्र दत्तचित्तले निभाउँथिन् । घाम–पानी, हुरी–बतास र जाडो–गर्मी केही नभनी रोहितचाहिँ दिदी र आमाको आँखा छलेर वा समात्न आइपुग्नेका हातबाट फुत्किएर मैदान पुगेरै छाड्थे । यस्तोमा, आमा मैदानमै आउँथिन् र एकसुरले खेलिरहेका रोहितलाई लपेट्याइदिन्थिन् । भाइलाई समेत भाँडेको अभियोगमा राजुले पनि चुटाइ भेट्थे कहिले त । यो देख्दा चित्रा सन्तुष्टिको एक तिख्खर दृष्टि फाल्दै उनीहरूतिर हेरेर मौन बस्थिन् जसको अर्थ ‘ठिक्क पर्‍यो’ वा ‘खुच्चिङ’ मध्ये एक हो भन्ने उनीहरू जान्दथे, कसैले नभने पनि ।

Who keeps track of every run of her son

अलिक ठूलो भएपछि आईपीएल, विश्वकप वा क्रिकेटका अन्तर्राष्ट्रिय खेल हुँदा रोहित मैदान छाडेर टेलिभिजनको पर्दा अगाडि उत्सुक आँखा र उल्लासपूर्ण हृदय लिएर डेग नहल्ली बस्थे जसरी बस्छ कुनै जादुगरको अगाडि एक बालक । उस्तै इरादाले हिन्दी टेलिसिरियल हेर्न बसेकी हुन्थिन् चित्रा । फसाद के भने घरमा टीभी एक थियो र अलग दृश्यका अलग दर्शक थिए दुई जसका रुचि आपसमा कहीँ कतै मिल्दैनथे । ‘यस्तोमा दिदी र मबीच झगडै पर्थ्यो, क्रिकेट हेर्ने कि सिरियल हेर्ने भनेर’ रोहित अहिले सम्झँदा मज्जा आउने र त्यतिबेला कन्सिरीका रौं तात्ने किशोर वयका कच्चा तर यादगार दिनहरूलाई खट्टामीठा स्वादमा पस्किन्छन्, ‘हामी रिमोट खोसाखोस गर्थ्यौं, झगडा सामसुम पार्न आमा आउनु हुन्थ्यो, म भागिहाल्थें, दिदीले मार चुटाइ भेट्थी !’

दिनहरू सधैं एकनास हुँदैनन् । क्रिकेटप्रतिको रोहितको लगाब जति गरे पनि कम नभएपछि पाल्जेनले त्यसप्रतिको आफ्नो आक्रोश कम गरिन्, कम के पूरै हटाइदिइन् । एक क्षण यस्तो पनि आयो, रिमोट खोसाखोस पर्दा झगडा पर्ने उही छत मुनिको उही टेलिभिजन अगाडि नेपालले खेलेको सन् २०१४ को ट्वान्टी–२० विश्वकप बाबु र दाजुका साथ बसेर रोहितले हेर्न पाए, खुब उत्सवका साथ । यसमा आमा र दिदीले कैफियतको एउटै टिप्पणी गरेनन्, बरु चिया खाजा खुवाएर माहोललाई मिठासपूर्ण बनाइदिए । 

त्यसै वर्षदेखि जुँगाको रेखी बस्दै गरेका रोहितलाई आमाले खेल्नमा कुनै वाधा हालिनन् । जति समय जहाँ गएर खेले पनि केही बोलिनन् । बरु भनिन्, जहाँ गए पनि आफ्नो ख्याल गरेस्, भोजन र विश्राम गरेस् । तिनताकसम्म रोहितका लागि गाउँको मैदान सानो भइसकेको थियो । उनी प्रशिक्षण लिन आउने भए, काठमाडौंको बालुवाटार क्रिकेट एकेडेमीमा । क्रिकेटको यो पहिलो टाढाको यात्रा थियो रोहितको र पहिलोपल्टै राजधानी सहर आउँदै थिए उनी । साथमा थिइन्, उनै चित्रा जसको बिहा भइसकेको थियो र पतिका साथ बालुवाटरमै बस्थिन् । अब रोहित दिदी भिनाजुकामा बसेर ढुक्कले रातोदिन क्रिकेट सिक्न थाले । 

आमाले पकाएको सोयाबिन–आलुको तरकारी काठमाडौंका कुनै रेस्टुराँमा पनि पाइँदो रहेनछ भन्ने भेउ उनको जिब्रोले सायद पाइसकेको थियो । त्यसैको नियास्रोले होला, रोहित दुई महिनापछि घर फर्के, थोरै समयका लागि । यसपटक उनी काठमाडौं एक्लै आउँदै थिए । दैलोबाट उनी निक्लने बेलामा आमाले आँसु झारिन्, रोहितलाई उधुमै उकुसमुकुस भयो । ‘मैले त्यसअघि र त्यसपछि पनि कहिल्यै आमाको आँखामा आँसु देखेको छैन’ रोहित अहिले पनि अवाक हुन्छन् पाल्जेनका अश्रुयुक्त नयन सम्झँदा, ‘सकस हुँदो रहेछ आमा रोएको देखेपछि ।’

Who keeps track of every run of her son

 आमाको यो अगाध मायालाई मनको कुनै कुनामा राखेर दुई वर्षसम्म रोहित काठमाडौंका मैदानहरूमा पूरा लगावका साथ क्रिकेट प्रशिक्षणमा डटिरहे । उनका प्रशिक्षक सुनील लामा र रिकेश लामा रोहितको ब्याटिङ कौशलदेखि प्रभावित थिए र यू–१९ एसिया कपमा उनलाई खेलाउन चाहन्थे । यसका लागि उनले छनोट चरणमा क्षेत्रीय प्रतियोगिता भैरहवाबाट खेल्न सुझाए । रोहितले त्यसै गरे र छानिए । काठमाडौंमा उनीजस्तै छानिएर आएका अरू ५२ खेलाडी थिए । त्यसमध्येबाट यू–१९ एसिया कपको नेपाली टोलीमा उनी पनि छानिए । अंग्रेजीमा एउटा उखान छ– ‘लक फेवर्स द प्रिपेयर्ड ।’ भनेको, तयारी गर्नेलाई भाग्यले साथ दिन्छ । रोहितको यतिका वर्षसम्मको तयारीलाई भाग्यले साथ तब दियो जब उनी सन् २०१६ मा भएको यू–१९ एसिया कपमा खेल्न श्रीलंका जान पाए जहाँ उनले बलियो भारतविरुद्ध ६८ रन जोडेर औंसीको ताराझैं चम्के । उनी रातारात सामाजिक सञ्जालमा खोजिने र मिडियामा पढिने–देखिने र सुनिने भइसकेका थिए, गाउँमा करेसाबारीमा तरकारीहरू फलाएर बसेकी उनकी आमालाई यसको अत्तोपत्तो पनि थिएन । छोराले राम्रो गरेको छ भन्ने छरछिमेकबाट भने गाइँगुइँ सुनेकी थिइन् । छोराले ‘कस्तो खेल्दो रहेछ’ चाहिँ उनले २०१८ मा देख्न पाइन् जब उनलाई पोखरा प्रिमियर लिगमा पोखरा पल्टनबाट आफ्नो खेल हेर्न रोहितले आमालाई रंगशालामै बोलाए । आमाले खेल हेर्दै छिन् भन्ने भावले रोहितलाई रनहरू बटुल्न अतिरिक्त हौसला मिल्यो र पाल्जेनले प्रतिक्रियामा अरू दर्शकसँगै थपडी बजाइन् । 

Who keeps track of every run of her son

‘त्यसपछि आमा हालै विश्वकप छनोटको मेरो खेल हेर्न कीर्तिपुर पनि आउनुभयो,’ आफूलाई घरदेखि पर्तिरको मैदानमा जान नदिने आमा अब त्यसभन्दा टाढा, धेरै टाढाका मैदानहरूमा आफैं भेट्न आउन थालेको प्रसंग भन्न पाउँदा रोहितको आँखामा जितको भाव टल्केको थियो, ‘आमाले अब क्रिकेटका सबै नियमहरू बुझ्नु हुन्छ, नेपालका सबै खेलाडीहरूलाई चिन्नु हुन्छ र मैले बटुलेका सबै रनहरूको हिसाब गरेर राख्नु हुन्छ ।’ रोहितका सबै खेलहरू घरको उही टीभीमा आमा, बाबु र दाजुहरू नछुटाई हेर्छन् । रिमोट खोसाखोस गर्ने दिदी चित्रा पतिका साथ उनलाई हेर्न काठमाडौंका मैदानमै आइपुग्छिन्, विदेशका प्रतियोगिता टेलिभिजनमै हेर्छिन् । 

प्रदर्शनहरू फितलो हुँदा प्रत्यक्ष हेरेर बसेका राजु भाइको कमजोरीमाथि टिप्पणी गर्दा रहेछन् । त्यस्ता साँझहरूमा आमा उनलाई फोन गर्छिन् र भन्छिन्, ‘दाजुले तेरो खिल्ली उडाइराख्या छ, अलिक राम्रोसँग खेल् ।’ त्यसपछि राजुले फोन खोस्छन् र तेरो यो–यो कमजोरी भयो कान्छा, यसरी–यसरी खेल् भनेर सल्लाह दिन्छन् । अनि बाबु बोल्छन् र ज्यादा नअत्तालिन, आरामले सास लिन र खुब ध्यानले बलहरूलाई हावामा हुर्‍याएर छक्काका छक्का हान्न के गर्‍यो भने सकिन्छ भनेर उपायहरू बताउँछन् ।

Who keeps track of every run of her son

‘मैदानबाट मात्रै होइन, मेरो नियमित प्रशिक्षण उताबाट पनि हुन्छ,’ रोहित खितखिताए, ‘त्यसअनुसार गर्न सकिन भने दाइले मलाई बिल्ला हान्छ !’ यसरी ‘बिल्ला हान्ने’ दाजुबाट जोगिन र बाबुको आज्ञाकारी छोरा हुन अनि आमाको भरोसा कायम राख्न रोहितलाई मरिमेटेर खेल्ने बाध्यतै आइपर्दो रहेछ । त्यसैले होला, उनका सफलताहरू एकपछि अर्को गरी चुलिँदो छन् । रोहित तिनै हुन्, जसको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्दै छनोट चरण पार गरी एसिया कप खेलिसकेको छ भने अब विश्वकप खेल्ने तयारीमा छ । यो उपलब्धि उनको क्षमता कडा परिश्रम र खेलप्रतिको समर्पणको प्रमाण हो । रोहितले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरेर लगातार असाधारण सीप प्रदर्शन गरिरहेका छन् जसलाई आमा नबिराईकन हेर्ने गर्छिन् । उनलाई एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा धेरै रन बनाउने खेलाडी र १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी आफ्नै छोरा भन्ने उनलाई थाहा छ । 

ठूल्ठूला स्क्रिनमा संसारैभर हेरिएको पछिल्लो एसिया कप रोहितको गाउँमा पनि हेरिएको रहेछ, उनकी आमाले सार्वजनिक रूपमा छोराको क्रेज पहिलोपल्ट देखेको त्यही बेला थियो । घर फर्कंदा भैरहवा विमानस्थलमा उही बिल्ला हान्ने दाजु लिन आएका थिए, देख्नेबित्तिकै खुब स्नेहले अँगाले । साथमा केही गाडी मानिसहरू त्यहाँ आएका थिए । बर्दघाट पुग्दा रोहित छक्कै परे, पूरै नवलपरासी ओइरिएर उनको स्वागतमा फूलमालाका साथ बसेको रहेछ । रथमा उनलाई बर्दघाटदेखि घरसम्म ९ किमि अबिरजात्रा गर्दै लगियो । दैलोमा आमा फूलमालाका साथ छोराको पर्खाइमा हृदय खोलेर बसिरहेकी थिइन् । ‘त्यस बेला आमालाई सबभन्दा खुसी देखें,’ रोहितले आँखा चिम्ले, ‘त्यो देख्दा म खेल जित्दाभन्दा बढी खुसी भएँ ।’ अचेल घर जाँदा यस्तो सिन्दूरजात्रा हरेक पटकजसो हुन थालेको छ । सुरुमा रमाइलो लागेको यो लावा लस्करलाई रोहित अब छल्न चाहन्छन् । अहिले उनी सुटुक्क पुग्ने गरेका छन् । नेपाली क्रिकेटको व्यस्त क्यालेन्डरमा उनीसँग घर जाने खासै फुर्सद पनि छैन । पछिल्लो एक वर्षमा उनी एकै पटक मात्र घर पुगे । कसैले वास्ता नगर्ने उही मैदानमा एक्लै पुग्ने केटोजस्तो, उनी कतै नअलमली एक्लै घर पुग्न चाहन्छन् ।

Who keeps track of every run of her son

त्यसैले कसैलाई खबर नगरी यस पाला दसैंमा घर पुगे । गाउँमै हार्डवेयर व्यवसाय गर्ने दाजुकी छोरी एक वर्षकी भइसकिन् । कहिल्यै नदेखेको हुनाले काकाबालाई उनले चिनिनन्, एक अजनबीलाई जस्तो ट्वाल्ल हेरिन् मात्र । ‘योचाहिँ मलाई नरमाइलो लाग्यो, म आफ्नै घरमा बिरानो जस्तो भइसकें,’ रोहितले लामो सास फेरे, ‘के गर्ने ? टिम र देशका लागि खेल्ने रहर यस्तो छ कि आफ्नो र परिवारका बारेमा सोच्न अहिले साँच्चै गाह्रो छ ।’

तस्बिरहरू : अंगद ढकाल

आमा-फिचर श्रृंखलाम्यागेजिन

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully