आरडीटीबाट यसरी गरिन्छ परीक्षण

वैशाख २, २०७७

स्वरूप आचार्य

काठमाडौँ — ओम्नी ग्रुपबाट विवादास्पद ढंगले किनिएको ७५ हजार र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट सरकारले ७७ वटै जिल्लामा कोभिड–१९ को परीक्षणका लागि पुर्‍याइसकेको छ । सो किटबाट तीन हजारभन्दा बढीमा परीक्षण पनि भइसकेको छ ।

आरडीटी किट चीनको ग्वान्जाउ वन्डफो बायोटेक कम्पनीले उत्पादन गरेको यो किटको विश्वसनीयतामा विश्वभर नै सन्देह प्रकट भइरहेका छन् । आरडीटीले शरीरमा कोभिड–१९ को संक्रमण भएको तीन दिनपछि मात्रै गरिएको परीक्षण सही हुने दर बढ्ने बताइएको छ । तर सात दिनपछि नेगेटिभ रिपोर्ट आएको र पछि पीसीआरमा पोजेटिभ भएको पनि पाइएको छ ।

एन्टिबडी पत्ता लगाउने आरडीटीले ‘इम्युनोग्लोब्युलिन–एम’ (आईजीएम) वा ‘इम्युनोग्लोब्युलिन–जी’ (आईजीजी) रगतमा भए/नभएको हेर्ने हो । आईजीएम भनेको शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ । संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) आईजीएमको स्थानमा शरीरले आईजीजी निकाल्न थाल्छ ।

सामान्य रूपमा बुझ्दा शरीरमा आईजीएम देखिनु संक्रमणको सुरुवाती अवस्था हो भने आईजीजी देखिए संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भएको भन्ने बुझिन्छ । दुवै देखिए शरीर संक्रमणमुक्त भइनसकेको अवस्था हो ।

यसरी हुन्छ परीक्षण

आरडीटी किटबाट परीक्षणका लागि संक्रमण भएको आशंका गरिएको व्यक्तिबाट रगतको नमुना संकलन गरिन्छ । औंलाको टुप्पोमा सुईले घोपेर प्वाल पारी केही थोपा रगत मात्रै निकाले पनि पुग्छ ।

रगतको परीक्षण गर्नुपूर्व आरडीटी किटको प्याकेटलाई कोठाको तापक्रमसँग समायोजन हुन दिन निकालेर राख्नुपर्छ । त्यसपछि प्याकेटबाट किटलाई निकालेर त्यसको सानो प्वालमा १५ माइक्रोलिटर (एक थोपाको आधा भागभन्दा पनि कम) रगतको नमुना राखिन्छ । त्यसपछि ठूलो प्वालमा ३ थोपा बफर राखिन्छ ।

बफर राखिसकेपछि किटमा भएको कोभिड–१९ भाइरसको एन्टिजेन डाईसँग त्यसमा राखिएको रगतको नमुना मिसिन्छ । त्यो किटमा रहेको टेस्ट रिजल्ट देखाउने भागमा सोसिएर जान्छ । उक्त रगतको नमुनामा कोभिड–१९ संक्रमण भएर शरीरमा बनेको एन्टिबडी भए ‘टी’ लेखिएको धर्कोको रातो देखिन्छ । यस्तै परीक्षण गरिएको विधि ठीक भएर ‘सी’ लेखिएको स्थानको रङ पनि रातो हुन्छ । त्यो भनेको रगत परीक्षण गरिएको व्यक्तिलाई कोभिड–१९ को संक्रमण छ भन्ने हो ।

‘टी’ लेखिएको स्थानको रङ नदेखिए र ‘सी’ लेखिएको स्थानमा मात्रै रङ देखिए उक्त नमुनामा संक्रमण छैन भन्ने हो । कुनैमा पनि स्थानमा रङ देखिएन भने किट काम नलाग्ने रहेछ भन्ने बुझिन्छ । यस्तै ‘टी’ लेखिएको स्थानमा मात्रै रङ देखियो र ‘सी’ लेखिएको स्थानमा रङ देखिएन भने त्यो परीक्षण पनि गलत भयो भन्ने बुझिन्छ ।

परीक्षण गर्ने व्यक्तिले भने व्यक्तिगत सुरक्षाका उपाय अपनाउनुपर्छ र परीक्षणमा प्रयोग भएका किटहरूलाई सुरक्षित रूपमा विसर्जन गर्नुपर्छ, जथाभावी फाल्नु हुँदैन ।

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully