सेनाले पूरा गर्‍यो स्वास्थ्य सामग्री खरिद प्रक्रिया

भारतबाट ५३ थरी औषधि तथा चीनबाट स्वास्थ्य सामग्री र औषधि गरी ६७ थरी ल्याइने, चीनबाट ल्याउन अझै दुई साता लाग्ने
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाली सेनाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा गरेको छ । सेनाले आन्तरिक रूपमा खरिद प्रक्रिया पूरा गरे पनि चीनबाट स्वास्थ्य सामग्री र औषधि काठमाडौं आइपुग्न भने अझै दुई साता लाग्ने भएको छ ।

सेनाले पूरा गर्‍यो स्वास्थ्य सामग्री खरिद प्रक्रिया

मन्त्रिपरिषद् बैठकले चैत १६ मा सेनालाई सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत स्वास्थ्य सामग्री र औषधि खरिद गरेर ल्याउन जिम्मा दिने निर्णय गरेको थियो । सोहीअनुसार सेनाले करिब तीन साता लगाएर खरिदको सम्पूर्ण आन्तरिक काम पूरा गरिसकेको छ । ‘आर्थिक नियममा रहेर खरिद प्रक्रियालाई पूरा गरेका छौं,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने ।

सेनाले औषधि खरिदका लागि विदेशी कम्पनीहरूसँग ती मुलुकमा रहेका नेपालका सैनिक सहचारीमार्फत हस्ताक्षर गरिसकेको छ । सेनालाई सरकारबाट आइतबारै औषधि तथा स्वास्थ्य सामग्रीका लागि आवश्यक रकम पनि प्राप्त भइसकेको छ । सेनाले स्वास्थ्य सामग्री र औषधि गरेर पहिलो चरणमा १ सय २० थरी सामग्री ल्याउन लागेको हो । भारतबाट ५३ थरी औषधि, चीनबाट स्वास्थ्य सामग्री र औषधि गरी ६७ थरी ल्याउन लागिएको हो ।

भारतमा ल्याउन लागिएको औषधि एक साताभित्र नेपाल आइपुग्नेछ । भारतले दिल्लीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्नेछ र त्यहाँबाट नेपालले हवाई जहाज वा गाडीमा ल्याउनेछ । केमा ढुवानी गर्ने भन्ने सम्बन्धमा निर्णय भइसकेको छैन ।

अर्कोतर्फ चीनबाट सामग्री केमा ल्याउने भन्ने टुंगो लागिसकेको छैन । सोमबारको सात दिनभित्रमा चीनको गोन्जाउमा सम्पूर्ण सामग्री जम्मा गरिसक्ने सम्बन्धित कम्पनीहरूले सेनालाई वाचा गरेका छन् । चिनियाँ कम्पनीहरुले अन्य मुलुकलाई पनि सामग्री दिनुपर्ने कारणले गर्दा केही समय लाग्ने भएको हो ।

चीनबाट ल्याउने सामग्रीको तौल ३ सय ४० टनभन्दा बढी हुनेछ । हवाई जहाजमा पनि सामग्री ल्याउन धेरैपटक ओहोरदोहोर गर्नुपर्ने हुन्छ । नेपालमा उपलब्ध जहाजले एकपटकमा १५ देखि २० टन सामग्री ल्याउन सक्छन् । त्यहीअनुसार हुने हो भने दुई दर्जनभन्दा बढीपटक जहाज गएर सामग्री ल्याउनुपर्ने हुन्छ । हवाई जहाजबाट सामग्री ल्याउन नमिले वा उपयुक्त नदेखिए सेनाले स्वास्थ्य सामग्री र औषधि गोन्जाउबाट सडकको बाटो हुँदै तातोपानी नाकाबाट ल्याउने योजना बनाएको छ ।

गोन्जाउबाट गाडीमा तातोपानी नाकासम्म सामग्री ल्याउन सात दिन लाग्छ । र, तातोपानी नाकामा आएपछि भन्सारको काम पूरा गर्न थप दुई दिन लाग्ने सेनाले जनाएको छ । ‘विभिन्न मुलुकमा चीनबाट गएका सामग्रीहरुबाट प्रश्न उठ्न थालेपछि केन्द्रीय सरकारले आफ्नो मुलुकबाट जाने सम्पूर्ण सामग्रीलाई भन्सारमा विस्तृत रूपमा परीक्षण गर्नेछ, त्यसैले दुई दिन लाग्छ,’ सैनिक स्रोतले भन्यो । यसरी हेर्दा पनि सेनाले काठमाडौंमा सामग्री ल्याउन कम्तीमा अझै दुई साता लाग्ने देखिन्छ ।

कोरोना भाइरसलाई मध्यनजर राखेर स्थापना गरिएको कोभिड–१९ विपत् व्यवस्थापन केन्द्रले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्नका लागि ३ सय ९६ स्वास्थ्य सामग्री र औषधि आवश्यक परेको औंल्याएको थियो । त्यसमध्ये सेनाले पहिलो चरणमा १ सय २० स्वास्थ्य सामग्री र औषधि ल्याउन लागेको हो ।

प्रकाशित : वैशाख ९, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?