स्थानीय तहलाई कृषिमा जोड दिन मुख्यमन्त्री पौडेलको आग्रह

प्रदेश सरकारले किसानलाई बिउ विजन र मल उपलब्ध गराउने

वैशाख ४, २०७७

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेश सरकारले कृषकहरूलाई आवश्यक पर्ने मल तथा बिउ विजन उपलब्ध गराउने भएको छ । प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको अवधिमा किसानहरूलाई चाहिने मल, बिउ विजन लगायतका कृषि सामग्री उपलब्ध गराउने बताएका हुन्। 

कोरोना भाइरसको संक्रमणले निम्त्याएको संकट किसानमा नपरोस् भनेर राहत उपलब्ध गराउने मुख्यमन्त्रीले बताएका हुन् । उनले स्थानीय तहका प्रतिनिधिहरूलाई कृषिमा आत्मनिर्भर बन्नका लागि कृषि कर्ममा जोड दिन पनि आग्रह गरेका छन् । 

कोरोना विरुद्धको जारी गरिएका मापदण्डअनुसार दूरी कायम गर्दै उत्पादनमा लाग्नसमेत मुख्यमन्त्री पौडेलले स्थानीय जनप्रतिनिधीहरूलाई सुझाएका थिए । माहामारी नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण उत्पादन कार्य गर्न समस्या भए प्रदेश सरकारले सहजीकरण गर्ने उनले आश्वासन दिए । 

स्थानीय सरकारले आफनो क्षेत्रमा बाँझो रहेका जमिनलाई उत्पादनमुखी बनाउने योजना बनाएर अघि बढ्नसमेत पौडेलले आग्रह गरे । 

चितवनको भरतपुर महानगरपालिका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको कमलामाइ नगरपालिका प्रमुख, मरिण, सुनकोशी गाउँपालिका अध्यक्षहरू, रसुवाको गोसाइँकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्षहरूसँग कुराकानी गरेका थिए । 

पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न पनि भनेका थिए । लकडाउनको अवधि लम्बिने अवस्था आए त्यसको सामना गर्न पूर्वतयारी आवश्यक भएको उनको भनाइ थियो । लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गर्ने काममा अनावश्यक प्रतिस्पर्धा देखिएको भन्दै त्यसले विकृति निम्त्याउन सक्नेतर्फ सचेत रहनसमेत पौडेलले अनुरोध गरेका थिए ।  

कोरोनाको माहामारी फैलिन नदिन लकडाउन बाहेक कुनैपनि विकल्प नभएकोले भावनामा बगेर यस बाहेको अन्य विकल्प खोज्न तिर लाग्नु नहुने भएकोले कोरोनालाई नेपालमा माहामारीको रूपमा आउन नदिन निर्मम भएर त्यसको कार्यान्वयन गरिनुपर्ने उनको भनाइ थियो ।

पौडेलले मंगलबार मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख, चितवनको रत्ननगर नगरपालिका प्रमुख, सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष, धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख र दोलखाको भिमेश्वर नगरपालिका प्रमुखसँग पनि भिडियोमार्फत छलफल गरेका थिए । 

लकडाउनकोरोना भाइरस

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully