१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

स्वास्थ्य सामग्रीको सूची तयार गर्नै तीन साता

चीनबाट ७६ थरी औषधि र स्वास्थ्य सामग्री तथा भारतबाट ५३ थरी औषधि ल्याउने सूची तयार
जगदीश्वर पाण्डे

काठमाडौँ — मन्त्रिपरिषद्ले निर्णय गरेको झन्डै तीन सातापछि सरकारले नेपाली सेनामार्फत सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट ल्याइने स्वास्थ्य सामग्रीको टुंगो लगाएको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि चीनबाट ७६ थरी औषधि र स्वास्थ्य सामग्री तथा भारतबाट ५३ थरी औषधि ल्याउने अन्तिम सूची तयार पारेको हो ।

स्वास्थ्य सामग्रीको सूची तयार गर्नै तीन साता

उक्त सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रहेको कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रले तीन सुरक्षा निकायहरू (सेना, प्रहरी र एपीएफ) तथा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूबीच छलफल गरेर तयार पारेको हो । सूचीका लागि लगातार तीन साता छलफल भएको थियो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार केन्द्रले तयार पारेको सूचीलाई सेनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयलाई पठाएको छ । उक्त सूची अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि सेनाले जीटुजी खरिदको थप काम अघि बढाउनेछ । सरकारले नेपाललाई आवश्यक औषधि र स्वास्थ्य सामग्री खरिदमा कति खर्च गर्ने भन्ने पनि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि जीटुजी प्रक्रियामा खरिद गर्ने जिम्मेवारी पाएको हो । त्यही दिनको मन्त्रिपरिषद्को निर्णयअनुसारै कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रले पनि छाउनीस्थित सेनाको रेन्जर गणभित्र खोल्ने निर्णय गरेको थियो ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा पाए लगतै सेनाले विदेशस्थित नेपाली कूटनीतिक नियोगका सैनिक सहचारीहरू र नेपालस्थित विदेशी राजदूतावासका सैनिक सहचारीहरूको प्रयोग गरेर कुन मुलुकमा कस्तो सामग्री पाइन्छ भन्ने विषयमा जानकारी दिएको थियो । गत साता सेनाले भारत, चीन, इजरायल, दक्षिण कोरिया र सिंगापुरलाई कूटनीतिक नियोगमार्फत स्वास्थ्य सामग्री र औषधिका सम्बन्धमा पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ भारत, चीन र दक्षिण कोरियाले मात्र दिएका थिए ।

भारतले नेपाललाई आवश्यक पर्दा ६० थरीका औषधि खरिद गरेर लान सक्ने सूची दिएको थियो । सैनिक प्रवक्ता पाण्डेका अनुसार भारतले उक्त औषधिहरू नयाँदिल्लीमा नेपाली राजदूतावासलाई हस्तान्तरण गरिदिने र त्यसपछि नेपालले ल्याउनुपर्नेछ । भारतले आफूसँग स्वास्थ्य सामग्री भने नभएको जानकारी दिएको छ ।

अर्कोतर्फ चीनले भने नेपालले खरिद गरेको औषधि र स्वास्थ्य सामग्री गोन्जाउमा जम्मा गरिदिने बताएको पाण्डेले जानकारी दिए । गोन्जाउबाट भने नेपालले ल्याउनुपर्नेछ । नेपालले ल्याउन लागेको औषधि र स्वास्थ्य सामग्रीको पूर्ण रूपमा बन्दोबस्तीको समन्वय गरिदिने काम चीनको वाणिज्य मन्त्रालयले गरेको छ ।

प्रकाशित : वैशाख ४, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?