काठमाडौँ — गत आइतबार बिहान वीरगन्जको नारायणी अस्पतालमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटमा पोजिटिभ देखिएकी एक २३ वर्षीया युवतीको निधन भयो । तर, उनको पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
यो घटनापछि नेपालमा पुनः आरडीटी विधिबाट गरिने परीक्षणका बारे बहस तथा टिकाटिप्पणी सुरु भएको छ ।
महामारीको अवस्थामा सर्भेलेन्सको लागि मात्रै प्रयोग गरिनुपर्ने किटको प्रयोग संक्रमण निर्क्योल गर्नकै लागि सरकारले प्रयोग गर्न थालेपछि विवाद सतहमा आएको हो । आरडीटी किटले गर्ने परीक्षणको सिमितताका कारण जनस्वास्थ्यविद् तथा विशेषज्ञ चिकित्सकहरुले यसको प्रयोग कम गरेर धेरैभन्दा धेरै पीसीआर नै गर्नुपर्ने सुझाव सरकारलाई दिने गरेका छन् ।
तर, पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लिनुपर्ने, त्यसलाई सुरक्षित रुपमा प्रयोगशालासम्म पुर्याउनुपर्ने र विशेष सेटअप रहेको प्रयोगशालामा परीक्षण गर्दा थोरैमा पनि ४ घण्टा लाग्ने भएकाले पनि आरडीटीको प्रयोग व्यापक भएको हो ।
नेपालमा हालको दिनसम्म ओम्नी समूहले चीनबाट आपूर्ति गरेको ‘वण्डफो’ ब्राण्डको आरडीटी किट सरकारले प्रयोग गरिरहेको छ । तर, पछिल्लो समय भारतको भारतीय आर्युविज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले ‘वण्डफो’को आरडीटी किटको गुणस्तरमा प्रश्न उठाउँदै यसको प्रयोग तथा खरिद गर्न रोक लगाएको छ । भारतभन्दा अघि नै बेलायतले समेत वण्डफो किट विश्वस्नीय नभएको दाबी गरिसकेको छ । यस्तोमा नेपालमा मात्रै यो किटको प्रयोग किन भइरहेको छ भन्ने प्रश्न गर्न थालिएको छ ।
आरडीटी किटको प्रयोग गर्नुपूर्व सरकारले कैलाली र कञ्चनपुर जिल्लाबाट सय–सयवटा नमुना संकलन गरेर आरडीटी र पीसीआर दुवै परीक्षण गर्ने र सो नतिजाका आधारमा आरडीटी किटको भेरिफिकेसन गर्ने नीति बनाएको थियो । सुरुमा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले सरकारले खरिद गरेको किटबारे अनुसन्धान गर्ने तय गरेको थियो । पछि सो कार्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने र त्यहाँबाट प्राप्त तथ्यांकको विश्लेषण भने एनएचआरसीले गर्ने निर्णय गरेको थियो ।
प्रयोगशालास्थित उच्च स्रोतका अनुसार जनस्वास्थ्य प्रयोगशालाले दुई सयवटा नमुनाको तथ्यांक सबै एनएचआरसीलाई प्रदान गरिसकिएको छ । एनएचआरसीले उक्त रिपोर्टको विश्लेषण गरेर के नतिजा निकाल्यो भन्ने बारे प्रयोगशाला जानकार नरहेको पनि स्रोतले दाबी गरेको छ । उता एनएचआरसीस्थित स्रोतले आफूहरु कहाँ सिमित तथ्यांकमात्र आएको र थप तथ्यांक माग गरिएपनि त्यो प्राप्त हुन नसकेको जानकारी दिएको छ ।
‘हामीलाई उपलब्ध गराइएको तथ्यांकको आधारमा विश्लेषण गर्दा त्यो किटलाई नराम्रो भन्न सकिने अवस्था थिएन,’ एनएचआरसीस्थित स्रोतले भन्यो, ‘त्यतिबेला संक्रमितको संख्या पनि थोरै थियो । त्यसैले तथ्यांकको विश्लेषण गर्दा नतिजा पनि त्यस्तै आयो ।’ उनको अनुसार अब यो किट सकिन लागिसकेको छ भने सरकारले दुई प्रकारकै एन्टीबडी भए/नभएको देखाउने नयाँ आरडीटी किट किन्ने तयारी पनि सुरु गरिसकेको छ ।
स्वास्थ्य सेवा विभागले बैशाख ६ गते सूचना प्रकाशित गरेर आरडीटी किट आपूर्ति गर्न इच्छुक आपूर्तिकर्तालाई आफूले आपूर्ति गर्ने किटको विवरणसहित सूचिकृत हुन आउन भनेको थियो । उनीहरुले बुझाएको कागजपत्रका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मुल्यांकन गरी १० वटा आपूर्तिकर्तालाई बैशाख ११ गते विभागले सूचिकृत गरेको सूचना प्रकाशित छ ।
यो पटक भने विभागले खरिद गर्ने किटले दुवै एन्टीबडी (आईजीएम र आईजीजी) रहे/नरहेको देखाउँछ । यस्तै यो किटको सेन्सिटिभिटी (रोग भएको यकिन) र सेपेसिफिसिटी (रोग नभएको यकिन) ९० प्रतिशतभन्दा माथि हुनुपर्ने मापदण्ड तय गरिएको छ ।
आरडीटी किटको विवाद के हो ?
पहिलो कुरा त नेपालमा आरडीटी किट खरिद गर्दा जुन प्रक्रियाहरु पुरा गर्नुपर्थ्यो त्यो सबै प्रक्रिया नै पुरा नगरी खरिद भएको सार्वजनिक भइसकेको छ । यसले गर्दा कुन गुणस्तरको किट खरिद गर्ने भन्नेमा अन्योल हुँदा रगतमा आईजीएम वा आईजीजी जे भए पनि पोजिटिभ रिपोर्ट दिने वण्डफोको किट भित्रिन पुगेको थियो ।
पछि किटको विश्वसनीयता माथि नै प्रश्न उठेपछि एनएचआरसीले अध्ययन गर्ने भनियो । एनएचआरसीसँग त्यसको अध्ययन गर्नका लागि स्रोत नभएको जवाफ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई नै त्यसको जाँच गर्न निर्देशन दिइयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कैलाली र कञ्चनपुरबाट सय/सय वटा नमुना ल्याएर परीक्षण गर्ने तय भयो । तर, प्रयोगशालाले परीक्षण गर्नुपूर्व नै यी किटहरुलाई प्रदेशहरुमा बाँडियो । प्रयोगशालाको रिपोर्ट आउनुअघि नै यसबाट परीक्षण पनि सुरु भयो ।
जब समुदायमा परीक्षण गर्दा आरडीटीमा पोजिटिभ देखिएकाहरुको पीसीआरमा रिपोर्ट नेगेटिभ आउन थाल्यो तब किटको नतिजा माथि शंका गर्न थालियो ।
आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक जनस्वास्थ्यविद्ले दिएको जानकारीअनुसार नेपालमा पीसीआरबाट परीक्षण गर्नसक्ने पूर्वाधारको अभावमा आरडीटी किटको प्रयोगलाई व्यापकता दिइएको हो । ‘सर्भेलेन्सको लागि मात्रै प्रयोग गर्नुपर्ने वस्तु संक्रमण छ/छैन भनेर निर्क्योल गर्नलाई प्रयोग गर्न थालिएपछि त समस्या भइहाल्छ नि,’ उनले भने, ‘अझै पनि रोग फैलन नदिने हो भने पीसीआरकै दायरा बढाउन सरकार लाग्नुपर्छ किनभने किटमा धेरै भरपर्न मिल्ने अवस्था नै छैन ।’
विभिन्न जर्नलमा प्रकाशित वैज्ञानिक लेख तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले नै दिएको जनकारी अनुसार पनि आरडीटी किटले संक्रमण भएको सुरुको ६ दिनमा दिने रिपोर्ट नेगेटिभ नै हुन्छ र त्यसपछि मात्रै यसले दिने पोजिटिभ रिपोर्टको दर बढ्दै जान्छ ।
अहिले विश्वमै देखिएको समस्या के हो त ?
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमण छ या छैन भनेर निर्क्योल गर्नका लागि तोकेको एउटा विधि भनेको पीसीआर परीक्षण नै हो । तर, यो विधि सबै ठूलो जनसमुदायमा गर्न महंगो र धेरै नै समय खर्च हुन्छ । त्यसैले विश्वका सबै देशहरु सस्तो र सजिलो रुपमा संक्रमण भए/नभएको पत्ता लगाउने परीक्षण विधिको खोजीमा छन् ।
यस्तोमा आरडीटी किट विकल्पको रुपमा अगाडि आयो । बजारमा चीनमा उत्पादन भएका किटहरु उपलब्ध हुन थाले । आफ्नो देशमा तत्काल उत्पादन गर्न असक्षम भएका देशहरुले यसलाई प्रयोग गर्नका लागि मगाए । तर, पछि यसको विश्वस्नियता माथि नै प्रश्न उठ्न थाल्यो ।
यी किटहरुको विश्वसनीयतामाथि प्रश्न उठ्नुको मुख्य कारण यी किटको क्रस रियाक्टिभिटी एक हो । क्रस रियाक्टिभिटी भनेको अन्य संक्रमणको विरुद्ध शरीरले उत्पादन गरेको एन्टीबडीमा पनि यसले पोजिटिभ नतिजा देखाउनु ।
वीरगन्जमा मृत्यु भएकी युवतीमा पनि आरडीटी पोजिटिभ देखिएको थियो । तर, उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो । त्यसपछि उनको मृत्यु एएमएल (एक प्रकारको रगतको क्यान्सर) कै कारण भएको दाबी गरियो । उनलाई आरडीटी पोजिटिभ देखिनुको कारण क्रस रियाक्टिभिटिले गर्दा हो भन्ने तर्क त्यसपछि अगाडि आउन थाल्यो ।
स्वास्थ्य मन्त्रालयकै विज्ञ सल्लाहकार डा.खेम कार्कीले एक टेलिभिजनलाई प्रत्यक्ष अन्तर्वार्ता दिँदै डेंगुको कारण पनि आरडीटी किटमा पोजिटिभ रिपोर्ट आउने सम्भावना रहेको बताएका थिए । यस्तै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का प्रमुख डा. वासुदेव पाण्डेले पनि आरडीटी किटमा क्रस रियाक्टिभिटिको सम्भावना रहेको स्वीकार गरेका छन् ।
यसका साथै आरडीटी किटले दिने नेगेटिभ र पोजिटिभको दरमा पनि भिन्नता रहेकोले यसप्रतिको अविश्वास बढाएको हो । नेगेटिभ देखिए पनि त्यो रिपोर्ट सही नहुने र यकिनको लागि पीसीआर नै गर्नुपर्ने र पोजिटिभ आए पनि यकिन गर्न पीसीआर नै गर्नुपर्ने बाध्यता छ । पीसीआरमा पोजिटिभ नदेखिएको खण्डमा क्रस रियाक्टिभिटीले हुने सम्भावना पनि रहेपछि यस्तोमा संक्रमणको आशंका गरेर कन्ट्याक ट्रेसिङ गर्ने/नगर्ने अन्योल बढाइरहेको छ ।
के भन्छ वण्डफो ?
बेलायत तथा भारतमा पनि आफ्नो उत्पादनबारे नकारात्मक प्रचार भएपछि वण्डफोले विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेको छ । भारतीय आर्युविज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले सुरुमा राष्ट्रिय भाइरोलोजी अध्ययन केन्द्र, पुनेमा परीक्षण गरेर प्रमाणित गरेको किट अहिले एकाएक कसरी काम नलाग्ने भयो भनेर कम्पनीले प्रश्न समेत गरेको छ ।
साथै, कम्पनीले आफ्नो फेसबुक पेजमा राखेको एक विवरणमा भने किटको मात्रै रिपोर्टमा भर परेर अगाडि बढ्नुभन्दा अन्य परीक्षण विधिबाट पनि निर्क्योल गर्नु उचित हुने बताएको छ । कम्पनीले भनेको छ, ‘नेगेटिभ परीक्षण नतिजा आएमा पीसीआर वा भाइरस कल्चर गरेर हेर्नु उपयुक्त हुन्छ । यस्तै पोजिटिभ परीक्षण नतिजा आएमा पनि अन्य संक्रमणसँगको क्रस रियाक्सन भएन भन्न सकिन्न ।’
