रातो कमिला नाम दिएर अभियानमा जुटेका स्नातक तहमा अध्ययनरत १३ विद्यार्थी अनलाइन दुर्व्यवहार र शोषण गर्नेहरू पत्ता लगाएर कमिलाले जसरी टोक्न र सजाय दिलाउन सक्रिय
काठमाडौँ — बुटवलकी कृष्मा पन्थ सामाजिक कार्य विषय लिएर स्नातक दोस्रो वर्षमा पढ्दै छन् । पढाइका अलावा उनी कक्षा ६ देखि ९ सम्म पढ्ने विद्यार्थीको आत्मीय र सहयोगी साथी पनि बनेकी छन् । फुर्सद मिलाएर उनी १२ देखि १६ वर्ष उमेर समूहका त्यस्ता विद्यार्थीलाई अनलाइन सुरक्षाबारे जनचेतना जगाउन काठमाडौं उपत्यकाका स्कुलहरूमा पनि पुग्छिन् ।
उनका कुरा सुनेपछि आफूभन्दा जुनियर विद्यार्थी नजिकिन खोज्छन् । कृष्मा उनीहरूको हाउभाउ र बोलीचालीबाटै थाहा पाइहाल्छिन्, पक्कै पनि उनीहरू केही न केही समस्यासँग जुधिरहेका छन् ।
साथीसंगी र भाइबहिनीहरूलाई जानाजान वा अञ्जानमा हुने अनलाइन असुरक्षाबाट जोगाउन आडभरोसा दिने उद्देश्यले आफूसहित साथीहरू मिलेर अभियानकै रूपमा जनचेतनामूलक गतिविधि गरिरहेको उनले बताइन् । सुरुमा भन्न हिचकिचाउने विद्यार्थीहरू ‘कुराकानी सबै गोप्य राख्ने’ विश्वास दिलाएपछि दिल खोलेर बोल्ने गरेको कृष्माको अनुभव छ । ‘फेसबुक, म्यासेन्जरजस्ता सामाजिक सञ्जाल प्रयोग गर्ने क्रममा फेक अकाउन्टको सिकार हुनुपरेको, आफ्नो एकाउन्ट ह्याक गरेर गोप्य फोटो, भिडियो सामग्री अनलाइन प्लाटफर्महरूमा सेयर गरिदिने धम्की र हैरानी खेपिरहेको उनीहरू सुनाउँछन्,’ उनले भनिन्, ‘ती पीडा सुन्दा मनै भावुक हुन्छ ।’ फोन, इन्टरनेट चलाउनै नपाइएला भन्ने डरले अभिभावकलाई भन्न नसक्ने र यसले मानसिक समस्यामा पारेको, पढाइमा ध्यान दिन नसकिरहेको वा पढाइ बिग्रिरहेको पनि उनीहरूका गुनासा सुन्नु परिरहेको कृष्माले बताइन् ।
पीडितका कुरा सुनेपछि कृष्मा आफूले जानेबुझेजति परामर्श दिने र सम्झाइबुझाइ गर्ने मात्र गर्दिनन्, अनलाइन माध्यमबाट दुर्व्यवहार र शोषण भएको छ भने कानुनी उपचारका लागि प्रहरीसम्म पुग्न पनि सहयोग गर्छिन् । ‘मेरो समस्या सुल्झाउन सहयोग गरिदिनु तर मेरो बाबाममीलाई नभन्दिनु है भन्छन्,’ कृष्माले कान्तिपुरसित भनिन्, ‘मैले पनि उनीहरूकै फेज पार गरेर आएकाले होला, भाइबहिनीले भन्न खोजेको कुरा महसुस गर्न सक्छु, थप जोखिम नहोस् भनेर सहयोग पनि गर्छु ।’
भर्खरै सामाजिक सञ्जाल चलाउन थालेकाहरूले सबैभन्दा बढी अनलाइन बुलिङ खेप्ने गरेको कृष्माले आफ्नो अनुभव सुनाइन् । कार्यक्रमका दौरानमा जोडिएका विद्यार्थीले पनि यही भन्ने गरेका छन् । नचिनेका र कतिपय चिनेकै साथीहरूले रिस साध्न ‘फेक अकाउन्ट’ बनाइदिने, अश्लील सामग्री अपलोड गरिदिने वा दुरुपयोग गरिदिने गर्छन् । उनकै पनि ‘फेक अकाउन्ट’ बनेको थियो । ‘भाग्यवश नराम्रो घटना हुन पाएन । तर, कसले बनायो, के गर्यो थाहा भएन, साइबर ब्युरोमा उजुरी गर्नुपर्छ भन्ने पनि त्यतिबेला थाहा थिएन,’ बुटवल हुँदाखेरि नै भोगेको उक्त घटना सुनाउँदै कृष्माले भनिन्, ‘त्यही त हो नि, प्रहरी भनेपछि साह्रै डर लाग्ने ।’
‘रेड आन्ट’ अर्थात् ‘रातो कमिला’ नाम दिइएको उक्त अभियानमा कृष्मासहित स्नातक पढ्ने ११ छात्रा र २ छात्रसहित १३ विद्यार्थी अहिले सक्रिय छन् । उनीहरू मनोविज्ञान र सामाजिक कार्य विषयमा स्नातक पढ्दै छन् । ‘रातो कमिला’ अभियान युवाहरूको स्वयंसेवी अभियान पनि हो । रातो कमिला मिहिनेती र उसले टोकेको एकदमै दुख्ने खालको हुन्छ । यस अभियानमा संलग्न युवाहरू पनि कमिलाजस्तै काँधमा काँध मिलाएर जुटेका छन् । अनलाइन दुर्व्यवहार र शोषण गर्नेहरू पत्ता लगाएर रातो कमिलाले जसरी नै टोक्ने, सजाय दिलाउने अर्थमा उक्त नाम दिइएको अभियानमा सक्रिय विनिता वली क्षत्रीले बताइन् । बाँके घर भएकी उनी काठमाडौं बसेर सामाजिक कार्य विषयमा स्नातक अध्ययनरत छन् ।
यो अभियान तीन वर्षअघि सुरु भएको हो । उनीहरू पढ्ने कलेजमा सामाजिक सेवा तथा मानव अधिकारका लागि महिला युवा सशक्तीकरण संस्था (वाइसर) ले अनलाइन सुरक्षाबारे कार्यशाला गोष्ठी राखेको थियो । त्यसमा सहभागी विद्यार्थीहरूमध्ये पाँच जनाले कार्यशालामा सिकेका कुरालाई व्यावहारिक रूपमै अभ्यास गर्ने चाहना राखेपछि ‘रातो कमिला’ अभियान सुरु भएको हो । यही नामको फेसबुक पेज, इन्स्टाग्राम अकाउन्ट खोलेका छन् । यसमार्फत पासवर्ड सुरक्षित राख्ने, गोपनीयता कायम गर्ने, अनलाइनबाट हुने दुर्व्यवहार र शोषणका सामग्रीबारे सचेतनामूलक जानकारी पनि सेयर गर्छन् । ‘कतै आफ्ना कुरा व्यक्त गर्न नसक्ने पीडितहरू पनि यस पेजमा आएर आफू समस्यामा परेको म्यासेज छोड्न सक्छन्,’ कृष्माले भनिन्, ‘भेटेर वा म्यासेजमै पनि परामर्श दिन मिल्छ । सक्दो सहयोग आफैं दिन्छौं, कानुनी उपचार चाहिने भए सम्बन्धित ठाउँमा पुर्याएर सहयोग गर्छौं ।’
एक वर्षअघि सामाजिक सञ्जालका एक प्रयोगकर्ता रातो कमिलाकै विनितासमक्ष सहयोग माग्न आइपुगे । २१ वर्षीय ती युवकले एक दिन अचानक आफ्नो ‘फेसबुक स्टोरी’ मा केटी साथीसितको गोप्य भिडियो क्लिप देखे । भूलवश पोस्ट हुन गएको ठानेर उनले त्यो सामग्री हटाए । तीन दिनपछि गलत नियत राखेका एक ह्याकरले सातवटा गोप्य भिडियो क्लिप ती युवकलाई पठाए । हटाउनुपर्ने भए प्रतिभिडियो ५० हजार रुपैयाँ तिर्नुपर्ने ब्ल्याकमेलिङ गर्न थाले । ती भिडियोहरू युवक र उनको केटी साथीका थिए । उनीहरूले आफ्ना गोप्य भिडियो फेसबुक म्यासेन्जरमार्फत साटासाट गर्ने गरेका थिए । तिनै गोप्य सामग्री देखाएर पैसा असुल गर्ने प्रयास भएपछि युवक सहयोग माग्न आएको विनिताले सुनाइन् । विनितालगायतले साइबर ब्युरोमा उजुरी दिन ती युवकलाई सघाए । पीडित युवक र उनकी केटी साथीलाई मनोसामाजिक परामर्श उपलब्ध गराए । अनुसन्धानपछि ब्ल्याकमेलिङ गर्ने व्यक्ति ती युवकको भारतीय साथी भएको पत्ता लाग्यो । ती भारतीय नागरिक युवकको केटी साथीलाई मन पराउँदा रहेछन् । युवकसँग बदला लिन फेसबुक ह्याक गरेको ती भारतीय नागरिकले प्रहरीसमक्ष स्विकारेका थिए ।
रातो कमिला अभियानमा आबद्ध १३ युवाले काठमाडौं उपत्यकाका १५० विद्यालय र ३० वटा समुदायमा पुगेर फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जाल, अनलाइन प्लाटफर्म, मोबाइल, फोन, कम्प्युटर सुरक्षित तवरले प्रयोग गर्नेबारे पनि सिकाइरहेका छन्, प्रोत्साहन गरिरहेका छन् । फरकखाले पासवर्ड राख्ने, पासवर्ड अरूलाई सेयर नगर्ने, अभिभावकको गाइडेन्समा इन्टरनेट प्रयोग गर्ने, सेटिङ्सलाई बलियो राख्ने जस्ता कुरा समूहको सिकाइमा परेका छन् । उनीहरूले अनलाइन माध्यमबाट हिंसा, दुर्व्यवहार, शोषणमा परेका साथीलाई सम्झाइबुझाइ गर्ने र कानुनी उपचार पुर्याउन सञ्जालको काम गरेका छन् । यो अभियानमा रहेको थाहा पाएका साथीसर्कल, शिक्षक र अग्रजले समस्यामा परेको शंका लागेका पीडितहरूलाई उनीहरूसमक्ष रिफर गरिरहेका हुन्छन् । अभियानमा सक्रिय युवाहरू काठमाडौं बाहिरका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्छन् । कलेज बिदाको समयमा घर गएका बेला स्थानीय स्कुलमा आफूले जानेबुझेका कुरा सेयर गर्छन् । काठमाडौं उपत्यका केन्द्रित यो अभियानमा विद्यालय, सामुदायिक प्रहरी, साइबर ब्युरो, आमा समूहहरूले पनि साथ दिने गरेको रातो कमिला अभियानका भविष्य थापाले बताए ।
नेपाल प्रहरीको साइबर ब्युरोले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो ६ वर्षमा फेसबुक/म्यासेन्जर, भाइबर, इमो, ह्वाट्सएप, ट्विटर, इन्स्टाग्राम, वेबसाइट ह्याकिङ, टिकटक, इमेल, ईसेवा, बैक तथा वित्तीय संस्थाका एप्लिकेसनमार्फत साइबर अपराध भएको विरुद्धका ३१ हजार ५०४ उजुरी आएका छन् । आव ०७५/७६ देखि चालु आवको माघ १९ सम्म आएका यी तथ्यांकलाई हेर्दा बर्सेनि औसत ५ हजारको संख्यामा उजुरी पर्छन् । ती उजुरीका आधारमा साइबर ब्युरोले अपराधका प्र्रवृत्तिको विश्लेषण गर्दा नग्न तस्बिरमा व्यक्तिको अनुहार जोडिदिने (फोटो म्युटिलेसन), अश्लील फोटो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिदिने (रिभेन्ज पोर्न), सामाजिक सञ्जालमा अरूको नाम र फोटो प्रयोर गरेर अकाउन्ट खोलेर बेइज्जत गर्ने तथा दुःख दिने (डिफामेसन इम्पोस्टर), प्रयोगकर्ताको सूचना नियन्त्रणमा लिएर फिरौती माग्ने, अनलाइन ठगी र सरकारी तथा अन्य संघसंस्थाका वेबसाइट ह्याकिङ गरेर हैरानी दिने गरेको पाइएको छ ।
साइबर ब्युरोमा परेका साइबर अपराधविरुद्धका कुल ११ हजार २४१ उजुरीमध्ये १ हजार ११ उजुरीका पीडित बालबालिका छन् । उजुरी गर्नेमा बालकको संख्या २८७ र बालिकाको संख्या ७२४ रहेको छ । ‘रातो कमिला’ को प्रभावकारी अभियान देखेका स्थानीय तहका वडाहरूले आफैं बोलाएर लक्षित समूहहरूमा अनलाइन सुरक्षासम्बन्धी सचेतनाका कार्यक्रम गरिदिन आग्रह गर्न थालेको अभियानमा सक्रियमध्येकी करुणा पराजुलीले बताइन् ।
उनी पनि सामाजिक कार्यमै स्नातक दोस्रो वर्षमा पढ्दै छन् । ‘युवाहरू आफ्नै करियरमा व्यस्त हुन्छन्, भोलेन्टियर काममा कम देखिन्छन्, हामी छौं है भनेर थाहा दिन र भाइबहिनीहरूलाई हौसला दिन भोलेन्टियर गर्दै छौं,’ रेस्मा दवाडीले भनिन् । गोरखा घर भएकी उनी स्नातक दोस्रो वर्षमा मनोविज्ञानकी विद्यार्थी हुन् । सामाजिक गतिविधिमा युवा र बालबालिकालाई नसमेटिएको गुनासो सुनिन्छन् । यसलाई चिर्न रातो कमिला अभियानले प्रयास गरिरहेको उनले बताइन् ।
अनलाइन दुर्व्यवहार र शोषणको जोखिममा परेका बालबालिका अभियानमा रहेका युवाहरूसँग जोडिन्छन् । समस्या समाधान गर्न व्यक्तिगत रूपमा र १३ जनाले सामूहिक गृहकार्य गरिरहेका छन् । मनोसामाजिक परामर्श र कानुनी उपचारका लागि सहयोग गर्छन् । समस्या समाधानमा जटिलता देखिए प्रहरी, स्थानीय तह, सरोकारवाला संघसंस्थासँग समन्वय पनि गर्छन् । ‘बालबालिकाले चाहिँ हाम्रै उमेरकोसँग खुल्न सजिलो मान्छन् किनभने उनीहरूको उमेर हामीले भर्खरै पार गरेर आएको हुन सक्छ,’ अभियानमा जोडिएकी ज्योति जोशीले आफ्नो अनुभव सुनाइन्, ‘हाम्रो कुरा हामीभन्दा ठूलोले बुझ्न सक्छन्, किनभने भर्खर हाम्रो उमेर पार गरेको हुन्छ नि त, यसरी सहयोगी सञ्जालको काम गरिरहेका छौं ।’
इन्टरनेट प्रयोगकर्ताहरू दिनहुँ बढिरहेका छन् । प्रयोगकर्ता बालबालिका तथा युवाहरूको जमात बढ्दै छ । सन् २०२३ मा विश्वभरका १५ देखि २४ वर्ष उमेर समूहका ७९ प्रतिशत बालबालिका तथा युवाले अनलाइन प्लाटफर्ममा समय बिताए । यो दर सन् २०२२ को भन्दा ४ प्रतिशतले बढी हो । संसारभरि हरेक आधा सेकेन्डमा एक जना बच्चा पहिलो पटक अनलाइनमा जोडिने गरेको छ । संयुक्त राष्ट्रसंघको ‘बाल र युवाको अनलाइन सुरक्षा’बारे अध्ययनको यो तथ्यले अनलाइन प्लाटफर्ममा बालबालिका तथा युवा पुस्ताको पहुँच बर्सेनि बढिरहेको देखाउँछ ।
अनलाइन प्लाटफर्ममा बालबालिका तथा युवाहरूको पहुँच वृद्धिसँगै अनलाइन हिंसा, दुर्व्यवहार, शोषणमा पर्ने वा त्यस्तो अपराध गर्न पुग्ने साथै हरेक पाँच जनामा एक जनाले विद्यालय छोड्ने जोखिमसमेत बढेको छ । यसकारण उनीहरू लक्षित अनलाइन सुरक्षा गतिविधिलाई बढावा दिनुपर्ने बहस
संसारभरि चलिरहेका छन् । ‘दी इन्डियन एक्सप्रेस’ को रिपोर्टअनुसार छिमेकी देश भारतका बालबालिका, विद्यार्थी, महिला, शिक्षक, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई विशेष जोड दिइएको साइबर सुरक्षाबारे भारत सरकारको विद्युतीय र सूचना प्रविधि मन्त्रालयले नै ‘स्टे सेफ अनलाइन’ अभियान सञ्चालन गरिरहेको छ । सूचना प्रविधिको विकास तथा बढ्दो प्रयोगसँगै देखिएको साइबर सुरक्षा जोखिमको पहिचान, त्यसबाट हुने असरको न्यूनीकरण र आकस्मिक साइबर सुरक्षाको व्यवस्थापन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि योजना बनाएको छ । राष्ट्रिय साइबर सुरक्षा नीति पनि बनिसकेको छ ।
अनलाइन सुरक्षामा बालबालिका तथा युवालाई प्राथमिकता दिन विद्यालय तहबाटै पाठ्यपुस्तकमा समावेश गर्न जरुरी रहेको वाइसरका कार्यक्रम अधिकृत विजय लामा बताउँछन् । ‘बालबालिकाका लागि घरपछिको पाठशाला विद्यालय हो,’ उनले भने, ‘शिक्षकहरू कस्ता छन् भने यो सामाजिक विषय सम्बन्धित भएकाले सामाजिक शिक्षकले सिकाए हुन्छ भन्ने, सामाजिक शिक्षकले प्राविधिक कुरा हो, त्यही भएर कम्प्युटर पढाउनेले फोकस गर्नुपर्छ भन्छन्, पाठ्यक्रममा राखेपछि सबैको दायित्व होइन र सचेतना फैलाउने ?’ साथै अभिभावकहरूले आफ्ना छोराछोरीलाई दोषी देख्ने, मोबाइल, इन्टरनेट चलाउन नदिनुको साटो प्रहरी, सरोकारवालासँग सल्लाह मागेर यसको समाधान खोज्नु उचित हुने उनको सुझाव छ ।
