आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी

कुनै वस्तु वा आकृति कस्तो हुन्छ ? मेनुका जान्दिनन्, तर जान्दछिन्– संगीतका सुरहरू । होस्टेल बस्दै परिचय भयो संगीतसँग । ७ वर्षको छँदा हार्मोनियमबाट आएको सुर सुनेपछि उनको आत्मामै त्यो पस्यो ।

फाल्गुन १, २०८०

दीपक सापकोटा

A blind daughter leading her mother

काठमाडौँ — काठमाडौं, घट्टेकुलोको घाम नछिर्ने एक घरको कम्पाउन्ड पार गरी मेनुका पौडेल पिच सडकमा आइपुगिन् । हातमा रातो रङको सानो ह्याण्ड–ब्याग बोकेकी, कालो चश्मा र गुलाबी रङको ज्याकेट लगाएकी उनी यो विरानो सडकमा पनि बेफिक्री हिँडिरहेकी थिइन् । भनिन्, ‘काठमान्डुमा त कस्तो जाडो, हगि !’

रातको आकाशमुनि बर्फिलो शीतले भिजेको घरको गेट खोलेर छेउमै रोकिएको पहेँलो गाडीसम्म आइपुग्दा उनी केही मान्छेबाट घेरिइसकेकी थिइन् । उनीसँग फोटो खिच्न तिनले खल्तीबाट बिजुली गतिमा मोबाइल निकाले । आश्चर्य भावमा तिनका आँखाले भनिरहेका थिए, ‘इन्डियन आइडलमा गाउने मेनुका हाम्रै गल्लीमा !’ भर्खरै मात्र भारतीय सांगीतिक शो इन्डियन आइडलमा भाग लिएर मुम्बईबाट नेपाल फिरेकी मेनुका पौडेल काठमाडौंको तीनकुनेस्थित ह्वाइटहाउस कलेजमा भएको लिट्रेचर फेस्टिभलमा भाग लिन एक दिनअघि मात्रै काठमान्डु आइपुगेकी थिइन् । मेनुकाको हात समाएर उनलाई डोहोर्‍याइरहेकी महिला गाडीको ढोका खोल्दै भनिरहेकी थिइन्, ‘उहाँ हतारमा हुनुहुन्छ, प्लिज फोटो खिचेर नअलमल्याइदिनुस् न ।’

‘नेपाल आइडल’, ‘सारेगमप’, ‘इन्डियन आइडल’ का भव्य मन्चमा उनले पुराना क्लासिकल गीत–भजनमा स्वर फुकिन् र अगणित फ्यानमाझ आफ्नो विशिष्ट स्थान बनाइन् । 

गत शनिबार मध्यदिन ठमठम गर्दै सयौं विद्यार्थीले घेरिएर उनी फेस्टिभलको मञ्चतिर अघि बढिन्, ह्वाइट–केन (दृष्टिविहीनले प्रयोग गर्ने विशेष लट्ठी) चाहिन्छ भन्ने आभास दिइनन् । विद्यार्थीलाई सम्बोधन गर्दै भनिन्, ‘यो चिसो काठमान्डुमा मेरो न्यानो नमस्कार !’ बिनाट्र्याकमा लगालग ‘गली मे आज चाँद निकला’, ‘लगजा गले,’ ‘अगर तुम साथ हो’ गाएपछि उनले भनिन्, ‘मेरा लागि आत्माको उज्यालो हो संगीत, संगीत नै मेरो आत्मा हो । मैले संगीत छानेको होइन, भगवान्ले संगीतका लागि मलाई छानेका हुन् ।’

A blind daughter leading her mother

गड्गडाहट तालीका बीच उनले आफ्नो छोटो गीति–जीवनका स्मृति पत्र पल्टाइन् र आमासँगका रमाइला सम्झना साझा गरिन् । प्रायः सम्बन्ध भावुक हुन्छन्– आँसुले लतपतिएका । आमा–छोरा, आमा–छोरीका सम्बन्ध त झनै भावुक ! तर, भावुकताले थिचिएका सम्बन्धहरू मेनुकालाई ठीक लाग्दैनन् । ‘दुःखको, कठै, विचरा भन्ने कथा मेरो जिन्दगीमै छैन । भावुकता बेकार कुरा हो मेरा लागि । आमा र मेरो सम्बन्ध भावुक होइन, हुँदै होइन,’ मेनुका भन्छिन्, ‘बढी भावुकताले मान्छेलाई बढी कमलो बनाउँछ । र, त्यहाँ आँसुको स्थान बढी हुन्छ । आमा र मेरो सम्बन्धमा पनि आँसुको स्थान छैन– त्यहाँ हाँसो र रमाइलोको स्थान बढी छ ।’ 

आफ्नो एकल सत्र सकिएपछि फेस्टिभलको मध्यान्तरमा झापामा रहेकी आमालाई फोनमा सोधिन्, ‘सन्चै छौ ? खाजा खायौ ?’ तर, आमा र उनको जीवनका विगतमा कुनै मध्यान्तर छैन । अनुभूति र अनुभव, जसलाई दुवैले फरक रङमा भोगेका छन्, तर दुवैको रङ एकाआपसमा घुलेर एकाकार भएको छ । र, त्यसलाई स्विकारेका छन्– छोरी मेनुका र आमा पम्फादेवी पौडेल (४६) ले ।


२०५५ असोजमा झापा हल्दीबारी–४ को घरमै जन्मिइन्– मेनुका, जेठी छोरी भएर । जन्मेका केही दिनसम्म मेनुकाका आँखा खुलेनन् । पम्फादेवीले सोचिन्, ‘बिस्तारै खुल्लान् नि !’ १०/१२ दिनपछि बल्ल मेनुकाका आँखा उघ्रिए । तर, आँखामा जालो देखियो, सेतो । पम्फादेवीले त्यो जालोको अर्थ बुझिनन् । मुटु सिरिङ्ग भयो । ‘त्यो जालो देखेपछि के हो, के हो जस्तो भयो,’ शनिबार मध्यदिनको फोन–संवादमा आमा पम्फादेवीले कान्तिपुरसँग भनेकी थिइन्, ‘त्यसबेला सपना हो कि 

विपना भन्ने भयो ।’ सेतो जालो देखेर भयानक डराएकी पम्पादेवी छोरीलाई लिएर घरअघिकै हेल्थपोस्ट पुगिन् । डाक्टरले उनका दुवै आँखा च्यातेर हेरे अनि भने, ‘पूरै सेतो छ आँखा ।’ 

२/३ महिनापछि छोरीलाई लिएर बिर्तामोडको आँखा शिविर पुगिन्– पम्फादेवी, त्यसपछि भैरहवा र वीरगन्जसम्म । सबै डाक्टरको एउटै मत थियो, मेनुकाको ज्योति–नसामा पानी सुकेको छ, अपरेसनमार्फत त्यो नसामा पानी भरियो भने आँखा देख्ने सम्भावना हुन पनि सक्छ । आशाको सानो त्यान्द्रोमा अल्झिएर पम्पादेवी र उनका श्रीमान् टीकाराम काखमा छोरी लिएर दौडिरहे– कहिले यो कुना त कहिले त्यो कुना ! ‘एक आँखा शिविरका डाक्टरले निष्कर्ष निकाले– मेनुकाको आँखामा लेन्स छैन, उनी आँखा देख्दिनन्’, पम्फादेवी ती दिनका स्मृतिमा पस्छिन् । आँखाको सेतो जालो देखेर सिरिङ्ग भएकी पम्फादेवीको डाक्टरको कुराले मनमा भयंकर पहिरो गयो । ‘रातैभर मन स्याइँय्य् भएझैं, मुटुभित्र कतै चिसो स्याँठ चलेझैं भइरह्यो,’ पम्फादेवी भावुक सुनिइन् । 

पम्फादेवीको मुटुमा केही महिना गाँठो परिरह्यो, मनमा तुषारापात । जीवन अँध्यारो सुरुङभित्र पसेर कतै निस्पट्ट अन्धकारमा हराएझैं भइरह्यो । ‘मान्छेहरू अब तँलाई जिन्दगीभरि दुःख हुन्छ भन्थे,’ पम्फादेवी ती दिनका पत्रपत्र सम्झना गर्छिन्, ‘म रातैभर निदाउँदिनथें, तर भगवान्सँग प्रार्थना गर्थें– हे ईश्वर मेरी छोरीको ज्योति नभएर के भो त ? उसको जिन्दगीमा सुखै–सुख र सन्तोकै सन्तोक होस् ।’ मेनुका १०/११ वर्षकी छँदा आमा पम्फादेवीले ‘तैपनि केही भइहाल्ला कि’ सोचेर फेरि आँखा शिविर पुर्‍याइन् । डाक्टरले पुराना कागजपत्र मागे, फेरि आउन भने । ‘पटकपटक डाक्टरकहाँ धाउनुपर्ने त्यो झन्झट सम्झेर मेरो अबोध बालापनले भगवान्सँग प्रार्थना गर्‍यो– भगवान् मेरो आँखा नबनोस्,’ मेनुका त्यो दिन सम्झिन्छिन्, ‘मलाई आँखा नदेख्नुमै बानी लागिसकेको थियो । अँध्यारो संसार रमाइलो लाग्न थालेको थियो । मेरा लागि देख्नु र नदेख्नुमा खासै फरक छैन । म आफ्नो काम सबै आफैं गर्छु । दृष्टिविहीनहरू सियोमा धागो पनि हाल्न सक्छन् । मेरै होस्टलमा थिए केही दृष्टिविहीन, जो सियोको प्वालमा धागो छिराउँथे । त्योचाहिँ म सक्दिनँ ।’ 

A blind daughter leading her mother

‘अरूले आँसु देख्लान्’ सोचेर एक्लै, एकान्तमा रुन्थिन् रे पम्फादेवी ! ‘आजकल मेनुकाको प्रगतिको उकालो देखेर पनि खुसीको आँसु झर्छन् कि ?’ एकछिन चुप लागेकी उनले बिस्तारै भनिन्, ‘त्यसबेला खुब आँसु बग्यो । आजकल त रुनै आउँदैन । खै ! आँसु उतिखेरै सकियो जस्तो लाग्छ । अहिले त एकदमै खुसी छु । सधैं फुरुङ्ग, छोरीकै नामले चिनिन पाएकी छु । उबेला रुँदै भगवान्सँग गरेको प्रार्थना उहाँले सुन्नुभो जस्तो लाग्छ । म त भाग्यमानी रैछु बाबु ।’ 


आमा पम्फादेवीको सम्झनामा मेनुका ३/४ वर्षकै छँदा भजनकीर्तनतिर लैजाँदा नाच्थिन्, ताली पिट्थिन् । खासमा बाल्यकाल अनौठै हुन्छ– समय स्वच्छ पानीजस्तै बगिरहन्छ । मानिस ठूलो हुँदै गएपछि मात्रै हो, त्यो स्वच्छ पानी धमिलो बन्ने । मेनुकालाई डोर्‍याउँदै पम्फादेवीले २०६० सालको एक बिहान हल्दिबारीबाट एक घण्टा दूरीको गरामनीको दुर्गा उच्च मावि पुर्‍याइन् । चञ्चले स्वभावकी मेनुकालाई शिक्षक खिलप्रसाद शिवाकोटीले सोधेका थिए, ‘मेनुका तिमीलाई के गर्न मन लाग्छ ?’ ५ वर्षकी छोरी मेनुकासँग सहज उत्तर थियो, ‘भजन गाउन ।’ जस्तो मेनुकालाई आफ्नो व्यक्तिगत जीवनको अलिकति पनि ज्ञान थिएन, तर सायद त्यो उत्तरमै उनको जीवनको बाटो थियो । उनले धेरै पटक मान्छेले भजन गाएको सुनेकी थिइन् र असल मनले भनेकी थिइन्, ‘भजन गाउन मन लाग्छ ।’ त्यसैले ‘इन्डियन आइडल’ मा पनि गाइन्– 

ओ पालनहारे, निर्गुण और न्यारे 

म्हरे बिन हमरा कौनो नाहीं, हमरी उलझन सुलझाओ भगवन 

म्हरे बिन हमरा कौनो नाहीं, तुम्हें हमका हो संभाले, तुम्हें हमरे रखवाले । 

विद्यार्थीको अनुरोधमा यो भजन मेनुकाले ह्वाइटहाउसको लिट्रेचर फेस्टिभलमा पनि गाइन् । आमा पम्फादेवी भन्छिन्, ‘भगवान्ले नै उसलाई सम्हालेका छन् ।’ दुर्गा उच्च माविमा १६/१७ जना दृष्टिविहीन विद्यार्थी थिए । ‘आमाले केही दिन त्यहाँको वातावरण खुब नियालेपछि सायद त्यो ठीक लागेर त्यही मेरो भर्ना गरिदिनुभयो,’ मेनुका भन्छिन् । ‘त्यहाँ हार्मोनियमको पनि धुन सुनें र सोचें, यहाँ मेनुकाले केही पक्कै सिक्नेछे,’ पम्फादेवी भन्छिन् । त्यसपछि मेनुका त्यहींको होस्टेलमा बसिन्– एसएलसी पास नहुन्जेलसम्म । साता–पन्ध्र दिनको छुट्टीमा घर जान्थिन्, आमाको न्यास्रो मेट्थिन् । ‘मेरो संगीत र भजनप्रतिको झुकाब देखेर होला आमा भनिरहनुहुन्थ्यो– हेर् मेनुका, अरू कसैको कुरा सुन्नुहुन्न, संगीत सिकिरहनुपर्छ, चाहे जति नै दुःख होस् । अरूभन्दा कहिल्यै पछि पर्नुहुन्न । अब्बल बन्नैपर्छ, दुःख गर्नैपर्छ,’ मेनुका सम्झिन्छिन् । 

पहिलो पटक आमाले होस्टेल छोडेर जाँदा निकै रोएकी थिइन् रे मेनुका । ओछ्यान फरक हुँदा, नयाँ मान्छेसँग नयाँ संसारमा रत्तिनुपर्दा सायद उनको चित्त दुखेको थियो । रुँदै भन्थिन् रे, ‘आमासँग जान्छु ।’ तर, बिस्तारै बानी पर्दै गयो । 

‘काखको बच्चा पर राखेपछि के होला, कसो होला भन्ने त लाग्थ्यो । तर, केही गरोस्, छोरीको भविष्य बनोस् भनेर होस्टेलमा राखें,’ पम्फादेवी भन्छिन्, ‘माया गरेर घरै राखेको भए त्यस्ति टाठो र जान्ने नहुन पनि सक्थी । त्यसैले मुटुमा गाँठो पारेरै भए पनि उतै छोडें । तनाव त हुन्थ्यो नि !’ पम्फादेवी शिक्षकहरू कृष्णप्रसाद पाठक, खिलप्रसाद शिवाकोटी र होस्टेलकी आमा निमा निरौलालाई धन्यवाद दिन्छिन्, ‘जसको अथक् मिहिनेतले छोरी यहाँ छे ।’ होस्टेलमा उनको दिसापिसाब सफा गरेर हुर्काउने जिम्मा लिएकी निमालाई मेनुका निकै आदर र सम्मानसाथ सम्झिन्छिन् । भन्छिन्, ‘मेरो आमापछिको अर्को आमा निमा हो ।’


कुनै वस्तु वा आकृति कस्तो हुन्छ ? मेनुका जान्दिनन्, तर जान्दछिन्– संगीतका सुरहरू । होस्टेल बस्दै परिचय भयो संगीतसँग । ७ वर्षको छँदा हार्मोनियमबाट आएको सुर सुनेपछि उनको आत्मामै त्यो पस्यो । ‘म सानी थिएँ, तर घण्टौं संगीतमा झुम्मिन्थें, आधा रातमै उठेर हार्मोनियमका ‘की’ सुम्सुम्याउँथें । त्यसबाट आउने धुनमा पस्थें,’ मेनुका ती दिन स्मरण गर्छिन् । कसैले भनेको महान् वाणी ‘बाटो नभएको ठाउँमै तिम्रो गोरेटो छ’ लाई मानौं मेनुकाले अक्षरशः पालना गरिन् र सानैदेखिको ‘फरक’ जीवनयात्रामा आफ्ना दुःख (थोरै सुख) लाई सुललित लय–शब्द दिइन् । आठ वर्षकी बालिका, जसले दैनिक आठ 

घण्टा हार्मोनियममा संगीत साधना गरिन् । सायद त्यही साधना नै हो, अहिले लाखौंले उनलाई आफ्ना ढुकढुकीमा सजाएका छन् । उनी सम्झनाका साना गोरेटाहरूमा विचरण गर्छिन्– हार्मोनियमको धुन सुनेपछि उनको आत्मामा कसरी केही हलचलजस्तो भयो ? साना औंलाहरू हार्मोनियममा नाचिरहन्थे, तर न मन थाक्थ्यो, न हात !

A blind daughter leading her mother

बालापनदेखि नै आत्मनिर्भर थिइन्– मेनुका, तेजिली पनि ! एक पटक सुनेको कुरा हत्तपत्त नबिर्सिने ! सबै भन्थे– यत्ति तेजिली छे, पक्कै केही हुन्छे ! आफ्नो काम आफैं गर्थिन् । निस्फिक्री एक्लै सहर–बजार डुल्थिन् । त्यो बानी अहिले पनि छँदै छ । जस्तो अहिले पनि एक्लै देश–विदेश यात्रा गर्छिन् । उनी ‘इन्डियन आइडल’ अडिसनका लागि एक्लै मुम्बई पुगिन् । ‘सारेगमप’ मा भाग लिन गएका बेला मुम्बईमा गायक अनुप जलोटाको घर खोज्दै पुगिन् र भजन सुनाएर फिरिन् । पहिलो पटक एक्लै क्याडबरी किन्न पसल पुगेको, हार्मोनियम स्पर्स गरेको, हात दुख्ने गरी गट्टा खेलेका दिन मेनुकाको मस्तिष्कमा ओहोरदोहोर गरिरहन्छन् । २०७० सालको एसएलसीपछि सिर्जना कलेज अफ् फाइन आर्टमा संगीत पढ्न मेनुका काठमान्डु आइन् । २०७२ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गायन प्रतियोगितामा भाग लिइन् र प्रथम भइन् । १८ वर्षको छँदा ‘नेपाल आइडल’ मा भाग लिइन् र टप ११ मा पुगेर बाहिरिइन्, पब्लिक भोटका कारण । 

भारतको रियालिटी सो ‘सारेगमप’ मा काठमान्डु अडिसनबाट छानिएर कलकत्ता पुगिन् अनि मुम्बई । त्यो सोमा पनि उनी टप ११ सम्म पुग्न सफल भइन् । अनि मेनुकाको यात्रा सुरु भयो– १४ औं संस्करणको ‘इन्डियन आइडल’ मा । जहाँ उनले सधैं अतिथि र निर्णायकहरू श्रेया घोषाल, विशाल ददलानी र कुमार सानुबाट मुक्तकण्ठले प्रशंसा पाइरहिन् । प्रशंसाहरूकै बीच भर्खरै उत्कृष्ट १० सम्म पुगेर बाहिरिएकी छन् ।

‘मेनुका सानी छँदा दुःख लागेको थियो, यसले दुःख पाउने भई भनेर,’ आमा भन्छिन्, ‘तर, आइडलमा गएपछि निकै खुसी भएँ । ऊ मञ्चमा गीत गाइरहेकी हुन्थी, म स्टेजमुनि हुन्थें र उसको सफलताका लागि म भगवान्को नाम जपेर बस्थें ।’ 

‘सारेगमप’ को अडिसनमा मेनुकासँगै कलकत्ता, मुम्बई पुगेकी थिइन्– पम्फादेवी । ‘इन्डियन आइडल’ मा पनि ‘स्टुडियो राउन्ड’ मा पुगेपछि उनी मेनुकासँगै ५ महिना भारत बसिन् । पम्फादेवीलाई हिन्दी आउँदैनथ्यो । ‘उसैको भरमा म हिँड्थे । हरेक कुरामा जिज्ञासु छ,’ आमा भन्छिन्, ‘मेनुकासँग हिँड्दा ढुक्कै हुन्छु ।’ अब मेनुकाको कस्तो छवि हेर्न चाहन्छिन् पम्फादेवी ? ‘छोरी अझै माथि जाओस्, विश्वमै नाम राखोस्,’ भन्छिन्, ‘हिँडेर आधा सिँढी पुगी, अब सिँढीको सबैभन्दा माथिल्लो तहमा पुगेको हेर्न मन छ ।’ १६/१७ वर्ष भयो पम्फादेवीका श्रीमान् टीकाराम श्रम गर्न मलेसिया पुगेका । पम्फाको १९ वर्षमै बिहे भयो, ७ कक्षा पढेकी उनी खेतीपाती गर्छिन् । ‘आमासँग घरका अति स–साना व्यावहारिक पाटोमा पनि सरसल्लाह हुन्छ,’ मेनुका भन्छिन्, ‘सामान्य चोटपटक लागेकोदेखि हरेक स–साना कुरा पनि उहाँसँग सेयर गर्छु । आमा र मेरो एकप्रकारले साथीको पनि सम्बन्ध हो । आमा मोबाइलको लती भएकी छन्, टाइम–पासका लागि ठिकै छ मोबाइलमा झुम्मिएको । तर, यसले पछि स्वास्थ्यमा तनाव थप्छ कि भन्ने लाग्छ ।’


मेनुका सोच्छिन्– बाहिरी संसार बडो खस्रो छ । उनी जुन वातावरणमा हुर्किइन्, त्यसले उनलाई ‘म दृष्टिविहीन हुँ’ को बोध कहिल्यै गराएन । भन्छिन्, ‘स्कुल छाडेपछि मात्रै मलाई म दृष्टिविहीन हुँ भन्ने अनुभूति भयो, बाहिरी संसारको व्यवहारबाट ।’ काठमान्डुका सडकमा ह्वाइट–केन टेक्दै हिँड्दा उनलाई कसैले हातमा ५ रुपैयाँ थमाउँथ्यो । उनी दानकर्ताको गालामा थप्पड लगाउँथिन् रे ! भन्छिन्, ‘त्यस्तो व्यवहार बाहिरी संसारमा मात्रै भोगें मैले ।’ आमासँगै सम्झनाको लहरमा आउँछन्, मेनुकाका हजुरबा । कसैले सानोमा मेनुकालाई हेपे हजुरबा भन्थे रे– हेर् ! नहेप है मेरी नातिनीलाई, पछि यो संसारको रेडियो बन्छे । सायद हजुरबा सत्य थिए । हजुरबाले देखेको रेडियोमा गीतहरू बज्थे, मेनुका पनि गीत गाएर संसारमा चिनिएकी छन् । 

A blind daughter leading her mother

मेनुका सोच्छिन्, जीवनमा अति स–साना घटनाको कत्ति ठूलो महत्त्व हुन्छ ! तिनै घटना त हुन्, स्मृतिमा बाँचिरहने ! ‘अति सानासाना घटना मलाई जीवनजत्तिकै मूल्यवान् लाग्छन्,’ उनी भन्छिन्, ‘जस्तो आमाको हात समाउँदै उहाँसँग ट्रेनमा यात्रा गरेका दिन, साईबाबाको दर्शन गर्न पुट्टपर्ती पुगेका दिन, उहाँसँगै नदी किनारमा बसेर पानीको आवाज सुनिरहेका दिन असाध्यै मूल्यवान् छन् ।’ जिन्दगीमाथि मेनुकाको बुझाइ छ, ‘जीवन कथा होइन । यसमा समस्या छ, समाधान पनि छ र छ सुखान्त मिलन । म मिहिनेत, मात्रै मिहिनेत र हिम्मतमा विश्वास गर्छु । लाग्छ, जिन्दगी मिहिनेत र हिम्मतकै एउटा प्याकेज हो ।’

मेनुकाका लागि पम्फादेवी ‘ममी’, ‘दिदी’ र ‘बूढीमाउ’ हुन् । आमाबारे उनले गीतहरू पनि रेकर्ड गरेकी छन्– ‘आमा तिम्रो सम्झनामा...,’ ‘बादलको आकृतिमा आमा तिम्रो छाया देखें...’ !

मेनुकाको विचारमा आमा संसारका लाखौं अँगालोभन्दा फराकिलो, हजारौं माइल टाढा चन्द्रमाभन्दा शीतल र अग्ला पहाडहरूभन्दा पनि अग्लो सम्बन्ध हो । भन्छिन्, ‘आमा हिम्मत हो, ईश्वर हो ।’ र, उनलाई याद छ, आमाले पटक–पटक भनेको– ‘हेर् मेनुका ! संसारमा दुःख छ । मिहिनेत गर्नू, हिम्मतीली हुनू ! मिहिनेत नगरी कोही कहीँ पुग्दैन !’ आमाको आँखामा सधैं ‘हिम्मतीली–विम्ब’ बाँचेकै छिन् मेनुका । आमाको आदेश खुरुखुरु मानेर यहाँसम्म आइपुगेकी मेनुका ज्ञानी (पम्फादेवीकी आँखामा) छिन् । भन्छिन्, ‘धन्यवाद आमा !’

A blind daughter leading her mother

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully