दीपक र राजपुरा वर्षका उत्कृष्ट खेलाडी

पल्सर स्पोर्ट्स अवार्डमा एथलेटिक्सको वर्चस्व, प्रशिक्षकमा गुरुङ र पिपुल्स च्वाइसमा सिक्का

माघ २९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — कसले भन्छ, खेलाडीले खेल्छ मात्रै । बोल्न जाँदैन भनेर । सिक्का सुवाल श्रेष्ठकै उदाहरण लिऔं न । कमैलाई थाहा थियो, टेबल टेनिसका यी खेलाडी बोल्न पनि सिपालु छिन् । अब धेरैलाई थाहा भयो, वास्तवमै उनी धेरै मीठो पो बोल्छिन् । तिनै सिक्काले आइतबार आयोजित एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको पिपुल्स च्वाइस अवार्ड जितिन् । एक प्रकारले यो अपेक्षित थियो । एक प्रकारले उत्तिकै अनपेक्षित पनि ।

यो अवार्डको निर्णय हुने गर्छ, ई–सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा । त्यसमा सिक्काले सर्वाधिक ४४.८ प्रतिशत मत प्राप्त गरिन् । उनले कराँतेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठलाई उछिने । अनि अवार्ड पाएयता भनिन्, ‘पछिल्लो तीन वर्षको यो अवार्ड कार्यक्रम मैले हेरिनँ किनभने मलाई यो कार्यक्रममा आएपछि अवार्ड जित्नु थियो ।’

उनी त्यत्तिकैमा रोकिइनन् । थपिन्, ‘मलाई मतदान गर्ने सबैलाई धन्यवाद । मलाई भोट दिनमा मेरो आफ्नै भाइ पनि थिए । उनले आफ्नो खुत्रुके पनि फोडे र हजार रुपैयाँको भोटिङ गरे ।’ त्यस अर्थमा उनी वर्षकी सर्वाधिक लोकप्रिय खेलाडी रहिन्, नेपाली खेलकुदको । यो लोकप्रियता पत्रकार र प्रशिक्षक मात्र नरहेर आम खेलप्रेमीबीच नै थियो । उनको सफलताले के पनि प्रमाणित गरेको छ भने मूलधारका खेलमध्ये टेबल टेनिस पनि उत्तिकै लोकप्रिय छ ।

एथलेटिक्सको वर्चस्व

मैदानमै खेलेर त्यो वर्ष सफल हुने दुई खेलाडी भने एथलेटिक्सका रहे, संयोगले दुवैले एउटै प्रतियोगिता खेलेर हात पारेको सफलताले उनीहरूलाई यहाँसम्म पुर्‍याएको थियो । यी रहे, दीपक अधिकारी र राजपुरा पछाई । याक एन्ड यती होटलमा भएको अवार्डमा दीपकले क्रिकेटका दुई स्टारलाई पछाडि छाडे, रोहितकुमार पौडेल र आसिफ सेखलाई । राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुशा मल्ललाई पछि पारिन् ।

दीपक १६ औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता खेलाडी हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् । उनीहरूले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए । सिक्काले पनि बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् । वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथलेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भए । यो अवार्ड जितेसँगै गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए । स्वाभाविक थियो, दीपक र राजपुरा वर्ष खेलाडी घोषित हुँदा तिनकै प्रशिक्षक पनि उत्कृष्ट चुनिनु ।

गुरुङको प्रशिक्षणमा १६ औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो । त्यस च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य पदक प्राप्त गरेको थियो । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे । टमाटालाई आफू स्वयंले अवार्ड नजिते पनि एकथोकमा सन्तोष मिल्नेछ, आफ्नै चेला युवा विधामा उत्कृष्ट रहे ।

युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । देव तिनै खेलाडी हुन्, जसले आठ वर्षको खडेरी तोड्दै सन् २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई छनोट हुन मद्दत गरेका थिए । उनले एथलेटिक्सकी राममाया 

बुढा र बक्सिङकी सुष्मा तामाङलाई पछि पार्दै यो अवार्ड जिते । देवले पनि अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए । एनएसजेएफ पारा एथलिट अवार्डबाट मैयाँ विशुंखे सम्मानित भइन् ।

प्रशिक्षक प्रधानको फरक कुरा

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित हुने रहे, पहिलो ओलम्पियन एवम् भारोत्तोलक राजेन्द्रकुमार प्रधान । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् । उनको कथा भने अलिकति बेग्लै छ । उनी बोल्द सक्दैनन् । अनि सुन्न पनि सक्दैनन् । सुरुमा उनी शारीरिक सुगठनका खेलाडी थिए । उनी १७ वर्षका के भएका थिए, मिस्टर काठमाडौं पनि जिते । अनि लगत्तै प्रवेश गरे, भारोत्तोलनमा ।


नेपालले सन् १९७८ को बैंकक एसियाली खेलकुदमा भाग लिँदा भारोत्तोलनमा पनि चुनौती प्रस्तुत गर्ने कुरा भयो, शारीरिक रूपमा बलिया राजेन्द्र त्यसै खेलको खेलाडीका रूपमा चुनिए । त्यसपछि उनले आफ्नो पूरा जीवन त्यसै खेलमा समर्पित गरे । वर्ष ०३६ मा उनी पहिलो पटक भारोत्तोलनका नेपाल च्याम्पियन भए । त्यसका पनि दुई वर्षपछि मस्को ओलम्पिक्समा नेपालको प्रतिनिधित्व गरेर खेले । यसरी उनी ओलम्पियन पनि भए ।

खेल जीवनपछि उनी प्रशिक्षक भए । धेरैलाई आश्चर्य लाग्दो हो, बोल्नै नसक्ने, सुन्नै नसक्ने कसरी मात्रै प्रशिक्षक हुन सक्छन् होला भनेर ? तर पनि उनी सफल प्रशिक्षक मात्र होइनन्, अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन् । उनकै प्रशिक्षणमा नेपालले सन् १९९० को बेइजिङ एसियाली खेलकुद, काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद र श्रीलंकामा भएको सन् २००६ को दसौं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउँदा पनि उनी नै प्रशिक्षक थिए, भारोत्तोलनतर्फ ।

उनका खेलाडीमध्ये एक हुन्, तारादेवी पुन । उनी भन्छिन्, ‘उहाँले नसिकाउनुभएको भारोत्तोलनका कोही पनि नेपाली खेलाडी छैनन् । अनि कोही पनि त्यस्ता खेलाडी छैनन्, जसले उहाँको भाषा बुझ्दैनन् ।’ अहिले त उनी रिटायर्ड पनि भइसके, राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षक जागिरबाट । तर अहिले पनि उनी दशरथ रंगशाला पुगिरहन्छन्, आफ्नो प्रिय खेल भारोत्तोलनमा के कस्तो भइरहेको छ, जानकारी राखिरहन्छन् । अब त उनी नेपाल भारोत्तोलन संघका केन्द्रीय सदस्यसमेत हुन् ।

फोटो पत्रकारिताका सिपाही

यसपल्ट स्पेसल अवार्ड भने पोखरेली खेल फोटो पत्रकार सुदर्शन रञ्जितलाई प्रदान गरियो । उनको परिचय त्यत्तिकैमा मात्र सकिन्न । उनी सहारा क्लबका एक सक्रिय सदस्य हुन् । सहारा त्यही क्लब हो, जसले निरन्तर रूपमा आहा रारा पोखरा गोल्डकपको आयोजना गर्दै आएको छ । खासमा उनी पोखरेली खेलकुदका अभियन्ता हुन् । भनिन्छ, पछिल्लो चार दशकमा पोखरामा त्यस्तो कुनै खेलकुद गतिविधि छैन, जसमा उनको सहभागिता नहोस् ।


सन् २००८ मा उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको उत्कृष्ट तस्बिरको अवार्ड पनि जितेका थिए । मूलधारको नेपाली खेलकुदमा जति पनि पोखरेली खेलाडी छन्, तिनलाई सफल बनाउन र चिनाउने काममा पर्दा पछाडिबाट काम गर्नेमा पर्छन्, रञ्जित । तर यति गर्दागर्दा पनि खेलकुद उनको पेसा भने होइन । खासमा उनी समग्र नेपाली खेलकुदलाई नै माया गर्छन् र अबका दिनमा पनि सक्दो काम गर्ने तत्परता देखाउँछन्, त्यसैले उनी स्पेसल अवार्डको हकदार रहे । 

कान्तिपुर

Link copied successfully