श्री एयरलाइन्‍सलाई एसिया क्षेत्रमा कार्गो उडानको अनुमति

बिहीबार ३३ किलोग्राम ‘पीसीआर किट’ लिन सिंगापुर जाँदै
सुरज कुँवर

काठमाडौँ — आन्तरिक उडानमा रहेको श्री एयरलायन्सले पूर्वी एसिया, दक्षिण एसिया र मध्यपूर्वी क्षेत्रमा कार्गो उडानको अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सका दुइटा बमबार्डियर सीआरजे–२०० र दुइटा बमबार्डियर सीआरजे–७०० विमानलाई यी क्षेत्रका कुनै पनि मुलुकबाट कार्गो बोक्न पाउने अनुमति आइतबार दिएको महानिर्देशक राजन पोखरेलले बताए । 

श्री एयरलाइन्‍सलाई एसिया क्षेत्रमा कार्गो उडानको अनुमति

यो अनुमतिसँगै श्री एयरलाइन्सको एउटा सीआरजे विमान बिहीबार सिंगापुर जाने भएको छ । सिंगापुरबाट श्री एयरलाइन्सले आरटी–पीसीआर परीक्षणका लागि चाहिने विभिन्न इन्जाइम, मिक्स्चर, तथा रिएजेन्टलगायतका सामग्री ल्याउनेछ । उक्त सामग्रीको तौल ३३ किलोग्राम रहेको छ । सिंगापुरबाट ल्याइने सामग्रीबाट करिब १० हजार नमुना परीक्षण हुनेछ ।

‘नेपालबाट सिंगापुरसम्म उड्दा ७ वटा मुलुकहरुको आकाशको रुट अनुमति लिनुपर्छ,’ श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले भने, ‘त्यसैको अनुमतिको पर्खाइमा छौं, बुधबार साँझसम्म अनुमति आए बिहीबार कार्गो उडानको तयारी छ ।’

सिंगापुरमा रहेको टेमासेक फाउन्डेसनले नेपाल सरकारलाई अनुदानमा दिएको ती किटको जम्मा तौल ३३ केजीमात्रै रहेको यस प्रक्रियामा संलग्न स्रोतले बताएको छ । उनका अनुसार, यो चार्टर्ड उडानको भाडा श्री एयरलायन्सका सञ्चालक सुधिर मित्तल, व्यवसायी शेखर गोल्छा र पशुपति मुरारकाले बेहोर्दै छन् । यी सामग्री विमानस्थलबाटै नेपाल सरकारलाई हस्तान्तरण गरिने छ ।

करिब अढाइ करोड रुपैयाँ हाराहारी मूल्य पर्ने यी सामानको अर्थ मन्त्रालयले भन्सार छुट दिएको स्रोतले बतायो ।

‘नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पठाउने योजना थियो तर उसले प्रतिघन्टा साढे ११ हजार डलर चार्टर्ड भाडा भन्यो,’ स्रोतले भन्यो तर, ‘तर श्रीको सीआरजे विमानबाट ढुवानी गर्दा प्रति घन्टा ८ हजार डलर हाराहारी दर कोट गरिएको छ । त्यसैले श्रीको विमान पठाउने निधो भएको हो । कार्गो भाडा गोल्छा र मुरारकाजीले बेहोर्दै छन् श्रीले केही छुट दिने प्रतिवद्धता गरेको छ ।’

०७४ जेठदेखि आन्तरिक उडानमा आएको श्रीलाई ०७५ माघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको कार्यकालमा यसले जहाजबाट कार्गो उडान गर्ने इजाजत पत्र प्राप्त गरेको थियो ।

त्यसपछि ०७६ साउनमा उक्त मन्त्रालय सम्हाल्न आइपुगेका योगेश भट्टराईले भारतको दिल्ली, कोलकाता, बैंग्लोर र अमहदाबाद तथा बंगलादेशको ढाकासहित ५ वटा क्षेत्रीय गन्तव्यका लागि नियमित यात्रु उडानको इजाजत दिलाएका थिए ।

मन्त्रालयको इजाजतपत्र लगत्तै यस्ले साउन २७ गते भारतको बनारसमा परीक्षण उडान गरेको थियो ।

मन्त्रालयको इजाजतपत्रकै आधारमा त्यसपछि यसले सीआरजे विमानकालागि तोकेरै नागरिक उड्डयन प्राधिकरणबाट एओसी लिनुपर्ने थियो । तर, मन्त्रालयको सैद्धान्तिक अनुमति पत्रपछि सञ्चालन प्रमाणपत्र (एओसी) लिनुपर्ने कार्य रोकिएको थियो ।

मन्त्रालयले नीतिगत रुपमा इजाजतपत्र दिए पनि प्राधिकरणले ५ तहको प्रक्रियाअनुसार, एयरलायन्सको प्राविधिकलगायत विस्तृत क्षमता हेरिसकेपछि मात्रै सञ्चालन अनुमति दिन्छ । यो अनुमति पत्रपछि मात्रै कुनै पनि वायुसेवा कम्पनीलाई पहिलो गन्तव्यबाट उडानका लागि बाटो खुला हुन्छ । तर, अर्को गन्तव्यले पनि आउन बाटो खुला गरेपछि मात्रै नियमित उडान हुन थाल्छन् ।

श्रीलाई कार्गो ढुवानीको अनुमति दिनुअघि नागरिक उड्डयन प्राधिकरणले यसअघि सैनिक चार्टर लागि सुडान पठाएको थियो । प्राधिकरणको फ्लाइट सेफ्टी विभागका एक अधिकारीका अनुसार, उक्त अनुमति एक पटकका लागि मात्रै जारी गरिएको थियो । ‘झन्डै दुई हप्तादेखि अलपत्र परेको नेपाली सेनाको शव स्वदेश ल्याउनुपर्ने भएकाले नेपाल सरकारको पहलमा त्यसबेला पटके अनुमति दिएका थियौं,’ ती अधिकारीले भने ।

तर, अहिले कोरोना भारइसको महामारी फैलिरहेका बेला सरकारले क्षेत्रीय सहरसम्मको कार्गो उडानका लागि श्री एयरलाइन्समा चारवटा जेट इन्जिन भएका जहाजलाई अनुमति दिएको हो । यस्का हेलिकप्टरलाई भने संसारभर उडानको अनुमति छ । तर, यसैसँग रहेका ट्रब्रोप्रोप इन्जियनयुक्त ड्यास क्यू–४०० विमानलाई भने अन्तर्राष्ट्रिय उडानको अनुमति छैन ।

हाल ९ वटा आन्तरिक सुगम रुटमा मात्रै उडान गर्दै आएको नेपालको श्री कान्छो वायुसेवा कम्पनी हो ।

प्रकाशित : वैशाख १०, २०७७ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?