२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सरकारलाई कांग्रेसको प्रश्न– यो कार्यकर्तालाई जागिर खुवाउने बेला हो ?

‘स्वास्थ्य सामाग्री खरिदमा कमजोरी होइन, नियतमै खोट देखियो’ 

काठमाडौँ — प्रतीपक्षी दल कांग्रेसले लकडाउनकाबीच सरकारले केही आयोगहरुमा आफ्ना कार्यर्ताहरुलाई जागिर खुवाउने हिसाबले भर्ती गरेको भन्दै आपत्ति प्रकट गरेको छ । 

सरकारलाई कांग्रेसको प्रश्न– यो कार्यकर्तालाई जागिर खुवाउने बेला हो ?

प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति प्रकाशित गर्दै महामारीसँग पूरै देश जुधिरहेको संकटको घडीमा कार्यकर्ताहरुको राजनीतिक व्यवस्थापनमा लागेको भन्दै विरोध जनाएका छन् ।

‘वर्तमान सरकार जनताप्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ’ उनको विज्ञप्तिमा भनिएको छ । सोमबारको मन्त्रिपरिषदले भूमिसम्बन्धि समस्या समाधान आयोगलगायतमा केही नियुक्ति गरेको थियो । भूमि सम्बन्धि आयोगको अध्यक्षमा भरतपुर महानगरपालिकाको मेयरमा पराजित तत्कालीन एमालेका उम्मेद्दार देवि ज्ञवालीलाई नियुक्ति गरिएको छ ।

‘अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनीकरण र संक्रमितहरुको उपचार गर्नु हो । यस विषयमा प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न सकेको छैन,’ कांग्रेसले माग गरेको छ, ‘सरकार गम्भीर बनोस् ।’

यस्तै, कांग्रेसले लकडाउनको उचित व्यवस्थापनमा पनि सरकार चुकेको बताएको छ । ‘स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसले महामारी नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्प योगदान दिएको भन्दै उनीहरुप्रति सम्मान पनि प्रकट गरेको छ । र, उनीहरुको सुरक्षामा संवेदनशील हुन पनि सररकालाई आग्रह गरेको छ ।

संसार भरी छरिरहेका नेपालीहरुको मनोबल बढाउन तथा उनीहरुका समस्यालाई संवोधन गर्न पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा रोजगारी गुमाएर पैदलै घर फकिइरहेका मजदुर र श्रमिकहरुको बसोबास तथा खानपानको व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिएको भन्दै यसलाई लाचारीको पराकाष्ठा बताइएको छ । र, यसको उचित व्यवस्थापनको पनि माग गरिएको छ ।

प्रकाशित : वैशाख ४, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?