तातोपानी नाकाबाट भित्रिएका अत्यावश्यकबाहेक सामानको परीक्षणपत्र चाहिने उनीहरुको माग छ ।
काठमाडौँ — तातोपानी नाकाबाट स्याउ र लसुनसमेत भित्र्याउन थालिएपछि सीमावासी र जनप्रतिनिधि आन्दोलित बनेका छन् । कोरोना भाइरस (कोभिड-१९) को त्रासमा मेडिकल र खाद्य सामग्रीमात्रै भित्रिने सहमतिमा खोलिएको नाकाबाट यस्ता वस्तु भित्रिरहेको उनीहरुको भनाइ छ ।
संक्रमणको जोखिम बढेको भन्दै भोटेकोसी गाउँपालिका वडा १, २, ३ र ४ का अध्यक्षसहित स्थानीयले शुक्रबार तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय, प्रशासन, प्रहरीलगायतलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
बन्दरगाहमा कुनै कर्मचारी उपस्थित नभएपछि भन्सार गेटमै सुरक्षाकर्मीलाई ज्ञापनपत्र बुझाएर फर्किएको भोटेकोसी गाउँपालिका-३ का अध्यक्ष कैलाश पौडेलले जानकारी दिए । ‘मेडिकल र खाद्य सामग्री ल्याउन जनप्रतिनिधिले सहजीकरण गरेको हो, यसमा मनमौजी स्याउ र लसुन एस्कर्टिङ गरेर धमाधम किन ल्याइँदै छ, यसको रहस्य के हो ?’ पौडेलले प्रश्न गरे । कोरोना संक्रमणको उच्च जोखिमको बेला खाद्य सामग्रीभित्र पर्ने (चामल, दाल ,नुन, तेल) बाहेक दोस्रो प्रकृतिको अत्यावश्यक भित्र नपर्ने वस्तु स्याउ, लसुन ल्याउँदा नाका असुरक्षित हुन पुगेको उनले सुनाए ।
स्थानीय सरकारको आग्रह अटेर गर्दै तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका कर्मचारी, जिल्ला प्रशासन, केही व्यापारी र बिचौलियाको मिलेमतोमा स्याउ र लसुन भित्र्याइएको जनप्रतिनिधिको आरोप छ । ‘चीनबाट सरकारको तोकेको मापदण्डविपरीत पासविहीन रुपमा सामान भित्रिँदा देशमै कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेको छ,’ उनले भने ।
चीनबाट भित्रिएका स्याउ र लसुनजस्ता सामग्रीको परीक्षणपत्र चाहिने जनप्रतिनिधिले माग गरेका छन् । ‘पत्र उपलब्ध नभएसम्म त्यस्ता सबै सामग्रीलाई भन्सार कार्यालयमै स्टोर गरेर राखिनुपर्नेछ, त्यो विश्व स्वास्थ्य संगठनस्तरको मापदण्डअनुरुप नभएमा सम्बद्ध निकायको रोहबरमा सरकारी नियमलाई मानेर नष्ट गरिनुपर्छ,' भोटेकोशी-१ का अध्यक्ष मुके शेर्पाले भने, 'जोखिमपूर्ण अवस्थामा यसरी हेलचेक्र्याइँ गरिनुहुन्न ।’ स्थानीय सरकारले तातोपानी नाकाबाट अत्यावश्यक सामग्रीबाहेक अन्य सामान नल्याउन दर्जनौं लिखित र मौखिक आग्रह गरिरहे पनि दर्जनौं कन्टेनर स्याउ र लसुन नेपाल भित्र्याइएको उनको भनाइ छ ।
असुक्षित रुपमा भित्र्याइएका त्यस्ता सामानमार्फत लोड/अनलोड गर्ने व्यापारी र मजदुरमा संक्रमण फैलिन सक्ने ज्ञापनपत्रमा उल्लेख छ । ‘उनीहरु यहाँका होटल, पसल र जनतासँग सहजै रुपमा घुलमिल भएका छन् । यदि उनीहरुबाट र काठमाडौंमा सामान अनलोड गर्नेहरुमार्फत भाइरस फैलिएमा हाम्रो जस्तो मुलुकको हालत के होला ?’ जनप्रतिनिधिको प्रश्न छ ।
तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले भने शुक्रबार मजदुर दिवसको बिदा भएकाले ज्ञापनपत्र लिन नपाएको बताए । ‘उहँहरुसँग छलफल गर्दै छु, यसमा केही त्यस्तो प्रकारको गम्भीर मुद्दा छैन्,’ उनले भने । उनले लकडाउन अवधिभित्रै खोलिएको तातोपानी नाकाबाट आहिलेसम्म मेडिकल, अत्यावश्यक सामग्रीबाहेक ४ वटा लसुनका र २ वटा स्याउका कन्टेनर भित्रिएको जानकारी दिए । 'यसबारे म अन्योलमा छु, हामीले चीनलाई यो पठाउनुस्, त्यो पठाउनुस् भन्ने अधिकार छैन र मिल्दैन पनि,' उनले भने, 'चीनबाट सामग्री पठाएपछि हामीले फर्काउन मिल्दैन ।’ हालै चीनबाट दिनहुँ १० वटा कन्टेनर आइरहेको र अब एम्बुलेन्स, ट्रयाक्टर, हेल्मेट, आर्मी कभर ब्याडलगायतका सामग्री आउने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तातोपानी नाकाबारे आफूले भन्सारका प्रमुखबाट जानकारी पाएको र अब छलफलमा जाने बताए ।
