कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

ओम्‍नीले नेपालमा भित्र्याएकै ब्रान्डको आरडीटी किट प्रयोगमा भारतमा लाग्यो रोक

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले चिनियाँ कम्पनी वन्डफो ब्राण्डका आरडीटी किटबाट परीक्षणको नतिजा विश्वसनीय नभएको भन्दै प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

ओम्‍नीले नेपालमा भित्र्याएकै ब्रान्डको आरडीटी किट प्रयोगमा भारतमा लाग्यो रोक

ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले चीनबाट ल्याएको ग्वान्जाउ वन्डफो बायोटेक कम्पनीद्वारा उत्पादित ‘वन्डफो’ ब्राण्डको दु्रत परीक्षण किट (आरडीटी) खरिदका लागि नेपालका स्वास्थ्यसम्बद्ध राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई दबाब दिइरहेका बेला यता भारतले भने उक्त ब्राण्डको आरडीटी किटको प्रयोगमा रोक लगाएको छ ।

ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले स्वास्थ्य सेवा विभागसँगको सम्झौताभन्दा बढी ल्याएको २५ हजार आरडीटी खरिद गराउन सरकारी निकायहरुबाटै गैससमाथि दबाब दिएको कान्तिपुरले आजै (सोमबार) खुलासा गरेको छ । उक्त किटको मूल्य करिब तीन करोड रुपैयाँ बराबर छ ।

तर, भारतीय आर्युविज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले वन्डफो ब्राण्डका आरडीटी परीक्षणको नतिजा विश्वसनीय नभएको भन्दै प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । आईसीएमआरले ग्वान्जाउ वन्डफो बायोटेक र जुहाई लिब्जन ब्राण्डका आरडीटी किटको नतिजाप्रति विभिन्न राज्यहरुमा प्रश्न उठेपछि तिनीहरुको गुणस्तर परीक्षण गरेको थियो । उक्त परीक्षणको नतिजा विश्वसनीय नपाएपछि तिनको प्रयोग तत्काल बन्द गर्न र आपूर्तिकर्तालाई तत्काल फिर्ता गर्न आईसीएमआरले सूचना जारी गरेको छ । त्यसैगरी उसले कोभिड १९ को परीक्षणका लागि पीसीआर विधि नै भरपर्दो र उत्तम भएको समेत जनाएको छ ।

राजस्थान, पन्जाब, महराष्ट्रलगायतका राज्यहरुले आरडीटी किट्को विश्वसनीयमाथि प्रश्न उठाउँदै तिनको प्रयोगमा यसअघि नै रोक लगाइसकेका छन् । राजस्थान सरकारले आरडीटी किट्को नतिजाको विश्वसनीयता ५.४ प्रतिशत मात्र रहेको दाबी गरेको थियो । आरडीटी किटमाथि प्रश्न उठेपछि दिल्ली सरकारले त त्यसलाई प्रयोगमा नै ल्याएन ।

चीनमा उत्पादित आरडीटी किटको विश्वसनीयतामाथि भारतमा मात्र नभएर अन्य मुलुकहरुमा पनि प्रश्न उठ्दै आएको छ । स्पेनले त चीनमा उत्पादित आरडीटी किटको परीक्षण नतिजा ३० प्रतिशतको हाराहारीमा मात्र रहेको भन्दै किट नै फिर्ता गरेको थियो ।


प्रकाशित : वैशाख १६, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?