कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य सामग्री र औषधी खरिद प्रक्रियामा सहयोग गर्न चीनलाई आग्रह 

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउन सहकार्य र सहजीकरण गरेर सहयोग गरिदिन नेपालले चीनलाई आग्रह गरेको छ । 

स्वास्थ्य सामग्री र औषधी खरिद प्रक्रियामा सहयोग गर्न चीनलाई आग्रह 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीसँग टेलिफोन वार्ता गर्दै नेपालले जीटुजी प्रक्रियामार्फत खरिद गरेर ल्याउन लागेको औषधि र स्वास्थ्य सामग्रीलाई सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनालाई जीटुजी प्रक्रियामार्फत आवश्यक औषधि र स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिएको हो । त्यहीअनुसार सेनाले परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कुटनीतिक नियोगहरू हुँदै पाँच मुलुकलाई पत्राचार गरेको थियो । उक्त सुचीमा चीन पहिलो नम्बरमा थियो ।

नेपालले चीनबाट स्वास्थ्य सामग्री र औषधी दुवै ल्याउने सूची तयार गरी पठाइसकेको छ । त्यही सूचीअनुसार चीनले गोन्जाउमा केही दिनमा सामग्री जम्मा गरिदिने र त्यहाँबाट नेपालले ल्याउने सेनाले जनाएको छ ।

जवाफमा वाङले पनि नेपालले जीटुजी प्रक्रियामार्फत खरिद गरेर ल्याउन लागेको औषधि र स्वास्थ्य सामग्रीको लागि चीन सरकारले सहकार्य र सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दुई मन्त्रीबीचको वार्ता पछि विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त कुराको जानकारी गराएको हो ।

मन्त्री ज्ञवालीले कुराकानीका अवसरमा नेपाललाई आश्वयक स्वास्थ्य सामग्री र दैनिक उपभोगका लागि नभई नहुने सामग्रीहरू ल्याउन नेपाल–चीन नाका खोलिदिएकोमा वाङमार्फत चीन सरकारलाई धन्यवाद दिए ।

केही दिन अघिमात्र तातोपानीस्थित नेपाल–चीन नाका सुचारु भएको थियो । उक्त नाका स्वास्थ्य सामग्री र अत्यावश्यक दैनिक उपयोग गर्ने सामग्री ल्याउनका लागि खुला गरिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवालीले चीनलाई नेपाललाई यस संकटको बेलामा गरेको सहयोगलाई लिएर पनि धन्यवाद दिए ।

प्रकाशित : वैशाख २, २०७७ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?